जुम्लाको जडिबुटी : राजधानीमा गुजारा चलाउने सहारा

जुम्लाको जडिबुटी : राजधानीमा गुजारा चलाउने सहारा


  • सुरेन्द्र सुवेदी, काठमाडौं

जुम्लाका एक युवाले आफ्नो ठाउँमा पाइने जडिबुटी संकलन गर्दै राजधानीमा ल्याएर बिक्री गर्दैआएका छन् । यसबाट उनले राजधानीमा आफ्ना सन्तानको पठनपाठन गराउनुका साथै पारिवारिक गुजारा चलाउन सफल भइरहेका छन् । उनी हुन्, जुम्लाको कनकसुन्दरी गाउँपालिका-८ का ३५ वर्षीय डिल्लबहादुर बिक ।

पूर्णबहादुर र बुचे कामीका छोरा डिल्लले गाउँकै विद्यालयमा प्राथमिक तहको अध्ययन गरे । गरिवी र चेतनाअभावका कारण त्यहाँभन्दा माथि पढ्न पाएनन् । अनि, हुर्किएपछि भने उनले गाउँमा प्रचुरमात्रामा पाइने जडिबुटीको खोज, संकलन र खरिद गर्दै राजधानी ल्याएर बिक्री गर्न थाले । उनी पछिल्लोपटक राजधानीमा सीमित भएनन्, देशका प्रायः जिल्ला घुम्दै जडिबुटी बिक्री गर्दै आएका छन् ।

२० वर्षदेखि सिलाजित, केसर, जेठीमधु, माझीफल, असोगन्धा, सर्पगन्धा, यार्सागुम्बादेखि जुम्लामा खेती हुने सिमीदेखि मार्सी चामलसम्म उनी दैनिक घर/घरमा पुगेर बिक्री गर्दै आएका छन् । तोलाको ५ सयदेखि ग्रामको १ हजार रुपैयाँसम्मका जडिबुटी बेचेर उनले मासिक २० हजार रुपैयाँसम्म कमाउने गरेको घटना र विचारलाई बताए ।

डिल्लका अनुसार उनी जुम्लाबाट २५-३० किलो जडिबुटी बोकेर राजधानी आउँछन् । र, त्यो जडिबुटी बढीमा ५ महिनामा बिक्री गरिसकेपछि पुनः जडिबुटी संकलन, खोज र खरिदका लागि जुम्ला नै हानिने गरेका छन् । एक/एक छोरी र छोराका बाबु डिल्ललाई गाउँमै रहेका बुबा पूर्ण र आमा बेचेले जडिबुटी संकलनमा सहयोग गर्दै आएका छन् । उनीहरूले संकलन गरेको जडिबुटीले नपुग भएमा आफू पनि खोज्न जाने र थप आवश्यक परेमा खरिद गर्दै राजधानी र देशका अन्य भागमा पुगेर बिक्री गर्ने गरेको उनले बताए ।

‘जडिबुटीको महत्व बुझ्ने मानिस अहिले विदेशमा छन्, यहाँकाले धेर बुझेका रहेनछन्, त्यसैले बिक्री कम हुन्छ, विदेशबाट पनि माग हुन्छ र पठाउने पनि गरेको छु’- डिल्लले घटना र विचारसित भने ।