आजको पञ्चाङ्ग एवम् राशिफल (१२ भदौ २०८१ बुधबार, २८ अगस्त २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ भदौ २०८१ बुधबार, २८ अगस्त २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ भाद्र १२ गते तद्अनुसार सन् २०२४ अगस्त २८ तारिख बुधबार भाद्र कृष्ण पक्षको दशमी तिथि मृगशिरा नक्षत्र बज्र योग वणि करण आनन्दादिमा अमृत योग चन्द्रमा वृष राशिमा ८ः९ बजेसम्म त्यसपछि मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४१ मा भयो र सूर्यास्त साँझ १८ः२७ मा हुनेछ ।

आजको राशिफल

मेष – परिवार एवम् मित्रजनमा सामान्य असमझदारी बढेपनि सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कुनै महत्वपूर्ण कार्य अधुरो रहेको छ भने आजको दिन सम्पादन हुने देखिन्छ । नयाँ काम तथा जिम्मेवारी हातपर्ने याोग छ । मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त होला । स्वास्थ्य सबल रहनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

वृष – आजको दिन खर्च बढ्ने र आँटेको काम पनि समयमा पूरा नहुने सम्भावना छ । पढाइलेखाइमा खासै मन नजाला । नियमित कार्यमा पनि जँगर कमै चल्ने देखिन्छ । धेरै लगानीपछि कममात्र प्रतिफल मिल्न सक्छ । धनमाल हराउने, चोरी वा ठगीमा परिने योग रहेकोले सावधानी अपनाउनुहोला । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर हुनेछ । प्रतिकुलताका बाबजुद सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने र कामले धेरैको मन लोभ्याउन सकिने देखिन्छ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – काम बिग्रने डरले सताएपनि दिन शुभदायी नै छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पठन-पाठनमा प्रगति होला । विशिष्टजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ भने आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने योग छ । यात्रामा सफलता र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – दिन मनोरञ्जनपूर्ण रहला । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति होला । टाढिएका आफन्तहरू नजिकिनेछन् । घर बसेरै विभिन्न काम सम्पादन गर्न सकिने देखिन्छ । अरूका विषयमा चासो लिँदा विवादमा परिने योग भएकोले अनावश्यक कार्यमा मन नदिएकै राम्रो । असावधानीले ब्यर्थ धन खर्च हुन सक्छ, सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन अनावश्यक दौडधुपमा समय बित्ने देखिन्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ने योग रहेकोले विशेष सजगताको दरकार छ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – मिश्रित फलदायी दिन छ । कर्मबल बढेपनि विद्यामा कमजोरी र लेनदेनमा विवाद हुनसक्छ । व्यावसायिक काममा पनि समस्या आउने देखिन्छ । आत्मीयजनसँग भेटघाट होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । पारिवारिक सहयोग प्राप्त भएपनि दोधारको अवस्था सिर्जना हुनसक्छ । स्वास्थ्य केही कमजोर रहेको महसूस होला ।

तुला – आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्ने समय छ । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहला । तपाईंले प्रयोग गर्ने भौतिक साधन भने बिग्रनसक्ने योग छ, जसले लक्ष्यप्राप्तिमा ब्यवधान खडा गर्न सक्छ, सावधान रहनुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहार नियन्त्रणमा राख्नु हितकर हुनेछ ।

वृश्चिक – दिन शुभदायी छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ भने नयाँ कामको प्रस्ताव पनि आउन सक्छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ । वित्तादि लाभ होला । कामको सिलसिलामा यात्रा पनि हुन सक्ने देखिन्छ । मनोरन्जनमा समय ब्यतित भएर जानेछ ।

धनु – रचनात्मक काम सुरु गर्ने समय छ । गरिँदै आएको काममा थप जांगर पलाएर आउनेछ भने ब्यापार-ब्यवसायमा फाइदा नै होला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । रसरागको भाव वृद्धि हुनेछ । दामपत्यसुख बढ्नेछ ।

मकर – दिन चुनौतीयुक्त रहने देखिन्छ । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । नियमित आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ । अनावश्यक झमेला आइलाग्न सक्छ, सावधान रहनुहोला । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्न सकिनेछ ।

कुम्भ – सानातिना काममा समय बित्ने देखिन्छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्ने योग छ । समस्या थपिन सक्छन्, सजग रहनुहोला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । धैर्यताका साथ विवेक र बुद्धिको उपयोग गर्नसके जटिल काम पनि सम्पादन हुनसक्छ, जसबाट उत्साह बढ्नेछ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने दिन छ ।

मीन – मंगलमय कृत्य सम्पादन गर्ने समय छ । परोपकारजन्य क्रियाकलापका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भइएला । कार्य ब्यस्तताले केही चिडचिडाहट पनि पैदा गर्न सक्छ, तर समस्या सहजै टरेर जाने देखिन्छ । तपाईंको विचारले धेरैलाई आकर्षण गर्नसक्छ । सहयोगीहरूले काममा साथ दिनेछन्, प्रशंसकहरू बढ्नेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने योग छ । सुख विलास बढ्नेछ ।