विवाह ‘बन्धन’ बनिदिँदा…

विवाह ‘बन्धन’ बनिदिँदा…


जिन्दगीमा कतिपय कुराहरू अब त ठिक होला, अब त राम्रो होला भन्दा भन्दै आफूले सोचेको कुरा ठिक नभइकन जिन्दगी सकिएजस्तै समयले ‘जीवनसाथी’को अवधारणा जस्ताको तस्तै नबुझ्दै र बुझाउन नसक्दै जीवन सकिन्छ कि जस्तो अवस्थामा पुऱ्याएको छ । हामीकहाँ मात्र नभइ विश्वमै विवाह एउटा यस्तो संस्थागत संरचना हो जसले मानिसको जीवनमा दुःखमा साथ दिने, सुखमा खुशी हुने, शारीरिक, मानसिक, भावनात्मक, आर्थिक कुनैपनि कुरामा समान उपभोगको परिकल्पना गरेको छ ।

हाम्रा धर्मशास्त्रहरूले पति-पत्नीको सम्बन्धलाई सुरक्षित सम्बन्धको रूपमा लिएको छ । पूजा, पाठ, ब्रत, श्राद्ध कुनैपनि कार्यमा पति-पत्नीको साथको अवधारणा लिपिबद्ध गरेको छ । जतिबेला धर्मशास्त्रहरू रचिए त्यतिबेला रुद्री, पूजापाठ, पूराण, ब्रतबन्ध, विवाहलगायतका कार्यहरू सांस्कृतिक पारिवारिक भएपनि सार्वजनिक कार्यझैँ हुन्थे, तिनमा पति पत्नीको साथको महत्व दर्शाइएको छ । हिँड्ने, लाउने-खाने, पूजा गर्ने कुरामात्र नभइ ओछ्यानको सम्बन्धलाई पनि पूर्वीय र पश्चिमा संस्कृतिले हेर्ने दृष्टिकोण फरक छ । अङ्ग्रेजीमा भन्ने गरिएको ‘सेक्सुअल रिलेशन’लाई हाम्रा शास्त्रहरूले संस्कृतमा ‘सम्भोग’ भनेका छन् । ‘सम्भोग’को अर्थ हुन्छ समान उपभोग ! जसलाई हिन्दी र नेपालीमा सहवास भन्ने गरिएको छ, जसको अर्थ हुन्छ घनिष्ठ साथ ! पति–पत्नीबीचको शारीरिक सम्बन्धमा पनि समान उपभोगको परिकल्पना हाम्रा शास्त्रहरूमा गरिएको छ । तर विडम्बना ! हामीकहाँ बलात्कार र वैवाहिक बलात्कारको अवस्था डरलाग्दो छ ।

यी सबै कुराहरूलाई जोडेर सकारात्मकरूपमा परिणाम आउला भनेर होला सायद विवाहलाई ‘बन्धन’ भनियो । पति-पत्नीबीच प्रतिबद्धता कायम गर्ने अर्थमा बन्धन शब्दको प्रयोग विवाहमा गरिएको हुनसक्छ । तर हामीकहाँ बन्धनको अर्थ दाम्लोमै बाँधेर राख्नेझैँ रूपमा लिइयो । नेपाली शब्दकोषले पनि बन्धनको अर्थ बाँधिने कुरा या दासता भनेर नै उल्लेख गरिएको छ । बन्धन शब्दमा टेकेर विवाह भइसकेपछि त मानिसको आफ्नो जिन्दगी भन्ने नै हुन्न झैँ गर्ने गरिएको छ । पति या पत्नीप्रतिको इमान्दारी बाहेक पनि जीवनमा धेरै कुरा हुन्छन्, जो नितान्त निजी हुन्छन् । मानिस स्वतन्त्रतापूर्वक बाँच्न मनपराउने प्राणी हो । अन्य प्राणी र मानिसबीच हुने सबैभन्दा ठुलो भिन्नता विवेक हो । मानिससँग विवेक पनि हुनेहुनाले अन्य प्राणी भन्दा उ फरक छ, धेरै कुरा सोच्न र गर्न सक्छ । खुशी, दुःख, भावनालगायतका कुराहरू प्रायः मानिसका निजी हुन्छन् । तर हामी पति या पत्नीलाई जेमा खुशी लाग्छ एकर्काले त्यही गर्नुपर्ने ठान्छौँ । प्रायः श्रीमान्-श्रीमतीबीचको सबैभन्दा ठुलो फरक र मतभिन्नता यही कुराबाट सुरु हुन्छ । मैले जस्तै उसले सोचिदिनुपर्ने, गरिदिनुपर्ने, आफूले चाहेको लगाइदिनुपर्ने, खाइदिनुपर्ने, हिँडिदिनुपर्ने…, सूची लामो हुनसक्छ ।

मानिसले के गर्छ भन्ने कुरा देखिने भएपनि के सोच्छ भन्ने देख्न, बुझ्न सम्भव छैन । यदि कसले के सोच्छ भन्ने कुरा पनि थाहा पाउन सकिने भए एकर्काबीचको सम्बन्ध केमात्रै हुन्थ्यो होला, अनुमान गर्न सकिन्छ । विवाहको अवधारणा जीवनसाथीको रूपमा आएको हो तर समयक्रममा जीवनमा साथी होइन दुश्मन कमाउनका लागि विवाह गर्नुपर्ने जस्तो हुँदै गएको छ । बाहिरका मानिससँग भन्दा आफ्नै जीवनसाथी, प्रेमी/प्रेमिकासँग डराउनुपर्ने आवस्था सिर्जना हुँदैगएको छ । पछिल्लो चरणमा पतिबाट पत्नी, प्रेमीबाट प्रेमिका, प्रेमिकाबाट प्रेमीको हत्या भएका घटनाहरू बढ्न थालेका छन् । नेपालमा मात्र नभइ नेपालीहरू देशबाहिर पनि त्यत्तिकै असुरक्षित हुन थालेका छन् । शायद विगतमा पनि यस्ता घटनाहरू हुन्थे होलान् तर अहिले सूचना र सञ्चारले संसारलाई निकट बनाइदिएका कारण कहाँ, कसले के गऱ्यो जानकारी सहज बनेको छ ।

पति-पत्नीबीच झगडा र खटपट विगतमा पनि हुन्थे तर ‘परालको आगो’ भनेर तिनलाई सामसुम पार्ने गरिन्थ्यो । समयक्रममा पति-पत्नीका झगडा परालको आगोमा सीमित नरहेर डरलाग्दो डढेलोमा परिणत हुन थालेका छन् जसले सम्बन्धित दुइ जनालाई मात्र नभइ सन्तान, बाबुआमा तथा आफूवरिपरिकालाई समेत जलाइरहेका छन् । अमेरिकामा भएको ममता काफ्लेको हत्याकै श्रृङ्खलामा काठमाडौंमा फरक–फरक घटनाहरू अगाडि आइरहेका छन् । श्रीमती या प्रेमिका मार्ने भन्ने कुरा सामान्य हो झैँ गरी होटेलमा, घरमा, बाथरुममा लाश भेटिनथालेका छन् । सभ्य समाज र कानूनी राज्यका लागि यस्ता क्रुर अपराधिक घटना ठुला चुनौती हुन् ।

विवेक भएका कारणले फरक प्राणी मानिएका मान्छेले मान्छे मार्ने मानसिकता र मनोविज्ञान जसरी विकास भइरहेको छ, त्यो निकै डरलाग्दो कुरा हो । ‘त्यसै माऱ्यो होला र ? मार्नुको पछिल्तिर केही कारण पनि त होला…’ भनेर अहिले ममता घटनालाई लिएर सामाजिक सञ्जालमा जसरी कुराहरू आइरहेका छन त्यो झनै डरलाग्दो पक्ष हो । कुनै पनि हत्याको पछाडि जे-जे भएको भएपनि ‘कारण’ गौण हो । कुनैपनि कारणले मान्छेको ज्यान लिन पाइँदैन, चाहे त्यो वैवाहिक सम्बन्धमा होस् या अन्य । विवाह जिन्दगीको अन्तिम र अकाट्य सत्य होइन जसलाई केही गर्न नसकियोस् !

फरक–फरक पृष्ठभूमिका मानिस विवाहपछि एकै ठाउँ बस्दा सँगै बस्न नसक्ने समय आउनसक्छ भनेर नै सम्बन्ध बिच्छेदको कानून बनेको छ । फिलिपिन्समा बाहेक सबै देशमा यो कानून छ । फिलिपिन्समा पनि सम्बन्ध बिच्छेद नभनेपनि विवाहमा क्रुरता आयो भने अन्य केही कानूनले सँगै नबस्ने छुट दिएको छ । शारीरिक आक्रमण त के… कसैले कुनै पनि प्रकारको मानसिक, मनोवैज्ञानिक र आत्मसम्मानमाथि चोट पुऱ्याउँछ भने समाजले के भन्ला, आफन्तले के भन्लान् भनेर त्यस्तो मान्छेको साथमा बसिरहनु आवश्यक छैन । बाबुआमाले, दाजुभाइ, दिदी-बहिनी या परिवारले आफ्ना छोरी, दिदी-बहिनी कस्तो अवस्थामा छन् खोजी गरिरहनु आवश्यक छ र, यदि उनीहरूले अप्ठ्यारो महसूस गरिरहेका छन् भने आफ्नो घर आउ भनेर निर्धक्क उनीहरू घर आउने अवस्था हुनुपर्छ । हामीकहाँ छोरीले विवाह गरेर गएपछि आफ्नो सम्पूर्ण दायित्व सकिएको ठान्दै उनीहरू जन्मघर आउँदा बस्ने कोठासमेत हुँदैन । छोरी या दिदीबहिनी कुनैपनि बेला फर्किएर आउन सक्छिन् भन्ने कुरा अब सबैले सोचेर सोहीअनुरुपको मानसिक तयारी गर्नुपर्छ ।

सकेसम्म कसैले पनि जोडिएको सम्बन्ध टुटाउन चाहँदैन, अति भयो भनेमात्रै हो फर्किएर आउने । उनीहरू फर्किएर आउँदा सामान्यरूपले लिने अवस्था हामीले घरमा सिर्जना गर्न सकेनौँ भने हाम्रा दिदी-बहिनी, छोरीहरू मर्ने/मारिने क्रममा कमी हुनेछैन । केही वर्ष अघिसम्म सम्बन्ध बिच्छेद ठुलो सामाजिक लज्जाको विषय थियो जसका कारण धेरै महिलाले सम्बन्ध धान्न नसक्दा आत्महत्या गरे, कतिको हत्या भयो । आत्महत्याको कारण खोजिएन, यदि खोजिएको भए पति-पत्नी र पतिको परिवारसँगको जोखिमपूर्ण सम्बन्ध नै आत्महत्याको कारण हो भन्ने निष्कर्ष हुने थियो भन्न सकिन्छ ।

पछिल्लो समयमा मुलुकमा धेरै कुरा परिवर्तन भयो । राज्य संरचना फेरियो, नीति, कानूनहरू बने तर मानसिकता परिवर्तन हुन सकेन । अहिले पनि हामी ‘त्यसै माऱ्यो होला र ?’ भन्ने प्रश्नलाई केन्द्रमा राख्छौँ भने हामी मान्छे बन्न बाँकी नै छ भनेर बुझ्नुपर्ने हुन्छ । मानिस आफ्नो जिन्दगीको चालक आफै हो । आफूले चलाउँदै आएको जिन्दगीको गाडीमा अरुको प्रवेश भएपछि सबै यात्रुहरू राम्रै पर्छन् भन्ने छैन । डिस्टर्व गरिरहने मानिस परे भने गाडी दुर्घटना हुनसक्छ, त्यसैले हरेक कुरामा निहुँ खोजिरहने मानिससँग अब सँगै यात्रा गर्न सकिन्न भन्ने लाग्यो भने उसलाई आफ्नो जिन्दगीबाट उतार्नु नै बुद्धिमानी हुन्छ ।

कतिले सही समयमा निर्णय लिन नसक्दा पल-पलमा मृत्यु पुकार्दै जिन्दगी बिताइरहेका र बिताएका पनि छन् । सँगै यात्रा गर्न भनेर जिन्दगीमा आएको यात्रु सबै नराम्रै हुन्छन् भन्ने छैन तर रातभरी झगडा गरेर बिहान सुन्निएको आँखालाई गाजलले छोपछाप पारेर काममा जाने महिलाहरूको सङ्ख्या धेरै छ । कतिबेला आई/आयो, कतिबेला गई/गयो, कहाँ गई/गयो सामाजिक संजालको पासवर्ड के हो ? मोबाइल किन हेर्न नदिएको ? इनबक्समा कसले के लेख्यो, म्यासेज के पठायो, किन पठायो… अहिलेका जोडीहरूको सबैभन्दा चासो यी र यस्तै विषयवरिपरि घुमेको देखिन्छ ।

अमेरिकामा नरेश भट्टले पत्नी ममताको हत्या गरेपछि अहिले ‘डिभी, पीआर, विदेशमा बस्ने केटा खोज्दा यस्तै हुन्छ’ भन्ने भाष्य निर्माण गरिँदै छ । वास्तविकता त के हो भने नेपालकै शहर र गाउँघरमा पनि यस्ता घटनाहरू हुँदै आएका छन् । यस्ता घटना डिभी, पीआर या नेपाली नागरिकताले गर्ने होइन, मान्छेले गर्ने हो । मान्छे जहाँ गएपनि मान्छेसँगै ‘एटिच्युड’ पनि प्लेन चढेर जाने रहेछन् । प्रेम गर्दा या विवाह गर्दा मान्छे कस्तो हो सुरुमा थाहा हुँदैन । मान्छेको रूप कतिबेला बदलिन्छ भन्नै सकिन्न । एउटै परिभाषाभित्र समेट्न नसकिने यो संसारमा केही छ भने त्यो मान्छे नै हो । त्यसैले कुनै जात, धर्म, समुदाय, क्षेत्र, कागजपत्रलाई नभइ मान्छेको प्रवृत्तिलाई दोष दिउँ । यस्ता प्रवृत्तिलाई न्युनीकरण गर्न गर्नुपर्ने उपायका बारेमा कुरा गरौँ । इज्जत भन्दा जिन्दगी ठुलो हो, इज्जत धान्नका लागि जिन्दगीको आहुती नदिऔँ । विवाहलाई बन्धन होइन मुक्तिमा परिणत गर्ने प्रयास गरौँ, यस्तो मुक्ति जहाँ फरक सोचका बीच पनि पाइलाहरू सँगै हुन सक्छन् ।