‘धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन (हिन्दू) राष्ट्र कायम गरौँ’

‘धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन (हिन्दू) राष्ट्र कायम गरौँ’


विषय प्रवेश :

हरेक मुलुकका आ-आफ्ना पहिचान र विशिष्टता हुन्छन् । नेपालको मौलिक पहिचान सनातनी परम्परा हो । यसैको जगमा हाम्रो भाषा, संस्कृति, सभ्यता र धर्म अर्थात् राष्ट्रिय पहिचान निर्माण भएको छ । युगौँयुगदेखि यो देवभूमि हो, तपोभूमि हो, ज्ञानको भूमि हो । फराकिलो सनातनी सभ्यताले यहाँ कैयन सम्प्रदायहरू विकास भएका छन्, त्यसैले कालान्तरमा धर्मको रूप पनि धारण गरेका उदाहरण हामीसँग विद्यमान छ ।

सनातनी परम्पराको मूल भाव भनेको नै समभाव हो । विविधताको पूरा सम्मान गर्दै सबैलाई समान, सबैलाई एउटै दृष्टिकोणबाट हेर्न सक्नु हो । यस्तो समभाव विश्वमा अन्यत्र पाउन सायद मुस्किल नै होला । त्यसैले कतिपय मानिसहरू हिन्दुलाई धर्म भन्दापनि सभ्यता तथा जीवनपद्धतिको रूपमा व्याख्या गर्ने गर्दछन् । जसले जे भनेपनि हिन्दु सनातन धर्म परम्परा हो । यसले मानवतालाई धर्मको आधार मान्दछ र ब्रम्हण्डमा भएका सबै सजिव एवम् निर्जीव बस्तुलाई उक्तिकै महत्व दिन्छ अर्थात् सबैको अस्तित्वलाई स्वीकार गर्दछ ।

शान्ति, मानवता, सहिष्णुता र समभाव यसको हरेक पक्षमा पाउन सकिन्छ । हिन्दु धर्म जन्मको कुनै तिथीमिति नभएकाले यसको जेष्ठता र यसले अंगिकार गरेका फराकिलो मानव दृष्टिभावका कारण यसको श्रेष्ठतामा खासै बहस आवश्यक छैन भन्ने ठान्दछु । अनन्तकालदेखि नेपालभूमि धर्म, सभ्यता र संस्कृताको सुन्दर बँगैचा हो । यही भूमिमा प्रादुर्भाव भएका बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृति, वोन, जैन, सिख आदि सबैको मूल वैदिक सनातन हिन्दु धर्म र संस्कृति हो ।

नेपालमा बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृति, वोन, जैन, सिख आदि सहित ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन (हिन्दू) धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनता बसोबास गर्दछन् । यसले नेपालको विशिष्टता झल्काउँदछ । यस्तो तथ्य र तथ्यांकलाई नजरअन्दाज गरेर, हाम्रो मौलिकतालाई बिर्सिएर, हाम्रो शक्ति र एकतालाई खण्डित गर्ने गरी लिइने निर्णयले नेपाल र नेपालीलाई कमजोर बनाउँदै लैजाने छ । नागरिक जति शिक्षित हुन्छन्, जति बढी चेतनाको उचाइमा पुग्छन्, जति सम्पन्नता थपिँदै जान्छ त्यति नै आफ्नो मौलिक परम्परा, सभ्यता र संस्कृतिप्रति अपनत्व लिँदै जान्छ, त्यसमा गर्व गर्दछ र त्यसलाई आफ्नो वास्तविक पहिचान ठान्दछ । यसको पुष्ट्याइँ खोज्न वर्तमान विश्वलाई नै नियाल्दा काफी हुन्छ भन्ने लाग्दछ ।

नेपाल सनातनी परम्परा, सभ्यता र संस्कृतिको मूल भूमि भएकाले नै यसका विरुद्धमा विभिन्न षडयन्त्रहरू हुँदै आएको इतिहास साक्षी नै छ । नेपाल एकीकरणका नायक श्री ५ बडामाहाराजाधिराज पृथ्वीनारायण शाहको शासनकालदेखि नै नेपाललाई कमजोर बनाउन यसको आत्मा अर्थात् यहाँको सभ्यतामाथि प्रहार गर्नु पर्दछ भनेर निकै षडयन्त्र भएका थिए । त्यसलाई चिर्दै तत्कालिन राजाहरूले हाम्रो सनातनी संस्कृति, सभ्यता र धर्मलाई अगाडि बढाउँदै आए । तर षडयन्त्रकारीहरूले हार मानेनन्, उनीहरू निरन्तर हाम्रा विरुद्धमा लाग्दै आएका छन् । अहिले हामीबीचमा नै फुट पैदा गराएरमात्र हाम्रो वैदिक सनातन हिन्दु धर्म र परम्परालाई कमजोर बनाउन सकिन्छ भन्ने निचोडका साथ उनिहरू क्रियाशील भएको पाउन सकिन्छ । यसमा हामीले बिचार पुऱ्याउन नसक्दा केही अप्ठ्याराहरू सिर्जना भएका छन् । यसलाई छिटो भन्दा छिटो सच्याउनेतर्फ हाम्रो ध्यान जानु पर्दछ ।

नेपाललाई एकताको सुत्रमा बाँध्ने बलियो आधार भनेको वैदिक सनातन परम्परा हो, त्यसलाई पनि भत्कायौँ भने आफ्नो मौलिकता गुम्नेछ । मौलिकता नभएको, आफ्नोपन नभएको, सबैलाई एकताको सुत्रमा बाँध्ने कुनै आधार नभएको देश लामो समयसम्म टिक्न सक्दैन भन्ने तथ्य विश्व इतिहासबाट पुष्टि हुन्छ ।

नेपाल अनन्तकालदेखि सनातनी परम्परामा हुर्केको छ । नेपाल सनातनी परम्पराको उद्गमथलो हो । प्रत्येक नेपाली सनातन धर्म, परम्परा र सभ्यताबाट दीक्षित छन्, अभ्यस्त छन् । यो प्रत्येक नेपालीको प्राण हो, पहिचान हो, आत्मसम्मान हो । शताब्दिऔँदेखि नेपाली मातृभूमिमा रहेका हरेक नेपालीले कहीँ, कहिल्यै कतै धर्मको नाममा विभेद वा विग्रहको अभ्यास गरेको पाउन सकिँदैन । कहीँ कतै कमी-कमजोरी भएका भए ती केवल व्यक्तिगत विषय हुन् । सामाजिक रूपमा हामी सधै एकताबद्ध छौँ । प्रकृतिको पुजा नगर्ने सायदै कोही हिन्दु होला, हिन्दुहरूको अगाध आस्था वुद्ध धर्मका प्रति छ । बुद्ध धर्म मान्नेहरू पनि सनातनी छन्, उनीहरू हिन्दु धर्मका मठ मन्दिर र परम्परालाई उत्तिकै सम्मान गर्दछन् । प्रकृतिपुजकहरू बुद्ध धर्म र सनातनी परम्परासँग जोडिएका छन् । सनातन सभ्यताले सबैलाई समेटेको छ । ॐकार परिवारले सबै नेपालीलाई जोडेको छ । ॐकार परिवारभित्र विभिन्न सम्प्रदाय, रीतिरिवाजहरू छन् । तर ती सबैको जग एउटै हो । त्यसैले नेपाललाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्नका लागि हामीले माहाअभियान सञ्चालन गर्दै आएका छौँ ।

महाअभियानका सन्दर्भमा :

नेपाली जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल् पुग्ने गरी ११ बैशाख २०६३ मा पुनःस्थापित संसदको ४ जेष्ठ २०६३ को घोषणा र अन्तरिम संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको विषयप्रति गम्भीर बन्दै नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको एउटा ठुलो समुहले २०७१ साल कार्तिक २० गते काठमाडौंमा नेपाली काङ्ग्रेस, वैदिक सनातन (हिन्दू) राष्ट्र स्थापना महाअभियान गठन गरी संविधानसभाबाट संविधान घोषणा गर्दा धर्मनिरपेक्ष राष्ट्रको प्रावधानलाई खारेज गरी धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन (हिन्दू) राष्ट्र घोषणा गर्न माग गर्दै पार्टीभित्र र वाहिरबाट दबाब सिर्जना गर्न अभियान सञ्चालन गरेको गौरवपूर्ण ऐतिहासिक तथ्य स्मरण गर्दछु । त्यही समयदेखि नै यो अभियान निरन्तर सञ्चालित छ र लक्ष्य हासिल नहुँदासम्म यो कायम नै रहनेछ ।

समाजका सबै तप्कालाई समावेश गरी अन्तरिम संविधानमा समावेश गरिएको धर्मनिरपेक्ष राष्ट्रको प्रावधान हटाउन संघर्ष गर्दै गर्दाको अवस्थामा झन्-झन् गम्भीर घटनाहरू घट्दै गए । नेपालको संविधान २०७२ मा जारी हुँदा अन्तरिम संविधानको प्रावधानले निरन्तरता पायो हाम्रो अभियानले त्यसलाई रोक्न सकेन । संविधान जारी गर्नुअघि संविधानसभाले धर्मका विषयमा जनताको राय संकलन गरेको थियो जसमा अत्याधिक नागरिक (करिव ९० प्रतिशत) ले नेपाल हिन्दुराष्ट्र कायम हुनु पर्दछ भन्ने मत राख्दाराख्दै २०७२ मा संविधानसभाले जनताको मतको विरुद्धमा गएर कपटपूर्ण ढंगबाट नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेकोमा त्यसको विरुद्धमा यो अभियानले निरन्तर संघर्ष गर्दै आएको छ ।

यसरी आम नागरिकको अभिमत, देशको मौलिकता, परम्परा र सभ्यतालाई समेत बेवास्ता गर्दै धर्मनिरपेक्षता संविधानमा कायम राख्नुले भित्रभित्रै के-कस्ता शक्ति क्रियाशील थिए होलान् भन्ने अनुमान लगाउन कठिन छैन । यस्तो एकाकार भएको समाजमा विखण्डन ल्याउन नेपाललाई धर्मनिरपेक्ष बनाइएको छ । इतिहास र परम्परा तथा यहाँको व्यवहारिक वास्तविकतालाई अवमूल्यन गरिएको छ । त्यसैले नेपाललाई हिन्दुराष्ट्र कायम गर्नका लागि, विश्वमा नेपालको विशिष्ट हैसियत पुनःस्थापित गर्नका लागि महाअभियान संचालन गरिएको छ ।

नेपाल वैदिक सनातन हिन्दुराष्ट्र कायम हुँदाका फाइदाहरू :

कतिपय विद्वानहरूले देशको धर्म हुँदैन भन्ने तर्कसमेत गर्ने गरेको पाइन्छ । संसारमा अहिले ७१ इसाइ देश छन्, ५१ इस्लाम देश छन्, १२ बुद्धिष्ट देश छन् । नेपाल धर्मनिरपेक्ष हुनु पर्दछ भन्ने पण्डित्याइँ छाँट्ने महानुभावले स्वर्ग मानेका अधिकांश देशको संविधानमा नै धर्म तोकिएको छ । धार्मिकरूपले ती देशहरू अनुदार छन् । त्यही देशका प्रतिनिधिहरू नेपालमा विभिन्न माध्यमबाट धर्मान्तरण गराउन क्रियाशील छन् । त्यतिमात्र होइन धर्मको नाममा नेपालमा द्वन्द्वको आगो सल्काउन उद्धत छन् । छद्मभेषीहरूको कुटील चाल नेपालमा हाम्रो सभ्यतालाई विस्थापित गरेर आफ्नो सभ्यता लाद्नु हो । देखिएर अर्थात् खुलमखुला त किन आउँथे र ! उनीहरू लुकिछिपी काम गर्दैछन् र, यहाँका कतिपय मानिसले जानेर वा नजानेर सघाउँदै आएका छन् । जो नेपालको सनातनी धर्म-परम्परालाई ध्वस्त पारेर आफ्नो धर्म लाद्न चाहन्छ उसैले धर्मनिरपेक्षताको वकालत गर्ने नाटक मञ्चन गर्दैछ । तर, यहाँ नेपाली सोझा छन् भन्ने बुझेर तथ्यलाई गोलमटोल पारेर देशको धर्म हुँदैन भन्ने चर्चा गरेका छन् । सरल र शालिन नेपाली जनतालाई आफ्नो व्यक्तिगत स्वार्थपुर्तिका लागि गलत सन्देश नदिन पनि महाअभियानले निरन्तर अनुरोधसमेत गर्दै आएको छ । यो क्रम नरोकिएका सजग र सचेत पनि गराउनुपर्ने अवस्था आउन सक्दछ ।

वैदिक सनातन नै नेपाल र नेपालीलाई राष्ट्रिय एकताको सुत्रमा एकताबद्ध गर्ने आधार हो र यसले राष्ट्रियताको संरक्षण र सम्वद्र्धन गर्नमा मद्धत गर्दछ । हिमाल, पहाड, तराईका नागरिकलाई एकै ठाउँमा ल्याउने मूल आधार यही हो । नेपालमा बहुसंख्यक ॐकार परिवार तथा सनातनी संस्कृतिका अनुयायी छन् । त्यस्तो मौलिकताको संरक्षणमा सहजता आउने छ । सनातन परम्परा, सांस्कृतिक विशिष्टता र देवभूमिको रक्षाका लागि आवाज बुलन्द गर्न यसले सहज बनाउने छ । नेपाल हिन्दुराष्ट्र कायम रहँदा सबै धर्म सम्प्रदायले आ-आफ्नो परम्परा र आस्थाअनुसारको धार्मिक स्वतन्त्रता उपयोग गर्ने वातावरण सहजताका साथ पाउने छन् जसले धर्मका नाममा हुन सक्ने अस्थिरता तथा अशान्तिलाई समयमा नै रोक्न मद्दत गर्नेछ ।

नेपालमा अस्वभाविकरूपमा धर्मान्तरण फैलँदै गएको छ त्यसलाई रोक्नका लागि त्यसले ल्याउन सक्ने द्वन्द्व र अविश्वास रोक्नका लागि नेपाल हिन्दुराष्ट्र कायम हुनु पर्दछ । नेपालमा रहेका अल्पसंख्यक धर्मावलम्बीको धार्मिक स्वतन्त्रता र सुरक्षाको प्रत्याभूतिका लागि पनि यो जरुरी छ । नेपालमा धार्मिक द्वन्द्व र बिग्रह आएको छैन, अहिलेको अतिवादी भड्काउले कुनै पनि समयमा देशमा द्वन्द्व तथा विध्वंश आउन सक्छ त्यसलाई समयमा नै अनुमान गरी त्यस्तो समस्या आउन नदिन पहल गरिनु पर्दछ । यसले मात्र नेपालमा शान्ति, स्थिरता, राष्ट्रियता र समृद्धि प्रवद्र्धन गर्न मद्धत गर्न सक्दछ । सनातनी परम्पराको जगेर्नाबाट जगतको कल्याण गर्नका लागि र विश्वको एकमात्र हिन्दुराष्ट्रको रुपमा नेपालको विशिष्ट पहिचान विश्वसामु प्रस्तुत गर्नका लागि नेपाललाई धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र कायम गरिनु पर्दछ ।

महाअभियानका क्रियाकलाप र यसले पारेको प्रभाव :

२०७१ साल कार्तिक २० गते काठमाडौंमा नेपाली काङ्ग्रेससम्बद्ध राष्ट्रप्रेमीहरूको अगुवाइमा वैदिक सनातन (हिन्दू) राष्ट्र स्थापना महाअभियान प्रारम्भ भएको थियो । त्यसपछि नेपाली काङ्ग्रेसको नवलपरासी जिल्लाको त्रिवेणी धाममा बसेको महासमिति बैठक, ५ वर्षपहिले काठमाडौंमा सम्पन्न महासमिति वैठकमा व्यापक रूपमा सनातन हिन्दूराष्ट्रको पक्षमा आवाज उठेको, २०८० फागुन ७–१० मा गोदावरी ललितपुरमा सम्पन्न पछिल्लो महासमिति बैठकमा उपस्थित महासमिति सदस्यहरूको बहुमतले वैदिक सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा हस्ताक्षर गरी महासमितिको पूर्ण सत्रमा प्रस्तुतसमेत गरेको थियो । यसबाट नेपाली काङ्ग्रेसका आम नेता तथा कार्यकर्ताले विशेष सहयोग तथा समर्थन प्रदान गर्दै आएका छन् भन्ने पुष्टि हुन्छ ।

पार्टीनेतृत्वको मुल दायित्व राष्ट्रियताको रक्षा हो । साथसाथै बहुसंख्यक समर्थकहरूको रायको सम्मान पनि गर्ने हो । यसरी बहुसंख्यक महासमिति सदस्यले हस्ताक्षर गरेर महासमिति बैठकमा बुझाएको प्रस्तावलाई पार्टीको मूल नेतृत्वले गम्भिरताका साथ लिनेछ भन्ने विश्वास रहँदारहँदै पनि महाअभियानको तर्फबाट नेतृत्वलाई निरन्तर झक्झक्याउने काम हुँदै आएको छ ।

नेपाली काङ्ग्रेसबाहेक पनि अन्य राजनीतिक दलका जिम्मेवार नेता तथा कार्यकर्ताले यो अभियानमा प्रत्यक्ष वा परोक्ष समर्थन जनाउँदै आएका छन् । कम्युनिष्ट मित्रहरूलाई धर्मका पक्षमा सार्वजनिक रूपमा बोल्न अप्ठ्यारो भएता पनि राष्ट्रिय एकताको सवालमा यो सबैभन्दा महत्वपूर्ण पक्ष हो र यसलाई बुद्धिमानीपूर्वका सच्याउनु पर्दछ भन्नेमा उनीहरू सहमत छन् । थोरै बुद्धिजीवीहरू बाध्यताले पनि होला धर्मनिरपेक्षताको पक्षमा उभिए तापनि बहुसंख्यक बुद्धिजीवीहरू नेपाललाई धर्मनिरपेक्ष बनाउन हुँदैन भन्ने पक्षमा प्रष्ट छन् । आम नागरिक यो गल्ती जतिसक्दो सच्याउनु पर्दछ भन्नेमा प्रष्ट छन् ।

विश्वभरका सनातनी, वुद्ध, प्रकृति पुजकहरू नेपाल हिन्दुराष्ट्र बन्नु पर्दछ भन्ने पक्षमा छन् । महाअभियानको तर्फबाट गरिएका विभिन्न सभा, सम्मेलन, भेला, अन्तरक्रिया, बहस आदिमा सबैको एकै स्वर हुने गर्दछ- नेपाललाई धर्मनिरपेक्ष बनाएर अक्षम्य भूल भएको छ, त्यसलाई जति छिटो सुधार्न सकियो त्यति क्षति कम गर्न सकिन्छ ! यसमा उनीहरू एकमत छन् ।

हामी सचेत छौँ :

कुनै धर्म तथा सम्प्रदायलाई श्रेयष्कर देखाउने, कसैलाई होच्याउने तथा कमजोर बनाउने मनसाय यसमा कहीँ कतै अभिव्यक्त भएको छैन । वैदिक सनातन परम्परा भनेको नै सम्पूर्ण चराचर जगतलाई समान दृष्टिबाट हेर्न सक्नु हो । जीवन र जगतको कल्याणका हेतु, नेपाली माटोको मौलिकताको संरक्षणको कर्तव्य बोध गरी सचेत नेपाली नागरिकले अगाडि बढाएको अभियान भएकाले यसले नेपाल र नेपालीको कल्याणलाई उच्च महत्व दिएको छ । धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुराष्ट्र कायम गर्दा सबै धर्म, सम्प्रदाय, परम्परा र सभ्यताको पूर्णतः संरक्षण र सम्वद्र्धन गर्न अझ सहज अवस्था सिर्जना हुनेछ ।

अल्पसंख्यक धर्म, सम्प्रदाय र परम्पराका नेपाली दाजुभाइ दिदीबहिनीहरूले आजभन्दा बढी सुरक्षित र आत्मसम्मानका साथ नेपाली भएर यो देशलाई फलाउने फुलाउने अवसर उपयोग गर्न पाउने वातावरण बन्नेछ । यो कसैलाई कमजोर बनाउन सुरु गरिएको अभियान होइन, सबैलाई बलियो बनाउन र त्यसमा पनि देशलाई बलियो बनाउन गरिएको प्रयास हो । धर्मनिरपेक्षताले हामीलाई भित्रभित्रै भयंकर साम्प्रदायिक, असहिष्णु, अनुदार र विद्रोही बनाउँदै लगेकाले यसको नकारात्मक असर धान्न सक्ने क्षमता मुलुकसँग छैन । त्यसैले मुलुकलाई दुर्घटनाबाट बचाउनका लागि पनि संविधान संशोधन अपरिहार्य छ ।

हाम्रो जिम्मेवारी :

सबैभन्दा माथि देश हुन्छ । देश रहेमा मात्र हामी रहने हो । हाम्रा पूर्खाको बलीदानबाट निर्माण भएको यो मुलुकको पहरेदारी गर्ने जिम्मेवारी हाम्रो हो । हामीले हाम्रा सन्ततिलाई शान्त, सुसंस्कृत, सभ्य र समृद्ध नेपाल हस्तान्तरण गर्नु पर्दछ । जुन देशले आफ्नो इतिहास, आफ्नो परम्परा, सभ्यता, संस्कृति र धर्मलाई बिर्सन्छ त्यो देशमा शान्ति, स्थिरता र सम्पन्नता आउँदैन भन्ने तथ्य जगजाहेर नै छ । मुलुकको प्रमुख राजनीतिक शक्ति भएकाले नेपाली काङ्ग्रेसले यो अभिभारा ग्रहण गर्नु पर्दछ ।

विगतको गल्ती सच्याउँदा कमजोर भइँदैन, अन्य राजनीतिक दललाई पनि विश्वासमा लिएर नेपाली काङ्ग्रेसले यसको नेतृत्व लिनु आवश्यक छ । किनकि, एकातिर विगतमा पनि नेपालका मुख्य परिवर्तनको नेतृत्व नेपाली कांग्रेसबाट मात्र सम्भव भएको छ भने अर्कोतर्फ देशमा कम्युनिष्टहरूको ठुलो संख्या छ । कम्युनिष्टहरू धर्मका बारेमा खुलेर बोल्न सक्दैनन् तर पनि राष्ट्रिय शक्ति भएका कारण उनीहरू पनि देशका प्रति उत्तिकै जिम्मेवार छन् र देशको भलो चिताउछन् । त्यसैले नेपाललाई हिन्दुराष्ट्र बनाउने सन्दर्भमा नेपाली काङ्ग्रेसले नेतृत्व लिँदा खुसी भएर कम्युनिष्टहरूले पनि यो मुद्धामा समर्थन जनाउनेछन् ।

राष्ट्रप्रेमले ओतप्रोत वद्धिजीवीहरू धर्मनिरपेक्षताको विरुद्धमा छँदैछन् । तर, केही बाह्य प्रभावमा रहेका र बाह्य शक्तिहरूप्रति उत्तरदायी हुनुपर्ने बाध्यतामा रहेका बुद्धिजीवीहरू काठमाडौंमा क्रियाशील भएको तथ्य जगजाहेर नै छ । त्यस्ता छद्मभेषी शक्तिलाई परास्त गर्न राष्ट्रवादी बुद्धिजीवीहरू थप क्रियाशील हुनु आवश्यक छ । मेरो बुझाइमा दक्षिण छिमेक नेपाल हिन्दुराष्ट्र होस् भन्ने चाहन्छ भने उत्तर छिमेक पनि धर्मको नाममा नेपालमा बढ्दै गएको बाह्य प्रभावबाट सशंकित बन्न पुगेको छ । उत्तर छिमेकमा बुद्ध धर्मको प्रभाव बढ्दो छ त्यसको मूल वैदिक सनातनी सभ्यता नै हो र, बुद्ध धर्मको जरो नेपालमा नै छ भने दक्षिण छिमेक आफैमा पनि हिन्दुराष्ट्र हुनका लागि प्रयत्नरत छ । यस्तो अवस्थामा संविधान संशोधनका लागि दबाब सिर्जना गर्नेतर्फ हाम्रो ध्यान जानु पर्दछ ।

अन्त्यमा,
राजनीतिमा न्ष्खभ बलम त्बपभ हुन्छ तर धर्म, संस्कृति र सभ्यतामा लेनदेन हुँदैन । त्यसमा पनि वैदिक सनातन परम्पराको कुनै जरो नै फेला नपर्ने हुँदा यो मानव सभ्यताजति नै पुरानो छ । त्यसैले यसमा सम्झौता हुने प्रश्न नै उठ्दैन । देशमा ९४ प्रतिशत सनातनी छन्, अल्पसंख्यक समुदाय पनि नेपाल धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुराष्ट्र बनेमा आफू सुरक्षित हुने तथ्यमा आश्वस्त छन् । यो देवभूमि हो, तपोभूमि हो, ऋषिमुनिको भूमि हो भन्नेमा कुनै सन्देह छैन । दक्षिण र उत्तर छिमेक नेपालमा शान्ति, स्थिरता र समुन्नति चाहन्छ, त्यसको लागि अहिले धर्मको नाममा देखापरेका अस्थिरताले कालान्तरमा समस्या ल्याउने हुँदा नेपालले आफ्नो मौलिक पक्षलाई छाड्न हुँदैन भन्ने पक्षमा छन् । नेपाललाई विश्वमा एकमात्र हिन्दुराष्ट्र बन्ने अवसर उपलब्ध छ, त्यसले हामीलाई एक विशिष्ट पहिचान दिनेछ ।

हाम्रो विविधतायुक्त भूगोल, भाषा र सम्प्रदायमा सबैलाई राष्ट्रिय एकताको मालामा जोड्ने आधार सनातनी परम्परा नै हो । बाह्य शक्तिले धर्मका माध्यमबाट घुमाउरो गरी हाम्रो मौलिकतामा, एकतामा, पहिचानमा र विशिष्टताको मर्ममा नै प्रहार गरेका छन् त्यसलाई हामीले समयमा बुझ्न सकेनौँ भने निकै ठूलो अनिष्ट निम्तनेछ । त्यसैले हामी सबै एकजुट भएर नेपाललाई पुनः धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन (हिन्दू) राष्ट्र कायम गर्नका लागि क्रियाशील होऔँ । जय नेपाल ।

(लेखक प्रतिनिधिसभा सदस्य एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हुन् ।)