नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको ठगीधन्दा पर्दाफास भएर अख्तियारको कारवाहीमा पर्ने भएपछि बर्बराहट शुरु भएको छ । २०७२ सालमा चरम लोडसेडिङका बखत तत्कालिन सरकारले भारतसँग विद्युत खरिद सम्झौता गरी ढल्केवर मजफरपुर ट्रान्समिसन लाइन निर्माण अघि बढाएको थियो । काम सम्पन्न हुने बखत पदमा आएका कुलमानले ७३ सालमा भारतबाट आयात गरिएको विद्युत काठमाण्डौ ल्याएर वितरण गरे, तर देशका अन्य भागमा भने लोडसेडिङ नै थियो । त्यस परिवेशमा कुलमानले लोडसेडिङ अन्त्य भएको घोषणा गरे ।
आफूले सात वर्ष पदमा बसेर सिन्को नभाँचेका कुलमान विद्युत कसरी प्राप्त भएको छ, कहाँबाट प्राप्त भएको छ र कसरी खपत पुर्ति भएको छ भन्ने बहस कहिल्यै गर्दैनन्, बरु उनले मिडियालाई प्रभावमा पारेर अप्राविधिक नागरिकलाई बेबकुफ बनाउन सबै शक्ति खर्च गरेको अब छिप्न नसक्ने सन्दर्भ बनेको छ ।
तथ्य के हो भने आज पनि विद्युत प्राधिकरणको आफ्नो उत्पादन ७०० मेगावाट पुग्दैन । निजीको उत्पादन खरिद गरेर सरकारी उत्पादन खोलैखोला बगाइएको छ । अनि भारतबाट आयात र निजी क्षेत्रको विद्युत बेचेर नाफा कमाइएको ढोल पिटिँदैछ । आर्थिक वर्ष ७९/८० मा समेत भारतबाट लगभग ७०० मेगावाट आयात गरिएको छ र पनि झन्डै ४०० मेगावाट नपुगेर लोडसेडिङ गरिएको छ । यो तथ्यांक त प्राधिकरण आफैले उल्लेख गरेको छ ।
कुलमानको लोडसेडिङलाई ‘interruption’ भन्नुपर्ने र, अरु पात्र भएचाहिँ लोडसेडिङ भन्नुपर्ने अजिव मान्यता स्थापित गर्न खोजिँदै छ । ७०० मेगावाट total install capacity भएका बेला पदमा आएका कुलमानले चमत्कार गरेर कथित लोडसेडिङ अन्त्य गरेको भए आज हाम्रो उत्पादन क्षमता ३ हजार मेगावाट पुग्दा पनि किन भारतबाट ७०० मेगावाट ल्याउँदासमेत ४०० मेगावाट नपुगेर interruption (लोडसेडिङ) गर्नु परेको हो ? कुलमानसँग यसको जवाफ छैन ।
हिउँदमा बिजुली नपुगेपछि लोडसेडिङ गर्नुपर्छ भनेर महशुल नतिरेको भन्दै उद्योगको लाइन काट्ने अनि वर्षा लागेपछि फेरि जोड्ने, यो तमाशा गरेको कति वर्ष भयो ? कुलमानको चमत्कारले लोडसेडिङ अन्त्य भएको भए आज नेपालको आफ्नै उत्पादन क्षमता ३ हजार मेगावाट पुग्दा पनि ७०० मेगावाट विद्युत किन चर्को मुल्यमा भारतबाट आयात गरियो ? प्राधिकरणको यो डाटा प्रमाण हैन ?
त्यसैले, आजको समयमा नागरिकको बुद्धि भुटेर आफ्नो लुट छोप्ने प्रयास काम लाग्दैन भन्ने कुलमानले महसूस गर्नु उचित हुनेछ । कुलमानकालमा प्रतिमेगावाट ७ लाख घुष नदिए पिपिए नगर्ने चलन आम भएको निजीक्षेत्रबाट विद्युत् उत्पादन कर्ममा सम्बद्ध व्यवसायीहरुको गुनासो सुनिन्छ ।
- विमल शर्मा
प्रतिक्रिया