दुई दशक सङ्घर्ष गर्दा पनि बन्न सकेन सडक

दुई दशक सङ्घर्ष गर्दा पनि बन्न सकेन सडक


द्रोण अधिकारी, भद्रपुर (झपा)

पछिल्लो पटक काठमाडौंको कन्टेक प्रालिले २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको चन्द्रगढी-विर्तामोड सडक खण्डको ८.५ किलोमिटर सडक निर्माणको काम २०८१ असार मसान्तसम्म तीन पटक म्याद थपको सुविधा लिँदासमेत ३८ प्रतिशत मात्र पूरा गरेको पाइएको छ ।

बल्लतल्ल गरामनीको धौला पुलदेखि देउनियाँसम्म ४ किलो मिटर सडकको एकापट्टी वेस ग्राभेल सडक बने पनि देउनियाँदेखि पूर्वपट्टिको सडक खण्डको आधारभूत काम पनि हुन सकेको छैन । निर्माण कम्पनीले बजेट अभावको कारण देखाएर देउनियाँदेखि चन्द्रगढीसम्मको ४.५ किलोमिटर सडक खण्ड निर्माण नगरेको हो ।

दुई वर्ष ६ महिनामा काम पूरा गर्ने गरी कबुल गरेर ठेक्का पाएको ठेकेदार कम्पनीले यस अवधिभित्र काम सम्पन्न गर्न नसकेपछि पटकपटक म्याद थप गरिएको थियो । म्याद थप्दासमेत कन्टेकले निर्माण सम्पन्न नगरेपछि स्थानीयले पटक-पटक चक्काजाम गर्दै आन्दोलनसमेत गरेका छन् । तर पनि कन्टेकले वास्ता नगरेपछि ठेक्का सम्झौता तोडेर यस आर्थिक वर्षबाट झापाको कञ्चन निर्माण सेवालाई जिम्मेवारी दिइएको सडक डिभिजन दमकको भनाइ छ ।

कञ्चन निर्माण सेवाका प्रोप्राइटर केदार गिरीले बाँकी काम आफ्नो कम्पनीले गर्ने गरी जिम्मेवारी पाएको जानकारी दिए । उनले ‘ पाँच करोड रुपैयाँ निकासा भएको छ, त्यस वजेटबाट दशैअगाडि देउनियादेखि गरामनीको धौला पुलसम्मको काम पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

थपिएको म्यादभित्र समेत ठेकेदारले भद्रपुर-विर्तामोड सडकको निर्माण कार्य सम्पन्न गर्न नसकेपछि वर्षादका कारण उत्पन्न समस्यालाई लिएर चन्द्रगढीको लेखनाथ चौक र गरामनीको देउनिया चौकमा असारको अन्तिम साताभरी युवाहरूले धान रोपाई, संघीय संसदका प्रतिनिधिको अनुपस्थितिको विरोधमा फोटो प्रदर्शनी लगायत विविध प्रदर्शन गरेका थिए ।

पछिल्लो पटक सडक निर्माणका लागि असारसम्म म्याद थप गरिएको भए पनि सडक निर्माणको ठेक्का पाएको काठमाडौँको कन्टेक प्रालिले तेस्रो पटक थपिएको समयसम्म आइपुग्दा ५० प्रतिशत काम पूरा गरेको दावी गरे पनि प्राविधिक टोलीको अध्ययनले ३८ प्रतिशत मात्र पूरा भएको ठहर गरेको छ । सडक निर्माणको काम सम्पन्न नगर्दा झापा सदरमुकाम चन्द्रगढी क्षेत्रमा काम लिएर आउने-जाने सर्वसाधरणले समस्या भोग्नु परिरहेको छ ।

दुई दशकयता जीर्ण रहेको यस सडकको निर्माण छिटो सम्पन्न गराउन दवाव दिँदै स्थानीयले आन्दोलन गरेको दशक बित्न लाग्यो तर कामको परिणाम उस्तै देखिँदै आएको छ । भद्रपुर क्षेत्रको काम छिटो गराउन नगर प्रमुख, उपप्रमुख र सडकले छुने वडाका वडाध्यक्षहरू स्थानीयको गुनासो सुन्न हरेक दिन कुनै न कुनै समय आन्दोलनरत क्षेत्रमा गइरहेका पनि देखिन्छन् । तर, सडकका खाडल वर्षाद बढेसितै बढ्नेक्रम रोकिएको छैन । स्थानीयलाई आवतजावतको समस्या दशकौंयता उही गतिमा देखिन्छ ।

चन्द्रगढीको लेखनाथ चौकमा एमाले अध्यक्ष केपी ओली, काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको तस्वीरमा बेपत्ता जनप्रतिनिधि लेखेर निरन्तर प्रदर्शन गरेका स्थानीयले कहिले ढाट राखेर सडक अवरोध गर्दै त कहिले सडकमा धान रोपेर विरोध गरिरहेका छन् । स्थानीयले पछिल्लो पटक नगर प्रमुख, उपप्रमुख र सडकले छुने वडाका वडाध्यक्षहरूलाई राखेर निर्माण कम्पनीका प्रतिनिधिलाई काम छिटो गर्न दवाव दिएका थिए ।

स्थानीयलाई सम्बोधन गर्दै भद्रपुर नगर प्रमुख गणेश पोखरेलले आफूले नेतृत्व लिएदेखि नै चन्द्रगढी-विर्तामोड सडको काम छिटो गराउन सडक विभाग, संघीय सरकारलाई दवाव दिइरहेको भए पनि वजेटको न्यून परिचालनका कारण काम सम्पन्न हुन नसकेको बताए । प्रमुख पोखरेलले गत वर्ष विर्तामोड नगर क्षेत्रमा मात्र काम भएकाले भद्रपुर नगर भित्र पर्ने चन्द्रगढी क्षेत्रमा वर्षाद शुरू हुनु पूर्व खाल्डाखुल्डी पुर्न निर्माण व्यवसायीलाई भनेर २४ टिपर मिक्स गिटी हाल्ने काम भए पनि अविरल वर्षादले उस्तै समस्या आएको जानकारी दिए । उनले यस आर्थिक वर्षको काम चन्द्रगढी क्षेत्रबाटै गर्ने गरी सडक विभागसित पहल गरिरहेको प्रष्ट पारेका छन् ।

यस पटक ठेकेदार कम्पनी तह लगाउन चन्द्रगढी तथा देउनिया क्षेत्रका बासिन्दाले निकै ठूलो विरोध प्रदर्शन गरेपछि नागरिकको अपेक्षाको सम्मान गर्न संघीय सांसद विश्वप्रकाश शर्माले चन्द्रगढीको लेखनाथ चौकमा उभिएर छिटो काम सम्पन्न गराउन आवश्यक रकमको श्रोत निश्चित गर्न लागि पर्ने वचन दिएर गएका छन् । शर्माको वचनले काम गरे पछिल्लो पटक थपिएको समय सिमाभित्रै सडक बन्ला नत्र उही पुरानो रोगले सताउला । नेताको भर र विश्वास गर्न छोडेको वर्तमान अवस्थामा शर्माको अग्नि परीक्षा शुरू भएको छ । सभामुख देवराज घिमिरे र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन यस सडकको दुरअवस्था बारे बेखवर जस्तै छन् ।

२०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले ३० महिनामा काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेको थियो । त्यस अवधिभित्र करिब २५ प्रतिशत मात्र काम सम्पन्न भएपछि सडक डिभिजन कार्यालय दमकले पटक पटक गरी यही असारसम्म म्याद थप गरेको थियो । दुई पटक थपिएको अवधिमा १५ प्रतिशत हाराहारी काम भएको देखिन्छ ।

जिम्मेवारी लिएका ठेकेदारले समयमै काम पूरा नगर्दा यात्रुहरूले सास्ती बेहोरिरहेका छन् । सम्झौताअनुसार निर्माणको काम नगरेको भन्दै निर्माण कम्पनी कन्टेक प्रालिलाई सडक डिभिजन दमकले पटक पटक स्पष्टीकरण सोधेको थियो । चित्तबुझ्दो जवाफ नदिएपछि नियामक कारवाही प्रकृयामा गएको हो ।