गौशालामा परिणत हुँदै कृषिउपज राख्ने शीतभण्डार !

गौशालामा परिणत हुँदै कृषिउपज राख्ने शीतभण्डार !


  • द्रोण अधिकारी, झापा (भद्रपुर)

भद्रपुरको कृषि उपजको उन्नतिमा एउटा इटा बन्न सक्ने कोल्ड स्टोरेज (भद्रपुर शीतभण्डार) निर्माण थालिएको १४ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

नेपालस्थित भारतीय दूतावासमार्फत झापाको पहिलो नगर भद्रपुरमा कोल्ड स्टोरेज बनाउनका लागि २०६७ सालमा बजेट निकासा गरी १५ महिनामा सम्पन्न गर्ने गरी काम सुरू भएको थियो ।

भारतीय दूतावासले अनुदान स्वरूप बजेट निकासा गरेपछि नगरपालिकाले टेण्डर आव्हान गर्दै ठेक्का प्रक्रियामार्फत कोल्ड स्टोरेज निर्माण कार्य सुरु गरेको पनि डेढ दशक लागिसकेको छ । पछिल्लो ४ वर्षयता भद्रपुर नयाँ बजार क्षेत्रका गाइ गोरू थुन्ने ठाउँका रूपमा परिणत भएको शीत भण्डार बेवारिसे अवस्थामा पुगेको छ ।

त्यतिबेला कर्मचारीको हातमा रहेको स्थानीय सरकार अहिले जनप्रतिनिधिको हातमा नगर सरकार रहेको ७ वर्ष भइसक्दा पनि अलपत्र संरचातर्फ नगरपालिकाका जनप्रतिनिधिले चासो देखाएका छैनन् ।

जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको पहिलो कार्यकाल सकिएर दोश्रो कार्यकालको पनि दुई वर्ष भइसकेको छ ।

कुल ४ करोड ७८ लाख ७३ हजार २५८ रुपैयाँ ९० पैसाको लागतमा निर्माण थालिएको शीतभण्डारको निर्माण ठेक्का सुनौला खिम्ती कन्स्ट्रक्सन कम्पनीले ४ करोड १३ लाख ३७ हजार ३७४ रुपैयाँ ९६ पैसा (भ्याटसहित) मा १५ महिनामा काम सम्पन्न गरिसक्ने गरी नगरपालिकासँग सम्झौता गरेको थियो ।

सम्झौता अनुसार २०६७ पुस १५ गते काम सुरु गरेको १५ महिनामा अर्थात् २०६८ चैत्र १६ गतेसम्ममा काम समाप्त हुनु पर्ने थियो । १४ वर्षे अवधि पूरा हुँदै गर्दा अहिलेसम्म निर्माणको काम सकिएको देखिँदैन । यस विषयमा नगर प्रशासनले कुनै चासो राखेको अवस्था पनि छैन । दाताबाट आएको करोडौं अनुदान बेवारिसे भएको नगरबासीको दुखेसो छ ।

भद्रपुर कृषक समूहका नाममा खरिद गरिएको साविक भद्रपुर-१ (हाल भद्रपुर-५) स्थित नयाँ बजारमा मेचीनदीको डिलमा पर्ने उक्त जग्गामा भद्रपुर शीत भण्डार निर्माण सुरु भएको १४ वर्ष पूरा भइसकेको छ । ठेकेदारले बल्लतल्ल यस अवधिमा भवन निर्माण कार्य पूरा गरी रंगरोगन गरिसकेको देखिन्छ । कोल्ड स्टोरेजभित्र चाहिने आवश्यक थर्मोकुलर जडान भए पनि त्यसको प्राविधिक परीक्षण गरिएको छैन । ग्यास हाल्नुपर्ने, ट्रान्समिटर, जेनेटर, बिजुलीको सामान जडान र अन्य केही मेसिनरी जडान लगायतका मुख्य काम अझै हुन बाँकी छन् । गृह मन्त्रालयले काम नगर्ने ठेकेदारलाई कारवाही सुरु गरेपछि ठेकेदार सोनी भण्डै तीन वर्ष अगाडि नगरपालिकाको सम्पर्कमा आएको भए पनि काम भने केही पनि अगाडि बढेको छैन । गृहले कारवाही गर्न छाडेपछि फेरि ठेकेदार सोनी सम्पर्कविहीन बनेको नगरपालिका श्रोतको दाबी छ । कोल्ड स्टोरेजमा केही महत्वपूर्ण काम अझै बाँकी रहे पनि ठेकेदार कम्पनीले साढे तीन करोड बढी रकम लगिसकेको देखिन्छ ।

भद्रपुरको कृषि उपज संरक्षण तथा विकासलाई टेवा पुर्याउन नेपाल-भारतमैत्री संघको पहलमा भद्रपुरमा कोल्ड स्टोरेज निर्माणका लागि भारतीय दूतावाससँग आग्रह गरिएको थियो । दूतावासले पनि कोल्ड स्टोरेज निर्माण गर्न सहयोग गर्ने भएपछि भद्रपुरका उद्योगीहरूले कोल्ड स्टोरेज आफूहरूको हातबाट नफुत्किओस् भनेर हतार-हतार नेपाल-भारतमैत्री संघमा आवद्ध भएकामध्ये पनि सीमित व्यक्तिहरूलाई समाविष्ट गरी कृषक समूह नामको प्राइभेट कम्पनी दर्ता गराएका थिए । उद्योगीलाई मात्र शेयर सदस्य बनाइएको सो कृषक समूहलाई भारतीय दूतावासले सहयोग नगर्ने र वास्तविक कृषि पेशामा लागेका कृषकको समूहलाई मात्र मान्यता दिने भएपछि तिनै उद्योगीले पुनः भद्रपुर कृषक समूह नामक गैरसरकारी संस्था दर्ता गराए । उद्योगीहरूले गैरसरकारी संस्था दर्ता गराए पनि दूतावासले स्थानीय निकाय मार्फत मात्र सहयोग गर्ने भएपछि कृषि समूहले साविक भद्रपुर-१ मा रहेको गोविन्द सरियाको झण्डै एक विगाह जग्गा खरिद गरी सोही जग्गामा कोल्ड स्टोरेज बनाउन थालिएको थियो ।

स्थानीय सरकार शक्तिशाली तथा अधिकार सम्पन्न भए पनि विगतदेखि अलपत्र परेका संरचना निर्माण सम्पन्न गराइ सञ्चालनमा ल्याउन भने निरीह देखिएको छ । पछिल्लो पटक निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको एक वर्षको अवधिमा पनि अलपत्र शीतभण्डार निर्माणमा ध्यान पुऱ्याउन सकेका छैनन् । केही वर्षयता भद्रपुर बजार दक्षिणका चौपाया राख्ने गौशाला बन्दै गएको शीतभण्डार निर्माण सम्पन्न हुने-नहुने अनिश्चित देखिएको छ ।