✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ भाद्र १७ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर २ तारिख सोमबार भाद्र कृष्ण पक्षको अमावश्या तिथि मघा नक्षत्र शिव योग चतुष्पाद करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४३ मा भयो र सूर्यास्त साँझ १८ः२१ मा हुनेछ । सोमबारे औंसी, कुशेऔँसी, बाबुको मुख हेर्ने दिन, गोकर्ण स्नान, मोति जयन्ति ।
आजको राशिफल
मेष – सुखद् र विषद् दुवै प्रकारका अनुभूति मिल्नसक्ने दिन रहेको छ । तपाईंका कमी-कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्न सक्छन् । हातमा आइसकेको अवसर गुम्न सक्छ, सजग रहेर काम गर्नुहोला । उपहारका नाउँमा काम नलाग्ने बस्तु हात लाग्नसक्छ । मेहनत गर्दा केही लाभ मिल्ने र सत्कार्यमा जुट्नाले सुख-सन्तोष प्राप्त हुने योग छ । दिगो फाइदा हुने काम शुभारम्भ गर्न सकिनेछ । मित्रहरूसँग मनोरञ्जनात्मक क्रियाकलापमा जुट्ने अवसर मिल्ला ।
वृष – प्रतिष्ठित एवम् कीर्तिमानी काम सम्पादन गर्ने अवसर जुर्ने दिन छ । नयाँ काममा हात हाल्ने समय आएको छ । मान र विद्या प्राप्त हुनुका साथै तपाईंको बुद्धि-विवेकको प्रशंसा होला । सुखद यात्राको सम्भावना छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । प्रेमभाव बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मिथुन – उच्च महत्वाकांक्षा र पराक्रम वृद्धि भइ सोचेको काम पूर्ण रुपमा सम्पादन हुनसक्ने समय छ । खर्च लागे पनि आज चिताएको काम बन्ने देखिन्छ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । प्रतिष्पर्धीले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । आजको दिन मित्रवर्गबाट लाभ उठाउन सकिनेछ । रसरागको भाव वृद्धि होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – आज कामको राम्रै अवसर प्राप्त भए पनि अवरोध खडा हुनसक्छ । खर्च बढ्ने तथा आर्थिक अभावले केही सताउने योग छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । तथापि, विपरीतलिंगी तथा हितैषी मित्रहरूले साथ दिनेछन् । स्वास्थ्य केही कमजोर रहेको आभास हुनसक्छ, तर कामको बोझ भने कम नहोला । इर्ष्यालु पात्रहरूले सताउन सक्ने देखिन्छ, सचेत रहनुहोला ।
सिंह – विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुनसक्ने समय छ । आज तपाईंलाई विशेष ओहदावाला वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ, अत्यन्त सजग भइ पाइला अघि बढाउनु उचित हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान राख्नुहोला । प्रेमजीवन सार्थक रहला । नियमित कार्यमा आफ्नै कमजोरीले ढिलासुस्ती हुनसक्छ, ध्यान राख्नुहोला ।
कन्या – नयाँ काममा हात हाल्ने समय आएको छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । मिष्ठान्न भोजन र विशेष उपहार हातलागी हुने योग छ । रसराग तथा मनोरञ्जनात्मक क्रियकलापमा मन रमाउनेछ । पशुधनबाट विशेष फाइदा होला । अध्ययन–अध्यापनमा पनि प्रगति हुने दिन रहेको छ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।
तुला – दिन सुखद नै रहला । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । विपरीतलिंगीको माध्यमबाट लाभ हुने योग छ । प्रेम र मित्रताको बन्धन कसिनेछ, दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नु हितकर होला । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
वृश्चिक – विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिनसक्ने समय छ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग रहेकोले विशेष सजगताको खाँचो छ । स्वास्थ्यसम्बन्धी समस्याले पनि केही सताउन सक्छ । खर्च बढ्ने र आफ्नाबाटै धोका मिल्नसक्ने योग छ । महत्वपूर्ण योजनामा अवरोध आउनाले मन खिन्न रहला । आजको दिन विशेष कार्य थाती राख्नु हितकर हुनेछ ।
धनु – ठूला ब्यक्तिहरुबाट मानसम्मान प्राप्त हुने तथा मिष्ठान्न भोजनको आनन्द प्राप्त हुने दिन रहेको छ । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । तर, आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने योग छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मकर – परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ । ब्यापारमा भने केही लाभ नै मिल्ने देखिन्छ । विगतका कमजोरी सच्याउने मौका मिल्ला । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर दिलाउनसक्ने समय छ । दिगो आम्दानी हुने काम सुरु हुने योग छ, तर काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, सजग रहनुहोला ।
कुम्भ – कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिने समय भएपनि आज महत्वपूर्ण कार्यमा अवरोध सिर्जना हुनसक्ने देखिन्छ । यात्रागत कार्य थाती राख्नु उचित हुनेछ । आजको दिन सवारीसाधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर होला । पढाइलेखाइमा जाँगर चल्नेछैन । आर्थिक अभावले सताउन सक्छ, जसले अधैर्यपना बढ्न सक्छ । धैर्य राखी राम्रो समयको प्रतीक्षा गर्नुको विकल्प देखिन्न ।
मीन – नियमित कामको चिन्ताले सताउन सक्छ । आज केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । स्वास्थ्यगत समस्याले सताउन सक्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । सोचेको काम समयमा नबन्नाले असन्तुष्टि बढ्न सक्छ । समस्या समाधानका लागि आफन्तको साथ मिल्नेछ ।
प्रतिक्रिया