‘अहिलेसम्म कुमारी नै छु’( एञ्जिला कार्की

‘अहिलेसम्म कुमारी नै छु’( एञ्जिला कार्की


नेपाली कलाकारिता क्षेत्रमा सफल कलाकार बन्ने लक्ष्यका साथ अगाडि बढिरहेकी छिन् एञ्जिला कार्की । धादिङ फूलखर्क– २ की एञ्जिला लामो समयदेखि काठमाडौंको कलंकीमा बस्दै आएकी छिन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने हामी किसान हौँ र जीवनचक्र नामक टेली शृङ्खलाको साथमा आधा दर्जन म्युजिक भिडियोमा आफूलाई प्रस्तुत गरिसकेकी छिन् उनले ।
० खासमा काठमाडौंचाहिँ किन आउनुभयो नि ?
– पढाइको सिलसिलामा आएकी थिएँ । त्यही क्रममा यतै बसियो ।
० अरू क्षेत्र पनि रोज्न सकिन्थ्यो । तर सिनेमा नै किन रोजेको नि ?
– सिनेमामा अभिनय गर्ने मेरो सानैदेखिको रहर हो । रहर मेट्ने क्रममा अब यो क्षेत्रलाई निरन्तरता नै दिन्छु ।
० के छ र सिनेमामा ?
– आकर्षण । त्यसले नै तानिन्छन् सबै ।
० तर यहाँ त सिनेमा खेल्ने लोभमा पर्दा धेरै नारी पात्रहरू शारीरिक शोषणमा पर्ने गरेको कुरा पनि बजारमा आएका छन् नि ?
– यो त आफूमा भर पर्ने गर्छ । एउटा पक्षले गर्दा मात्र शारीरिक शोषण हुँदैन । यो त दुवैको सहमतिमा हुने कुरा हो । मलाई लाग्छ ताली एक हातले मात्र बज्दैन ।
० एञ्जिलालाई मन पराउनेहरू कत्तिका छन् नि ?
– मन पराउनेहरू त थुपै्र छन् तर मैले ती मन पराउनेहरू माझबाट जीवनसाथीको रूपमा कसैलाई छानेकी छैन ।
० एञ्जिला अहिलेसम्म कुमारी नै हो ?
– किन, शङ्का लाग्यो र ? विवाह नगरेकी केटी कुमारी नभएर के हुन्छ त ? म अहिलेसम्म कुमारी नै हुँ ।
० केटाहरूले कत्तिको घुम्न जाऊँ भन्छन् नि ?
– त्यस्तो प्रस्तावलाई मैले सीधै रिजेक्ट गर्दिने गरेकी छु । घुम्न जाने वहानामा अर्कै गर्ने दाउ धेरैको छ यहाँ ।
० एञ्जिलालाई अहिलेसम्म कतिले किस गरे ?
– बुबा–आमाले सन्तानको रूपमा गर्नेबाहेक अरूलाई किस गर्न दिएकी छैन र
दिन्नँ पनि ।
० सिनेमा खेलेर जीवन धान्न सकिएला ?
– सकिन्छ नै भनेर लागेकी छु ।
० भोलि सकिएन भने… ?
– अहिले नै हरेश खाएर कहाँ हुन्छ र ।

लन्डनमा देखियो हमालको कमाल
साँच्चै † नायक राजेश हमालले त्यसै महानायकको उपमा पाएका रहेनछन् । उनको क्रेज, बजार र स्टारडम हेरेर नै उनले यो पगरी पाएका रहेछन् । त्यसो त हमालको नाम, चर्चा अनि क्रेज स्वदेशमा मात्र होइन, विदेशमा रहेका नेपालीमाझ त झनै दह्रो रहेछ भन्ने कुरा यसपटक लन्डनमा रहेका नेपालीमाझ प्रस्टै देखियो ।
सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न लन्डन पुगेका थिए नायक राजेश हमाल । कारण त यति मात्र थियो तर यो वहानामा उनले लन्डनमा रहेका नेपालीको सङ्घ÷संस्थालाई समय नदिइरहन सुखै पाएनन् । राजेशलाई सम्मान गर्ने बहानामा उनीसँग भेट्न र कुरा गर्न अनि तस्बिर खिचाउन खोज्नेहरूको जमात नै उनको पछि लाग्यो । तै पनि राजेशले मन भने सबैको राखिदिए । उनी भन्दै थिए, ‘मैले सकेसम्म लन्डन रहनुभएका नेपालीको मन राखिदिएको छु । सबै कार्यक्रममा सहभागिता पनि जनाएँ । यदि कसैको कार्यक्रम छुटाउन गएको भने म क्षमा माग्छु ।’ महानायकको यो विचारले झनै उनीप्रति श्रद्धा जागेको कुरा लन्डनवासी नेपालीले बताएका थिए ।
हमालले यो स्तम्भकारसँग लन्डन घुम्नेक्रममा भनेका थिए कि यो उनको दोस्रो लन्डन यात्रा हो । आजभन्दा ६ वर्ष अगाडि उनी व्यक्तिगत रूपमा मात्र लन्डन आएका थिए । ‘म सुटुक्क आएँ त्यतिबेला र सुटुक्क गएको थिएँ, तर यसपटक भने सार्वजनिक कार्यक्रममा भाग लिन आएको हुँ,’ हमालले अगाडि बताए, ‘साँच्चै यसपटकको भ्रमण मेरो जीवनका लागि अविष्मरणीय नै रह्यो ।’
राजेश हमालमाथि एउटा आरोप छ कि उनी सीमित वर्ग र उमेरका दर्शकमाझ मात्र परिचित या हिट छन् । मध्यमखालका दर्शकभन्दा माथि उनले आफ्नो क्रेज बनाउन सकेका छैनन् । तर, लन्डनमा उनको क्रेज र बजार हेर्दा उनीमाथि लागेको त्यो आरोप मित्थ्या सावित भएको छ । राजेश हमालकै कारण कार्यक्रम हाउसफुल भएको हो । लन्डनमा यो नै पहिलो रेकर्ड भएको कुरा बताए लन्डननिवासी सञ्चारकर्मी राजेन्द्र भट्टले । ‘त्यहाँ कलाकारहरू आउँदा घरघरमा टिकट भिडाउन जानुपर्दथ्यो तर यसपटक यो भएन । टिकट नपाएर दर्शक फर्किएको पहिलो रेकर्ड हो लन्डनमा,’ भट्टले आफ्नो अनुभव सुनाए । टिकट पाइहालिन्छ नि, किन हतार गर्नु भन्ने पहिलेजस्तो सोचेर आएका लन्डननिवासी नेपाली दर्शक पनि टिकट हाउसफुल भएको देखेपछि छक्क परेका थिए । ‘पहिलेजस्तो सोचेर अल्छी गरेर ढिला आइयो तर यसपटक भने धोका पाइयो,’ उनीहरूको गुनासो थियो । दर्शकहरूको अत्यधिक चाप बढेपछि हमालको कार्यक्रम हेर्न नपाए तापनि उनीसँग कुरा गर्न र तस्बिर खिचाउन लालायित दर्शकहरूको भीडबाट जोगाउन कार्यक्रम आयोजकले गतिलै सुरक्षा व्यवस्था गर्नुपरेको थियो ।
लन्डन भ्रमणको क्रममा राजेशले यो स्तम्भकारसँग आफू चाँडै सिनेमा बनाउने र लन्डनका दृश्य सिनेमामा कैद गर्ने रहस्य पनि खोले । उनले भने, ‘यहाँका पुरातात्विक घर र कृतिहरू गजबकै छन् । आधुनिकताको पराकाष्टा नाघे तापनि बेलायतले आफ्नो कला, शैली र पहिचानलाई बिर्सेको छैन ।’

दामभन्दा दर्शकको माया ठूलो
० कस्तो लाग्यो लन्डन ?
– सुने जस्तै ।
० यहाँका नेपाली नि ?
– देशजस्तै सुन्दर र मिजासिला ।
० लन्डननिवासी नेपालीको अत्यधिक माया पाउनुभयो । कस्तो लागिरहेछ ?
– यो त मेरो जीवनको सुखद क्षण हो ।
० भनेपछि दाम पनि त रामै्र आयो ?
– दर्शकहरूको मायाको अगाडि दाम के हो र ?
० तपाईंले लन्डनमा पनि घर किन्ने चर्चा चलेको छ नि ?
– त्यसबारेमा सोचेको छैन । यहाँका नेपाली दाजुभाइले त्यो सल्लाह दिनुभएको छ ।
० किन दिए होलान् त्यस्तो सल्लाह ?
– यहाँ हलिउडका स्टारदेखि बलिउडका फिल्मी स्टार र खेलाडीहरूले घर किनेका रहेछन्, त्यसैले होला ।

इकु ‘ब्याक टु जङ्गल’
थोरै लगानीमा पहिले ‘इकु’ नामक चलचित्र बनाएका सुलेमान शंकरले त्यतिबेला सोचेभन्दा बढी कमाए यो फिल्मबाट । त्यही उत्साह, उमंग र जाँगर बोकेर उनले फेरि बनाए इकु ब्याक अगेन । तर, यो चलचित्र राम्रोसँग नचलेपछि उनीलाई ठूलो झड्का लागेको छ यतिबेला ।
हाल प्रदर्शन भइरहेको ‘इकु ब्याग अगेन’मा सुलेमान बढी नै महत्वाकाङ्क्षी देखिएका हुन् । हरेक समय आफ्नै पक्षमा हुन्छ भन्ने सोचेर नै उनले यो चलचित्रमा आफ्नै श्रीमतीलाई हिरोइन बनाए । यो भएपछि दर्शकहरूले भन्न थाले– ‘सुलेमानको श्रीमतीलाई हेर्न किन टिकट तिर्ने ?’ दर्शकहरूको यस्तो प्रतिक्रिया अन्तत: यो चलचित्रका लागि घातकसिद्ध भएको छ ।
थोरै लगानी गर्दा त धेरै कमाइयो अब धेरै लगानी गरेर अझै धेरै कमाइन्छ भनेर पहिलेको इकुभन्दा दोेब्बर लगानी गरेर सुलेमानले दोस्रो इकु बनाएका थिए तर दोस्रो इकुमा आएर भने उनले सोचेजस्तो भएन । चर्चित हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा इकुको भूमिका पाएपछि रातारात हिट भएका इकु अर्थात् सुलेमान शंकरले त्यो क्रेज सधैंभरि रहला भन्ने सोच्नु नै गलत थियो । अन्तत: त्यो सोचमा उनी फेल भएका छन्् । पाँच वर्षसम्म उही क्रेज अनि उस्तै भूमिकामा सुलेमानलाई देख्दादेख्दा दर्शकहरू दिक्क भइसकेका थिए । समयसँगै आफू र आफ्नो भूमिका परिवर्तन गर्नुपर्छ र दर्शकहरूले कलाकारहरूबाट अलगअलग चरित्र चाहन्छन् भन्ने कुरा नबुझेका इकु अर्थात् सुलेमान शंकरले इकु– २ बाट नराम्ररी आर्थिक घाटा खानुपर्ने अवस्था आएको छ ।