धुलिखेल-खावा सडकमा दुई दिन मालवाहक गाडी सञ्चालनमा रोक

धुलिखेल-खावा सडकमा दुई दिन मालवाहक गाडी सञ्चालनमा रोक


अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल-खावा सडकखण्डमा दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले आज र भोलि (२० र २१ भदौ) टिपर र मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो ।

निर्माण व्यवसायीको लापर्वाहीका कारण बर्खाको समयमा सडक जीर्ण भएर काठमाडौंबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीन जोड्ने तातोपानी नाका आवतजावत गर्ने प्रमुख सडक जोखिमपूर्ण अवस्थामा रहेकाले निर्माण विस्तार गर्न दुई दिन मालवाहक गाडी सञ्चालनमा रहेका लगाएको कार्यालयले जनाएको छ ।

निर्माणाधीन धुलिखेल-खावा सडकखण्ड अत्यन्तै जीर्ण भएकाले सडक निर्माणमा सहयोग गर्न सबैसँग कार्यालयले अनुरोध गरेको हो । निर्माण सामग्रीको ढुवानी गर्ने टिपरका साथै चीनको खासा हुँदै नेपाल भित्रिने वस्तुको ढुवानी गर्ने कन्टेनर उक्त सडकमा सञ्चालन हुँदै आएका हुन् ।

सडक निर्माणार्थ दुई दिन पूर्ण रुपमा मालबहाक यातायातका साधान बन्द गर्न कार्यालयले बुधबार सार्वजनिक सूचनामार्फत अनुरोध गरेका हो । सडक विस्तारको करिब पाँच महिना बितिसक्दा पनि निर्माण कम्पनीले लापर्वाही गरेका कारण मध्यपहाडी क्षेत्रका नागरिकले निकै सास्ती ब्यहोर्नु परेपछि धुलिखेल नगरपालिका-८ र पाँचखाल नपा-५ का वडाध्यक्षद्वय विनोद गौतम र सीताराम ढुङ्गाना गत मङ्गलबार सडक डिभिजन कार्यालय भक्तपुरको कार्यालयमा तालाबन्दी गर्न स्थानीयसहित पुगेका थिए ।

कार्यालयका प्रमुख मेघराज मरासिनीले आजदेखि निर्माणको कामलाई निरन्तरता दिने मौखिक सहमतिपछि बिहीबार र शुक्रबार निर्माणलाई निरन्तरता दिन मालवाहक यातायातका साधनलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको हो ।

यसअघि पनि गत जेठमा उक्त सडकखण्ड विस्तार कार्यका लागि करिब एक हप्ता दैनिक चार घण्टा यातायात (दमकल, एम्बुलेन्स, शवबाहन र सुरक्षा निकायका सवारी साधनबाहेक) बन्द गरिएको थियो । यसकासाथै दुई साता टिपरलगायत मालवाहक यातायातका साधनलाई पनि पूर्ण रुपमा निषेध गरिएको थियो ।

यसैबीच बनेपाको चार दोबाटो-रविओपी हुँदै पाँचखाल र बिपी राजमार्ग-तीनपिप्ले-पाँचखाल पुग्ने वैकल्पिक बाटो रहेकाले साना सवारीसाधनलाई सोही बाटो प्रयोग गर्न अनुरोध गरिएको छ । यसका अतिरिक्त साना सवारीसाधनले नगरकोट-कुन्ताबेंसी-जिरोकिलो सडक पनि प्रयोग गर्न सक्नेछन् भने दोलालघाट-पाँचखाल हुँदै काठमाडौँतर्फ आउने सबै प्रकारका सवारीसाधनले जिरोकिलोबाट कुन्ताबेंसी नगरकोट सडक प्रयोग गर्न सक्नेछन् ।

निर्माणाधीन सडकखण्डको समयसीमा गत चैत १९ गते सकिएको थियो । उक्त सडकखण्ड स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २०७९ जेठ २० गते २२ महिना अर्थात् २०८० चैत १९ गतेको समय तोकिएको थियो । उक्त खण्डका लागि रु २० करोड १९ लाख ४६ हजार पाँच सय बजेट विनियोजन गरिएको थियो ।

केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल-खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो । उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना थियो ।

नेपालको उत्तरी नाका अर्थात् पूर्वी-उत्तरी क्षेत्र तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ । यस्तै सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत विभिन्न ठाउँबाट आवतजावतका लागि यही राजमार्गको सडक प्रयोग हुन्छ ।