नेपालका कम्युनिष्ट पार्टीहरूमा बढ्दो भष्मासुर प्रवृत्ति

नेपालका कम्युनिष्ट पार्टीहरूमा बढ्दो भष्मासुर प्रवृत्ति


नेपालका कम्युनिष्ट पार्टीहरूमा भष्मासुर (आफूले आफैलाई सिध्याउने) प्रवृत्ति अवलम्बन हुँदैगएको देखेर सबैतिर आश्चर्य ब्यक्त गर्न थालिएको छ । नेपालमा खासरूपमा भण्डाफेर गर्नुपर्ने विदेशी हस्तक्षेपको हो, सामन्ती कुसँस्कारको हो । तर, यहाँका कम्युनिष्ट पार्टीहरू आपसमै एकले अर्काको भण्डाफोर गर्नतिर अग्रसर भएका देखिन्छन् ।

गतसाता संसदमा एकाएक एमाले र माओवादी केन्द्रका सांसदहरूका बीचमा आपसी आरोप-प्रत्यारोप हुँदा झण्डै-झण्डै भिडन्त नै हुने स्थिति देखिएपछि संसदको बैठक नै स्थगित गर्नुपरेको थियो । कसैले कसैलाई हतियार ब्यापारीको आरोप लगाए भने कसैले कसैलाई हतियार किनेको भन्दै आतंककारीको अभियोग लगाए । एमाले र माओवादी केन्द्रबीचका यस्ता दृश्य पटक, पटक देखिँदै आएका छन् । कहिले आपसमा गला मिलाउने, कहिले आपसमै सत्तोसराप गर्ने काम निरन्तर हुँदैआएको छ ।

खासमा उनीहरू दुवै ‘नाममात्रका कम्युनिष्ट पार्टी’ हुन् । जसका गतिविधि अन्य गैह्रकम्युनिष्ट पार्टीको भन्दा फरक छैनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना पार्टीका विभिन्न बैठक र प्रशिक्षण कार्यक्रमहरूमा पूर्व माओवादीका सबै समूहलाई एक गराउने र एकीकृत समाजवादीलगायतका पार्टीसँग पार्टी एकताका लागि वार्ता भैरहेको बताउनुभएको समाचार बाहिर आउन पाएको छैन, सम्बन्धित पार्टीहरूले त्यसको खण्डन गरिदिए । संसदमा रहेका राजमो र नेमकिपाले त माओवादी केन्द्र र एमालेको संसदका बैठकहरूमै भण्डाफोर गर्दै आएका छन् । माओवादी केन्द्रले पार्टी एकता गर्ने प्रचार गरेको जसपाले समाजवादी मोर्चासमेत छाडेर हिँडेको छ भने माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पार्टीको नामबाट ‘माओवाद’ र सिद्धान्तबाट ‘माओवादी’ नहटाएसम्म माओवादी केन्द्रसँग पार्टी एकता गर्न नसकिने स्पष्ट गरेको छ । त्यसैगरी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले पनि संसदवादी कम्युनिष्टहरूको विरोध गर्ने बहानामा मुख्यतः माओवादी केन्द्रकै मञ्च प्रयोग गरेर उसकै भण्डाफोर गरेको देखिएको छ ।

गत १७ गते मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले काठमाडौंलगायत देशका विभिन्न भागमा प्रदर्शन गर्दै नेकपा (बहुमत) र माओवादी केन्द्रको भण्डाफोर अभियान नै सञ्चालन गरेको थियो । उसले नेकपा (बहुमत)लाई फुटपरस्त भन्यो भने माओवादी केन्द्रलाई पहिलेदेखि नै दक्षिणपन्थी अवसरवादी पार्टी भन्दैआएको थियो । त्यसैगरी नेकपा (मसाल)ले एमालेको त निरन्तर भण्डाफोर गरेको गऱ्यै छ भने माओवादी केन्द्र र क्रान्तिकारी कम्युनिष्ट पार्टीलगायतको पनि विरोध गरेको देखिएको छ । प्रधानमन्त्रीबाट हट्नु परेपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले बृहत् बाम एकताको नारा दिएर केही समय राजनीतिक बजारमा चर्चा बटुल्ने प्रयास गर्नुभएको थियो, तर त्यो आफै झुठा सावित भयो ।

कुनैबेलाका जनयुद्धका सारथी मानिएका पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईले एकअर्कालाई खुइल्याउन गरेको प्रचार सुनिसक्नु छैन । नेपालका कुनै बेलाका कम्युनिष्ट नेता डा. भट्टराईले गतवर्ष नै केही सञ्चारमाध्यममार्फत आगामी १५ वर्षमा नेपालमा कुनैपनि कम्युनिष्ट नामधारी पार्टी नरहने भविष्यवाणी गर्नुभएको थियो । हाल आएर हेर्दा पुष्पकमल दाहालहरूले पनि अन्य कम्युनिष्ट समूहहरूलाई खुइल्याउँदै त्यसैका लागि वातावरण बनाउँदै गरेको देखिनथालेको छ । डा. भट्टराईले कम्युनिष्ट राजनीति छाडेपछि पार्टी पनि छाड्नुभएको छ । तर दाहालले वैचारिक र ब्यवहारिकरूपमा कम्युनिष्ट राजनीतिविरुद्ध क्रियाशील हुँदा पनि कम्युनिष्ट पार्टी छाड्नुभएको छैन । उहाँले ०७९ मंसिर ४ को निर्वाचनमा रोल्पा र रुकुमलगायतका यसअघि माओवादीप्रभावित र अझ आधार इलाका भनिएका जिल्लाका गाउँ गाउँमा गएर माओवादी केन्द्र र नेपाली कांग्रेस भनेका उस्तै पार्टी भएकाले काङ्ग्रेसलाई मत दिन आग्रह गर्नुभएको थियो ।

अब माओवादी केन्द्रले आफूलाई क्रान्तिकारी भनेर कसैले पत्याउने अवस्था रहेन । पुष्पकमल दाहालमा पछिल्लो समय बोली र ब्यवहारमा ठेगान नहुने समस्या देखिएको भन्दै माओवादी केन्द्रको अध्यक्ष छाड्न दबाबसमेत बढिरहेको छ । नेपालमा पछिल्ला दिनहरूमा कम्युनिष्ट पार्टीहरूबाटै कम्युनिष्ट पार्टीका विश्वब्यापी मूल्य, मान्यता र आदर्शहरू जानाजान कुल्चिने कामहरू भैरहेका छन् । मार्क्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्तकारूपमा अंगीकार गर्ने राजनैतिक पार्टीलाई वास्तवमा कम्युनिष्ट पार्टी भनिन्छ । जसले सधैं सर्वहारा श्रमजीवी वर्गको पक्षमा वकालत गरेको हुनुपर्छ भन्ने मान्यता रहेको छ । कम्युनिष्टहरूले आफ्ना हरेक नीति तथा कार्यक्रमलाई लेनिनवादी संगठनात्मक सिद्धान्तका आधारमा जनवादी केन्द्रीयताको विधिले अगाडि बढाएको हुनुपर्छ भन्ने मान्यता पनि छ । जसको उद्देश्य र प्रयास न्यायपूर्ण एवम् शोषणरहित समतामूलक समाज निर्माण गर्ने हुनुपर्छ भन्ने ठानिन्छ ।

संसारका जुनसुकै कम्युनिष्ट पार्टी निर्माणको महत्वपूर्ण आधार विचार र संगठनलाई मानिन्छ । वर्गीय पक्षधरता, क्रान्तिकारी चरित्र, सामाजिक परिवर्तनको उद्देश्य र समाजवादको लक्ष्य उसको मूलमन्त्र हुनुपर्दछ । सबैखाले श्रमजीवीहरूको प्रतिनिधित्व नै सच्चा कम्युनिष्ट पार्टीको सर्वस्वीकार्य आधार हो । वैज्ञानिक समाजवाद र साम्यवाद कम्युनिष्ट पार्टीहरूको साध्य मानिन्छ । उक्त साध्यप्राप्तिका लागि सोहीअनुसारको संगठन गरिएको हुनुपर्छ । माओले भन्नुभएको छ- क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनैपर्छ । क्रान्तिकारी पार्टीबिना, मार्क्सवादी-लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धतिअनुसार बनेको पार्टी बिना, साम्राज्यवाद तथा यसका दलालहरूलाई पराजित गर्न तथा मजदूर वर्ग र विशाल समूदायलाई नेतृत्व गर्न असम्भव छ । कम्युनिष्टहरू मार्क्सवाद-लेनिनवादको सिद्धान्तबाट सुसज्जित, स्वआलोचनाको पद्धतिलाई अंगालेको र जनसमूहसँग गाँसिएको अनुशासनबद्ध पार्टीमा गोलबन्द भएको हुनुपर्छ । त्यसैगरी कम्युनिष्टहरूले जनता र पार्टीमा विश्वास गरेकै हुनुपर्छ ।

उपरोक्त मूलभूत सिद्धान्तबाट बिचलित भएकाहरू सच्चा कम्युनिष्ट होइनन् । कम्युनिष्टका नामका कलंकमात्र हुन् । कम्युनिष्ट पार्टीले आफ्नो संगठनको सञ्चालन निश्चित सिद्धान्तका आधारमा गरेको हुनुपर्छ । कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयतामा आधारित हुनुपर्छ । हालका दिनमा निर्णय प्रक्रियामा जनवाद र कार्यान्वयनमा केन्द्रीयता प्रभावी नहुँदा नेपालका कम्युनिष्टहरूमा भाँडभैलो बढेको हो । सार र रुप मार्क्सवादी सिद्धान्तका भुल्नै नहुने दुई पक्ष मानिन्छन् । त्यसैगरी मार्क्सवादी विश्व दृष्टिकोण, श्रमजीवी वर्गको पक्षधरता र समाजको आमूल परिवर्तनगर्ने मान्यता मालेमावादी सिद्धान्तको सार पक्ष हो । तर नेपालका कम्युनिष्ट पार्टीहरू विस्तारै पूँजीवाद, अवसरवाद र व्यक्तिवादको चङ्गुलमा फस्दैगएको देखिएको छ । अझ कतिपय कम्युनिष्टहरूले नै अरुलाई समेत अवसरवादी बाटोमा फसाउँदै लगेको देखिन्छ ।

हालैका दिनमा नेपालका कम्युनिष्ट पार्टीभित्र संगठनात्मक विकृति बढ्दो छ, जसका कारण सत्ता, स्वार्थ, अवसर, नेतृत्वबाट जिम्मेवारी दिने र अवसर प्रदान गर्नेमा देखिने नातावाद, कृपावादकै कारण पार्टीहरूभित्र अराजकता र विचलन बढ्दैगएको स्पष्ट छ । रुपमा कम्युनिष्ट पार्टी भएपनि सारमा चरम दक्षिणपन्थी अवसरवादी देखिँदैगएको पाइन्छ । नेकपाका संस्थापक महासचिव पुष्पलालले शुरुमै नेपाली कम्युनिष्ट आन्दोलनको कार्यक्रम, नेपाली जनआन्दोलनको दिशा, संयुक्त जनआन्दोलनको नीति, संयुक्त मोर्चा र बामपन्थी एकताको सवाल, राष्ट्रियताकोे प्रश्न, जनतन्त्रको सम्बन्धमा, जनजीविकाको सवाल, जाति, भाषा र साँस्कृतिक समस्याको सवाल, समकालीन विश्वको परिस्थितिमा पूँजीवादी वर्गको चरित्र र सर्वहारा अन्तर्राष्ट्रवादी निष्ठाका बारेमा स्पष्ट विवेचना गरिसक्नुभएको थियो । जसलाई हालका कम्युनिष्टहरूले पूरै भुलेर आ-आफ्नो स्वार्थ र पूर्वाग्रहअनुसारको ब्याख्या र विश्लेषण गर्न थालेको देखिएको छ ।

हाल नेपालका कम्युनिष्टहरूमा संगठनमा नीतिगत बहसको कमी, कार्यकर्ताभन्दा दलाल निर्माणमा जोडदिने, व्यक्तिगत स्वार्थले प्रेरित गुटहरूको निर्माण गर्ने प्रवृत्ति, पार्टीभित्रै नातावाद र कृपावादलाई प्रश्रय दिने, सांगठनिक अराजकतामा अत्यधिक वृद्धि, पार्टीको सदस्यता वितरण र नवीकरणमा मनपरी, पार्टीमा स्वार्थकेन्द्रित कार्यकर्ताहरूको बाहुल्यता बढ्दो रहेको पाइएको छ । कम्युनिष्ट पार्टीहरू निश्चित विचार र ब्यवस्थित संगठनका आधारमा चलेको हुनुपर्दछ । वैचारिक शक्तिलाई भौतिक शक्तिमा बदल्ने माध्यम भनेकै संगठन हो । संगठनलाई राजनीतिक दलहरूको आत्मा नै मानिन्छ ।

कम्युनिष्ट पार्टीहरूको अल्पकालीन र दीर्घकालीन कार्यशैली सधैं वर्गीय न्याय, सर्वहारा वर्गको अधिनायकत्व र जनजीविकाका मुद्धामा आधारित रहेको हुनुपर्दछ । पार्टीका विचार, नीति र निर्णय बुझ्न र बुझाउनमा नेतादेखि कार्यकर्तासम्म नै एकरुपता कायम गरिएको हुनुपर्दछ । भनाई नै छ- संगठनमा चुस्तता र निर्णय कार्यान्वयनमा एकरुपता कम्युनिष्ट पार्टीको महत्वपूर्ण कडी हो । पछिल्लो समयमा ‘नीतिप्रधान’लाई ‘नेताप्रधान’ बनाउने लगायतका कामहरू भएका छन् । नेपालका कम्युनिष्ट नेताहरूले सबैभन्दा पहिले आत्मसमीक्षा गरुन् । त्यसपछि कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय मूल्य, मान्यता र आदर्शलाई आफ्नो पार्टीका नीतिसँग दाँजुन् । को मित्रशक्ति र को शत्रु अथवा गैह्र मित्रशक्ति भन्ने छुट्याउन् । हालको जस्तो आफूले आफैलाई सिध्याउने भष्मासुरको नीति तत्काल परित्याग गरुन् ।