सरकारले पर्यटन विकासमा सघाउँछ : प्रधानमन्त्री

सरकारले पर्यटन विकासमा सघाउँछ : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय बूढानीलकण्ठमा निर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको आज उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्रीले रु दुई अर्ब ५० करोडको लगानीमा निर्मित एक सय दुई शय्यायुक्त होटलको उद्घाटन गर्नुभएको हो ।

होटलका माध्यमबाट देश विकासको यात्रामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले पर्यटकलाई आकर्षित गर्न नेपालमा धेरै सुन्दरस्थलका साथै उपयुक्त वातावरण भएकाले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताउनुभयो ।

प्रधानन्त्री ओलीले सुशासनसहित जनतालाई छिटोछरितो सेवा दिन सरकार क्रियाशील रहेको बताउनुभयो । ‘व्यवसायीहरु निर्वाधरुपमा व्यावसायिक काम गर्न सक्नुहुन्छ, कामका लागि कहीँकतै नजराना बुझाउनुपर्दैन । सरकारी निकायले गर्ने कामको फाइल रोकिँदैन । कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने पत्ता लगाउन हामीले प्रविधि बनाइसकेका छौँ ।’

प्रधानन्त्री ओलीले भन्नुभयो, ‘तपाईहरु पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस् । सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन ।’

photo: rss