आजको पञ्चाङ्ग एवम् राशिफल (३० भदौ २०८१ आइतबार, १५ सेप्टेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (३० भदौ २०८१ आइतबार, १५ सेप्टेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ भाद्र ३० गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर १५ तारिख आइतबार भाद्र शुक्ल द्वादशी तिथि श्रवण नक्षत्र अतिगण्ड योग कौलव करण आनन्दादिमा गद योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४९ मा भयो र सूर्यास्त साँझ १८ः७ मा हुनेछ । प्रदोष व्रत, वामनद्वादशी, दहिदान, इन्द्रध्वजोत्थान ।

आजको राशिफल

मेष – शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्ने समय छ । आफ्ना सहयोगी नै प्रतिस्पर्धीका रूपमा देखापर्न सक्छन्, तर पहिलेको उपलब्धिले काममा उत्साह जगाउने देखिन्छ । रोकिएको काम बन्नाले उत्साह जागृत होला । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्ने योग छ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

वृष – कर्मयोग अभिवृद्धि हुने समय भएपनि आज केही अस्वस्थताको महसूस हुन सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । कामको बोझ बढ्नेछ । इर्ष्या गर्नेहरुले फसाउन सक्छन् । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भइएला । धर्मकर्ममा आकर्षण बढ्नेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – प्रियजनसँग भेटघाट र प्रशन्नताको समय छ । विभिन्न अवसर प्राप्त हुनेछन् भने रचनात्मक काम गरेर पुरानो अवस्थामा सुधार ल्याउन सकिनेछ । तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनु हितकर होला । आक्षेप लगाउनेहरू सक्रिय हुनसक्ने योग रहेकोले व्यवहारमा सजगता अपनाउनु उचित हुनेछ । ब्यर्थको विवादले मन खिन्न तुल्याउन सक्छ । अरुको भर नपर्नु हितकर हुनेछ ।

कर्कट – शुरुमा व्यावहारिक झमेला आइलागेको अनुभूति हुनसक्छ, तर अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् भने दीर्घकालीन काममा लगानी गर्ने अवसर प्राप्त हुने योग छ । आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – प्रेम र मित्रताको बन्धन कसिलो हुने दिन छ । रमाइलो यात्राको अवसर जुट्ला । इच्छाशक्ति बढ्नुका साथै विशेष योजना सार्थक तुल्याउन सकिने.क्षमता अभिवृद्धि होला । पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइनेछ । रमाइलो यात्राको अवसर जुट्ने देखिन्छ । टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने योग छ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – मिश्रित फलदायी दिन छ । नजिकका मित्रजन टाढिनसक्ने र विश्वास गरेकाले धोका दिने सम्भावना छ । अनपेक्षित परिस्थितिको बन्धनमा परिने योग भएकाले विशेष सजगता र धैर्यपूर्ण व्यवहारको खाँचो पर्ला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ, तथापि सुखदुःखमा साथ दिने हितौषीजन पनि फेला पर्नेछन् । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका जुर्नसक्छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – बोली र व्यवहारमा विशेष सजग रहनुपर्ने समय छ । आवश्यकताभन्दा ज्यादा अभिव्यक्ति दिनाले विवाद निम्त्याउन सक्छ । दुइतर्फी कुरा लगाएर सम्बन्धमा फाटो उत्पन्न गर्ने छुस्कटहरू सक्रिय रहन सक्छन्, होसियारीको दरकार छ । हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिने सम्भावना छ । मानसम्मान जेगाउन विशेष सावधानी अवलम्बन गर्नुपर्नेछ । सन्तान पक्षबाट सुख मिल्ने योग छ । आरोग्यता रहनेछ ।

वृश्चिक – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिने समय छ । आँटेका काम बन्नाले जोश–जाँगर वृद्धि होला । सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने मिष्ठान्न भोजन मिल्नेछ । आजको दिन खर्च भने केही वृद्धि हुन सक्छ, खर्च नियन्त्रणको प्रयास गर्नु उचित होला । व्यवसायमा ठूलो लगानीबाट कममात्र फाइदा हुने योग छ, ध्यन राख्नुहोला ।

धनु – व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुने समय छ । साथीभाइले साथ दिनेछन् । अध्ययन तथा अध्यापनमा अनुकूलता वृद्धि होला । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठोसमेत कसिन सक्छ । अरूको भावना बुझ्ने चेष्टा गर्नु हितकर होला । परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ । विवेकले प्रतिष्पर्धीलाई परास्त गर्न सकिनेछ ।

मकर – पढाइलेखाइमा जाँगर बढ्नुका साथै प्रगति हुने समय छ । खर्च लागे पनि विशेष कार्यको प्रयास सफल होला । आजको दिन स्वास्थ्य केही कमजोर रहन सक्छ, ख्याल राख्नुहोला । विशेष खानपानको अवसर जुर्नसक्छ, तर मनलाई नियन्त्रण गरेकै राम्रो । साझेदारीको कार्यमा खटपट पर्नसक्छ, संयमताका साथ व्यवहार गर्नुहोला । स्थिर सम्पत्ति जोड्ने योग रहेको छ ।

कुम्भ – राम्रो अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने समय छ । नजिकका आफन्त टाढिन सक्छन्, तर विशिष्ट जनसँग मित्रता बढ्न सक्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । बुद्धिको उपयोगले काम लिन सकिनेछ । खर्च बढ्नाले आर्थिक समस्या उत्पन्न हुन सक्छ, सजग रही कार्य–व्यवहार गर्नुहोला ।

मीन – कर्मबल बढ्नेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने समय भएपनि नाता गाँस्नेहरूले केही दुःख दिन सक्छन्, सजग रहनुहोला । रोकिएका काममा दोहो¥याएर प्रयास गर्दा सार्थक हुने देखिन्छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइने योग छ । व्यवसायमूलक भ्रमणको सम्भावना छ । सुख विलास बढ्नेछ ।