✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन ८ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर २४ तारिख मंगलबार आश्विन कृष्ण पक्षको सप्तमी तिथि १८ः०० पर अष्टमी तिथि मृगशिरा नक्षत्र सिद्ध योग भद्रा करण १ः५६ पर बालब करण आनन्दादिमा राक्षस योग चन्द्रमा वृष राशिमा १६ः३ बजेसम्म त्यसपछि मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५३ मा भयो र सूर्यास्त साँझ १७ः५६ मा हुनेछ । सप्तमी श्राद्ध, महालक्ष्मी व्रत समाप्ति, द्विपुष्कर योग १८ः०० बजेसम्म ।
आजको राशिफल
मेष – गरिएका कर्मको उचित प्रतिफल पाइने समय छ । शत्रु एवम् प्रतिस्पर्धी सजिलै परास्त होलान् । धन आर्जन गर्ने मौका जुर्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । तथापि, व्यवसायिक काममा खर्च बढ्ने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । विशेष योजना सोचेअनुसार पूरा नहुनाले खिन्नता बढ्न सक्छ ।
वृष – सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने दिन छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिने समय छ । व्यापारमा पनि राम्रै फाइदा होला । अध्ययन तथा अध्यापनमा प्रगति हुने देखिन्छ । परिश्रम भने केही बढी नै गर्नुपर्ला । स्वास्थ्य सामान्य कमजोर रहेपनि समष्टिमा भाग्योन्नतिको समय छ ।
मिथुन – बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । आजको दिन सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । तपाईंको कमी-कमजोरीमाथि टिप्पणी हुन सक्छ । विगतको श्रमबाट भने लाभ हुने देखिन्छ । विभिन्न अवसर जुरे पनि सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ, ध्यान राख्नुहोला ।
कर्कट – आत्मविश्वास बढ्ने र प्रतिष्ठित कामको अवसर जुर्ने समय छ । विशिष्ट व्यक्तित्वसँग भेटघाट होला । पारिवारिक जमघटमा मन रमाउनेछ । मित्रजनबाट उपहार प्राप्त हुने योग छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने प्रयत्न गरेमा राम्रै उपलब्धि हातपर्ने देखिन्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने सम्भावना रहेकोले सजग रही व्यवहार गर्नुहोला ।
सिंह – समय उत्साहवर्द्धक रहला । व्यवहारबाट नयाँ ज्ञान प्राप्त हुन सक्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु उचित हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा लाभको मात्रा बढ्नेछ । मातृशक्तिबाट पनि फलिफाप हुने योग छ । वैदेशिक क्षेत्रमा संलग्नता रहेका व्यक्तिका लागि विशेष उन्नतिको समय छ । यात्रागत कार्य उत्साहजनक रूपले सफल रहने देखिन्छ ।
कन्या – अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । प्रतिष्ठित तथा कीर्तिमानी कामको अवसर जुर्ला । काममा मातापिताको विशेष सहयोग प्राप्त हुने योग छ । श्रमको उचित मूल्यांकन होला । पढाइलेखाइमा प्रगति हुनेछ । सामाजिक कामको दायित्व बढ्ला । अरूको जिम्मेवारीसमेत वहन गर्नुपर्ला, जसबाट आत्मिक सन्तुष्टि मिल्नेछ ।
तुला – आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । सामाजिक कार्यबाट प्रतिष्ठा कमाइने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ । सहयोगी वा हितैषीजनले तपाईंको कमी-कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउनसक्ने देखिन्छ, सजग रही व्यवहार गर्नुहोला ।
वृश्चिक – प्रलोभन देखाउनेहरूले फसाउन सक्ने सम्भावना रहेकोले विशेष सजगताको खाँचो छ । समयमा होश नपुग्नाले फजुल खर्च हुनसक्छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ, तथापि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । व्यापारमा रहेका व्यक्तिका लागि राम्रै फाइदा हुने देखिन्छ ।
धनु – आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले आजको दिन बोली र व्यवहारमा विशेष सजगता अपनाउनु उचित होला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा कष्ट बढ्न सक्छ । परिवारजनबाट टाढिनु परेपनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई आत्मिक शान्ति मिल्ने समय छ । सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ला । अधुरा काम सम्पादन हुनेछन् भने नयाँ काम र जिम्मेवारी हातपर्न सक्छ ।
मकर – श्रमको उचित मूल्यांकन हुने समय भएपनि बन्दै गरेको काममा रोकावट तथा आकस्मिक खर्चसमेत बढ्ने योग छ । स्वास्थ्य केही कमजोर रहनाले काममा प्रगतिको मात्रा न्युन रहने देखिन्छ । जाँगर नचलेपनि जिम्मेवारी भने बढिरहने देखिन्छ । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाट धोका मिल्नसक्ने सम्भावना रहेकोले विशेष सजगता अपनाइ व्यवहार गर्नु उचित होला । अध्ययन तथा अध्यापन कार्यमा प्रगति हुनेछ ।
कुम्भ – आजको दिन सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, सचेत रहनुहोला । प्रयास गर्दा रोकिएका बन्नेछन् । स्वादिष्ट भोजनको आनन्द पाइएला, तर स्वास्थ्य केही कमजोर रहनसक्ने हुँदा सजगता अपनाउनुहोला । नयाँ काम पाइने योग छ । खर्च भने केही मात्रामा बढ्ने देखिन्छ । मातापिताको विशेष सहयोग प्राप्त हुने योग छ ।
मीन – काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ । अरूले आलोचना गर्नसक्छन् । ज्यादा परिश्रमका बाबजुद फाइदा कमै होला । अध्ययन कार्यमा त्यति समय दिन नसकिएला । परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । मित्रजनको साथले मन बाँध्न सघाउ पुग्नेछ ।
प्रतिक्रिया