‘मैले दशैंको टीकाको साइत खोज्दा दिउँसो १ः३० बजे अगाडि भेटिनँ । बिहान ११ः२० सम्म नवमी नै भएकाले बिहान अर्थात् वृश्चिक लग्न पार्न मिलेन । तसर्थ दिउँसो १ः३० बजे भएमा मकर राशि र मकर लग्न हुनेछन्, प्रायः (कुम्भ बाहेक) सबै राशिका लागि १ः३० बजेपछिको समय उपयुक्त हुने मेरो ठम्याइ छ ।’
✍ ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
पञ्चाङ्ग निर्णायक विकास समिति नामको एउटा संस्था नेपालमा छ । सरकारले नै यो समितिका पदाधिकारीको चयन गर्ने गर्छ । खासगरी संस्कृति मन्त्रालयअन्तर्गत पर्ने यो समितिमा आजसम्म कमैमात्र ज्योतिष पढेका र बढीमात्रामा ‘टपरटुइँया’ र कर्मकाण्डीवालाहरू नियुक्त भए । हुनसक्छ- मन्त्रीहरू नै ‘लण्ठुदास’ हुने हुँदा तिनले त्यस्तै ‘लठैत’हरू छान्ने गर्छन् । यहाँ संस्कृतिमन्त्री कतिसम्म ‘लण्ठु’ पर्दारहेछन् भने सुदन किराँती नामका मन्त्रीले त हली-गोठाला स्तरका मान्छेलाई प्राज्ञ बनाइदिए !
आज एकेडेमीमा २ वा ३ जनाबाहेक अरूलाई नेपाली शुद्ध लेख्न र बोल्न पनि आउँदैन । म ठान्थेँ बद्रीप्रसाद पाण्डे आएपछि ‘नालायक’ एकेडेमीमा शुद्धीकरण हुनेछ, तर विडम्बना ! त्यस्तो भएन । त्यस्तै, पञ्चाङ्ग निर्णायक समितिमा पनि उही हालत छ । एकपल्ट एशियाकै ज्योतिष शिरोमणि कहलिनुभएका नयराज पन्तले पञ्चाङ्गमा सुधार ल्याउन खोज्नुभएको थियो, उहाँलाई समितिबाटै हटाइयो । नेपालमा ज्योतिर्विज्ञानमा विश्वले मानेका नयराज पन्तपछि विश्वकै पाँचौं खगोलविद् डा. केशवराम जोशी हुनुहन्थ्यो, उहाँको निधनपछि ज्योतिर्गणना गर्नसक्ने डा. साम्बराज आचार्य हाल जीवित हुनुहुन्छ । यस्ता धुरन्धर विद्वान्हरू समितिको उच्च पदमा ल्याइएनन् ।
अहिले पनि अशुद्ध पात्राहरू बजारमा छन्, पात्रा शुद्ध्याउनेतर्फ कसैको ध्यान गएको देखिँदैन । पात्रामा ‘सूर्य सिद्धान्तअनुसार…’ भन्ने देखेपछि मैले समितिकै सदस्यलाई सोधेको थिएँ, सूर्य सिद्धान्तले त दृक्गणितलाई मात्र मान्यता दिन्छ, यथा दृक्तुल्यता ग्रहाः भनेको छ, तर यी पात्राहरू भने आर्ष (पुरानो) पद्धतिका छन्, दृक्गणितसित मिल्दैनन् त ? भनी सोद्धा समितिका सदस्यले भने सूर्य नामका मान्छेले पात्रो निकाल्छन्, ती मान्छेले जुन पात्रो निकाल्छन् त्यो नै सूर्य सिद्धान्त हो भनेर हावादारी तर्क दिए । ती सूर्य नामका मान्छे गणित विषयका व्यक्ति होइनन् । उनी रामेछापमा हेडमास्टर थिए । राजा ज्ञानेन्द्रका पालामा चाकडी गरेर संस्कृति मन्त्रालयमा छिरे । त्यतिबेला उनी दुईतिरबाट तलब बुझ्थे । राष्ट्रिय दैनिकमा त्यो समाचार प्रकाशित भएपछि उनले हेड मास्टरबाट राजिनामा गरे । चाकडीकै भरमा उनी पञ्चाङ्ग निर्णायक समितिका सचिव भए । उनी विशुद्ध सरकारी कर्मचारी हुन् । सरकारी कर्मचारी रहेकै अवस्थामा सफ्टवेयर निकाले र पात्रो पनि निकाले । कर्मचारीले व्यापार गर्न पाइने हो वा होइन ? मैले प्रश्न नउठाएको होइन । तर मैले माथि भनेअनुसार संस्कृतिमन्त्री नै लण्ठुदास हुने गरेकाले उनले जागिर पनि खाए र व्यापार पनि गरिरहे । उनलाई त ५८ वर्षे हदम्याद पनि लागेन । यो चाकडी भन्ने कुप्रथा कतिसम्म नीच हुँदोरहेछ भन्ने यो बलियो प्रमाण हो । म त उनीभन्दा यो विकृति भित्र्याउने संस्कृति मन्त्रालय नै बढी दोषी देख्छु । अहिलेको गणतन्त्रमा पनि राजाका ‘हली-गोठाला’हरूको हाली मुहाली कायम छ ।
यसपल्ट पनि समितिले दशैंको टीकाको साइत ११ः३६ बजेको दिएको खबर आयो । पहिलो कुरा साइत भनेको के हो ? त्यो बुझ्न जरुरी छ । सामान्य टीका लगाउन कुनै साइत चाहिँदैन, तर दशैंजस्तो विशेष चाडको टीकामा अबिर केशरीजस्ता वस्तुको मिश्रण हुने हुँदा अरू टीकाभन्दा फरक हुने भएकाले साइत निकालिएको हो । साइतको अर्थ मुहूर्त हो, मुहूर्त भनेको टाइम अर्थात् समय हो । यस्तो समय सबैका लागि एकैचोटि उत्तम हुँदैन, किनकि सबैको एउटै राशि हुँदैन । एउटै नक्षत्र पनि हुँदैन र सबै एकै दिन जन्मेका पनि हुँदैनन् । जस्तो कि, आश्विन शुक्ल दशमी तिथिमा प्रायः मकर राशिमा चन्द्रमा रहन्छन्, मकरमा चन्द्रमा हुँदा सिंह र कुम्भ राशिलाई घातकसिद्ध हुन्छ भने वृष र वृश्चिक राशिलाई अर्धघातक हुन्छ । मेष, कर्क, तुला र मकरलाई बढी राम्रो तथा मिथुन, कन्या, धनु र मीनराशिलाई मध्यम फलदायक हुनेछ । यही तथ्य विचारेर हाम्रा प्रचीन महर्षिहरूले समयलाई ध्यान दिएका हुन् ।
निर्णय सिन्धु र धर्म सिन्धुले त आश्विनस्य सिते पक्षे दशम्यम् तारकोदय अर्थात् आश्विन शुक्ल दशमी तिथिमा राती आकाशमा तारा उदय भएपछि मात्र दशमीको टीका ग्रहण गर्नु भनेका छन् । त्यसका लागि अपराण्ह अपराजिता अर्थात् अपरान्हमा अपराजिता देवीको पूजा गर्नु र देवी विसर्जनपछि मात्र प्रसादस्वरूप टीका ग्रहण गर्नु भनी स्पष्ट किटान गरिएको छ । तर समितिले यो प्रमाणलाई ध्यान दिएको पाइँदैन । यसपल्ट असोज २६ (दृक्पद्धति अनुसार असोज २७ गते) शनिबार बिहान ११ः२० सम्म नवमी तिथि छ, नवमी तिथिमा देवीको पूजा हुँदैन, नव कन्याको मात्र हुन्छ । तसर्थ समितिले जे पायो त्यही निर्णय गरेको देखिन्छ ।
अब दशैंको टीकाचाहिँ किन राति व्यवस्था गरिएको होला भन्ने प्रश्न उठ्न सक्छ । दशैंको टीका प्रायः रातो रङ्गको हुने हुनाले दिउँसोको समयमा बढी रातो प्रयोग गर्नाले मंगल ग्रह सक्रिय भइ दुर्घटना, विवाद, झगडा र मारकाट गराउने तथा आजको भाषामा एक्सिडेण्टको सम्भावना बढी भएकाले राति गरिएको हो । यति सामान्य कुरा बुझ्ने पनि समितिमा मान्छे नहुनु दुःखद कुरा हो र यस्तो साइतमा पनि हेलचेक्र्याइँ गर्नेलाई पदासीन गराइरहने संस्कृति मन्त्रालयको विकृतिलाई न्यायोचित मान्न सकिँदैन ।

माथि दिइएको कुण्डलीलाई विवेचन गरौँ । लग्न भन्नाले सूर्यको वर्तमान समयलाई जनाउँछ । यहाँ इष्टघटिका १३ः५४ आउँछ । यतिबेला नेपाली आकाशमा धनु लग्नको ७ डिग्री ५ कला १३ विकला र मिथुन नवमांश चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मकर राशि, राशिबाट बाह्रौं लग्न र छैटौं नवमांशको लग्न भएकाले यो साइत उहाँका लागि घातक हुने देखिन्छ । राष्ट्रपति रामचन्द्र पौडेलको कर्कट राशि उहाँका लागि छैटौं लग्न र बाह्रौं नवमांशक लग्न परिरहेको छ । यसप्रकार यो साइत उहाँहरू दुवैले प्रयोग गर्न नमिल्ने देखिन्छ । त्यसमाथि लग्नबाट सप्तममा मिथुनको मंगल भएकाले यो लग्न सबैका लागि हानिकारक हुने देखिन्छ । मंगल अग्निप्रधान तत्व भएकाले विवाद, झगडा, दुर्घटनामा वृद्धि गराउँछ । साथै लग्नेश वृहस्पति छैटौंमा रहेकाले लग्न कमजोर बनेको छ भने धनु लग्नमा व्ययेश मंगल र सर्वथा अकारक सूर्य दशमस्थ भएकाले यस्तो साइत प्रयोग गर्ने जोसुकैको पनि धन, स्वास्थ्य वा आफन्तमा हानि गर्नेछ । षष्ठेश शुक्र र राज्येश बुधको लाभ स्थानमा युति हुनुले राज्यका कर्मचारीले देशलाई हानि हुने मात्र कार्य गर्नेछन् भने राज्यको प्रमुखलाई पिर्ने योग परेको देखिन्छ ।
नवमांशमा पनि बाह्रौंमा चन्द्र मंगल योग एवं अकारक ग्रह शनि दशम याने राज्यस्थानमा तथा सुखेश बुध छैटौंमा जानुले रोगब्याधीको प्रकोप फैलिनसक्ने तर्फ संकेत गर्दछ । लग्नमा शुक्र हुनुले विलासिताका वस्तुमा अत्यधिक खर्च गराउने छ भने प्रबल मारकेश वृहस्पति चौथोमा रहेकाले देशका नेतामाथि विपत्ति आइलाग्ने देखिन्छ । समितिले दशममा सूर्य भए राजालाई बल मिल्ने फर्मुलाका आधारमा यस्तो लग्न चयन गरेको देखिन्छ । तर धनु लग्नमा सूर्य सर्वथा अकारक ग्रह भएकाले यसले राजपरिवारमा पनि दुर्घटना निम्त्याउने संकेत गर्दछ । दशममा सूर्य कारक भनेको मेष, वृष र वृश्चिक लग्नलाई मात्र हो । सबै लग्नलाई होइन । कतिपयले नवमेश र दशमेशलाई पनि कारक मानेका छन्, तर चौथो, पञ्चम र दशमको मालिक केन्द्रवर्ती भए मात्र कारक योग बन्नेछ । ३ । ६ । ९ । १२ भावका ग्रहहरू अकारक र दुर्बल हुन्, यिनीहरू केन्द्रवर्ती भएमा व्यक्ति, संस्था वा राज्यमाथि सोझै पीडा दिनेछ । यसर्थ समितिको यो लग्न राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजा समेतलाई हानि गर्नेखालको साइत छ । मैले दशैंको टीकाको साइत खोज्दा दिउँसो १ः३० बजे अगाडि भेटिनँ । बिहान ११ः२० सम्म नवमी नै भएकाले बिहान अर्थात् वृश्चिक लग्न पार्न मिलेन । तसर्थ दिउँसो १ः३० बजे भएमा मकर राशि र मकर लग्न हुनेछन्, प्रायः (कुम्भ बाहेक) सबै राशिका लागि १ः३० बजेपछिको समय उपयुक्त हुने मेरो ठम्याइ छ ।
करिब २ वर्षअघि पनि समितिले भाइटीकाको साइतमा धनुलग्न पारेको थियो । मैले त्यो वेला पनि राष्ट्रपति वा प्रधानमन्त्री पिर्ने लेखेको थिएँ, नभन्दै प्र.मं. ओलीको बहिर्गमन भयो । सरकारले यस्ता ज्योतिषै नपढेका मानिसलाई किन समितिमा राखिरहन्छ ? यो पो आश्चर्यको विषय भएको छ । मैले नेपालबाट प्रकाशित हुने प्राय सबै छापाहरूमा बारम्बार लेख्दैआएको छु । विश्वमै ३२ दिनका महिना हुँदैनन्, तर समितिले बर्सेनी २ महिना ३२ को बनाइरहन्छ । यो संस्कृति मन्त्री भन्नेले विश्वका पात्रा हेर्दा पनि रहेनछन् । नासाबाट प्रकाशित पात्रा नहेरे पनि भारतबाट प्रकाशित पात्रा त पढ्न सक्थे । भारत र नेपालको गणित फरक होइन । फेरि आजकाल भारतीय पञ्चाङ्गकर्ताले दृक्पद्धतिलाई अपनाएको अर्थात् वेधसिद्ध गणनाका आधारमा पात्रा बनाउने गरेकाले भारतीय पात्राहरू हाम्रोभन्दा बढी शुद्ध छन् । यो वर्ष पनि समितिले २ महिना ३२ को गर्नाले २७ गते टीका हुनुपर्नेमा २६ गते भयो । जब कि भारतीय पात्राहरूमा दशैंको टीका २७ गते नै छ । अर्थात् असोज १ गते सोमबार छ । मेरो अनुरोध के छ भने कमसे कम सरकारले ज्योतिष पढेका मानिस समितिमा नियुक्त गरे यो समस्या आउने थिएन । आदरणीय पाठकवर्ग… दिउँसो १ः३० अगाडि टीका ग्रहण नगर्नुहोला । धन्यवाद ।
प्रतिक्रिया