पश्चिम नवलपरासीको दाउन्नेमा शुक्रबार (१८ असोज) साँझ सडक भासिएपछि पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
जिल्लाको बर्दघाट नगरपालिका-४ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले बताए ।
सूचना अधिकारी बोहराका अनुसार सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त प्रयास भइरहेको छ । सडक सर्मत गरेर सवारी साधन सञ्चालन गर्नका लागि समय लाग्ने उनको भनाइ छ ।
पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध
उता मेची राजमार्गको इलाम नगरपालिका-९ स्थित माईखोला छेउमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।
शुक्रबार दिउँसो ४ बजे सडक मुनीबाट पहिरो जाँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालले जानकारी दिए । सडक मर्मतका क्रममा पहिरो गएको उनको भनाइ छ ।
राजमार्गअवरुद्ध भएपछि झापा, मोरङ र सुनसरीदेखि इलाम, पाँचथर, ताप्लेजुङ आवतजावत गर्ने सयौँ सङ्ख्यामा सवारी र यात्रु बोटोमै रोकिएका छन् । झापाबाट आएका सवारी साधनहरु माईखोलापारी र इलामबाट गएका सवारी साधनहरु पहिरोभन्दा माथिपट्टीको सडकमा लामबद्ध छन् ।
पहिरोका कारण तत्काल सो क्षेत्रमा यातायात सञ्चालन हुने सम्भावना नभएपछि वैकल्पिक मार्ग प्रयोगको तयारी भइरहेको बताइएको छ । शनिबार बिहानदेखि इलाम नगरपालिका-१० गोदकस्थित सिमलगोलाइबाट जोगमाई खोला हुँदै इलाम नगरपालिका–८ तिल्केनी जोड्ने सडकलाई मेची राजमार्गको वैकल्पिक बाटोको रुपमा उपयोग गर्ने तयारी गरिएको डिएस्पी ढकालले बताए ।
प्रतिक्रिया