हराएको छैन तिथिमिति । कुमालेको चक्र जसरी समय आफ्नो रफ्तारमा चलिरहेको छ, अघि बढिरहेको छ । जसरी हरेक वर्ष दशैँ आउँथ्यो, परम्परा त्यो आज पनि छ, तोडिएको छैन, तर यहाँ धेरै कुरा बदलिएका छन् । हिजो आफ्ना पोल्टामा पर्ने सुख अब सन्तानका लागि उनीहरूको उज्वल भविष्यको कामना गर्दै प्रदान गर्नुपर्ने भएको छ ।
✍ बिन्दु अधिकारी ढकाल
हाम्रो घरबाट साइँला हजुरबाको घर पुग्न आधा घण्टा लाग्थ्यो । त्यहाँबाट दुई मिनेटको बाटोमा कान्छा हजुरबाको घर थियो । मैले जान्दाको दशैँ यिनै दुई घरको आँगनमा सेरोफेरो भइ बसेको छ । बालापनको त्यो मिठो याद ! त्यही माटोको बास्नाले हरेक साल दशैँ डाकेको अनुभूति हुन्छ अहिले पनि मलाई । हो, त्यो समय मामाघर पुगेको याद छैन, पुगेको भए स्मरणीय सम्झना रहन्थ्यो ! गाउँका कति साथीहरू कति ठुल्ठुलो योजना बुनेर आ-आफ्ना मामाघर जान्थे, तर आफूलाई भने समयले साथ दिएन ।
मेरो मानसपटलमा गुजुल्टिएको त्यो दशैँको सम्झना कहिल्यै पुरानो हुँदैन । पुरानो भयो त केवल समय ! त्यो वर्ष त्यो ऋतु त्यो मौसम त्यो दिन त्यो साँझ त्यो रात त्यो आकाश त्यो बतास सबै-सबैलाई पछाडि छोडेर अघिबढिरहेको छ- यो जीवन । जिन्दगी जुन बिन्दुमा उभिएको छ, कति दशैँ आए, गए तैपनि त्यही दशैँचाहिँ सिमेन्टेड भइ बसेको छ । यसर्थ सधैँ स्मरणीय र विशेष लाग्छ । हो, आश्विन महिनाको शुक्लपक्षको दशमी तिथि, विजया दशमी (टीका) को दिन बुवाआमाको हात निधारमा पर्थ्यो । बयान गरी नसक्नु त्यो स्पर्श राता अक्षता टाँसिदिने पर्व कानको चेपमा जमराको मुठो सिउरिदिँदै आशीर्वादसँगै दक्षिणास्वरुप हातमा नयाँ नोट पाएको हिजोझैँ लाग्छ ।
साइतको टीका बुवाले आमालाई र उहाँहरू दुवै जनाले हामी केटाकेटीलाई लगाइदिने क्रम लगत्तै मूलढोकामा ताला मारेर हिँड्थ्यौँ । घरमा जेष्ठनागरिक हजुरबा-हजुरआमा नहुनाले बुवाको निधार खाली हुन्थ्यो । त्यो दृश्यले मेरो मन धमिल्याउँथ्यो । लाग्थ्यो- अब कतिखेर हजुरबाका घर पुगिएला र बुवाको निधार भरिएला ! त्यतिखेरै मेरो मनमा अर्को जिज्ञासा उठ्थ्यो- ‘जब बुवाले आमालाई टीका लगाइदिनुभयो भने आमाले चाहिँ बुवालाई लगाइदिन किन नहुने ?’
उर्लदो खहरे झैँ उब्जिएको त्यो प्रश्न सोध्न मन हुँदाहुँदै मैले आँट गरिनँ । किन गरिनँ ? थाहा छैन तर त्यतिखेर मैले कसैलाई सोधिनँ ? प्रश्नको जवाफ आउँथ्यो, आउँदैनथ्यो- एउटा कुरा । जवाफ आएको भए सुनेर चित्त बुझ्थ्यो, बुझ्दैनथ्यो- अर्को कुरा । पितृसतात्मक समाजमा हुर्कदै गरेकी बालिका म आफैँसँग अन्योल… त्यो जिज्ञासा सोध्नलायक हो, होइन ? समाधान खोज्दा उल्टै गिल्ला भयो भने ? त्यो लाज कहाँ लुकाउनु ? कसरी पचाउनु ? यस्तै सोचेर चुपचाप बाटोतिर मात्रै ध्यान दिन्थेँ । आमाबुवा सँगसँगै अघिपछि कुँद्दै-दौडिँदै जब आधा बाटो कटिन्थ्यो, सोच्थेँ- अब बुवाको निधार भरियो ! आफूभित्रको भार पनि क्रमशः कम भएको महसूस गर्थें ।
हाम्रो पालाको दशैँलाई राम्रो लाउने मिठो खाने पर्व पनि भनिन्थ्यो । काँधमा कल (लुगा सिलाउने मेसिन) बोकेर दर्जीदाइ घर-घर आउने/धाउने चलन खास लाग्थ्यो । अहिले जस्तो त्योबेला रोजिछाडि कपडा किन्न कहाँ पाउनु ? अहँ, पाइँदैनथ्यो । मरमसला र लुगाकपडा खरिद्न बुवा बजार जानुहुन्थ्यो । अर्थको चाँजोपाँजो अनुसार थान हेरेर, छानेर छोरीहरूलाई एकैखालका जामासुरुवाल, छोरालाई पाइन्ट सर्ट, आफूलाई कमिज सुरुवाल र आमालाई फरिया चोलो व्यवस्था हुन्थ्यो । हाम्रा खातिर आमाबुवाले आफ्ना कति रहर मार्नुभयो ! त्यो भारको गुन तिरेर कहिल्यै सकिँदैन ।
हाम्रो परिवार ठुलो नहुनाले दर्जीले चाँडै आफ्नो जिम्माको काम सक्थे । उनी प्रायः ढिलो आउथे र चाँडो जान्थे । म चाहन्थेँ, वल्ला-पल्ला तल्ला-माथ्ला घरहरूमा जति समय खर्च भएको थियो, आफ्नामा पनि त्यति नै लागोस् । खटट-खटट त्यो मेशिन चलेको आवाज उसरी नै चौतर्फ गुञ्जयमान होस् । परिस्थिति मेरो सोचको विपरीत हुँदा साह्रै दिक्क लाग्थ्यो । अहिले सम्झँदा यथार्थ नबुझ्नु स्वयंप्रति कति ठुलो भूल रहेछ ? जस्तोकि नुनबिनाको तरकारी । त्योभन्दा खल्लो के हुन्छ ? हुन त बालसुलभ मनस्थिति न हो !
बारीभरि अम्बक पाकेका हुन्थे । त्यतिखेर बेलाइतीका नामले चिनिएको फल अम्बकलाई अम्बा पनि भनिन्छ । आफ्नै साँध-सिमानामा यति धेरै सुन्तला हुन्थ्यो, रुखमाथि बाँदरउफ्राइ दाना हरियै हुँदादेखि टिप्दै खाँदै हिसाब छैन, कति खाइयो कति ! बारीका कान्लामा तेर्सिएका मसिना-मसिना काँक्रा टिप्दै खाँदै… बढ्नै नदिने ! दशैँलाई भनेर जोगाएर पाकेको काँक्राको आमाले बनाउनुभएको त्यो खल्पी (अचार) कति मिठो !
दशैँबजारमा चुरा लगाउन जाने चलन सम्झनामा ताजै छ । पानी परोस् कि सुख्खा बढोस्, पर्वको मुखमा हाट जानैपर्ने । घरको बाहिरी श्रृङ्गार चुना कमेरो के लगाउने ? निर्णय गरेर ल्याइहाल्नुपर्ने । बाहिरी सरसफाइ सकेर भित्र कुनाकानीसमेत लिपपोत, झ्याढोकामा रङ्ग, बाटो सफासुग्घरदेखि पिङ हाल्ने हल्लाखल्ला गाउँकै वातावरण रमाइलो ! त्यो बेलाको सुकिलो घाम खेतमा लहलह धान, बारीका डिलमा कोपिला फक्रिन थालेको मखमली र सयपत्री फूल अनि दशैँलाई भनेर वस्तुभाउका लागि घाँस साँच्ने चलन जति सम्झ्यो उति याद बढ्छ ।
रमाइलो पर्व दशैँमा मिठो खान छुट्टै (बासमती धान) को चामल तुल्याउने चलन थियो । खेती नहुनेले ऋण लिएर भए पनि खाना नाना जुटाउँथे । यो रीति पुरानो भएको छैन । मिल नजन्मिएको त्यस जमानामा ढिकीमा कुटेका चिउरा आहा ! कति सम्झना छ, छ । आमाले धान भिजाउनु देख्दै, कहिले भोलि हुन्छ ? भन्ने लाग्थ्यो, मलाई । हाँडीमा धान भुट्दै ढिँकीमा घान हालेर कुट्दा केटाकेटी बुद्धि न हो चिउराको लट्टा अर्थात् लट्टे चिउरा कतिबेला खान पाइन्छ ? त्यो दाउमा हुन्थ्यौँ ।
घरमा आवश्यक सर्जाम जुटाउन खसीबोका बेच्ने चलन थियो । अनि, दशैँकै लागि भनेर पालेको खसीलाई चाहिँ पोषिलो खाना-दाना खुवाएर बलियो बनाउनुपर्ने हुन्थ्यो । भनाइ नै छ, दशैँको खसी पोसेजस्तो । मेरो मनसाय आफैंले माया गरेर पालेको त्यो खसीको मासु कसरी खानू ? ‘नखाउँ दिनभरिको शिकार, खाउँ त कान्छाबाको अनुहार’ खसी काट्ने दिन म घरमा नबसेर बाहिरबाहिरै हिँड्थेँ । अपितु फुर्सद लिएर होइन । घरबाहिरको काम घाँस काट्न, दाउरा बोक्न या लुगाकपडा धुन जता बित्दो छ, त्यतै लाग्थेँ ।
मलाई साथीहरूसँग रातोमाटो लिन जान अखण्ड रहर तर टाढा बाटो थाकिन्छ, गलिन्छ भनेर घरबाट खास गरेर बुवाले जान नदिने । यस्ता कुरामा आमा जिम्मेवारी लिनै नचाहने । धनकुटा पाख्रीबास बजार शिरपुच्छर बिहान उज्यालो हुँदानहुँदा घरलौरी बाटो लाग्थे । त्यहाँबाट दियाले ओरालैओरालो डेढ घण्टाको बाटो हल्ला गर्दै, कराउदै, कोही कोहीले सिटी नै बजाउँथे । डोकोनाम्लो कसैले बोरा यसरी आ–आफ्नो अनुकूलमा हिँड्नेहरूको ताँतीमा छुट्थेँ म ।
चन्द्रमा छोएझैँ एउटै कक्षा पढ्ने साथीहरूले कत्रो काम गरे । त्यति टाढा पुगेर भारीकाभारी रातोमाटो लिएर साँझ पर्दानपर्दा बासस्थान फर्के । दशैँमा र त्यसपछि पनि घर सिंगारपटार गर्न कति ठुलो सहयोग भयो । आ-आफ्ना अभिभावकले छोराछोरीको कति धुनधानले गुनगान गाउँथे, गाउँथे ।
माटो लिन जाँदाको खाजा कसैले आलु चाम्रे लगेका, कसैले चिउरा अण्डा त कसैले मासुभात ! त्यो पललाई सम्झिने पानी छम्किनेबाहेक मसँग दोस्रो उपाय भएन । हो, खिन्न मन काम गर्न जाँगर चलोस् न पढ्न । घरमा परिवार सबै साथ भए पनि कोही नभए जस्तो । लाग्छ, त्यो पनि एउटा समय नै हो, थियो ।
खाना-नानाको व्यवस्थापछि भकारामा उभिएको केराको बोट गऱ्याम्म ढालेर काइँया नछुट्याइ बुवाले पकाउन हाल्नुहुन्थ्यो । शिरीषको पातले छोपछाप त्यो घरीकेरालाई केही दिन बोरामा हालेर कुनामा राखी गुम्स्याएपछि खोलेर हेर्दा पँहेलपुर कोसा तुरुन्तै दही चिउरा केरा मुछेर खाइहाल्नु जस्तो । त्यो बास्ना अहिले पनि नाकमा छँदैछ र सम्झँदा मुख रसाउँछ । साँच्चै, घरको बुइँगलमा डोरी टाँगेर वारपार केराकाकाइयाँ झुण्ड्याएको त्यो दिन हिजो जस्तो लाग्छ ।
भक्ऱ्याङच्याङ भक्ऱ्याङच्याङ गर्दै ढिँकी उफ्रिन्थ्यो । माकमाक घुर परेवा घुर्दा आमा जाँतो पिँध्न तयार भइसक्नुहुन्थ्यो । धुपदीप सङ्खघण्ट बजाएर बुवा नवदुर्गा भवानीको पूजाआजामा व्यस्त हुनुहुन्थ्यो । विस्मत पाटो प्रत्येक साल त्यही समयमा बुवा बिरामी पर्नुहुन्थ्यो । हनहनी ज्वरो खनिएर कफसहितको खोकी लाग्थ्यो । थेगिनसक्नु गरी टाउको दुख्थ्यो । मुखमा पानीसम्म नहाली ओछ्यान पर्नुहुन्थ्यो ।
प्रकृतिलाई कसले बदल्न सक्ने ? अहिले मनन गर्दा दशैँछेक मौसम परिवर्तन हुने रहेछ । त्यसैको प्रभाव बुवामा पर्थ्यो र त प्रायः दशैँमा बिरामी नपरेको साल थिएन । हुन त चिसोबाट हुने एलर्जीको सिकायत बुवाको शरीर विशेषतः फोक्सो कमजोर छ भनेर डाक्टरको सल्लाहबमोजिम औषधी खाइरहनु पर्थ्यो । त्यो बेला अहिले जस्तो तरेली तरेली कपडा ज्याकेट स्वीटर निस्किसकेका थिएनन् ।
हातमा पैसा भए पनि इच्छाअनुसार शरीर ढाक्न पाइँदैन थियो । मान्छेको अनिवार्य आवश्यकता खाना-नानामा विशेष ध्यान दिनुपर्नेमा हामीले कति दियौँ, कति दिन सकेनौँ ? यसको हिसाब समयसँगै छ । रोगसँग लड्न सकुन्जेल बुवाका लागि नवदुर्गा भवानी सधैँ दाहिना हुनु/रहनुभयो तर जुन दिन बुवालाई मृत्युले जित्यो अर्थात् भौतिक रुपमा उहाँ यस दुनियामा रहनुभएन, कुनै दशैँ दशैँजस्तो भएर आएन ।
रेडियोमा बज्ने त्यो मंगल धुन अर्कै आवाजमा बोलेको आभास हुन्छ । यतिखेर गाउँमा मानिस छैनन् । शहरबजारमा खचाखच बढ्दो छ । दयामाया र प्रेमभाव गाउँमा कति थियो, मूल्य चुकाउँदा पनि शहर चिन्न गाह्रो छ । बिना पैसा केही पाइँदैन शहरमा, तैपनि भिड बढ्दो छ । अघि-अघि पैदल हिँड्ने बाटो गाडी गुड्न थालिसकेपछि त्यो गोरेटोको नामनिसान छैन, हरायो ।
तर हराएको छैन तिथिमिति । कुमालेको चक्र जसरी समय आफ्नो रफ्तारमा चलिरहेको छ, अघि बढिरहेको छ । जसरी हरेक वर्ष दशैँ आउँथ्यो, परम्परा त्यो आज पनि छ, तोडिएको छैन, तर यहाँ धेरै कुरा बदलिएका छन् । हिजो आफ्ना पोल्टामा पर्ने सुख अब सन्तानका लागि उनीहरूको उज्वल भविष्यको कामना गर्दै प्रदान गर्नुपर्ने भएको छ । मेरो मनको ठहर- अभिभावकका अगाडि आफू सानै छु जस्तो लाग्छ । यही रुप सन्तानसमक्ष बढो सम्पन्नशाली आकाश जत्रो मन र त्यस्तै मुटु भएको हुनुपर्ने रहेछ । हामीलाई यो शक्ति कसले प्रदान गर्छ ? नव दुर्गा भवानीले प्रदान गर्नुहोस् भन्ने कामना गर्दछु !
घर-घरमा घटस्थापनाको मौसम क्रमशः दशैँ आइसक्यो । विडम्बना त के भने त्यो बेला बुवा बिरामी यतिबेला पृथ्वी ! तापक्रम बढेर कति चौपट भएको छ । जलवायु परिवर्तनको टड्कालो असर साढे दुई दशकअघिको तराईजस्तो काठमाडौंको मौसम छ । असोज १० गतेदेखि मुसलधारे वर्षा हुँदा पानीको सतह बढेपछि बहाव क्षेत्र खोज्दै उपत्यकाका नदी र खोला नामेट आफ्नो बाटो बस्तीतर्फ सोझिए । परिणामतः जनधनको व्यापक क्षति भयो ।
२०५५ सालदेखि अभ्यस्त भएको काठमाडौंमा यति ठुलो २३९.७ मिलिलिटर पानी परेको मलाई थाहा थिएन । दशैँको समयमा टाउको नुहाउन कपालमा पानी होइन, बरफ खसेको अनुभव हुने त्यो बेला र अहिलेमा आकाश-जमिन फरक छ । आधा असोज बितिसक्यो तैपनि चिसो जाडो सङ्केत छैन । ठुलो पानी पर्न छोडेपछि दिन भने केही घमाइलो भएको छ ।
दशैँको चहलपहलमा मेरो मन उडेर उही (धनकुटा चुङवाङ) जुन ठाउँमा दशैँ भनेको हामी नेपालीहरूको ठुलो र महान् पर्व भनेर मैले त्यो बेला चाल पाएकी थिएँ । सायद, आमाबुवाले बयान गर्नुभएको त्यो दशैँलाई मैले उही बेला खास किसिमले थपक्क मगजमा राखेँ । घरमा टीका लगाएर बुवाले ५० कहिले १०० रुपैयाँको नोट दिनुभएको त्यो क्षण मेरो जीवनको अविस्मरणीय पल भएको छ । त्यस्तै, साइली हजुरआमाले दिनुभएको ५ रुपैयाँको त्यो नयाँ नोटलाई कति पटक ओर्काइफर्काइ हेरेँ र मनभित्रैदेखि खुसी हुँदै आमाबुवालाई देखाएँ । लाग्छ, समयलाई फर्केर हेर्नुमा अर्कै आनन्द छ ।
त्यो बेला पिङ खेल्न नसक्ने म उही आदतमा हुर्कें । भनिन्छ, जिन्दगी सुखदुःखको मिलन हो । आवश्यकता, रहर र खुसी जीवनका फरक-फरक आयाम हुन् । समयको कारण रहर जन्मन्छ । त्यसको परिणाम आवश्यकता घर-घरमा दशैँ आउँदैछ । हाम्रो माटोमा जुन खुसी फैलिएको छ, यो लहर हाम्रा सन्तान दर सन्तानका लागि गतिलो खम्बा बनोस् । सांस्कृतिक पर्व दशैँको अर्थ मिलाप पनि हो । तडकभडकविहीन किसिमबाट दशैँ मनाऔँ । दैत्यको बध गरेर देवताको रक्षा गरेको यस विजय उत्सवले स्वर्गसरी भूमि हाम्रो देश नेपाल र नेपालीको छवि तथा पहिचानमा आँच आउने काम कतैबाट नचुलियोस् ।
(बिन्दु अधिकारी ढकालको ‘कोपिलाका सुगन्ध’ पुस्तक प्रकाशित छ ।)
प्रतिक्रिया