हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद
पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्नेमा जोड दिएका छन् ।
एक वर्षअघि हमासको आक्रमणमा परी १० जना नेपालीसहित एक हजार दुई सय जनाले इजरायलमा ज्यान गुमाएका थिए । आतङ्कवादी हमलाको शिकार बनेका विश्वका विभिन्न देशका ती नागरिकका स्मतिमा यहाँस्थित इजरायली राजदूतावासले सोमबार (२१ असोज) काठमाडौंमा आयोजना गरेको स्मृतिसभामा पूर्वमन्त्री साउदले आतङ्कवादका जुनसुकै रुप र त्यसका प्रकटीकरणको नेपालले निन्दा गर्ने धारणा राखे । उनले जुनसुकै समस्याको समाधान वार्ताका माध्यमबाट खोजिनुपर्नेमा जोड दिए ।
सो अवसरमा नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले हमासको कब्जामा अहिले पनि एक सय एक मानिस रहेका तथा उनीहरुको मुक्तिका लागि हरसम्भव प्रयास भइरहेको जानकारी दिँदै हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधै सम्झने र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘तपाईका सन्तान हाम्रो देशमा अतिथि भएर आउनुभएको थियो, त्यो दुःखद् दिनपछि उहाँहरु इजरायली परिवारका सदस्य हुनुभयो । हामी तपाईँहरुलाई निरन्तर सहयाग गर्छौं’- राजदूत हनानले भनेका छन् ।
photo: rss
प्रतिक्रिया