आजको पञ्चाङ्ग एवम् राशिफल (२३ असोज २०८१ बुधबार, ९ अक्टोबर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ असोज २०८१ बुधबार, ९ अक्टोबर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन २३ गते तद्अनुसार सन् २०२४ अक्टोबर ९ तारिख बुधबार आश्विन शुक्ल षष्ठी ७ः३३ पर सप्तमी तिथि तिथि मूल नक्षत्र शोभन योग गर करण आनन्दादिमा ध्वज योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०१ मा भयो र सूर्यास्त साँझ १७ः३९ मा हुनेछ । विल्वनिमन्त्रण, सरस्वती आह्वान ।

आजको राशिफल

मेष – आँटेको काम बन्ने, शत्रु परास्त हुने र मनोरन्जनका साथ दिन बित्ने देखिन्छ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहला । कठिन काम पनि मित्रजनको सहयोगले बन्ने योग छ । कृषिजन्य व्यापारिक कार्यमा विशेष सफलता मिल्नेछ भने अध्ययन-अध्यापन तथा सिर्जनात्मक कार्यमा प्रगति होला । टाढाको यात्रा सम्भावित छ । अनुकूलता वृद्धि हुनेछ ।

वृष – दिनको आरम्भमा कामको चापले मनमा द्विविधा बढ्न सक्छ, तथापि पछि कामले गति लिँदैजानेछ । आम्दानीका स्रोतहरू बढ्नाले मन प्रशन्न रहला । प्रेमसम्बन्धमा विश्वासको मात्रा बढ्नेछ भने दाजुभाइको सहयोग पनि प्राप्त हुनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा प्रगति होला । व्यापार-व्यवसायमा पनि फाइदाको योग छ । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । सामाजिक एवम् परोपकार का कार्यमा मन जाला । जोखिममा नपर्नु हितकर होला ।

मिथुन – आजको दिन शारीरिक दुर्बलताको अनुभूति भएपनि व्यवसायमा उन्नति हुनुका साथै अन्य काममा पनि राम्रै धन कमाउने अवसर जुट्नेछ । आफन्तजनबाट सहयोग प्राप्त होला । अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ भने बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त होला ।

कर्कट – नयाँ कार्य थालनीको अवसर मिल्न सक्छ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउने योग छ । आम्दानी पनि राम्रै होला । सभा–सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ, सजग रहनुहोला । वादविवादको सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । प्रेमभाव बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

सिंह – पारिवारिक सद्भावले कार्यमा सफलता मिल्ने समय छ । नयाँ नोकरी मिल्ने तथा पुरानो काममा पदोन्नतिको सम्भावना देखिन्छ । विदेशमा गरेको लगानीबाट लाभ मिल्ने योग छ । अध्ययन-अध्यापन कार्य फलदायी रहनेछ । प्रेमभाव वृद्धि होला, तर प्रियजनसँग विछोड हुन सक्छ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण रहला ।

कन्या – बोलीको प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ । ब्यस्तता बढेपनि आजको दिन आफन्तको भेटले हर्ष बढ्नेछ । सन्तानपक्षबाट सहयोग मिल्नेछ । यात्रामा मन रमाउला । दाम्पत्यजीवन सुखमय रहनेछ, घरघडेरीको व्यापार-व्यवसायमा लाभ मिल्ला । धनलाभको योग छ । विशेषगरीकृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने देखिन्छ ।

तुला – व्यापार-व्यवसायमा उन्नति हुनुका साथै रोकिएका काम बन्ने समय छ । कुनै पनि कार्यमा जश मिल्ने योग छ । स्वास्थ्य सबल रहला । पराक्रम बढ्नेछ । लेखन तथा रचनात्मक कार्यमा मन लाग्नेछ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन्, जसले हौसला बढाउला । सहयोगी तथा सेवक वर्गबाट विशेष सहयोग मिल्नेछ ।

वृश्चिक – मानसिक चञ्चलता र उत्साह बढ्नेछ तर अप्रिय समाचारले दुःखी बनाउला । विश्वासपात्रबाट धोका पाइने सम्भावना छ, सजग रहनुहोला । आफन्तको भरणपोषणका निम्ति खर्चवृद्धि हुनेछ । रचनात्मक तथा शैक्षिक क्षेत्रमा प्रगति होला । खर्च बढ्ने र अर्थ अभावले काम रोकिने सम्भावना छ । प्रतिनिधिमूलक यात्राको अवसर जुर्नसक्छ । प्रतिष्पर्धी परास्त हुनेछन् ।

धनु – काममा कठिनाइ देखिए पनि अन्ततः खुशी मिल्ने दिन छ । धार्मिक कार्यमा संलग्न भइएला । अनुसन्धानात्मक काममा मन जानेछ, सफलता पनि मिल्नेछ । घर-जग्गा वा अन्य कुनै स्थिर सम्पत्ति जोड्ने अवसर जुर्नसक्छ । दीर्घकालीन नबनेका काम बन्ने योग छ । आयआर्जन र विद्यामा वृद्धि हुने देखिन्छ । सहासिक र कठिन काममा सक्रियता बढ्नेछ । पुराना साथिसंगी भेटघाट गर्ने अवसर जुट्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुखले उत्साह बढाउला ।

मकर – विभिन्न भौतिक साधन जुट्नुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिने समय छ । प्रयत्न गर्दा विशेष लाभ पाउनुका साथै ब्यापार पनि फस्टाउला । पारिवारिक सम्बन्ध सुमधुर रहला । अध्ययन-अध्यापनको पक्षमा पनि प्रगति हुने देखिन्छ । मान-समान पद-प्रतिष्ठा मिल्ने योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त होला ।

कुम्भ – प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । कामबाट विश्राम लिने मौका जुर्ला । दैनन्दिन कार्यमा भने ढिलासुस्ती वा उल्झन बेहोर्नुपर्ने योग छ । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला । व्यापार-व्यवसाय सामान्य रहनेछ । मिठो भोजन प्राप्त होला । सामर्थ्य वृद्धि हुनेछ ।

मीन – कर्मबल बढ्नेछ । दैनिक कार्यमा केही समस्याहरू देखिएलान्, सावधान रहनुहोला । खर्चिलो यात्रा गर्नुपर्ने देखिन्छ । साथीभाइको सहयोग सामान्य रहनेछ । सानो कामका लागि निकै दौडधुप गर्नुपर्ने योग छ । तथापि, आजको दिन लगानीको उचित प्रतिफल मिल्नेछ । सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।