शिद्धलेकले राख्यो रमाइलो रेकर्ड !

शिद्धलेकले राख्यो रमाइलो रेकर्ड !


धादिङ्गको शिद्धलेक नामक गाउँपालिकाले रमाइलो रेकर्ड बनाएको छ । तर, उक्त पालिकाले जनसेवा, विकाश या प्रकृतिको सेवाका क्षेत्रमा विशिष्ट काम गरेर रेकर्ड बनाएको भने होइन ।

एक महिनाको अवधिभित्रै पालिकाले आफ्नो प्रशासकीय प्रमुख पाँच पटक बदलेर नेपालमै सबैभन्दा छोटो समयमा धेरै पटक अधिकृत बदल्ने गाउँपालिकाको रेकर्ड बनाएको हो ।

सम्बद्ध मन्त्रालयको विशेष सूत्रबाट प्राप्त जानकारीअनुसार गत भाद्र महिनाको १६ गतेसम्म विनोद अधिकारी प्रशासकीय प्रमुख थिए, १७ गते शिवराम अधिकारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइयो । तर, मन्त्रालयले असोज ४ गते एक पत्र लेखेर शिवरामलाई जिम्मेवारी मूक्त गर्‍यो ।

भाद्र २६ गते नै मन्त्रालयले होमनाथ दाहाललाई प्रशासकीय प्रमुखको जिम्मेवारी दिएर पठाएको भएपनि त्यहाँको स्थिति देखेपछि दाहाल हाजिर नै नभैकन फिर्ता आएका थिए । त्यसपछि मन्त्रालयले रिजेश उपरकोटी नामक ब्यक्तिलाई शिद्धलेकको प्रशासकीय प्रमुख तोक्यो । तर, शिद्धलेकको स्थिति बुझेपछि उनी हाजिर हुनै गएनन् ।

त्यसपछि मन्त्रालयले असोज १८ गते शिवराम अधिकारीलाई नै निमित्त प्रशासकीय प्रमुखको जिम्मेवारी दिने निर्णय लिएको छ, तर उनले कर्मचारीको पारिश्रमिक र सामाजिक सुरक्षाबाहेक अन्य आर्थिक कारोबार गर्न पाउने छैनन् । शिवरामले अन्य कुनै पनि भुक्तानीको चेकमा हस्ताक्षर गर्न मन्त्रालयले रोक लगाएको छ । जबकि शिद्धलेकमा विभिन्न तेर्‍ह रहस्यमयी परियोजनाको डीपीआर तयार गरेको भनी प्रति फाइल पाँच लाखका दरले कुल पैंसट्ठी लाख भुक्तानी दिनुपर्ने भनिएको छ । यद्यपि ती डीपीआर प्रतिवेदन कहाँको कुन परियोजनाका निमित्त हो भन्ने जानकारी हुन सकेको छैन ।

परियोजना बनाउनका निमित्त नभएर डीपीआर गरेको फाइल खडा गरेर नगद आर्जन गर्ने कपटी उद्देश्य भएको चर्चा मन्त्रालयमा चलेको छ । मन्त्रालयमा निज शिवरामलाई प्रशासकीय प्रमुख बनाउन चर्को दबाब परेको बुझिएको छ । कुनै भीम भट्ट नामक ब्यक्तिले यसै शीर्षकमा नगद उठाएको भन्ने चर्चासमेत मन्त्रालयमा चलेको थियो । यही चर्चाका कारण शिवरामलाई प्रशासकीय प्रमुख बनाइएपनि तलब र सामाजिक भत्ता बाहेकको आर्थिक कारोबार गर्न नपाउने शर्त मन्त्रालयले राखिदिएको हो ।

पैंसट्ठी लाखबाहेक अर्को पचासी लाख भुक्तानीका निम्ति पनि दबाब परेको बुझिएको छ, तर भीम भट्ट नामक ब्यक्तिले जे गरेका भएपनि शिवरामले ती रहस्यमयी भुक्तानी दिन पाउने छैनन् ।