पत्रकार महासंघ : व्यावसायिक शाख रक्षाको चुनौति

पत्रकार महासंघ : व्यावसायिक शाख रक्षाको चुनौति


प्रविधिको विकाससँगै विभिन्न परिवर्तनसँगै ‘पत्रकारिता’ पेशामा पनि अनेकन् चुनौति र अप्ठ्यारा सिर्जना भएका छन् । केही वर्ष यता अलि निकै नै पत्रकारिता पेशा बारे अप्रीतिकर टीकाटिप्पणी सुनिने गरेको छ । सामाजिक सञ्जाल प्रयोग गर्नेहरू मध्येले समेत पत्रकारिता पेशाको दुरुपयोग गरिरहेका छन् । पत्रकारिता पेशाको शाख, मर्यादा, नीति-नियम र आचार-संहिताको हुर्मत काडिन थालेको छ । यस्तै चुनौतिहरूको सामना गर्दै अहिले इमान्दार पत्रकारले पत्रकारिता पेशाको मर्यादा जोगाएर अघि बढ्न हम्मे परेको अवस्था बहाल छ ।

पत्रकारिता पेशामा इमान्दार रहेकाहरूको इज्जत छिन्ताइ सोचका दलालहरूले धुलिसात पार्दै लगेका छन् । ‘पत्रकार’कै औपचारिक बिल्लाधारीहरूले समेत यस पेशालाई दलाली र झा.खा. (झारिखाने) उपक्रममा रूपान्तर गरिरहेका अनेकौं दसी भेटिन्छन् । त्यस्तै केही दलाल पत्रकारका कारण नै पूरै पत्रकारिता र पेशाकर्मीमाथि प्रश्न उठेको हो ।

अर्का तर्फ न्यूज ‘भाइरल’ बनाउन र ‘भ्यूज’ बढाउन पत्रकारिताको आचार-संहिता लत्याएर जसले पनि जथाभावी समाचार बनाइदिँदा समाचारको मूल्य र विश्वसनीयता पनि हराउँदो छ । युट्युबे पत्रकारिताले पनि पत्रकारिता पेशामा बदनामी र संकट थपेको छ । हातमा क्यामेरा झुण्ड्याएर वा त्यो नभए मोबाइलले नै खिचेर भए पनि पत्रकारिता गरेको डिङ हाँक्ने फाल्तु जोकरहरूको बाहुल्यताका कारण आज पत्रकारिता पेशा दलाली गर्न खप्पिस वा लिच्चडहरूको झा.खा. गर्ने पेशा बन्दै गएको छ ।

त्यसैले पनि केही वर्ष अघिदेखि नै व्यावसायिक पत्रकारिता गर्नेहरूको पक्षमा सबल, तर निरपेक्ष ढंगले काम गर्ने र सरकारमा दबाब बढाउन सक्ने एउटा सशक्त छाता संस्थाको आवश्यकता खट्किरहेको छ । हाल अस्तित्वमा रहेको छाता संगठन भनिने गरेको नेपाल पत्रकार महासंघ व्यावसायिक धर्मबाट च्यूत भएका कतिपय प्रसंगहरूले त्यस्तो खाँचो महसूस गराएको छ । त्यो केवल राजनीतिक पत्रकारिता गर्नेहरूको पेशागत संगठन जस्तो भइरहेको पेशाप्रति प्रतिबद्ध र पेशागत आचार-संहिताप्रति समर्पित कतिपय पत्रकारहरूले नै महसूस गरिरहेको पाइन्छ । पत्रकारिता गर्नेहरूले पेशागत धर्म निर्वाह गर्नेहरूप्रति महासंघको अविचल सुरक्षण र व्यावसायिक भरोसा खोजेका हुन्, न कि राजनीतिक दलको गोटी बन्ने जमातको संगठन ! व्यावसायिक स्वतन्त्र पत्रकारिता पेशालाई संकटमा पुऱ्याउने र राजनीतिक दबाब एवम् हस्तक्षेपलाई खुलेआम स्वीकार्ने निहीत स्वार्थमा स्खलित भएका पत्रकारहरू नै हुन् । दलको नेताका कारोबारी बनेका त्यस्तै दलाली गर्नेहरू प्रकारान्तरले यस पेशाका मलामी पनि हुन सक्छन् ।

के भाटगिरी गर्नु पत्रकारिताको व्यावसायिक धर्मभित्र पर्दछ ? के स्वतन्त्र भएर पत्रकारिता गर्न सकिँदैन ? राजनीतिक पार्टीको गुलामी गर्नै पर्छ ? के कुनै पनि पार्टीको वा कुनै अमुक नेताको हनुमानगिरी गर्नु पत्रकारिताको परिभाषामा पर्छ ? गलत गर्नेहरूको धज्जी उडाउन सक्ने र त्यस्तालाई खबरदारी गर्ने ल्याकत हुनु पर्दैन- कुनै पनि सच्चा पेशेवर पत्रकारको ? दलीय वा कतिपय माफिया उद्योगी, टाइकुन व्यापारी र तस्करको कुकर्म ढाकछोप गर्दै प्रशस्ति मात्र गाउने भजने पत्रकारिता गर्नु पत्रकारको काम हो त ? यिनै प्रश्नहरूको जवाफ समयले मागिरहेको छ । यसै पनि सत्यको पैरवी गर्दै तथ्यपरक समाचार लेख्नु नै पत्रकारको दायित्व हो । त्यसैले अब पत्रकार स्वयम्ले पनि आफूलाई परिवर्तन गर्न जरुरी छ । जुन परिवर्तनबाट अब पनि मर्यादित पत्रकारिता सम्भव छ ।

यो पक्का हो- पत्रकार महासंघको सदस्यता लिएका/बनाइएकाहरू तमाम व्यावसायिक पत्रकार छैनन् । त्यसमा यो पेशालाई झा.खा.को माध्यम बनाउनेहरूको बगाल मनग्गे छ । पत्रकारिता पेशालाई ठगी खाने एउटा माध्यम बनाइआएका ‘अपत्रकार’कै कारण ‘पत्रकारिता’ प्रति जनमानसमा नकारात्मकता बढेको पनि हो । तर, त्यस्ता कलंक-पत्रकारहरूले नै आर्थिक रुपमा अचम्मलाग्दोगरी तरक्की गरेका उदाहरण हरेक जिल्ला/पालिकाहरूमा भेटिन्छन् । त्यसैले अबका दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट नेता, घुसखोर कर्मचारी, तस्कर, राजश्वमारा उद्योगी-व्यवसायी र माफियाका संरक्षक बनिआएका कतिपय नेताहरूको मात्र नभएर पत्रकारिता पेशालाई दलाली गरेर कमाउधन्दा बनाइआएका पत्रकारहरूको समेत सम्पत्तिको स्रोत खोज्न जरुरी भएको छ । त्यसो हुन सकेमा को पत्रकार र को-को पत्रकारको मुखुण्डो भिरेका अवैध धन्देबाज हुन् भन्ने पहिचान हुन सक्छ । र, पत्रकारिता पेशालाई जहीँतहीँ र जोसुकैसित बार्गेनिङ गरेर कमाउने धन्दाजीवीहरूको पोल खुल्ने छ । अनि मात्र आफ्नो पेशाप्रति बफादार पत्रकारहरूको इज्जत एवम् पेशागत शाखमाथि कलंक थोपर्ने अपत्रकारहरूको कित्ता छुट्टिने छ र तिनको कुकर्मको पोल पनि उदांगिने छ । तब मात्र महासंघमा खास शुद्धीकरण हुने छ ।