एबरर्डिन/ जहाँ नेपाली छन् त्यहाँ नेपाल छ। त्यसैले भनिएको होला जसो गरुं जहाँ जाऊं यो मन त मेरो नेपाली हो। ‘जन्मले ब्यक्तिको स्वभाव र कर्मले ब्यक्तिको स्वभाव’ यी दुई पृष्ठभूमिबाट हाम्रा संततिहरुले आफ्नो स्वभाव र संस्कार निर्माण गरेका हुन्छन्। जन्मले हामी नेपाली हौं कर्मले पनि हामी नेपाली हौं तर कहिलेकाहिं यस्तो लाग्छ हाम्रा सन्ततिहरु कतै जन्म र कर्म दुबैको स्वभावबाट नेपाली हुन नसक्ने त हैनन् । यही चिन्ताले सतायको हुन्छ प्राय बिदेशमा जन्मने र हुर्कने हाम्रा नानिबाबुहरुको बारेमा बिदेशमा बस्ने प्राय नेपाली अभिभावकहरुलाई। संसार साँघुरिएको छ। हरेक कुनामा अब नेपाली पुगेको छैन भन्ने दिन कुर्नु पर्दैन। तर चिन्ता छ त केवल नेपाली भाषा, संस्कार र परम्परामा हामी हाम्रा नानिबाबुहरुलाई कत्तिको हुर्काउन सक्छौं। प्राय अभिभावकहरुमा पाइने चिन्ता भनेकै यही हो। यही चिन्तालाई हटाउन बिदेशस्थित केही नेपाली संघसंस्थाहरुले बिभिन्न तरिकाबाट आफ्ना नानिबाबुहरुका लागि नेपाली भाषा शिक्षाको पढाइ संचालन गरेका हुन्छन्। कति यस बिषयमा सफल छन कति छैनन् यो छुट्टै बहसको बिषय हुनसक्छ। तर यहाँ एउटा सफल नेपाली भाषा शिक्षा एबं नेपाली ज्ञानको बारेमा गत वर्षदेखि सञ्चालन गरेको कार्यक्रमको बारेमा चर्चा गर्न खोजिएको हो।
समय कति छिटो बितेछ। अस्ति जस्तो लाग्छ एबर्डिन सिटी काउन्सिलसंग उसको बिद्यालय भवन नेपलिज हिमालयन एसोसिएशनले पाक्षिकरूपमा नेपाली भाषा कक्षा सञ्चालनका लागि भाडामा लिएको। एक बर्ष पूरा भइसकेछ। हरेक १५ दिनको आइतवार कक्षा संचालन हुने गर्छ। एबर्डिनमा बसोवास गर्ने नेपाली समुदायका ६४ जना नानिबाबुहरुले यो भाषा शिक्षणवाट फाइदा लिएका छन्। यस पटकको आइतबार संस्थाले एक वर्ष पूरा गरेकोमा शुभकामना कार्यक्रम राखेको थियो। शुरुमा १० देखि १६ बर्षसम्मका लागि भनेर शुरू गरिएको कार्यक्रम अभिभावकहरुको बढ्दो मागलाई सम्बोधन गर्न ४ बर्ष देखिका नानिबाबुहरु पनि कार्यक्रममा समावेस हुन थाले। यसले माथि शुरुमै उल्लेख गरिएजस्तै जन्म र कर्मगत आवश्यकता पूरा गरेको देखिन्छ। साना नानीहरु जसले क, ख, १, २, जानेकै छैनन्, उनीहरुको आवश्यकता पूरा भएको थियो भने अर्को जो सामान्य नेपाली पढ्न र लेख्न बिर्सिसकेका थिए अनि बिस्तारै बेलायति समाजका संकारमा अभ्यस्त भइकेका छन्, उनीहरुकालागि हाम्रो संस्कार र परम्परा रीतिरिवाज चाडपर्वका बारेमा जान्ने पढ्ने मौका पाए। यस्तो मौका जुटाइदिएको छ एबर्डिनवासी नेपालीहरुकालागि नेपालीहरुको साझा संस्था नेपलिज हिमालयन एसोसिएशन स्कटल्याण्डले।
भाडामा लिएको कक्षा कोठा, बिद्यार्थीहरुका लागि आवश्यक पर्ने शैक्षिक सामांग्रीको जोहो, बेलाबेलामा गरिने बिभिन्न कार्यक्रमका खर्चहरु संस्थाका सदस्यहरुबाट मासिक रुपमा उठाइने लेवी, गत तीन बर्षदेखि संस्थागत रुपमा खेलिने देउसी भैलोमा प्राप्त हुने दान-दक्षिणा यस्तै संस्थाका आमदानिका श्रोतबाट संस्थाले बेहोर्दै आएको छ। गत आइतबार भाषा कक्षा संचालनको एक बर्ष पूरा भएको अवसरलाई शुभकामना कार्यक्रम गरी मनायो। त्यस अवसरमा संस्थाका सभापति टंक बहादुर थापाले संस्थाको उद्धेश्यमाथि प्रकाश पार्नुभएको थियो। सिटी काउंसिलसंग दुई बर्षका लागि बिद्यालयको कक्षाकोठा भाडामा लिने सम्झौताको स्मरण गर्दै गएको एक वर्षमा नानिवाबुहरुबाट सिकाइमा प्राप्त नतिजा देख्दा यो कार्यक्रमलाई निरन्तरता दिनका लागि संस्थाका अन्य पदाधिकारी साथीहरुसंग परामर्श गर्ने कुरा पनि ब्यक्त गर्नुभयो। शुभकामना ब्यक्त गर्न एबर्डिनमा बस्ने नेपालीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै अभिभावक डा। सोहन घिमिरेले बेलायतमा धेरै ठाउँमा धेरै संस्थाहरुले यस्तै किसिमको भाषा एबं संस्कृतिसम्बन्धी कक्षाहरु सञ्चालन गरेको देखिएको तर निरन्तरता कमैले मात्र दिने गरेकाले यस संस्थाले संचालन गरेको कार्यक्रम दिगो र नेपाली नानिबाबुहरुका लागि जीवनोपयोगी भएको आफूले पाएको भन्दै संस्थाको प्रशंशा गर्नुभएको थियो। यस्तै अर्का अभिभावक राजेन्द्र उप्रेतीले पनि संस्थालेसंचालन गरेको कार्यक्रमको सह्राहना गर्नुभएको थियो। बिभिन्न बर्ष समूहमा राखी सञ्चालन भएको भाषा कक्षाका बिद्यार्थिहरुले पनि कार्यक्रमको प्रशंशा गरेका थिए। साना नानीहरुको बर्ष समूह प्राथमिक तहबाट आयुष जीसीले यस्तो कक्षा सञ्चालन गरेर हामी जस्तो क, ख, नजान्नेले पनि एक बर्षमा पत्रपत्रिका पढ्न र नेपाली लेख्न सक्ने भयौं भन्दै फुरङ्ग भएका थिए। यसैगरी निम्न माध्यमिक तहको बर्ष समूहबाट आद्या रेग्मीले बिदेशमा सबै सधैं बसिन्छ भन्ने ठेगान हुँदैन अनि आफ्नो देशमा फर्कन पर्ने साथीहरुको लागि नेपालको स्कूलमा नेपाली पढ्न गाह्रो नहुने भन्दै कार्यक्रमको प्रशंशा गरेकी थिईन्। माध्यमिक तहको बर्ष समूहबाट सामना तिवारी, कला-कीर्ति हुमागाईंले संस्थाले उनीहरुका लागि भाषा र संस्कृतिसम्बन्धी कक्षा सञ्चालन गरेकोमा संस्थालाई धन्यवाद ब्यक्त गरेका थिए।
समाज बिभक्त छ, यही बिभक्त समाजलाई एकत्र बनाउने काम गर्छ राष्ट्रियताले। राष्ट्रियताको प्राण भनेकै बिभिन्न संप्रदाय र समाजको संस्कृति र परम्परामा अडिएको हुन्छ। मुलुकभित्र जसको जे परिबेश भए पनि मुलुक छोडेर बिदेश बस्दा आफ्नोपन आफ्नो भाषा कला संस्कार र परम्पराको बढ़ी माया लाग्दो रहेछ। यस्तो बिचार ब्यक्त गर्नुभयो कार्यक्रममा सोमनाथ शर्मा मेमोरियल ट्रस्टकी अध्यक्ष सोमा घिमिरेले। ट्रस्टले नेपाली भाषा संरक्षण एबं सम्बर्धनसम्बन्धी स्वदेश एबं बिदेशमा बिभिन्न कार्यक्रम गर्दै आएको छ। कार्यक्रम संचालन संस्थाका सहकोषाध्यक्ष बिजय सिग्देलले गर्नुभएको थियो। नेपाली भाषा एबं संस्कृतिको बार्षिक कार्यक्रमको अवसरमा नेपलिज हिमालयन एसोसिएशनले गरेको कामबाट ख़ुशी भई ट्रस्टकी अध्यक्ष घिमिरेले २०० पौंड [करीब ३० हजार नेपाली रुपियां] नगद संस्थालाई दान गर्नुभएको थियो।
-माधव रेग्मी तस्वीरसहित
प्रतिक्रिया