चोर पत्ता लाइदिन गृहमन्त्रीसँग अनुरोध !

चोर पत्ता लाइदिन गृहमन्त्रीसँग अनुरोध !


माननीय गृहमन्त्री श्री रमेश लेखकज्यू

उपरोक्त सम्बन्धमा म एक स्वतन्त्र लेखक, पत्रकार, कवि एवं ज्योतिर्विद् रत्ननिधि रेग्मी शुक्राचार्य हुँ । हाल म चोरहरूबाट सखापै पारिएको व्यक्ति पनि हुँ ।

काठमाडौंमा कविलाई भाडाकमा कोठा नदिने हुँदा म भक्तपुर चुनदेवीतिर बसाइँ सरेको थिएँ । सीपी मैनालीकी भाञ्जी श्री सावित्रा प्रसाइँको जग्गामा टिनको टहरो हालेर बसेको थिएँ । केपी शर्माजी प्रधानमन्त्री हुँदा २०७७ साल माघ २३ गते शुक्रबार राती चोरहरूले उक्त टहरो फोरी मेरो सोनी भाइओ नामको १६ इञ्चको र १४ इञ्चको रिनोभो नाम गरेको ल्यापटपका साथै २ जोर सूटका कपडा, तामाका भाँडाकुँडा, सामसुङ मोबाइल सेट १, नोकिया सेट १, केवल इत्यादि गरी करिब १ लाख २० हजारका जति सामग्री चोरी भएको थियो । माघ २४ गते जगाती प्रहरीका विष्णु फुयाल स्वयं आएर हेरी फोटो खिची मुचुल्का बनाइ जानुभएपछि मैले चोरिएका सामानको विवरणसहित जगाती प्रहरीमा निवेदन दिएको थिएँ । त्यतिबेला रामबहादुर थापा बादल गृहमन्त्री हुनुहुन्थ्यो । चोर समातिदिन मैले गृहमन्त्रीलाई अपिल गरेको पत्र दैनिक पत्रिकामा पनि प्रकाशित गरेको थिएँ ।

त्यहाँ चोरी भएपछि म पाण्डोबजार खानेपानीको पालेघरमा मासिक रु. ५ हजार तिरेर बस्दै थिएँ । यो सूर्यविनायक न.पा. वार्ड नं ५ मा पर्छ । त्यहाँ पनि २०७९ चैत्र २० गते राति चोरहरूले घर फोरी टोसीबा नामको ११ इञ्चवाला ल्यापटप र रेड्मी नामको मोबाइल चोरी गर िलगे, मैले भोलिपल्टै कटुञ्जे प्रहरीमा निवेदन दिएको थिएँ र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सम्बोधन गरेर विभिन्न सञ्चारका साधनमा चोरी भएको व्यहोरा प्रकाशित गरेको थिएँ । यसपल्ट असोज २६ गते शनिबार चक्रपथ नारायणगोपाल चोकबाट गाडीमा आउँदा सामसुङको ग्यालेक्सी ७/६ मोडेल (पुरानो मोडेल) को ९८४१२८४६३८ सिम रहेको मोबाइल बसमा चोरी भयो । म चढेको गाडी नं. बा.ख २१ अ ३१९१ को गाडी थियो । करिब चप्पल कारखानानिर आइपुग्दा मोबाइल चोरिएको थाहा भयो र म जोडले चिच्याएँ । म चिच्याउने बित्तिकै एकजना शङ्कास्पद व्यक्ति हतारहतार ओर्लियो । बेलुकाको ६ः१५ तिर झमक्क साँझ परेको छ, एउटा व्यक्ति मात्र चण्डोल र धुम्बाराहीको बीचतिर ओर्लियो । मैले जति चिच्याए पनि गाडीवालाले वास्तै गरिदिएनन् । केही व्यक्तिले मेरो नम्बरमा फोन लाउँदा केही बेर घण्टी गएको पनि हो । फुटेज र घण्टी गएको लोकेशन भिडाउने हो भने चोर पत्ता लाग्न सक्छ । प्रहरीले चोरीको विषयमा आजसम्म खोजी नै नगरेको हुँदा यो पल्ट मैले प्रहरीमा उजुर गर्नुभन्दा गृहमन्त्रीलाई नै सम्बोधन गर्नु उचित लागेर सामाजिक मिडियामा पोष्ट गरेको हुँ ।

अतः एव त्यो एरियाको फुटेज हेर्ने हो भने को व्यक्ति थियो पत्ता लाग्न सक्छ भनेर यति लेखेको हुँ । तपाइँले यति काम गरिदिनु होला । नत्र अब मैले तपाइँको सरकारविरुद्ध मन्दिरहरूमा गई प्रार्थना गर्नुबाहेक विकल्प छैन । मसित अब थप मोबाइल किन्न सक्ने क्षमता पनि छैन ।

सबैलाई थाहै छ, नेपालमा कविलाई सरकारले आजसम्म हेरेको वा संरक्षण गरेको उदाहरण छैन । साहित्यिक संघ संस्थाले पनि कविउपर दयाभाव राखेको मेरो जानकारीमा छैन । सत्रतिर श्रम गरेर बाँच्नु परेको छ । यसरी ३/३ वटा ल्यापटप र थुप्रै मोबाइलहरू चोरिँदा मेरो आर्थिक पक्ष धराशायी भएको छ । एकपल्ट त प्रहरीले मप्रति गरेको व्यवहारले मैले झण्डै आत्महत्या गरेको थिएँ । ती प्रहरी हाकिमले मलाई झुटा आरोपमा फसाउन खोजेका थिए, तर कतैबाट प्रमाण जुटाउन नसकेपछि छाड्नु परेको थियो । त्यो बेलादेखि प्रहरीप्रति मेरो धारणा सकारात्मक बन्न सकेन ।

यो घटनापछि मसित अब केही छैन, कमण्डलु भिर्नुपर्ने अवस्था आयो । हेरुँ देशको कविप्रति तपाइँको इमान्दारिता कस्तो रहेछ ? यो पत्र प्रकाशित भएको १० दिनपछि पनि चोर नसमातिए आफूले वर्तमान सरकारको नास होस् भनी मन्दिरहरूमा गई प्रार्थना गर्ने व्यहोरा अवगत गराउँछु । जय नेपाल ।

नेपालको सबैभन्दा अभागी कवि रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
महाकवि देवकोटा आश्रम, हाल- बेघर ।
मो. ९८४१२८४६३८ र ९८०५६७३३०२