तपाईंको दृष्टिमा

तपाईंको दृष्टिमा


नेपाली चलचित्रका कुशल एवम् सफल चलचित्र निर्देशक हुन शिव रेग्मी । चलचित्र लेखकका रूपमा सिनेमा क्षेत्रमा प्रवेश गरेका रेग्मी चितवनका अग्रणी एवम् सम्मानित रंगकर्मी पनि हुन् । आफन्त नामक ठूलो पर्दाको चलचित्र मार्फत् उनी निर्देशकको भूमिकामा देखिएका थिए । तत्पश्चात आफ्नो मान्छे, ए मेरो हजुर, सुखदुःख, हामी तीन भाइलगायत सुपरहिट चलचित्रका निर्देशन गरिसकेका रेग्मी उत्कृष्ट गीतकारका रूपमा पनि चिनिन्छन् । आफ्ना सिनेमाहरूमा विशेष गरेर जीवनका भोगाइहरूलाई प्रस्तुत गर्ने मामिलामा अरू निर्देशक भन्दा अगाडि छन् उनी । रेग्मीले निर्देशन गरेको पछिल्लो चलचित्र फूल वैशाख २२ गतेदेखि अधिराज्यभर लाग्ने भएको छ । यिनै बहुमुखि प्रतिभाका धनी रेग्मीको भोगाइमा जीवन र जगत के हो ? घटना र विचार साप्ताहिकको टपाईको दृष्टिमा स्तम्भका लागि राजन घिमिरेसँगको कुराकानी

० जीवन के हो ?
– चलचित्र
० प्रेम के हो ?
– मीठो अनुभूति
० सुन्दरता के हो ?
– आँखाको स्वाद
० मन के हो ?
– विचार खोज्ने तराजु
० भावना के हो ?
– दया रसाउने मुहान
० विवाह के हो ?
– मन बिसाउने चौतारी
० बन्धन के हो ?
– समाजले बेरेको डोरी
० अपमान के हो ?
– नेमेटिने घाउ
० इज्जत के हो ?
– चरित्र ढाक्ने सुकिलो लुगा
० बेइज्जती के हो ?
– प्रतिष्ठामा लाग्ने चोट
० मिलन के हो ?
– मन जोडिने बाटो
० विछोड के हो ?
– एक्लो हुनुको पीडा
० जवानी के हो ?
– बैंसको फूल
० बालापन के हो ?
– नमेटिने चित्र
० तृष्णा के हो ?
– मरुभूमिको मान्छे
० रिस के हो ?
– बच्चाको मूर्खता
० जोश के हो ?
– काम लाग्ने ऊर्जा
० नसा के हो ?
– नब्युँझिने औषधि
० यौन के हो ?
– पे्रमको पराकाष्ठा
० सन्तुष्टि के हो ?
– थकित यात्रीको बास
० कर्तव्य के हो ?
– अप्ठ्यारोमा हिँड्ने बाटो
० विश्वास के हो ?
– संसार चल्ने बाटो
० असल के हो ?
– सबैलाई मनपर्ने ऐना
० खराब के हो ?
– अरूलाई चोट पार्ने वचन
० सबैभन्दा ठूलो धोका के हो ?
– सम्मानमा ठेस पुग्नु
० दुःख के हो ?
– कसैले मन नपराउने फल
० सुख के हो ?
– अँध्यारो कोठाको आँखीझ्याल
० खुसी के हो ?
– जीवनको बिहानीको किरण
० आनन्द केमा छ ?
– आफ्नो कामको उपलब्धि
० मित्र को हो ?
– आफूले अनुभव गरेको शिक्षा
० शत्रु को हो ?
– अभिमान
० सङ्घर्ष के हो ?
– बिहानी आउनुअघिको रात
० प्राप्ति के हो ?
– नाम
० आस्था के हो ?
– विश्वासको अर्को रूप
० धर्म के हो ?
– रक्सी
० नैतिकता के हो ?
– समाजमा अट्ने बाटो
० चरित्र के हो ?
– मान्छे चिनाउने अर्को नाम
० ज्ञान के हो ?
– मनको उज्यालो
० बुद्धि के हो ?
– मान्छेको पखेटा
० सम्झौता के हो ?
– हारेपछि पनि जित्नु
० सृष्टि के हो ?
– संसारकी आमा
० गुरु को हो ?
– गल्ती
० राजनीति के हो ?
– मान्छेलाई थुन्ने खोर
० देश के हो ?
– आफ्नो पहिचानको टीका
० समाज के हो ?
– सबै वर्गको आँगन
० पद के हो ?
– वर्ग छुट्याउने कुर्सी
० विकास के हो ?
– मान्छेले सिर्जना गरेको प्रकृति
० व्यापार के हो ?
– पैसाको खेती
० अनुशासन के हो ?
– चरित्रको कानुन

हिरोइन बितेपछि कुकुरमा आँखा
विश्वविख्यात हलिबुड अभिनेत्री एलिजावेथ टेलर अहिले यस दुनियाँमा छैनन् । उनको अवसानपछि उनका छोरा क्रिस्टोफर विल्डिङ र उनका पूर्वम्यानेजर ज्यासन विन्टर्सबीच यतिबेला घमासान मुद्दा चलिरहेको छ । तर, एलिजावेथले छोडेर गएको सम्पत्ति हत्याउनका लागि यी दुईबीच मुद्दा चलिरहेको ठान्नुभयो भने गलत हुनेछ । यथार्थमा एलिजावेथपुत्र क्रिस र उनका म्यानेजर विन्टर्स दुवै एलिजावेथको अत्यन्त प्रिय रहेको एक कुकुर्नीका लागि मुद्दा–मामिलामा उत्रिएका हुन् । माल्टिज नश्लको ‘डेजी’ नामक कुकुर्नी एलिजावेथकी अत्यन्त प्रिय साथी बनेकी थिई । आमाको मृत्युपश्चात् क्रिसले डेजीलाई आफ्नो घर लगे । तर, डेजीलाई आफ्नो साथ राख्न पाए एलिजावेथ नै आफूसँग रहेको अनुभूति हुने थियो भन्दै एलिजावेथका पूर्वम्यानेजर विन्टर्सले अदालतमा मुद्दा दायर गरेका छन् । एलिजावेथको मृत्युपश्चात् आफूले एक्लो महसुस गरिरहेकोले हरहालतमा डेजी हात पारेर छोड्ने उनको दाबी छ भने उता क्रिसले आफ्नी आमाको निशानीका रूपमा डेजीप्रति अधिकार जमाएको बताएका छन् ।

सिङ्गै नगर नौ लाख डलरमा
एउटा सिङ्गै नगर, त्यो पनि अमेरिकाको । हालै लिलामी प्रक्रियाबाट त्यसलाई बिक्री गरियो जम्मा नौ लाख डलरमा ! आश्चर्य नमान्नुस् यो वास्तविक नै हो । अमेरिकाको सबभन्दा सानो नगरका रूपमा चिनिएका बुफोर्ड नगर एक भियतनामी नागरिकले नौ लाख डलर तिरेर खरिद गरेका छन् । २५ जनाले लिलामीमा बोली लगाए पनि हात प¥यो भियतनामीलाई । तर, भियतनामको च मिन्हनिवासी ती खरिदकर्ताले आफ्नो परिचय भने खुलाएका छैनन् । बुफोर्डका पूर्वमालिक डन स्यामन्सका अनुसार उक्त नगर खरिद गर्ने धोको राखेर हङकङ, फ्लोरिडा, कन्सास, न्युयोर्कजस्ता शहरनिवासीहरूले टेण्डरमा भाग लिएका थिए, तर १० एकड जमिनसहितको बुफोर्ड एक भियतनामीले हत्याए । स्मरण रहोस्, विभिन्न घर, स्कुल आदि रहेको सो ‘नगर’को जनसङ्ख्या भने मात्र एक रहेको छ । अर्थात् जो यसको मालिक हो ऊ नै त्यस नगरका बासिन्दा हुन् ।

असमर्थ पुरुषलाई खुसीको खबर
सन्तान जन्माउन असमर्थ रहँदै आएका पुरुषका लागि बेलायती वैज्ञानिकहरूले खुसीको सन्देश दिएका छन् । ब्रिटिस वैज्ञानिकहरूले एक यस्तो ‘जेल’ निर्माण गरेको दाबी गरेका छन् जसको प्रयोगले पुरुषमा सन्तान उत्पन्न गर्ने क्षमताको वृद्धि गरिदिन्छ । वैज्ञानिकहरूले दाबी गरेअनुसार यस जेलबाट दम्पतीहरूले आईबीएफजस्तो महँगो उपचारबिना नै सन्तान जन्माउन सक्ने सम्भावना अत्यधिक बढाउँछ । बकिङ्घम विश्वविद्यालयको अनुसन्धान दलको कथन छ कि उनीहरूले एक यस्तो रासायनिक तत्व खोजी गरेका छन् जसले शुक्राणु कोषिकाहरूलाई सक्रिय तुल्याएर महिलाको अण्डाणुसम्म पुग्ने क्षमता वृद्धि गरिदिन्छ । यस्तो ‘जेल’ निर्माणमा हासिल भएको सफलताबाट कम खर्च र कम आक्रामक तरिकाबाट सन्तान उत्पत्ति गर्न मद्दत पुग्ने सम्बन्धित वैज्ञानिकहरूले जनाएका छन् ।

लालवस्त्रवाली नै दिलवाली !
सदियौंदेखि यो एउटा पहेली नै बन्दै आएको छ कि महिलामा यस्तो के तत्व छ जसले पुरुषलाई आकर्षित तुल्याउँछ । एक अनुसन्धापछि पत्ता लागेको छ कि रातो रंगको पहिरनमा सजिएकी महिला पुरुषलाई विशेष आकर्षक लाग्छिन् । फ्रान्समा युनिभर्सिटी अफ साउथ ब्रिटेनका शोधकर्ताहरूको एक टिमले पत्ता लगाएअनुसार पुरुषहरू महिलालाई रातो पहिरनमा देख्न मन पराउँछन्, किनकि उनीहरूलाई यस्तो लाग्छ कि यस्तो रङको डे«स लगाउने महिला पहिलो डेटमै आफूसँग शारीरिक सम्पर्क राख्न तयार हुन्छन् । यस अनुसन्धानका लागि १८ देखि २१ वर्ष उमेर समूहका एक सय २० पुरुष छात्रलाई सामेल गरी चार समूहमा विभक्त गरिएको थियो । प्रत्येक सहभागीलाई ३० सेकेण्डसम्म २० वर्षीया महिलाको तस्बिर नियाल्न भनिएको थियो । हरसमूहका लागि चार अलग–अलग रङ (रातो, नीलो, हरियो र सेता)को कपडा पहिरिएका युवतीको तस्बिर देखाउँदै प्रश्न सोधिएको थियो– ‘यीमध्ये कुन युवती पहिलो भेटमै तिमीसँग संसर्ग गर्न तयार होलिन् ?’ अधिकांश पुरुषले रातो वस्त्रवालीलाई नै छानेका थिए ।

अभिनेत्रीको मायाजाल
पुरुषको भाग्य र स्त्रीको चरित्र यकिन गर्न सकिन्न भन्ने भनाइ हाम्रो समाजमा अझ पनि उत्तिकै प्रचलित छ । यसै उक्तिलाई चरितार्थ तुल्याएकी छिन् प्रसिद्ध अभिनेत्री एलिजावेथ हर्लेले । कुनैबेला हर्ले अस्टे«लियाली खेलाडी सेनवार्नकी पे्रमिका थिइन् । पति–पत्नीकै हैसियतयुक्त सम्बन्ध बनाएर चर्चामा रहेको यो जोडी हर्लेले दिएको धोकाकै कारण अलग हुन पुग्यो । हर्लेले भारतीय मूलका बेलायती व्यवसायी अरुण नायरसँग विवाह गरिन् । यो विवाहको विश्वव्यापी चर्चा पनि भएको थियो । तर, अरुण र हर्लेबीचको वैवाहिक सम्बन्धलाई अरुणको धनले कायम राख्न सकेन, अन्ततः हर्लेले नायरलाई पारपाचुके दिइन् । यतिसम्म त स्वाभाविक नै थियो, तर घटनाले रोचक मोड त्यतिबेला लियो जब पहिले आफूले धोका दिएकै सेनवार्नसँग आगामी वर्ष २०१३ भित्र बिहे गरेरै छोड्ने घोषणा हर्लेले गरिन् । हर्लेको यतिबेला कथन छ, ‘मेरा लागि उपयुक्त जोडी वार्नबाहेक अरू हुन सक्दैनन्, उनी बनेकै मेरा लागि हुन् ।’