आजको पञ्चाङ्ग एवम् राशिफल (४ कात्तिक २०८१ आइतबार, २० अक्टोबर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ कात्तिक २०८१ आइतबार, २० अक्टोबर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक ४ गते तद्अनुसार सन् २०२४ अक्टोबर २० तारिख आइतबार कार्तिक कृष्ण पक्षको तृतीया तिथि १०ः४७ पर चतुर्थी तिथि कृतिका नक्षत्र व्यतिपात योग बब करण आनन्दादियोगमा धूम्र योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः७ मा भयो र सूर्यास्त साँझ १७ः२८ मा हुनेछ ।

आजको राशिफल

मेष – श्रम गरेअनुसारको सुखद परिणाम प्राप्त नहुने समय छ । अरूका लागि बुद्धि खर्चनुपर्ला । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ, सजग रहनुहोला । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । यसका बाबजुद मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ने देखिन्छ ।

वृष – शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ भने यात्रामा विशेष लाभ हुने देखिन्छ । तथापि, तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । आश्वासन दिनेहरूले झुक्याउने सम्भावना रहेकोले परिस्थितिले अप्ठ्यारो मोडमा पुऱ्याउन सक्छ । आमाको माध्यमबाट काम बनाउन सकिने योग छ ।

मिथुन – दाम्पत्य जीवन सुखद र समृद्ध बन्ने तथा प्रेमको बन्धन कसिने समय छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने देखिन्छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिएला । आम्दानी बढ्नेछ भने कतै आतिथ्यपूर्ण सम्मान पाइएला ।

कर्कट– मिश्रित फलदायी समय छ । मेहनतअनुसारको फल प्राप्त हुनेछ भने व्यवसायमा लाभ नै मिल्ला । व्यावसायिक यात्राको सम्भावना पनि छ । यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । सवारी साधन उपयोग गर्दा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ, बेली र व्यवहारमा संयमतको दरकार छ ।

सिंह – प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिने दिन छ । इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन होला । आजको दिन स्वास्थ्य भने केही कमजोर रहेको अनुभूति हुन सक्छ, ख्याल राख्नुहोला । महत्वपूर्ण काममा ढिलासुस्ती हुनसक्ने योग छ । अध्ययन-अध्यापन कार्यमा ब्यवधानको योग छ । यात्रागत कार्यको तयारीमा हुनुहुन्छ भने आजको लागि थाती राख्नु उचित होला ।

कन्या – मेहनतीजनका लागि समय उत्साहजनक रहेपनि अलिक बाध्यताका काममा जुट्नुपर्ने देखिन्छ । केही विवादमा समेत परिने सम्भावना छ, सजग रहनुहोला । प्रतिस्पर्धी परास्त हुनेछन् भने सहयोगीहरूले राम्रै साथ दिने देखिन्छ । आफन्तजनको साथ मिल्नेछ । रसरागात्मक क्रियाकलापमा मन जाला ।

तुला– पराक्रम र उत्साह बढ्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने देखिन्छ । मुद्दा–मामिलामा विजयी भइएला । धन आर्जनको मौका जुर्ने देखिन्छ । तथापि, नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ने देखिन्छ ।

वृश्चिक – आजको दिन अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । साझेदारीमा समस्या आउने योग छ । तर, तपाईंको विशेष योजनाले मूर्तरूप पाउने समय हो यो । बौद्धिक कार्यमा सफलता मिल्ने देखिन्छ ।

धनु – विभिन्न भौतिक साधनहरू जुट्ननाले प्रशन्नता मिल्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने देखिन्छ । तथापि, आफन्तसँग असमझदारी बढ्न सक्छ । केही बाध्यताका काममा अलमलिनुपर्ला । सन्तानको बारेमा चिन्ता बढ्न सक्छ । दाम्पत्य सम्बन्धमा अविश्वास बढ्ने योग छ, सजग रही व्यवहार गर्नुहोला ।

मकर – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । तर, रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने योग छ । व्यवसायिक कार्यबाट सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला, विचार पुऱ्याइ कार्य गर्नुहोला ।

कुम्भ – बौद्धिक कार्यबाट राम्रै धनलाभ हुने दिन छ । आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिएला । विशिष्टजनको विशेष सहयोग जुट्नेछ भने अध्ययन/अध्यापनमा प्रगति हुने देखिन्छ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ, ध्यान राख्नुहोला । शुभचिन्तकहरूले साथ दिनेछन् भने विभिन्न अवसर पाइने योग छ ।

मीन – पराक्रम वृद्धि हुनेछ भने अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । मनोकुल कार्य गर्न सकिने देखिन्छ । कामले कीर्तिमानी दिलाउला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । सबै कार्यमा सहयोगीहरूको भरपर्दा हातमा आएको अवसर गुम्न सक्छ, ध्यान राख्नुहोला ।