अब राष्ट्रपतिलाई ‘स्ट्यान्डवाई’ राखौँ

अब राष्ट्रपतिलाई ‘स्ट्यान्डवाई’ राखौँ


जोसुकैले जतिसुकै आफ्ना गुणगान गाऊन्, जुनसुकै पार्टीले जतिसुकै महान् काम गरेको डिङ हाँकुन्, ०४८ सालपछि नेपाल अस्थिर र असुरक्षित हुँदै गएको छ । त्योभन्दा अगाडि प्रजातन्त्र थिएन तर सुरक्षा थियो । शासनमा जनताको पहुँच थिएन तर नागरिकले राज्यको नियम–कानुनभित्र बसेर आफ्नो काम गर्न पाएका थिए । मन्त्रीहरूलाई नारायणहिटी दरबारका सुब्बाहरूले सातो खान्थे तर पनि मन्त्रालयमा खुल्लमखुला घुस माग्ने हिम्मत कसैको हुँदैनथ्यो । राजाका आसेपासे र चाकडीबाज अञ्चलाधीश र राजदूत हुन सक्थे तर पैसा दिएर संवैधानिक पद किन्ने प्रचलन थिएन । हो, राजा–महाराजा पूरै जङ्गलमा निर्धक्कसँग सिकार खेल्न सक्थे तर अहिलेको जस्तो गैंडा र बाघ असुरक्षित थिएनन् । त्यतिबेला पनि मन्त्री–सांसद थिए तर अहिलेको जस्तो जनताको पैसाबाट अर्बौं खर्च गरेर हजारौँ सङ्ख्यामा तिनलाई पाल्नुपर्दैनथ्यो । त्यतिबेला पनि केही गुण्डाहरू थिए तर ती अहिलेका गुण्डाझैं ‘डन’को पगरी भिर्न सफल थिएनन् । त्यतिबेला थोरै कारखाना थिए तर अहिलेझैं ताला लगाइएका थिएनन् । युनिभर्सिटीजस्तो पवित्र ठाउँमा नियुक्ति पाउने प्राज्ञहरूलाई पनि कुनै दलको कार्यकर्ता भएर पद प्राप्त गर्नुपर्दैनथ्यो । त्यतिबेला जातीय, क्षेत्रीय र भौगोलिक रूपमा नेपाली–नेपालीबीच वैमनश्यता थिएन । त्यसैले म ठोकेरै भन्न सक्छु यो मुलुकको शान्तिसुरक्षा, शासन व्यवस्था र सुशासन अहिलेको समयको भन्दा राजाको शासनकालमा धेरै राम्रो थियो ।
आज जब–जब हामी नेपालको ०६२÷६३ को आन्दोलनको सफलताको कुरा गर्छाैं, के कारणले त्यो महान् उपलब्धि थियो भनेर हामी समर्थन गर्दैछौँ ? मैले अझै तय गर्न सकेको छैन यो । मलाई लाग्छ– त्यो आन्दोलनले जबसम्म नेपाली समाजलाई आर्थिक रूपले सम्पन्न बनाएर देखाउन सक्दैन, सामाजिक–सांस्कृतिक रूपले माथि उठाएर देखाउन सक्दैन, राष्ट्रिय सुरक्षामा अझ प्रगति भएको नतिजा देखाउन सक्दैन, तबसम्म त्यसलाई टेलिभिजनमा बारबार देखिने नेता भन्नेहरूले भनेकै भरमा महान् मान्न सकिँदैन । हो, माओवादी नेताहरूका लागि महान् थियो किनकि त्यो लडाइँले उनीहरूलाई प्रधानमन्त्री र शीर्षस्थ नेता बनायो, दरबारमा निवेदन हाल्दा पनि प्रधानमन्त्री हुन नसकेका एमाले नेताहरू यो परिवर्तन भएपछि प्रधानमन्त्री बन्न पाए, राजाले आज थुन्छन् कि भोलि थुन्छन् भनेर तर्सिबसेका काङ्गे्रसी नेताहरूले देशको महत्वपूर्ण निर्णय गर्न पाए । तर, मेरो प्रश्न छ– ज्यान गुमाउने र मसाल बोकेर पुलिसको लठ्ठी खाई टाउको फुटाउने आमनेपालीका परिवारले के पाए त ? नागरिक समाज नामबाट खुल्लमखुला पुरानो व्यवस्थाको विरोध गर्दै वसन्तपुरमा भेला हुने डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, मानवअधिकारवादी, व्यवसायीले चाहिँ के पाए त ?
सबै नेपालीले त्यो आन्दोलनपछि सोचेका थिए कि ०६२÷६३ को आन्दोलनपछि नेपालीले नयाँ नेपाल पाउनेछन् । त्यो नयाँ नेपाल के हो र कस्तो हो ? त्यसबारे कसैले सोचेनन् खालि यत्ति बुझे– नयाँ नेपाल आउँदै छ रे उ समय जति–जति अघि बढ्यो महँगी, असुरक्षा, कुशासनका साथै समग्र समाज झन् पछाडि पछाडि या ढुङ्गेयुगतिर फर्केको देख्न थालेपछि बल्ल नेपालीले बुझ्न थाले, नयाँ नेपालको कल्पनामा हामी कतै भएकै शान्त नेपाल गुमाउँदै त छैनौँ ?
०६२÷०६३ पछि नेपाली दङ्ग पर्नुको अर्को कारण थियो– नयाँ संविधान आउँछ भन्नेमा । ०४७ सालमै एउटा राम्रो संविधान जनआन्दोलनबाटै बनेको थियो । त्योभन्दा राम्रो भनेको के हो ? कोही नेपालीले बुझ्न चाहेनन् । त्यसबाट राजसंस्थाको ठाउँमा नेपालीका छोरा राष्ट्रपति हुने र पाँच विकास क्षेत्र पाँच राज्यका रूपमा अधिकारसम्पन्न हुने भनेर त्यति दुईवटा कुरा मात्र हटाएको भए आन्दोलनको स्प्रिटसँग मिलाएर लैजान सकिन्थ्यो । तर, नेताले नेपाली जनताको नयाँ संविधान आउने बताए । त्यो नयाँ संविधान भनेको के हो कसैमा स्पष्टता छैन । दुई वर्षमा बनाउन खोजेको त्यो नयाँ चार वर्षमा पनि बनेको छैन । त्यसलाई चलाउन र नयाँ बनाउन खोज्दा झन् नयाँ–नयाँ समस्या पो आइरहेको छ । त्यसैले सुरुसुरुमा नयाँ संविधान आउँछ भनेर दङ्ग पर्नेहरू अहिले पहिले आफूसँगै रहेको ०४७ को संविधान पनि खोसिने हो कि भनेर चिन्तित छन्, किनकि नयाँ आउने लक्षण नै छैन ।
नयाँ संविधान आएपछि नेपालीको जीवनमा अकल्पनीय रूपमा सकारात्मक परिवर्तन आउँछ भन्नेहरू पनि कतिबेला संविधान बन्ला र त्यसलाई जलाउँला भनेर कुरिरहेका समूह देखेर त्रसित छन् । नयाँ संविधान जारी भएपछि त्यसलाई लागू गराउन ०४७ को संविधानलाई भन्दा गाह्रो भयो भने यो नयाँ संविधानको अर्थ के नै होला र ? त्यसैले नयाँ संविधानले हाम्रो जीवनमा भयानक सुधार ल्याउँछ भन्ने विश्वास गर्ने नेपालीलाई पनि कतै नयाँ नाममा आएको संविधानकै कारण बसाइँ छोडेर भाग्नुपर्ने स्थिति त आउँदैन भनेर चिन्तित हुन थालेका छन् ।
०६२÷६३ को आन्दोलनपछि नेपाली दङ्ग परेका अर्को कारण थियो देश सङ्घीयतामा जाने भयो भनेर । जब सानो मुलुकका सबै जातजाति मिलेर बसेका थिए भने फेरि सङ्घीयताको नाममा जात–जात क्षेत्र–क्षेत्र विभाजन गर्ने सोच किन आयो ? त्यसको जवाफमा नेताहरू भन्ने गर्दथे– सङ्घीयता नभएकै कारणले नेपालको विकास नभएको हो । जब नेपालीले यो कुरा पत्याएर सङ्घीयता ल्याउन आन्दोलन गरे त्यतिबेला प्राप्त उपलब्धिदेखि दङ्ग थिए । तर, जब यसै नामबाट भुटानदेखि त्यहाँका राजाले नेपाली खेदेझैं गरी तराईबाट पहाडी खेद्ने काम सुरु हुन थाल्यो, तराईलाई छुट्टै प्रदेश बनाउने पहल हुन थाल्यो, जब गाउँ–गाउँमा जातीय वैमनश्यता बढ्दै गयो त्यसपछि नेपाली नै चित्रबहादुर केसीको विचारलाई समर्थन गर्न थाले । ठाउँ–ठाउँमा जिल्ला क्षेत्र टुक्र्याउन पाइँदैन भन्न थालियो । यदि यस्तै दिन आउनु थियो भने फेरि किन सङ्घीयताका नाममा प्राण फालेको त ? त्यसैले मलाई लाग्छ यो मुलुकका नेताहरूले झुक्याउने र जनता झुक्किरहने उपक्रम चलिरहेको छ । केवल राजसंस्था हटाउनु, सङ्घीयता ल्याउनु वा संविधान बनाउनु ठूलो उपलब्धि होइन, बरु उपलब्धि त नेपालीलाई स्थिर, सभ्य, विकसित र सुरक्षित राज्य बनाउनुमा रहन्छ, जहाँ जनता गौरवपूर्ण रूपले सम्पन्नताका साथ जीवनयापन गर्न पाऊन् । नयाँ परिवर्तनले तिनका जीवनका हरक्षेत्रमा सकारात्मक परिवर्तन ल्याओस्, हिजोको व्यवस्था गलत रहेछ भन्ने ठोस प्रमाणहरू तिनले देख्न पाऊन्, अनि पो उपलब्धिको अनुभूति हुन्छ ।
तर मलाई किन–किन लागिरहेछ नयाँ नेपाल, नयाँ संविधान, नयाँ सङ्घीय प्रणालीले अनेक नयाँ समस्या पनि बोकेर आउनेवाला छ । किनकि जसले यि नयाँ–नयाँ कुरा लिएर आउँछ भनेका छन् तिनीहरू आफैंलाई नयाँ के हो भन्नेमा स्पष्टता छैन । नेता–नेताबीचमा नै नयाँ परिभाषा मिल्दैन । सबैलाई नयाँ भनेको आफूले सोचेझैं नयाँ भन्ने परेको छ । जातीय राष्ट्र माग्नेलाई जातीय राज्य नयाँ भन्ने परेको छ भने तराई अलग्याउन खोज्नेलाई तराई अलग्याई त्यहाँको नेता हुने नै नयाँ भन्ने परेको छ । तर, यो नयाँभित्र राष्ट्रियता, विकास, सुरक्षा र सार्वभौमसत्ता अनि यो सिङ्गो नेपाल नामको मुलुकभित्र बस्ने प्रत्येक मानिस मात्र होइन चराचर जगत्को समेत भलाई सोच्नेचाहिँ को ? यहाँ केवल आफ्नो पार्टी, आफ्नो जात, आफ्नो भूगोलबारे मात्र सोच्ने भएपछि नयाँ नेपालबारे सोच्ने को ?
त्यसैले मलाई लागिरहेछ जेठ १४ भित्र नयाँ दिने औपचारिकता पूरा गराए पनि मुलुकले केही नयाँ पाउने छैन, बस् उ नयाँ दिएको भनिएको कुराबाटै आमनेपालीले झन्–झन् नयाँ समस्याचाहिँ झेल्ने छन् । मुलुक दैनिक टायरका गन्ध र मसालले ढढेलो लाग्न पनि सक्छ । राजनीतिक अपरिपक्वताका कारण थुपै्र नयाँ समस्या आउनेवाला छ जस्तो लाग्छ । त्यस स्थितिमा अहिले साथ देखिएका दल पनि टाढा हुनेछन् र दलहरूको पकडबाट पनि आमजनता बाहिर बसी गुट–उपगुटमा विभाजित भई ध्वंसात्मक कार्यमा सम्मिलित हुनेछन् । अतः आउने परिस्थितिलाई गहिरो मूल्याङ्कन गरी फुकी–फुकी कदम थाल्नुपर्छ । ज्यादै धेरै मात्रामा जनचेतना कार्यक्रम अगाडि बढाउन थाल्नुपर्छ । जब दलहरूको हातबाट पनि नेपाली–नेपालीबीचको झगडा बाहिर जान्छ त्यतिबेला यो मुलुकलाई एउटै व्यक्तिले कावुमा लिन सक्छन्, ती हुन्– राष्ट्रपति उ अतः राष्ट्रपतिलाई ‘स्ट्यान्डवाई’ राखौँ ।