आन्तरिक शक्तिको प्रवलतालाई बुझी कसैबाट प्रयोग हुनबाट बच्न र आफूले सही समयमा उचित निर्णय लिन सके जीवन सार्थक बन्नेछ । अन्यथा हामी गलत नियतका नेता, आफन्त र मित्रहरूबाट प्रयोग भइरहने छौँ ।
✍ डिल्ली अम्माई

अरु मान्छेहरूको स्वभाव, आफूप्रति उसको हेराइ र ब्यवहारलाई पहिचान गर्ने कला जीवनको महत्वपूर्ण कलामध्ये एक हो । उत्तेजनाको असर व्यवहारमा कसरी देखिन्छ, आफ्नो उत्तेजनालाई कसरी सन्तुलन गर्न सकिन्छ, चिनेजानेका मान्छेहरूको मनोदशाबारे कसरी जान्ने ? यसलाई हामीले कसरी पत्ता लगाउने ? यो लेखमा यस्ता तरिकाहरूबारे बहसको शुरुवात गर्न खोजिएको हो ।
मानिस सफल हुन आफ्नो क्षमतामात्रैले पुग्दैन । त्यसका लागि अरुको, आफ्ना सहपाठीहरूको आफूप्रतिको हेराइ पनि महत्वपुर्ण हुन्छ । अरुले आफूलाई कसरी हेर्दछन् वा प्रयोग गर्दछन्- त्यो बुझेपछि मात्रै हामीले असल साथ छान्न सक्ने छौँ । अरुको असल साथबिना हामी कहिल्यै सफल हुन सक्दैनौँ ।
कुटिल मान्छेहरूलाई सितिमिति चिनिँदैन । उनीहरूले हामीप्रति सामान्य अवस्थामा राम्रो व्यवहार गरिरहेजस्तो देखिएपनि हामीलाई परेको संकटको अवस्थामा सम्पूर्ण दोषको जिम्मेवारी हामीमा पन्छाउन माहिर हुन्छन् । हामीलाई कसरी भ्रम दिने र आन्तरिकरूपले विरोध गर्ने उनीहरूलाई थाहा हुन्छ, जसबाट हामीले आफूलाई असहाय महसूस गर्न पुग्दछौँ, हतासिन्छौँ र डिप्रेशनको अवस्थामा पुग्दछौँ ।
त्यस्ता धोकेबाज र कुटिल मित्रहरूको लागि समय दिनु समयको बर्बादी मात्र हो । त्यसैले उनीहरूलाई समयमै चिन्नु आवश्यक हुन्छ । मैले अनुभव गरेको कुरा, एक सामाजिक क्षेत्रीय सामाजिक सँस्थामा लागेंको झण्डै दश वर्षपछि साथीहरूको नियत चिनेँ र उनीहरूको संगत चटक्कै छोडी दिएँ । उनीहरूले मलाई धेरै प्रयोग गरे तर मलाई लामो समय बर्बाद भएपछि मात्र उनीहरूको नियत थाहा भयो । त्यसले मेरोलागि अत्यन्त दुःखद झड्का दियो । धेरै समयसम्म म निरास रहिरहन सकिनँ र अन्य असल संगत पहिचानको परीक्षणतिर लागेँ । मनैदेखि असल केही मित्रहरू पनि भेट्टाएँ ।
बितेको समयलाई हामी नियत्रण गर्न सक्दैनौँ तर त्यसबाट सिक्न भने सक्छौँ । ‘त्यो मान्छे दुष्ट छ जो सुनियोजित ढङ्गले नै ममाथि हाबी भएको छ’ भनी बुझ्न हामीले उसको व्यवहारबाट सिक्नु पर्दछ । हामीले कसैलाई पनि सरल रुपले बुझ्ने भुल गर्नु हुँदैन । जीवनको बाटो सरल हुँदैन । अत संगत गर्नुअघि उसलाई धेरै किसिमले जाँच-पड्ताल गर्नुपर्छ । भन्नाले मान्छे चिन्ने सरल र सुविधाजनक नियमको परित्याग गर्नु पर्दछ ।
भित्रप्रुपमा कसैलाई चिन्नुपर्दा उसको भित्री चरित्र, मनोविज्ञान र व्यवहारबीचको तालमेललाई बुझ्नु आवशयक हुँदोरहेछ । उनीहरूलाई छोड्नु पर्छ ज-जसले हामीलाई भावनात्मक रुपले नोक्सान पुऱ्याउँछन् । हामी कसैको सामान्य रुप रंग र औपचारिकताबाट सहकार्य मोहित हुनु हुँदैन । हामीले उसको त्यो आन्तरिक शक्ति आफू फस्नुअगाडि नै खोस्न सक्नुपर्छ र कुनियतका प्रयोगकर्ताहरूबाट फसिनुअघि नै बच्न सक्नुपर्छ । उनीहरूका आन्तरिक श्रोतको पहिचान गर्ने गुणले नै हामीलाई भावनात्मक दुर्घटनाहरूबाट बचाउँछ ।
हामी हाम्रा भित्री चेतनाबाट निर्देशित हुँदै भावनाको बाटोबाट व्यवहारमा प्रवेश गर्दछौँ । हामीले गहिराइबाट हेर्ने हो भने हाम्रो रिस र छटपटीका जरा निकै गहिराइसम्म पुगेको भेट्ने छौँ । रिस एक प्रकारको नकारात्मक उत्तेजना हो जसले भावनालाई विश्रृंखलित बनाउँछ । भावना हाम्रो बालककालको स्थितिबाट क्रमश विकसित हुन्छ । भावनाको उल्टापाल्टी अलमल फोरेर रिसको जन्म हुन्छ, जब दिमागमा रिसले जन्म लिन्छ त्यतिबेला मानिस विवेकशील, तार्किक र संयमित रहँदैन । हामी तिनै आन्तरिक शक्तिको अधीनमा हुन्छौँ जुन हामीले तत्काल बनाएका हुदैनौँ ।
त्यसैले हामीले आफ्नो आत्ममुल्यलाई आफै नाप्न सक्नुपर्छ । हामीमा हाम्रा भावनात्मक तहसम्म प्रेरित गर्ने कुराहरू कम भएकोले निर्णयमा पुग्ने क्षमता सृजना गर्ने शक्ति कमजोर हुन्छ । त्यही कमजोरीबाट कुटिल मान्छेहरूले फाइदा उठाउने हुन् । हामी परनिर्भर हुन यति विवश किन छौँ ? अन्जानवश हामी राम्रा मानिसहरूलाई किन मित्र बनाउन सकिरहेका छैनौँ ? त्यसको प्रथम कारण आफैंभित्र हुन्छ । हाम्रो भित्र रहेको त्यो अनजान श्रोतलाई स्पष्ट रुपले सम्झन सक्ने शक्ति हासिल गरेपछि त्यो श्रोत अन्जान रहँदैन । त्यो अन्जान श्रोत हाम्रै अन्तरमनको एक हिस्सा हो । त्यसैलाई नै हामीले चेतन शक्तिको जागरुकता भनेर बुझ्दछौँ । त्यसले नै हाम्रो जीवनको नकारात्मक प्रभाव तोड्न मद्दत गर्दछ । आत्मजागरणपछि हामीले आफ्नो लागि बहाना बनाउन छाड्ने छौँ ।
हामी के गर्दैछौँ र हामीमाथि के हुँदैछ ? त्यसलाई नियन्त्रण गर्ने श्रोत चेतन मन हो । त्यस चेतन शक्तिले नै हाम्रा व्यवहारलाई संचालन र नियन्त्रण गर्दछ । त्यसैले राम्रो नराम्रो पहिचान गर्ने शक्तिलाई जगाउनु र आफुलाई रुपान्तरण गर्दै लैजानु महत्वपुर्ण कुरा हो । आफ्नो अरुको बारेमा यिनै कुरा मात्रै ख्याल गर्दा पनि जीवनको दिशा धेरै अर्थमा बदलिन जान्छ । यसको लागि हामीले हाम्रा गलत भ्रमहरूलाई त्यागेर सुन्यबाट सबैलाई जाँच्नुपर्ने हुन्छ ।
हामीले जति कुरा र कर्महरू गरी भोगिरहेका हुन्छौँ, त्यसको परिणाम प्रथमतः हामी आफैं हौँ । आफूलाई सर्वज्ञान सम्पन्न मान्ने हाम्रो अहमता हो । जसलाई मनोविदहरूले एक भयावह सोच मानेका छन् । सर्वप्रथम त्यो त्याग्नु वा त्याग्ने प्रयत्न गर्नु सुखद पक्ष हो ।
मानिसले जुन कुरा भावानात्क रूपले सोच्दछ त्यही स्वभावलाई बाहिर देखाउँछ । मानव स्वभाव एक विशिष्ट मनोतन्त्रको रचना र भावनाको घुलमिलबाट छानिएर प्रकट हुन्छ जो हाम्रा पाँच मिलियन वर्ष पहिलेदेखिका वंश श्रृङ्खलाको अभ्यासबाट बनेको हो । प्रकृतिका विशिष्ट परिणतिको परिणामस्वरुप मानिस एक सामाजिक प्राणीको रुपमा विकसित भयो । गुजाराको लागि, भावनात्मक सम्बन्धको लागि, समुदायसँगको उच्च स्तरिय लगाव, संचारका नयाँ तरिकाहरूको निर्माण, भाषाको उत्पत्ति तथा सम्प्रेषण र सामुदायिक अनुशासन कायम गर्ने तरिकाहरूको प्रारम्भिक अवशेष हाम्रो मनोविज्ञानको अत्यान्त गहिराइमा रहन्छ । त्यसले नै हाम्रो व्यवहारलाई निर्देशित गरिरहन्छ । जुन परिस्कृत र प्रविधिपूर्ण संसारमा हामी छौँ त्यसमा पनि गहिराइमा रहेको त्यहि आदिम चेतले काम गरिरहेको हुन्छ । उदाहरणको लागि भाषाको उत्पत्ति हुनुअगाडि पनि हाम्रा आदिम पुर्खाका आवेग, सुरक्षा चिन्ता, सुख-दुःखका संकेत हाउभाउ, स्वर र अनुहार हेरेर पत्ता लगाउन सकिन्थ्यो । सबैले सबैको मनोभावना बुझ्थे । उनीहरू अरुको भावना बुझ्ने कलामा निपुण हुँदै गए । तिनै पुर्ख्यौली अनुभवजन्य गुणको प्रत्यारोपण भएकोले हामी अरुलाई बुझ्ने कलामा विकसित हुँदै गएका छौँ । अतीतबाट आर्जित यही गुणले हामी अरुलाई बुझ्ने कलामा अधिक प्रगतिशील छौँ ।
जस्तै, चिम्पान्जीमा पनि हाम्रो आदिवासी प्रवृत्ति नै प्रवल देखिन्छ भने आदिबासीमा संग्रहित गुणबाहेक भाषा विकास भएको हुन्छ । एक पटक जब आन्तरिक मौलिक शक्ति चेतना बनेर प्रस्फुटन हुन्छ, त्यसपछि हामीले प्रतिक्रियामार्फत हरेक अबस्थाको एक पुर्वानुमानमा पुग्न सक्छौँ । त्यस्तो अवस्थामा हामी ब्याक्तिगत तरिकाबाट त्यसको प्रतिक्रिया दिइरहेका हुन्छौँ ।
अन्त्यमा, मानिसहरूले यी आन्तरिक शक्तिलाई नचाहे जस्तो गरेपनि वास्तवमा उसले त्यसको प्रभावलाई कहिल्यै रोक्न सकेको छैन । शिकारी युगको पासविक शक्ति, सुरक्षाको लागि ब्याक्त गरिने सतर्कता संकेत, खुशी र शोक सबै कुराहरूले मानिसलाई सदैव प्रभाव पारिरहेको छ । त्यसैले मानिस यिनै शक्तिहरूलाई आवश्यक बेलामा खोज्न नसकेर दुःख झेलिरहेको देखिन्छ । आन्तरिक शक्तिको प्रवलतालाई बुझी कसैबाट प्रयोग हुनबाट बच्न र आफूले सही समयमा उचित निर्णय लिन सके जीवन सार्थक बन्नेछ । अन्यथा हामी गलत नियतका नेता, आफन्त र मित्रहरूबाट प्रयोग भइरहने छौँ ।
प्रतिक्रिया