आजको पञ्चाङ्ग एवम् राशिफल (२० कात्तिक २०८१ मंगलबार, ५ नोभेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० कात्तिक २०८१ मंगलबार, ५ नोभेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक २० गते तद्अनुसार सन् २०२४ नोभेम्बर ५ तारिख मंगलबार कार्तिक शुक्ल चतुर्थी तिथि ज्येष्ठा नक्षत्र ८ः४१ पर मूल नक्षत्र अतिगण्ड योग वणि करण आनन्दादिमा मुद्गर योग चन्द्रमा वृश्चिक राशिमा ८ः४१ बजेसम्म त्यसपछि धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१८ मा भयो र सूर्यास्त साँझ १७ः१५ मा हुनेछ । मंगलचौथी व्रत ।

आजको राशिफल

मेष – आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । महत्वपूर्ण अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि सोचविचार गर्नु उचित हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ ।

वृष – आयआर्जनको दृष्टिले राम्रो समय छ । उद्योग-व्यापारमा विशेष फाइदा होला । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा विशेष ध्यान राख्नु हितकर हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा समय ब्यतित भएर जाला । मनोरञ्जनात्मक यात्राको योग छ ।

मिथुन – मिश्रित फलदायी दिन छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, तथापि वित्तादि लाभ हुने देखिन्छ । कृषि–चौपायामा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका जुर्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउने छ, तर पढाइलेखाइमा मन नजान सक्छ । रासरागमा आकर्षण रहनेछ ।

कर्कट – दिन केही प्रतिकुल रहन सक्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहनाले काम सम्पादन गर्न मुस्किल पर्ला । छरछिमेकमा झैझगडाको सम्भावना रहेकोले सावधान रहनु हितकर होला । आर्थिक अपब्ययको योग रहेकोले सावधानीको दरकार छ । श्रमको समुचित मूल्यांकन नहुनाले आम्दानीमा बाधा पुग्ने देखिन्छ । महत्वपूर्ण कामका लागि यात्रा गर्दै हुनुहुन्छ भने आज थाती राख्नु हितकर हुनेछ ।

सिंह – काम बिग्रने डरले भित्रभित्रै सताएपनि व्यापार-व्यवसायबाट लाभ प्राप्त हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । आजको दिन अरुलाई आश्वासन दिने काम नगर्नु हितकर हुनेछ, अन्यथा पछिसम्म अप्ठ्यारो पर्न सक्छ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । मानसम्मानमा ठेस पुग्ने योग रहेकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु उचित हुनेछ । सानातिना काममा समय बित्ने देखिन्छ ।

कन्या – आजको दिन कामहरू सजिलै बन्नाले उत्साह जाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार हात पर्ला । परोपकारजन्य क्रियाकलापमा संलग्न रहने योग छ । मंगलमय कृत्य सम्पादन गर्न सकिनेछ । यात्रागत कार्य सार्थक रहनेछ । मिष्ठान्न भोजको अवसर प्राप्त होला ।

तुला – दिन शुभदायी छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु उचित हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ जिम्मेवारी हात लाग्ने योग छ । रसरागको भाव वृद्धि हुने देखिन्छ ।

वृश्चिक – दिन खासै उत्साहवर्द्धक नरहला । मुख्य काममा बाधा हुने देखिन्छ भने सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । भौतिक साधनले धोका दिनसक्ने समय छ । स्वास्थ्य केही कमजोर रहला, जसका कारण आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा पनि खासै मन नजाने देखिन्छ । आजको श्रमको उचित परिणाम हासिल नहुन सक्छ ।

धनु – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आजको दिन सहयोगीहरूले राम्रो साथ दिनेछन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । पठनपाठनमा पनि प्रगति हुनेछ । यसका बाबजुद समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् भने काम बिग्रने डरले सताउन सक्छ । आत्मविश्वासी भाव जागृत गरी कर्ममा लाग्नु हितकर हुनेछ ।

मकर – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । साझेदारीमा राम्रो फाइदा मिल्ने र आयआर्जनका स्रोत बढ्ने योग छ । मातृपक्षबाट महत्वपूर्ण काम बनाउन सकिनेछ । असावधानीले धन खर्च हुन सक्छ, योजना बनाएरमात्र आर्थिक कारोबार गर्नु हितकर होला । अरूका विषयमा चासो लिँदा विवादमा परिने योग छ ।

कुम्भ – सोचेअनुसारको दिन नरहन सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहल । बाध्यताले अप्ठ्यारोमा पार्नसक्ने र सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । कामको सिलसिलामा यात्राको प्रक्रिया अघि बढ्ने योग छ । स्वास्थ्य केही कमजोर रहला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने योग छ । नगरेका गल्तीको सजाय भोग्नुपर्ने सम्भावना रहेकोले विशेष सजगताको खाँचो छ ।

मीन – दिन केही चुनौतीयुक्त रहला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने समय छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् भने व्यावसायिक काममा पनि समस्या आउने देखिन्छ । आजको दिन सवारीसाधनको प्रयोगमा सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । आज स्वास्थ्य पनि खासै सबल नरहने योग छ ।