आजको पञ्चाङ्ग एवम् राशिफल (२२ कात्तिक २०८१ बिहीबार, ७ नोभेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ कात्तिक २०८१ बिहीबार, ७ नोभेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक २२ गते तद्अनुसार सन् २०२४ नोभेम्बर ७ तारिख बिहीबार कार्तिक शुक्ल पक्षको षष्ठी तिथि पूर्वाषाढ़ा नक्षत्र ९ः४२ पर उत्तराषाढ़ा नक्षत्र धृति योग कौलब करण आनन्दादिमा धाता योग चन्द्रमा धनु राशिमा १५ः४२ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२० मा भयो र सूर्यास्त साँझ १७ः१४ मा हुनेछ । छठ पर्व, डालापूजा ।

आजको राशिफल

मेष – भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ, तर सोचेभन्दा कमै फाइदा मिल्ने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्, होसियार रहनुहोला । श्रमको उचित मूल्य नमिल्न सक्छ । इर्ष्यालुजनले दुःख दिनसक्छन्, सजग रही दैनन्दिन कार्यमा लागिपर्नु हितकर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष – आजको दिन भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुने देखिन्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउने समय छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ध्यान राख्नुहोला । सरसापटमा धन खर्च हुने योग छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । परिवारिक सुखले उत्साह जागृत गर्ने देखिन्छ ।

मिथुन – प्रतिभाको कदर हुने र बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिने समय छ । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर जुर्ला । प्रतिष्ठित काम गरेर प्रशंसा प्राप्त गर्न सकिएला । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । महत्वपूर्ण कार्यमा अरुको भर नपर्नु हितकर हुनेछ । यात्रामा सफलता प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – भाग्योन्नतिको समय छ । ब्यवसायमा राम्रै लाभ हुनेछ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नुहोला । अरूको भर पर्दा धोका हुन सक्छ । मान्यजनसँग असमझदारी बढ्ने योग रहेकोले विशेष सतर्क रहनुहोला । चुनौतीका बाबजुद सहयोगीहरूले फाइदा दिलाउनेछन् । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – ठूलै प्रयत्न गर्दा पनि सामान्यमात्र लाभ मिल्ने समय छ । अरूको सुझावमा भर नपर्नुहोला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । कसैसँग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । आजको लाभांश सुरक्षित वा सञ्चय नहुने योग छ ।

कन्या – सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने दिन छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्ने योग छ । कतै मानसम्मान मिल्ने सम्भावना छ । तथापि, आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनुहोला । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – सामाजिक काममा रुचि बढ्ने दिन छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । व्यवसायिक कामबाट फुर्सद मिल्ला । कतै अतिथिका रूपमा सत्कार मिल्ने देखिन्छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काम पुनः प्रयत्न गर्दा सफलता मिल्नेछ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला ।

वृश्चिक – मान र विद्या प्राप्त हुने समय छ । विशेष उपहार प्राप्त हुनुका साथै धनलाभ हुने योग छ । तथापि, आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । व्यापार–व्यवसायमा लाभ नै हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा हुनसक्ने देखिन्छ । आफन्तको साथ सहयोग प्राप्त हुनेछ । खर्च नियन्त्रणको प्रयत्न गर्नुपर्ने दिन छ ।

धनु – न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । स्वास्थ्य कमजोर रहनाले जाँगरमा कमी आउनेछ । पठनपाठनमा समय दिन नसकिएला । नसोचेको ठाउँमा खर्च हुने योग छ । गीतसंगीत तथा रसरागात्मक काममा आकर्षण बढ्ने देखिन्छ ।

मकर – कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिने समय छ । केही प्रतिस्पर्धा गर्नुपरे पनि कीर्तिमानी काम सम्पादन होला । तथापि, शत्रुहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नपर्ला । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ । आरोग्यता रहनेछ ।

कुम्भ – भाग्यबल वृद्धि होला । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम क्रमशः सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ ।

मीन – कर्मबल बढ्नेछ । सेवामूलक कामबाट धनलाभ हुने समय छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । यात्राको अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । आफन्तको साथ मिल्नेछ । आर्थिक कठिनाइको सामना गर्नुपर्ने योग छ, सजग रहनुहोला ।