‘ख्यालख्याल’ र ‘हाहाहुहु’मा पार्टी खोल्ने, ‘मञ्चमा बस्ने र खादा लगाउने रहरले नेता भइटोपल्ने’ अनि ‘सत्ताखाने’ प्रवृत्तिलाई रोक्ने क्षमता जनतासँग मात्र छ । नागरिक सचेत भएर नियन्त्रण नगर्ने हो भने लोकतन्त्र ‘ठग’ र ‘भँडुवाहरूले ठगीखाने भाँडो’ जस्तो मात्र बन्ने खतरा छ ।
✍ अधिवक्ता प्रेमराज सिलवाल
राजनीति विश्व तथा समाजलाई बुझ्ने, विश्लेषण गर्ने र बदल्ने दर्शन हो । नीतिहरूको प्रमुख नीति हो राजनीति । विश्व, देश र समाज सञ्चालन गर्ने दर्शन राजनीतिशास्त्र हो । राजनीति त्यस्तो दर्शन हो जसको माध्यमबाट राज्य सञ्चालन गर्ने, समाजमा आउने विवादहरूको शान्तिपूर्ण र विधिसम्मत्त ढंगले समाधान गर्ने तथा समाजमा रहेका अनेकौँ सार्वजनिक मुद्दाहरूमार्फत नागरिकलाई सूचित तथा संगठित गर्ने गर्दछ ।
वास्तवमा राजनीति सामान्य मानिसले बजारमा हल्ला गरेजस्तो ‘फोहोरी खेल’ हुँदैहोइन । राजनीति, राजनीतिशास्त्र र राजनीतिक नेता र राजनीतिक कार्य विल्कुल फरक कुरा हुन् । केही ‘फटाहा प्रवृत्ति’का मान्छेले गरेको ‘कसूर’मा पूरै राजनीतिशास्त्र दोषी बन्न सक्दैन । राजनीतिलाई आफ्नो ‘दुनो सोज्याउने’ माध्यम बनाएर शक्तिमा पुगी ‘मौसमी व्यापार’ गर्न, अपराधकर्म लुकाउन तथा आफूलाई निजी लाभ पुऱ्याउन राजनीतिमा प्रवेश गर्ने ‘धुर्त र आपराधिक चरित्र’का व्यक्तिहरूको ‘हर्कत’का कारण राजनीतिलाई ‘फोहोरी खेल’ भन्नेजस्तो बनाइएको मात्र हो ।
आपराधिक सोच भएकाहरूले नै राजनीतिलाई ‘फोहोरी खेल’ हो भन्ने भ्रमपूर्ण गलत भाष्य बढी ‘बिक्री’ गर्ने गरेका हुन् । खासमा त्यो सत्य हुँदै होइन । राजनीतिक दर्शन आफैंमा ‘फोहोरी खेल’ नभई राज्य सञ्चालनको लागि अत्यावश्यक दर्शन र मूल नीति हो । पढेलेखेका, असल आचरण भएका र सक्षम व्यक्ति राजनीतिक संगठनमा प्रवेश नगरुन् भन्ने कतिपय दूषित मनसाय भएका ‘नेता’हरूको साँघुरो सोचका कारण पनि उनीहरू राजनीतिलाई ‘फोहोरी खेल’ हो भन्ने भाषा प्रयोग गरिदिन्छन् ।
लोकतन्त्रमा नागरिक स्वतन्त्रता, दलीय व्यवस्था, विधिको शासन, स्वतन्त्र नागरिक, स्वतन्त्र अदालत, स्वतन्त्र प्रेस, विपक्षी र अधिकारसम्पन्न नागरिक हुन्छन् भन्ने मानिन्छ । नागरिक आफूलाई लागेको दल, पार्टी र विचारमा संगठित हुन पाउँदछन् भन्ने आधारभूत दृष्टिकोण हो । लोकतन्त्रमा राजनीतिक विचार र दृष्टिकोण भएका विभिन्न राजनीतिक दलहरू खुल्न सक्दछन्, खुलेका हुन्छन् । त्यही अधिकारको लागि लोकतन्त्र चाहिएको हो ।
नागरिक आफूलाई मनपर्ने विचार बोक्ने दलमा संगठित वा समर्थित हुनु स्वभाविक कुरा हो । राजनीतिक दलको प्रमुख आधार नै वैचारिकता हो, दर्शन र सिद्धान्त हो, नीति, दृष्टिकोण र लक्ष्य हो भन्ने मानिन्छ । पुँजीवादी, उदारवादी, समाजवादी, साम्यवादी, क्रान्तिकारी र नवउदारवादी आदि अनेकौँ दार्शनिक र सैद्धान्तिक दर्शन पार्टीहरूले अँगाल्ने गरेका देखिन्छन् । भूराजनीतिमा हेर्ने हो भने पुँजीवादी, समाजवादी र उदारवादी वैचारिक दृष्टिकोणलाई धेरैजसो मुलुक र पार्टीहरूले अपनाएका भएपनि आ-आफ्नै नमुना देखिन्छन् ।
राजनीतिक पार्टीमा कुनै व्यक्ति लाग्नु र संगठित हुनुअघि कुन आधारमा कुन दलमा किन लाग्ने भन्ने हेरिनुपर्ने/हुनुपर्नेमा नेपालको लोकतान्त्रिक अभ्यासमा त्यो प्रक्रिया हुनसकेको देखिएन ।
जनवादी गणतन्त्र भएको चीनको कम्युनिष्ट पार्टीको आफ्नै विशिष्ट प्रकारको वैचारिक तथा सैद्धान्तिक दृष्टिकोण रहेको देखिन्छ । नेपालका ठूला राजनीतिक पार्टीहरू पुँजीवादी र समाजवादी धारमा विभाजित भएका भए पनि मिश्रित दर्शन र विचारको प्रभाव रहेको देखिन्छ । नयाँ खुलेका भनिएका ‘च्याँखे’ र ‘भदौरे’ दलहरूमा ‘गाली गर्ने’ र ‘आरोप लगाउने’ बाहेक कुनै पनि वैचारिक तथा दार्शनिक दृष्टिकोण प्रस्ट छैन । आधारभूत वैचारिक दृष्टिकोणले खाली छन् ती दल र समूह । मूल कुरो राजनीतिक पार्टी वा दल नै किन र केका लागि खोलिएको हो भन्नेमा नै ती प्रस्ट छैनन् । ‘लङ्गुरबुर्जा खेलमा दाउ लगाएजस्तो’ तरिकाले नयाँ भनिएका दल खुलेका देखिन्छन् ।
राजनीतिक दलमा विचार र सिद्धान्त किन चाहिन्छ ? दल वा पार्टी कुन आधारमा संगठित हुन्छन् ? पार्टी किन र केका लागि चाहिन्छ ? भन्ने जस्ता सवाल आधारभूत र बौद्धिक प्रश्न हुन् । राजनीतिक पार्टीमा कुनै व्यक्ति लाग्नु र संगठित हुनुअघि कुन आधारमा कुन दलमा किन लाग्ने भन्ने हेरिनुपर्ने/हुनुपर्नेमा नेपालको लोकतान्त्रिक अभ्यासमा त्यो प्रक्रिया हुनसकेको देखिएन । समाजमा बहुविचार, बहुदर्शन, बहुदृष्टिकोण र बहुलता हुन्छ । बहुविचार र वर्गका मानिसहरूलाई संगठित गर्ने, एउटा दर्शन र विचार, नीति र कार्यक्रम, लक्ष्य एवम् संगठनमा जोडने काम राजनीतिक दलले गर्दछ, गर्नुपर्दछ । समाजमा रहेका सबैमा सार्वजनिक मुद्दामा एकमत हुन्न । हेर्ने वर्गीय र दार्शनिक दृष्टिकोण, विचार र क्षमता फरक हुने भएकाले त्यस्तो हुने हो । त्यस्ता अनेकौँ राजनीतिक, सामाजिक, सांस्कृतिक विषयमा धेरै मानिसहरूलाई एउटा दृष्टिमा संगठित गर्दै निश्चित लक्ष्यतर्फ अघि बढाउने कार्य दलले गर्दछ, गर्नुपर्दछ ।
दल ‘निर्वाचन आयोगमा दर्ता गर्नु’ र राजनीतिक, वैचारिक र सांगठानिक दृष्टिले जनतामा शक्तिशाली बन्नुमा ठूलो भिन्नता हुन्छ । त्यस्तो दल बन्न दर्शन र विचारमा प्रस्टता आवश्यक पर्दछ । निश्चित दर्शन र मूल्य अगाल्ने नीति बोकेको दलको विधिसम्मत्त संगठन, विधान, कार्यक्रम, लक्ष्य र आवधिक अधिवेशनको माध्यमबाट राजनीतिक नेतृत्व भएको पार्टी अस्तित्वमा रहन सक्दछ । केवल ‘आयोगमा दर्ता गर्नु’ र निर्वाचनमा भाग लिएर एक/दुई ‘निर्वाचन कतै-कतै जित्नु’ मात्र पार्टीको काम हुन सक्दैन । त्यस्तो ‘मौसमी पार्टी’को कुनै अर्थ छैन । दर्शन, विचार, दृष्टिकोण, नीति, कार्यक्रम र वैधानिक संगठन र जनताको समर्थन नभएको पार्टी दुर्गम पहाडमा ‘लाग्ने हाट बजार’ जस्तो मात्र हो । त्यस्ता हाट बजार घाम उदाउँदा थापिन्छ, घाम अस्ताउँदा बन्द हुन्छ । नेपालमा ‘हाट बजार’खालका ‘पार्टी’ खुल्ने र ‘बन्द’ हुने गरिएका छन् ।
नागरिकले प्रस्टसँग बुझ्नु पर्दछ- ‘भदौरे भेल प्रवृत्ति’ र ‘हाटबजारे सोच’बाट आएका ‘ठग पार्टीहरू’ले ‘तातोपानी’ लाउन सक्दैनन्, ती त नेपाली राजनीतिमा ऐंजेरु मात्र हुन् ।
नेपालमा नागरिक कुनै पार्टीमा किन र ‘कुन आधारमा लाग्ने’ भन्ने कुनै आधार, कारण र तर्क देखिन्न । कुनै ‘भदौरे भेल’ जस्तो वा नुवाकोट (शिवपुरी–८) ‘थानापति मन्दिरको जात्रा’जस्तो भएको देखिन्छ । मंसिर पूर्णिमाका दिन लाग्ने उल्लिखित थानापतिको जात्रामा जाँड खाने, गीत गाउने, महादीप बाल्ने, केटी जिस्काउने, रमाइलो गर्ने, व्यापार गर्ने, भजन गर्ने, मजाक गर्नेदेखि धर्म गर्नेसम्म सबै ‘स्वाद’का मान्छे एकैपटक भेला हुन्छन् । रातभर खुब रमाइलो नै हुन्छ । ‘जात्रालु’ रातभर जागा बस्दछन् र बिहान घर फर्कन्छन् । त्यस्तै कुनै एउटा ‘हल्लाहावाहुरी’को आधारमा पार्टी खुल्ने र त्यो ‘भदौरे संगठन’मा मानिसहरू ‘भेँडा’जस्तो ‘होहोहोहो’ गर्दै लाग्ने गरिएका देखिन्छन् । केही समय ‘हाहाहुहु’ गर्ने र छिट्टै त्यसबाट विकर्षित भएर यो संगठन (पार्टी) त ‘चोर रहेछ’ भन्दै फर्कने प्रवृत्ति देखिन्छ । पार्टीमा लाग्दा ‘हुइँया’ र हल्लामा लाग्ने र ‘केही हुने पार्टी रहेनछ’ भनेर ‘सराप्दै भाँडिने’ संस्कृति नेपालमा छ । अर्थात्, कुन पार्टीको दर्शन, सिद्धान्त, विचार, नीति, कार्यक्रम, लक्ष्य, सांगाठानिक आधार, वैधानिक प्रबन्ध र घोषणापत्र आदि केकस्ता रहेका छन् भन्नेतर्फ कुनै पनि सोचविचारै नगरी ‘आफ्नो पूर्ववत् पार्टीको रिस’ र ‘वितृष्णा पोख्न’ अर्काेलाई ‘क्रातिकारी’ र ‘भगवान’ ठान्ने भ्रम, साँघुरो सोच/प्रवृत्तिका कारण नेपालको लोकतन्त्र भरपर्दाे हुनै सकेन ।
२०६४ सालमा माओवादीलाई त्यस्तै ‘दूधले नुहाएको क्रान्तिकारी’ ठानियो । नेपालको इतिहासमा त्यो ठूलो भ्रम थियो । त्यो ‘भ्रमको पर्दा’ तुरुन्तै च्यातियो पनि । अहिलेसम्म आउँदा माओवादी ‘पत्रु’ भइसकेको छ । कामै नलाग्ने ! सत्तामा जाँदा त ‘ढल’ जस्तो बन्यो । २०७९ सालमा आएको अर्काे ‘पिरो हुरी’मा रवि लामिछाने जस्ता ‘गलत नियत’ भएकालाई ‘भगवान्’ सोचियो । दुई वर्ष नपुग्दै लामिछाने र उनको संगठन ‘ठग, भ्रष्ट र दुष्ट’हरूको ‘ठगीखाने पार्टी’ रहेछ भन्ने प्रस्ट हुँदैछ । रास्वपा ‘क्रेता ठग्न’ लगाइएको ‘हाट बजार’ रहेछ भन्ने देखियो । मलेखुमा ‘त्रिशूलीका माछा’ भन्दै तारेर जनकपुरका पोखरीको माछा बेच्ने भन्दा पनि ‘थर्डक्लास’ पात्र देखिए उनी । अर्थात्, जनतालाई जहिल्यै धोका सिवाय केही भएन । त्यसमा जनता नै दोषी छन् ।
अघि नै भनियो- केही नहेरी ‘हामफाल्ने’ र ‘तर्सेर’ फर्कने प्रवृत्ति बढी छ । निश्चित दार्शनिक, वैचारिक र सैद्धान्तिक आधारमा गठन गरिएको तथा अनेकौँ लोकतान्त्रिक संघर्षहरूमा नेतृत्व गरेका काङ्ग्रेस-एमालेजस्ता राजनीतिक दलहरूलाई ‘युट्युबका क्यामेराहरूबाट’ सराप्नु, आरोप लगाउनु र जनताको राजनीतिक, सामाजिक, आर्थिक तथा सार्वजनिक आवश्यकता पूर्ति गर्नुमा ठूलो भिन्नता हुन्छ । नागरिकले प्रस्टसँग बुझ्नु पर्दछ- ‘भदौरे भेल प्रवृत्ति’ र ‘हाटबजारे सोच’बाट आएका ‘ठग पार्टीहरू’ले ‘तातोपानी’ लाउन सक्दैनन्, ती त नेपाली राजनीतिमा ऐंजेरु मात्र हुन् ।
‘यसकारण म यस पार्टीमा छु’ भन्न सक्ने आधार खोल्ने अवस्थामा नागरिक नपुगेसम्म लोकतन्त्र सवल र जनताको बन्नै सक्दैन । ‘ख्यालख्याल’ र ‘हाहाहुहु’मा पार्टी खोल्ने, ‘मञ्चमा बस्ने र खादा लगाउने रहरले नेता भइटोपल्ने’ अनि ‘सत्ताखाने’ प्रवृत्तिलाई रोक्ने क्षमता जनतासँग मात्र छ । नागरिक सचेत भएर नियन्त्रण नगर्ने हो भने लोकतन्त्र ‘ठग’ र ‘भँडुवाहरूले ठगीखाने भाँडो’ जस्तो मात्र बन्ने खतरा छ ।
प्रतिक्रिया