सनातन धर्म र मुक्ति

सनातन धर्म र मुक्ति


मानव जन्मको उद्देश्य जन्म-मरण चक्रको बन्धनबाट मुक्त हुन आत्मज्ञान प्राप्त गर्नु हो । हिन्दु अर्थात् सनातन धर्मले आत्मज्ञान प्राप्त गर्न उच्चतम अध्यात्मिक ज्ञान दिएको छ ।

चेतना विकासको क्रममा जीवात्माले विभिन्न वनस्पति र प्राणीको रूपमा चौरासी लाख जूनी पार गर्दै मानव जूनीमा प्रवेश गरेको हुन्छ । मानव जूनीमा पनि चेतनाको विकास गरेर परमचेतना प्राप्त गर्न हजारौँ जन्म लाग्न सक्छ । तर, उपयुक्त साधनाद्वारा कुनै पनि जन्ममा परमचेतना प्राप्त गर्न सकिन्छ । परमचेतनाको प्राप्तिलाई आध्यात्ममा आत्मज्ञान भनिन्छ ।

आत्मज्ञान प्राप्त गर्न किन हजारौं जन्म लाग्छ भनेर बुझ्नको लागि सर्वप्रथम सनातन धर्मको आधारभूत सिद्धान्तहरूलाई बुझ्न आवश्यक हुन्छ ।

सनातन धर्मका दुई आधारभूत सिद्धान्तहरू हुन्- कर्मको सिद्धान्त र त्योसँग सम्बन्धित जन्म–मरण चक्रको सिद्धान्त । उक्त सिद्धान्तहरू अनुसार हामीले गरेको प्रत्यक कार्यबाट हाम्रो कर्म बन्छ र त्यो कर्मले ढिलो–चाँडो फल दिन्छ, तत्कालीन वा आउने कुनै जन्ममा । उदाहरणको लागि हामीले कसैलाई कुनै प्रकारको हानी-नोक्सानी पुऱ्यायौँ भने त्यो व्यक्तिले ढिलोचाँडो अवश्य बदला लिन्छ । त्यो बदला हाम्रो कर्मको फल हो । प्रत्यक कर्मको फल हामीले भोग्नैपर्छ, तत्कालिन वा आउने कुनै जन्ममा ।

तत्कालिन जन्ममा फल दिने कर्मलाई क्रियामण कर्म भनिन्छ । तर, कुनै कर्मले तत्कालिन जन्ममा फल दिएन भने त्यो कर्म संचित हुन्छ । विगतका कयौं जन्मदेखि विभिन्न प्रकारका कर्महरू संचित भएर बसेका हुन्छन् । संचित कर्महरूमध्ये केहीले आउने कुनै जन्ममा फल दिन्छन् । त्यस्तो कर्मलाई प्रारब्ध कर्म भनिन्छ । यो जन्ममा हामीले भोगेका कतिपय अवस्था हाम्रो पूर्वजन्मका कर्मका फल हुन् अर्थात् ती हाम्रो प्रारब्ध कर्म हुन् ।

हाम्रा इच्छा-आकाङ्क्षाबाट पनि कर्म बन्छन् । तत्कालीन जन्ममा पूरा हुन नसकेका इच्छा-आकाङ्क्षाहरू पनि कर्म बनेर संचित हुन्छन् । आफ्ना इच्छा-आकाङ्क्षा पूरा गर्न जीवात्माको फेरि जन्म हुन्छ ।

समभाव भएर भोग्यो भने यो जन्मको प्रारब्ध कर्म मेटिन्छ, नत्र यो जन्मको प्रारब्ध कर्मबाट फरि कर्म बनेर संचित हुन्छ । यही क्रमले संचित कर्म मेटिन धेरै कठिन हुनेहुनाले जन्म-मरणको चक्र चलिरहन्छ । तर, आत्मज्ञानद्वारा सम्पूर्ण संचित कर्म मेटिन्छ जसबाट जन्म–मरणको चक्र सधैंको लागि अन्त्य हुन्छ ।

सनातन धर्मअनुसार आत्मज्ञान प्राप्तिको लागि तीन सिँढी उक्लनुपर्ने हुन्छ । पहिलो सिँढी मन र शरीरको शुद्धिकरण हो । सत्य बोल्नु, चोरी नगर्नु, अरुको हानी-नोक्सानी नगर्नु, समाजिक मर्यादाको पालना गर्नु जस्ता नैतिक आचरणहरूबाट शरीर र मनको शुद्धीकरण हुन्छ ।

पुराणहरूको मुख्य उद्देश्य मन र शरीरको शुद्धिकरणको लागि नैतिक शिक्षा दिनु हो । उपन्यासमा जस्तै कतिपय विषयबस्तु काल्पनिक भएता पनि पुराणहरूले रोचक कथाद्वारा सर्वसाधारणलाई धर्मप्रति आकर्षित गर्छन् । पुराणहरूमा सनातन धर्मका उच्चतम ज्ञानहरू पनि पाइन्छ ।

सनातन धर्मको दोश्रो सिँढी हो अपराभक्ति । पूजा-पाठ, जप-तप, तीर्थ-ब्रतजस्ता क्रियाकलापहरू अपराभक्ति हुन् । अपराभक्ति बहिर्मुखी साधना भएकाले यसमा द्वेतभाव हुन्छ, अर्थात् भक्तलाई आफू परमात्माबाट भिन्न हुँ भन्ने भाव हुन्छ । द्वेतभावबाट आत्मज्ञान नहुने भएकाले अपराभक्तिलाई शुद्ध भक्ति मानिँदैन ।

शुद्ध भक्ति नभए पनि प्रायः सबै हिन्दुहरू अपराभक्तिमा नै सीमित छन् । पूजा-पाठ, जप-तप, तीर्थ-ब्रतजस्ता बहिर्मुखी क्रियाकलाप नै सनातन धर्म हो भन्ने विश्वास छ ऊनीहरूमा । मुक्तिको लागि त्यो भन्दा उच्चस्तरको साधना आवश्यक हुन्छ भन्ने जानकारी उनीहरूमा भएको पाइँदैन ।

अपराभक्ति शुद्ध भक्ति नभएता पनि माथिल्लो सिँढी उक्लन यसको आवश्यकता पर्छ । अपराभक्तिबाट मन र शरीरको शुद्धिकरण हुन्छ र परमात्माप्रति भक्तिभाव जाग्छ ।

पराभक्ति सनातन धर्मको अन्तिम सिँढी अर्थात् शिखर हो । उपनिषद्अनुसार ब्रह्म निर्गुण र निराकार हुन् । निराकारको अर्थ हो ब्रह्मको कुनै रूप छैन । निर्गुणको अर्थ हो ऊनी हाम्रो ज्ञानेन्द्रियदेखि पर छन्, अर्थात् उनलाई हाम्रो ज्ञानेन्द्रियद्वारा बुझ्न सकिँदैन । ब्रह्मलाई सत्चितानंद पनि भनिन्छ । ‘सत्’को अर्थ हो सत्य । ब्रह्मको कुनै आदि र अंत्य छैन, त्यसैले ऊनी सत्य हुन् । ‘चित्’ को अर्थ हो परमचेताना । ब्रह्म परमचेतना हुन् र आनंदमय पनि हुन् । पराभक्ति उनै निर्गुण, निराकार सत्चितानंद ब्रह्मसँगको एकाकार (योग) को लागि गरिने भक्ति हो । यो अन्तर्मुखी भक्ति हो ।

ब्रह्म, परमात्मा र भगवान यौटै परमचेतनाको अलग-अलग नाम हो । परमचेतनालाई वेदान्त दर्शनमा ब्रह्म भनिन्छ भने योग दर्शनमा परमात्मा भनिन्छ । भक्तहरू त्यही परमचेतनालाई भगवानको नामले पुकार्छन् । ब्रह्म र ब्रह्माबीचको भिन्नता पनि बुझ्नुपर्छ । शास्त्रअनुसार ब्रह्मका तीन कार्य छन्- सृजना, पालन र संहार । सृजनाको कार्य ब्रह्माको, पालनको बिष्णुको र संहारको शिवको रहेको छ ।

उपनिषद्ले जीव (आत्मा) र ब्रह्म (परमात्मा) द्वेत होइनन्, अद्वेत हुन् भनेको छ । समुन्द्रको छाल र समुन्द्र अलग नभएजस्तै जीव र ब्रह्म पनि अलग होइनन् । ‘तत्त्वं असि’ (तिमी त्यही ब्रह्म हौ), ‘अहं ब्रह्मास्मि’ (म ब्रह्म हुँ), ‘यह आत्म ब्रह्म’ (यो आत्मा ब्रह्म हो) जस्ता उपनिषद्का महावाक्यहरूले जीव र ब्रह्म अद्वेत हुन् भनेर प्रष्ट पारेका छन् ।

पराभक्ति त अद्वेतको साधना हो । यो ब्रह्मसँगको एकाकारको साधना हो । अद्वेतको साधनाबाट साधकलाई आफ्नो वास्तविक स्वरूप पनि ब्रह्मको जस्तै सत्य, परमचेताना र आनन्दमय रहेछ भन्ने अनुभूति हुन्छ । आफू र ब्रह्मबीच कुनै भेद रहेनछ भन्ने अनुभूति हुन्छ । उसलाई ‘अहं ब्रह्मास्मि’को ज्ञान हुन्छ । त्यो ज्ञान नै आत्मज्ञान हो । आत्मज्ञान हुने भएकाले पराभक्तिलाई शुद्ध भक्ति मानिन्छ ।

चार धाम स्थापना गर्ने आदी शंकराचार्यले विभिन्न प्रकारका साधनाको स्तरलाई यौटा श्लोकद्वार यसरी व्यक्त गर्नुभएको छ-
उत्तमो ब्रह्मसदभावो ध्यानभावस्तु माध्यम ।
स्तुतीजपोधमो भावो बाह्यपूजधमाधम ।।

भावार्थः ब्रह्मसदभाव उत्तम हो, ध्यानभाव मध्यम हो, स्तुतिजपभाव अधम हो र पूजा–पाठ जस्ता बहिर्मुखी क्रियाकलाप अधममा पनि अधम हो । ब्रह्मसदभावको अर्थ हो समाधि । ध्यानको साधना गर्दै जाँदा कुनै बेला जब चेतना स्थिर हुन्छ, निर्विचार हुन्छ, चेतनाको त्यो स्थिरतालाई समाधि भनिन्छ । भागवत गीतामा भगवान् कृष्णले चेतनाको स्थिरतालाई ‘स्थितप्रज्ञ’ भन्नुभएको छ ।

धर्मका दुई पाटा हुन्छन्; यौटा पाटो अध्यात्म र अर्को पाटो संस्कृति हो । अध्यात्म पराभक्ति हो । अध्यात्म व्यक्तिको सत्य, परमचेतना र आनन्दको खोजी हो । व्यक्तिगत खोजी भएता पनि सुरूवातमा ज्ञानप्राप्त गुरुको मार्गनिर्देशन आवश्यकता पर्छ । भागवत गीतामा भगवान कृष्णले पनि अर्जुनलाई आत्मज्ञानको लागि गुरुको सान्निध्यमा जान उपदेश दिनुभएको छ ।

अशिक्षा, कमजोर आर्थिक अवस्था र यातायातको असुविधाजस्ता कारणहरूले गर्दा हाम्रा पूर्खाहरूलाई गुरुहरूसँगको पहुँचमा धेरै कठिनाइ थियो । त्यसैले ऊनीहरू अपराभक्तिमा मात्र सीमित थिए । अहिले त्यस्तो कठिना छैन । अहिले गुरूहरूसँगको पहुँचमा धेरै सुविधा छ । नेपालभित्र पनि यस्ता सुविधा उपलब्ध भइसकेका छन् ।

अध्यात्म अन्तर्मुखी साधना भएकाले यसको मुख्य विधि ध्यान हो । भगवान् शिवले पार्वतीलाई सिकाउनुभएका ध्यानका ११२ विधिहरू भैरवतंत्र विज्ञान नामको सानो ग्रन्थमा उल्लेखित छन् । तर, ध्यानको प्रयोगलाई व्यापक बनाउनुभएकोले यसको प्रवर्तक भगवान बुद्धलाई मानिन्छ । उहाँले प्रवर्तन गर्नुभएको विपश्याना ध्यान प्रायः लुप्त भइसकेकोमा फेरि प्रचलनमा आउन लागेको छ । आधुनिक युगमा विश्वभरि ध्यान फैलाउने मुख्य श्रेय भने ओशो (रजनीश)लाई जान्छ ।

जीवन दुःख हो भन्ने यथार्थ बुझ्न सकेमा जन्म-मरण चक्रको बन्धनबाट मुक्ति हुने इच्छा जाग्न सक्छ । बुद्ध धर्म चार आर्य सत्यमा आधारित छ जसमध्य प्रथम आर्य सत्य हो, ‘जीवन दुःख हो’ । रोग, वृद्धावस्था, मृत्यु सबै दुःख हुन्; निराशा, शोक, भय, क्रोध, द्वेष, एक्लोपन, चिन्ता, असन्तोष, इत्यादि पनि दुःख हुन् भन्दै भगवान् बुद्धले जीवन दुःख हो भन्ने कुरा आर्य सत्यको रूपमा स्थापित गर्नभयो । उहाँले दुःखबाट मुक्त हुने मार्गको प्रतिपादन पनि गर्नुभयो ।

हिन्दु सनातन धर्मले पनि दुःखबाट मुक्त हुने उपायको उच्चतम आध्यात्मिक ज्ञान दिएको छ । इसाई धर्ममा यस्तो ज्ञान उपलब्ध छैन । तेत्तिस वर्षको छोटो उमेरमा नै हत्या गरिएकाले जीसस क्राइस्टलाई उच्चतम आध्यात्मिक ज्ञान दिनबाट वन्चित हुन पऱ्यो । त्यसकारण उहाँको उपदेश मुख्यतः नैतिक शिक्षामा नै सीमित रहन गयो । हिन्दु धर्मका आधारभूत सिद्धान्तहरूलाई विश्वास गरेर यस धर्मप्रति आकर्षित हुने पश्चिमी मुलुकका इसाईहरूको संख्या बढिरहेको पाइन्छ ।

भागवत गीता सनातन धर्मको उच्चतम ज्ञानको ग्रन्थ हो । उपनिषद्को निचोड़ हो भागवत गीता । इसाईहरूको बाइबल र मुस्लिमहरूको कुरानजस्तै हिन्दुहरूको लागि महत्वपूर्ण ग्रन्थ हो भागवत गीता । त्यस्कारण प्रत्यक सनातनीले भागवत गीताको निरन्तर अध्यन, मनन र त्यसअनुसार निदिध्यासन गर्नुपर्छ ।

योगवाशिष्ठ सार, शिवसूत्र, अष्टाबक्र गीता र विवेक चुड़ामणि पनि उच्चतम आध्यात्मिक ज्ञानका ग्रंथ हुन् । आधुनिक समयका संतहरू जस्तै विवेकानन्द, रमण महर्षि, निसर्गदत्त महाराज, परमहंस योगानंद, शिवपुरी बाबा, खप्तड बाबा र ओशोका किताबहरू पनि उच्चतम आध्यात्मिक ज्ञानको लागि अति उपयोगी छन् ।

हाम्रो देश जति सुन्दर छ हाम्रो संस्कृति पनि त्यत्तिकै रोचक छ । विभिन्न प्रकारका चाड-पर्वहरू, रीति-रिवाज, भेष-भूषा आदिले हाम्रो संस्कृतिलाई अति उत्कृष्ट बनाएको छ । हामीजस्तो संस्कृतिको धनी सायद विश्वको कुनै देश छैन । तर, दुःखलाग्दो कुरा के भने आफ्नो संस्कृतिको उत्कृष्टतालाई बुझ्न नसक्दा पश्चिमी संस्कृतिको प्रभाव बढेर हाम्रो संस्कृतिमा विकृति आइरहेको छ । संस्कृति मात्र होइन आफ्नो सनातन धर्म पनि राम्रोसँग बुझ्न र बुझाउन नसक्दा धर्म परिवर्तन गर्नेहरूको संख्या दिन-प्रतिदिन बढिरहेको छ । यदि यही क्रम अगाडि बढीरह्यो भने मिलेर बसेको हाम्रो समाज खल्बलिने मात्र होइन, कालन्तरमा देश धार्मिक द्वन्द्वमा पनि नफस्ला भन्न सकिन्न । आफ्नो धर्मको उत्कृष्टतालाई बुझ्न नसक्दा विश्वको एकमात्र हिन्दु राष्ट्रलाई धर्मनिरपेक्ष बनाइयो ।

सनातन धर्मको उच्चतम साधना सहज छ । यो कुनै जाति, वर्ण वा सम्प्रदायसँग सम्बन्धित छैन । समाजिक र आर्थिक स्तरसँग पनि सम्बन्धित छैन । सबैको लागि बराबर पहुँच भएकाले कुनै प्रकारको भेदभाव छैन । राम्रोसँग साधना ग ऱ्र्योे भने जो–कोहीले पनि जन्म-चक्रको बन्धनबाट मुक्त हुन आत्मज्ञान प्राप्त गर्न सक्छ ।

आदी शंकराचार्यले भन्नुभएको छ- मानव जन्म, मुक्तिको इच्छा र गुरुप्राप्ति… यी तीन कुरा परमात्माको कृपाबिना पाइँदैन । भाग्यशाली ती व्यक्तिहरू हुन् जसले मानव जन्मको उद्देश्य बुझेका छन् र यी तीनवटै कृपा प्राप्त गरेका छन् ।

(लेखक त्रि.बि. का प्राध्यापक र तत्कालीन उच्च माध्यमिक शिक्षा परिषदका उपाध्यक्ष हुन् ।)