सम्बन्धहरूको छनौटमा ध्यान दिन किन जरुरी छ ?

सम्बन्धहरूको छनौटमा ध्यान दिन किन जरुरी छ ?


आफ्नो सत्व वा आत्ममूल्यको महत्व अरु मानिसद्वारा गरिने परिभाषाले तय गर्दैन । सत्वको निर्धारण स्वयम् कर्ताले लिने संकल्पप्रतिको लगावले निर्धारण गर्दछ । उसका मित्रहरूको चयन शैली, उनीहरूको सल्लाहबाट उसले प्राप्त गर्ने प्रेरणा, दृढताको पोषण र गहनताबाट नै मान्छेको शिल्प क्षमताको ज्ञात हुने हो । मानिसलाई चयन क्षमताले सफलता वा असफलताको निर्धारणमा निर्णायक सहयोग पुऱ्याउँछ । त्यसको प्रारम्भिक तत्व हो असल र निस्वार्थी संगत वा मित्रहरूको चयन गर्न सक्ने कला । त्यसको लागि आफूले संगत गर्न लागेका मित्रहरूका हरेक आनिबानी, झुकाव लगायत मनोविज्ञानको समेत मिहीन रुपले अध्ययन गर्नुपर्ने हुन्छ ।

असल मित्रले साथीलाई खुशी देख्न चाहन्छ, उसले मित्रलाई असजिलो लाग्ने वा दुखाउने शब्द कहिल्यै प्रयोग गर्दैन । आफन्तको खुशीमा नै आंफ्नो खुशी देख्छ । तर हाम्रो जीवनमा विभेद र चोटिला शब्दहरू प्रयोग गरेर कसैले हामीलाई वा मैले कसैलाई दुखाइरहेको छु भने हामी साझेदार वा साथी हुनु घातक कुरा हो । यसलाई अझै स्पष्टसँग बुझ्न मानिसका केही गुण अवगुण, स्वभावगत झुकाव र नियतबारे अवगत होस् भनेर भोगाइको निष्कर्षको रुपमा मानिसका अन्तर्निहित केही नियतको निबन्धमा विश्लेषण गरिएको छ ।

कसैसँग कुरा गर्दा वा दाँयाबाँयाबाट छेडखानी वा मनभित्र असजिलो भएको महसूस हुन्छ भने उसले मलाई दुखाइरहेको छ भनेर बुझ्नुपर्छ । यो मलाईमात्र नभएर जो-कसैलाई पनि हुने कुरा हो । हाम्रो मित्र, साथी वा आफन्तले तपाईंका बालकालका बिम्बात्मक नामले परिचय दिन खोज्छ । जस्तो कि बालाकालमा गाउँका मानिसहरूले उसको शारीरिक अवस्था वा स्वभाव हेरेर विभिन्न बिम्बात्मक नाम राख्ने गर्दछन्, त्यसलाई नै उखेलेर अरुको परिचय बनाउन खोज्छ भने त्यसले दोश्रो व्यक्तिलाई हेप्न खोजेको सहजै प्रष्ट हुन्छ । मलाइ लाग्छ- आत्मस्वीकृतिलाई बढावा दिएर आँफुलाई हेप्ने मान्छेको चौघेराबाट बाहिर निस्कनु बुद्धिमानी भएपनि उनीहरूका हर्कतहरू रोक्नु त्योभन्दा महत्वपुर्ण हुन्छ । त्यस्ता मित्र, आफन्त वा परिजनबाट घेरिएर बस्नुभन्दा उत्तम जसले निरन्तर सहयोग र समर्थन गर्दछन्, मनैदेखि मलाई मन पराउँछन्, तिनीहरूको लागि समय दिनु उत्तम लाग्छ । आखिर सबैले यही प्रक्रियालाई अपनाउनुपर्छ कि ! अगाडिबाट तारिफ गर्नेहरूमध्ये धेरै मान्छे भित्रबाट कपटी हुन सक्छन् । अधिक प्रशंसाभित्र अपमान लुकेर बसेको हुन्छ भन्ने कुरा हमेसा ख्याल गर्नुपर्छ ।

पछिल्तिर कुरा काट्नेहरू भन्दा अगाडि अधिक प्रशंसा गर्नेहरू अझ हानिकारक हुन्छन् भनिन्छ । अगाडि प्रशंसा गर्नेहरूको मुख्य उद्देश्य अरुको परिवारसम्म पहुँच बनाउन, प्रशंसित व्यक्तिबाट पदीय वा अन्य लाभ लिनको लागि पनि हुन सक्छ । त्यस्ता प्रशंसा, टिप्पणी वा बिम्बात्मक छेडखानीको तत्कालै प्रतिवाद गर्नु अति जरुरी हुन्छ । प्रतिवादको भाव उसले मात्र बुझोस् जस्तो कि ‘तपाईंका टिप्पणी र प्रशंसाहरूको अर्थ मैले बुझेजस्तो लाग्छ’ जस्ता कुराहरू भनेर उसलाई रोक्नुपर्छ । अगाडि नै भनियो कि चाप्लुसी र अति प्रशंसाको तत्वबोध बेलैमा भने कि सम्बन्धित व्यक्तिले चाप्लुसी गर्ने बानी छोड्छ या त अरुहरूलाई झुक्क्याउने उसको हौसला कमजोर हुन्छ ।

मेरो वरिपरि पनि मेरो अधिक प्रशंसा गर्नेहरू थिए/छन् । मैले उनीहरूलाई तपाइहरूको प्रशंसा सुनेँ र कुरा पनि बुझेको छु’ भनेर नरम प्रतिरोध गर्ने गरेको छु । तर उनीहरूले राखेका कतिपय गलत प्रस्तावहरूको मैले नरम प्रकारले अस्वीकृत (सुक्ष्म बहिष्करण) गरेको पनि छु । आखिर मेरो यो तरिका जहाँ र जसलाई प्रयोग गरेको भएपनि बुझ्नेले बुझिसकेका हुन्छन् जस्तो लाग्छ । मैले उनीहरूसँग गरिने सम्पर्कलाई पनि घटाइरहेको हुन्छु र, असल मित्र खोज्ने कामलाई पनि तीव्रता दिइरहेको हुन्छु ।

बेल्जियमकै कुरा हो, एकपटक म अनेसासको केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएर एउटा छाता–संगठनको कार्यक्रमको निम्तोमा पुगेँ । तर त्यहाँ पुगेपछि मलाई निरन्तर प्रशंसा गर्ने तिनै ब्यक्तिले देखेर पनि देखेजस्तो गरेनन् । शुभकामना दिनु त परै जावस् मैले नेतृत्व गरेको संस्थाको नाम पनि लिएनन् । यसप्रकारको सुक्ष्म सामाजिक बहिष्कार अनादारको छद्म रुप हो भन्ने मैले बुझिहालेँ । मेरो उपस्थितिको त्यहाँ कुनै अर्थ नभएको तत्कालै बुझेँ । कार्यक्रमको बीचमा र त्यसपछि पनि मैले उनलाई त्यसबारे केही भनिनँ । ‘बधाईसम्म दिएको भए राम्रै हुन्थ्यो’ भनेर कार्यक्रम सकिएको केही दिनपछि जनाउ मात्र दिएँ । उनको रवैया थाहा पाएपछि उनले मलाई राखेका प्रस्तावहरूको सुक्ष्म बहिष्करण गर्ने गरेको छु ।

म प्रयोग भैरहेको छु वा आफ्नो फाइदाको लागि अरु कसैले मलाई प्रयोग गर्दैछन् जस्तो लाग्योभने म हमेसा सजग हुन्छु । मैले यो शैलीको विकास गर्न धेरै समय लाग्यो । मैले सम्बधका नतिजाहरू निकाल्नुअघि मित्रहरूका मनोविज्ञानका रुझानहरूलाई बुझ्ने प्रयत्न गर्छु । त्यसबारे विश्लेषण गर्छु र उनीहरूका ब्यवहारबाट निष्कर्षमा पुग्छु ।

मेरा असल शुभचिन्तकहरूलाई मैले हमेसा साथ दिने प्रयत्न गर्दागर्दै पनि कहिलेकाहीँ मेरा उपयुक्त प्रस्ताव स्वीकृत हुन्छन् भन्ने छैन, अस्वीकृत पनि हुन्छन् । त्यसबाट म आफैं जागृत हुन्छु र साथीहरूलाई पनि निरास नहुन आग्रह गर्दछु । किनकि, सानो चोटबाट हतोत्साही हुनु दुर्घटना निम्त्याउनुभन्दा पनि खतरनाक हुन्छ ।

यिनै कारणहरूले गर्दा मेरोलागि सामाजिक संघ-संस्थाका अग्रजहरू हरदम आदरणीय हुन सक्दैनन् । यी नकारात्मक अनुभूति र कारणहरूलाई बेलैमा बुझ्नाले म आफैलाई फाइदा भएको छ र अगाडि बढ्ने हौसला सदैव उत्कर्षमा छ । अचेल मैले सोच्छु ‘मानिसको बोली भन्दा उसले गर्ने ब्यवहारका हरेक अध्यायहरूलाई ध्यान दिनु आवश्यक हुन्छ । त्यस्ता परिक्षणका घटनाहरूलाई कहिल्यै भुल्नु वा खारेज गर्नु आत्मघाती हुन सक्छ । यस्ता कुराहरूलाई मैले सिधै सम्बोधित गर्दा अधिक महत्वाकांक्षी देखिन सक्ने भयले अलिक हिच्किचाउँछु । तर अचेल त्यस्ता आत्मसम्मानमा चोट पुऱ्याउने व्यक्ति वा परिघटनाका अंशहरूलाई तत्कालै विरोध गर्नु अझ जायज हुन सक्थ्यो जस्तो लाग्न थालेको छ । मेरो संस्थागत उपस्थितिको किन मजाक उडाइयो, कार्यक्रममा मलाई किन सम्बोधन गरिएन ? र, मलाई यो परिघटनाले कस्तो महसूस गरायो जानकारी गराउनु आवश्यक हुन सक्थ्यो । विभिन्न विवशताले त्यसो गर्न सकेको छैन सायद त्यो मेरो कमजोरी पनि हुन सक्छ ।

मेरो जस्तो अवस्था जो कसैलाई जहाँ पनि आउन सक्छ, त्यस्तो अवस्थामा पूर्ववत सम्बन्धबारे तुरुन्त पुनर्विचार गरि हाल्नुपर्ने रहेछ । अब म एक संस्था (जसले वैश्विकरूपले नेपाली पहिचानको झण्डा उठाएको छ) को केन्द्रिय नेतृत्वमा छु । जसको अन्तर्गत संसारभरी संगठित शक्ति छ । शक्तिशाली इकाइहरू छन् । त्यसैले मैले आफूलाई संस्थागत गराउनै पर्छ । अन्यसँगको मेरो सम्बन्ध व्यक्तिगत मात्रै रहन अब मिल्दैन । त्यसैले अचेल आफ्नो संस्थागत उपस्थितिलाई महत्व नदिने व्यक्ति वा समुहको गतिविधिमा सकभर म जान छाडेको छु । अन्तरक्रियात्मक सहायक सम्बन्ध संस्थागत र ब्यक्तिगत स्वाभिमानको लागि महत्वपुर्ण हुन्छ भन्ने कुरा कुनै पनि नेतृत्वले भुल्नु हुँदैन ।

अर्को कुरा, अन्य ब्यक्तिहरूलाई महत्व दिएर छेउकुनामा सम्पर्क स्थापित गर्दै मुख्य कार्यक्रममा म वा तपाईंलाई आमन्त्रण गर्दैन भने त्यो तपाईंको उचाईलाई नरुचाउने मान्छे हो भन्ने बुझिहाल्नु पर्छ । त्यसको संकेत तपाईंले पाइसकेपछि सम्बन्धबारे पुनर्विचार गर्दै ऊसँगको संगतबाट छेउलाग्नु नै बुद्धिमानी हुन्छ, अन्यथा त्यस्तो सम्बन्ध स्वयमको लागि हानिकारक हुन्छ । उसको लागि तपाईं कम मुल्यवान वा महत्वहीन हुनुहुन्छ भन्ने कुरा उसको ब्यवहारबाट स्पष्ट हुन्छ । एक बुद्धिमान मान्छेले सम्बन्धको कसी उसको बोलीबाट भन्दा ब्याबहारबाट प्रष्ट देख्न सक्नुपर्छ ।

त्यसैले आफूलाई जसले महत्व दिन्छन्, आफ्ना कार्यहरूलाई जसले हौसला दिँदै अघि बढ्न प्रोत्साहन गर्दछन् र हमेसा जोडिन खोज्दछन् तिनै ब्यक्तिहरू आफ्ना हुन् । यसको दरिलो उदाहरण मसँग छ । बेल्जियमकै सन्दर्भमा आनेसास बेल्जियमको अध्यक्ष हुँदा मेरो टिमलाई हमेसा प्रोत्साहित गर्ने, नेपाली भाषा साहित्यको अभियानमा जोडिएर सँगै हिँड्ने एनआरएनएका तात्कालिक अध्यक्ष, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष तथा नेपाली ब्याबशिक संघका तात्कालिक अध्यक्षप्रति म सदैव आभारी भएको छु । मैले बनाएका ती मित्रहरू मैले कमाएका सम्पति जस्तै आदरणीय लाग्छन् । त्यस्तै मलाई अनेसासको नेतृत्व तहमा पुर्याउने अनेसास युरोपका सबै नेतृत्वहरू, बीओटी सभापति तथा अनेसासको केन्द्रिय तह सबैको मनमा बसेर म त्यहाँ पुग्न सफल भएँ । यो सबमा उपयुक्त निर्णय लिने र मित्रहरू चिन्ने मेरो अन्तर्दृष्टिको पनि कहिँ न कहिँ भूमिका छ जस्तो लाग्छ ।

अर्को कुरा, कोही मित्रहरू हामीसँग बस्न रुचाउँदैन, परपर हुन्छ र देखेर पनि कुनै प्रतिक्रिया ब्यक्त गर्न चाहँदैनन् भने तिनीहरूले हामीलाई महत्व नदिएका हुन् भनेर बुझिहाल्नु पर्दछ । शारीरिक दुरीले प्राय भावनात्मक दुरीलाई नै दर्शाउँछ । यसले या त सम्बन्ध तनावपुर्ण छ वा अन्तरंगको कमी छ भन्नेतर्फ संकेत गर्छ । यदि यस्तो भयो भने त्यसको कारण सोधिहाल्नु श्रेयस्कर हुन्छ । यदि कारण सकारात्मक रहेछ भने हामीले आफूलाई बेलैमा सच्याउन पाउछौँ ।

निकटतामा सहजता र सम्मानपूर्ण ब्यवहार भएन भने त्यसले ब्यक्तिको भावनामा गहिरो आघात पार्दछ । त्यस्ता व्यक्तिको नेतृत्वमा हुने कुनै गतिविधि वा व्यक्तिगत भेटघाटमा हामीहरू सतर्क हुँदा भावनात्मक दुर्घटनाबाट बच्न सक्दछौँ । किनकि भावनात्मक दुर्घटनाका सृंखलाहरूले मानिसको स्वाथ्यलाई विघटनतिर लैजान्छ ।

सहज अवस्थामा ‘राम्रैसँग घुलमिल भएका मित्रहरू पनि आवश्यक भएको बेला बिभिन्न बहाना बनाएर भाग्दछन् वा लुक्दछन्’ ले हाम्रो पहललाई खासै महत्व नदिएकोतर्फ संकेत गर्दछ । त्यस्ता व्यक्तिहरूले हामीलाई समर्थन गर्नुको साटो दुरी बनाएर बस्न रुचाउछन् । उस्तै परे असफलतामा नकारात्मक टिप्पणी गर्न पनि बेर लगाउदैनन् । यस्तो ब्यवहारले हाम्रो अन्यसँगको सम्बन्धको तारलाई पनि कमजोर बनाउन सक्छ । यस्ता व्यक्तिसँग पनि हामीले कारण सोधेर स्पष्ट हुँदै पर हट्नु जरुरी हुन्छ । मानिसले खराव अवस्थामा समेत साथ दिने मित्रहरू खोज्नु अति आवश्यक छ । त्यसैले भनिएको होला ’कुटिल वा खराब मित्रको संगत गर्नु भन्दा बरु एक्लै रहनु कति हो कति श्रेयस्कर हुन्छ’ भनेर ।

कसैको उपस्थिति नभएको बेला उसको बारेमा छेडखानी गरेर मजा लिने प्रवृत्ति घातक हुन्छ । असल स्वभाव भएको मान्छेले चित्त नबुझेको कुरा उसैको संमुख गर्छ, उसलाई एकान्तमा बोलाएर गर्छ वा उसलाई सुधार्ने नियत राखेर गर्छ । तर कुनै कुनै व्यक्तिको बानि अगाडी ठिक्क पार्ने र कन्ना पछाडि कुरा काट्ने हुन्छ । ति मित्रहरू शत्रु भन्दा पनि घातक हुन्छन् ।

‘कन्नापछाडि कुरा गर्नु’का दुई कारण हुन्छन् । एउटा सदावहार मित्रहरूले पनि कन्नापछाडि कुरा गर्दछन् । उनीहरूले हाम्रो कार्य योजनाको लागि सहयोग मागेर वा कार्य सफलताको लागि कुरा गर्छन् वा हाम्रा असल नियतको प्रशंसा गरेर अरुहरूलाई प्रोत्साहन गरिरहेका पनि हुन सक्छन् । अर्काथरीले ठिक त्यसको उल्टो हामी वा मलाई असफल बनाउन पनि कुरा काटिरहेका हुन सक्छन् । कुरा काट्ने यस्तो सोच सामाजिक गतिशिलतालाई नियन्त्रण गरि व्यक्तिलाई देवत्वकारण गर्न खोज्दा पनि प्रकट हुन्छ । त्यसैले नेतृत्वमा व्यक्तिगत प्रभावलाई कम महत्व दिने सामुहिक नेतृत्वलाई स्थापित गर्दै लैजाँदा त्यस्ता समस्याबाट छुटकारा मिल्ने सम्भावना अधिक हुन्छ । आफ्ना दुर्गुणहरूलाई ढाकछोप गर्न र मानिसको ध्यान आँफुबाट हटाउन पनि मान्छेले त्यसो गर्दछन् । त्यस्ता व्याक्तिको संगतबाट जोगिँदै सार्वजनिक पदहरूमा त्यस्ता व्यक्तिहरूलाई स्थापित हुन रोक्नु पनि महत्वपुर्ण हुन्छ ।

अन्त्यमा, मानिसले हाम्रो अगाडि गर्ने अधिक प्रशंसा, बेवास्ता, अवमुल्यन, कन्ना पछाडी कुरा काट्ने प्रवृत्ति, चाप्लुसी, रिस, छेडखानी र असहयोगप्रति हामीले आफूलाई कसरी बचाव गर्ने, कसरि त्यस्ता प्रवृत्तिहरूलाई निरुत्साहित गर्ने भन्नेबारे पंक्तिकार स्वयमले भोगेका कुराहरूबाट निकालेको निष्कर्ष हो यो । यस्ता प्रवृत्तिले असल मानिसहरूलाई भावनात्मक रुपले पुऱ्याउने हानीबारे सजग नभई हामीले आफ्नो आत्मामुल्य, स्वाभिमान र सामाजिक प्रतिष्ठाको रक्षा गर्न सक्दैनौँ । अत हाम्रा व्यक्तिगत र सामाजिक अभियानमा आफ्ना सम्बन्धहरूको पुनर्मुल्याङ्कन गर्नु, नकारात्मकताका कारणबारे सम्बन्धित व्यक्ति वा समुहसँग जानकारी माग्नु र सजग हुनु सफलताको पूर्वसर्त हो ।

त्यसैले अभियानको लागि होस् वा व्यक्तिगत रुपमा असल मित्र छान्दा हामीले साझा लक्ष्य र भावना भएका, एकापसमा समान आदर्भाव भएका, आफू कमजोर भएका क्षेत्रमा सन्तुलन ल्याउन सक्ने, लक्षको लागि उत्प्रेरित र प्रोत्साहित गर्ने, रुचिहरू प्रष्टसँग राख्ने, सिक्नको लागि जिज्ञासु, मनको कुरा लेनदेन गर्न सक्ने तर गोपनियता भंग नगर्ने, हाम्रो सफलतामा रम्न सक्ने साथीहरू छान्नु पर्दछ । मित्र छान्दा माथि बताइएका गुणहरू अधिक भएको मित्रले कहिल्यै धोका दिँदैनन् ।

त्यसैले साथी-संगतको छनौटमा आफूसँग हुने सम्बन्धको मूल्याङ्कन गर्न केही समय दिनुपर्ने रहेछ । के संगत भएका साथीहरूले माथिको मापदण्ड पूरा गरेका छन् ? के हामीले तीमध्ये कसैलाई हाम्रो उद्देश्यमा साझेदार गराउन सकेका छौँ ? यदि त्यसो भएको छ भने, हाम्रो सङ्गतले जीवनका उकालीओरालीमा साथ दिन्छ । यदि होइन भने, ‘हा…हु’ मै जिन्दगी सकिन्छ र, मर्ने बेलामा अन्तरचेतनाले आफ्नै शरीरलाई धिक्कार्छ । अस्तु :