आजको पञ्चाङ्ग एवम् राशिफल (२ मङ्सिर २०८१ आइतबार, १७ नोभेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ मङ्सिर २०८१ आइतबार, १७ नोभेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ मार्गशीर्ष २ गते तद्अनुसार सन् २०२४ नोभेम्बर १७ तारिख आइतबार मार्गशीर्ष कृष्ण पक्षको द्वितीया तिथि रोहिणी नक्षत्र शिव योग तैतिल करण आनन्दादिमा धाता योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२७ मा भयो र सूर्यास्त साँझ १७ः९ मा हुनेछ ।

आजको राशिफल

मेष – कामका बाधाहरू हट्ने र नसोचेको ठाउँबाट धन प्राप्त हुने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, परिवारजनको साथले नयाँ आशा पलाउनेछ । साथीभाइले काममा सहयोग जुटाउन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रा सफल रहनेछ । आमोदप्रमोदमा रम्ने योग छ ।

वृष – आजको दिन सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहने देखिन्छ । भौतिक साधनको खराबीले लक्ष्य प्राप्त गर्न नसकिएला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहन सक्छ । विलासितामा खर्च हुनेछ । मुख्य काममा बाधा हुने सम्भावना छ, सजग रहनुहोला । स्वास्थ्य कमजोर रहन सक्छ । बौद्धिकतामा कमी आउनेछैन, मित्रजनको साथ मिल्नेछ । यात्रापरक काम भने बन्नेछ ।

मिथुन – आजको दिन अर्थअभावले काम रोकिने सम्भावना छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ, ध्यान राख्नुहोला । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्ने योग भएपनि निकट सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ काम सुरु गर्न सकिनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रचनात्मकता बढ्नेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिने योग छ ।

कर्कट – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । दिगो आम्दानी हुने काम सुरु होला । प्रतिस्पर्धाले आम्दानीको बाटो खुलाउला भने साझेदारीमा राम्रै फाइदा हुने देखिन्छ । काम र पदको आशा देखाउनेहरूले फसाउनसक्ने सम्भावनाप्रति सजग रहनु उचित होला । कर्मबल बढ्नेछ, जसबाट आयआर्जनका स्रोत वृद्धि होला । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिने समय छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ, सचेत रहनुहोला । पारिवारिक सुखको अवस्था रहनेछ ।

कन्या – केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्यगत समस्या देखापर्नसक्छ, सजगता अपनाउनुहोला । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – ब्यस्तता वृद्धिका साथै दिगो फाइदा हुने काम शुभारम्भको अवसर जुट्ने समय छ । तथापि, सहयोगीहरूले खासै साथ नदिन सक्छन्, सावधान रहनुहोला । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि सोचविचार गर्नु हितकर होला । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । यश–वर्चश्व बढ्नेछ । विपरीतलिङ्गीको माध्यमबाट काम बन्ने योग छ ।

वृश्चिक – नयाँ काम प्रारम्भ हुन सक्छ । आज आयआर्जन पनि राम्रै हुने देखिन्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ भने सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यप्रति भने विशेष सजगता अपनाउनुपर्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनुका साथै प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । दामपत्यसुख बढ्नेछ । खर्च नियन्त्रणको प्रयत्न गर्नु उचित हुनेछ ।

धनु – शुभदायी समय छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन् तर पनि वित्तादि लाभ हुने देखिन्छ । हिम्मतले काम बनाउन सकिनेछ । गुमेको प्रतिष्ठा लगनशीलताले पुनःप्राप्ति हुने योग छ । पढाइलेखाइमा खासै समय दिन नसकिएला तर बौद्धिकता एवम् रचनात्मकता वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । रसरागात्मक काममा आकर्षण बढ्ने देखिन्छ ।

मकर – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । आज कुनै अवसर प्राप्त भए पनि अवसरवादीेहरूको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर हुनेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ, जसका कारण नियमित कार्यमा सुस्तता आउनसक्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्ने सम्भावना छ । छरछिमेकमा विवादको सम्भावना छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ ।

कुम्भ – व्यस्तता वृद्धि हुनेछ र काम बिग्रने डरले सताउने देखिन्छ । आफ्नै कमजोरीले महत्वपूर्ण कार्यमा ढिलासुस्तीको सम्भावना छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्नसक्छ । व्यापार–व्यवसायबाट लाभ मिल्ने योग छ । मानसम्मानमा ठेस पुग्ने देखिन्छ, सजग रही व्यवहार गर्नुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – पराक्रम वृद्धिक साथै सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । अध्ययन–अध्यापनमा प्रगति होला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने योग छ । विभिन्न सहयोग र उपहार हातपर्ला । सजिलै काम बन्नाले उत्साह जागृत हुनेछ । आरोग्यता रहनेछ । सुख सुविधाको वस्तु बढ्नेछन् ।