दमन दाइले मलाई नानी भनेर सम्बोधन गर्दा म त सानै छु जस्तो लाग्यो । कतिपय व्यावसायिक महिलाहरू बहिनी, नानीजस्ता शब्दहरूको सम्बोधन मन पराउँदैनन्, तर मलाई ती शब्दहरू कुन नियतले प्रयोग गरिएका छन् त्यसमा भर पर्छ जस्तो लाग्छ ।
✍ बबिता बस्नेत
माथिको यो शीर्षक मैले कुनै दिन पूर्वसभामुख तथा वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको देहान्त हुन्छ र मैले लेख लेख्छु भनेर लेखेकी थिइनँ । सन् २०१८ को डिसेम्बरमा उहाँसँगको बैंकक यात्रालाई लिएर संस्मरणको रुपमा लेखेको लेखको शीर्षक राखेकी थिएँ, जुन संस्मरण मेरो पुस्तक ‘समय साक्षी’मा प्रकाशित भएको छ । संसदमा सभामुखको तटस्थ भूमिका कस्तो हुनुपर्छ भन्ने उदाहरण बन्नुभएका पूर्व सभामुख दमननाथ ढुंगानालाई मैले पहिलो पल्ट वि.सं. २०४७ सालको संविधान निर्माणताका देखेकी/भेटेकी थिएँ । संविधान सुझाव सुधार आयोगका सदस्य भएका कारण संविधान बन्दै गर्दा उहाँको दिनचर्या निकै दौडधुपपूर्ण थियो ।
त्यसपछि सभामुख हुँदा र अन्य औपचारिक कार्यक्रमहरूमा भेट भएपनि उहाँसँग अलिक नजिक भएर चाहिँ सन् २०१४ मा पाँचथर जिल्लाका राजनीतिकर्मीहरूका लागि युएनडीपीले भेडेटारमा गरेको ‘सहकार्यात्मक नेतृत्व’ विषयक कार्यक्रममा भयो । तीन दिनसम्म चलेको उक्त कार्यक्रममा पद्मरत्न तुलाधर र उहाँ विषेश वक्ताको रूपमा पुग्नुभएको थियो । त्यतिबेला पूर्वमा अलिक फरक परिस्थिति थियो, मुलुक फेरि द्वन्द्वमा धकेलिन्छ कि भन्ने आशंका ब्याप्त थियो । कार्यक्रमको सहजकर्ताका रूपमा म र पत्रकार साथी धर्मेन्द्र झा हुनुहुन्थ्यो । पद्मरत्न तुलाधरलाई अलि सन्चो थिएन, त्यहाँ हामीले दमन दाइसँग प्रायः औपचारिक र मुलुकको तात्कालीन परिस्थितिकै कुराकानी गऱ्यौं ।
सन २०१८ को डिसेम्बरमा भएको बैंकक भ्रमणमा उहाँसँग हिँड्ने, खाने, घुम्ने अवसर मिल्यो । कुनैपनि ‘यात्रा’ मान्छेसँगै हिँड्ने मात्र होइन यात्रामा रहेका मानिस चिन्ने अवसर पनि हो । सन् २०२३ मा प्रकाशित मेरो यात्रा संस्मरण पुस्तक ‘समय साक्षी’मा मैले उक्त भ्रमणलाई लिएर यस्तो लेखेको छु, ‘पूर्वसभामुख तथा वरिष्ठ अधिवक्ता दमननाथ ढुंगाना, पूर्वसचिव एवम् मन्त्री विद्याधर मल्लिक, भाष्कर काफ्ले र म बैंकक गएका थियौँ । मध्यस्थतासम्बन्धी एसिया प्यासिफिक कार्यक्रम थियो । दमन दाइ माओवादीलाई मूल प्रवाहमा ल्याउन भूमिका निर्वाह गर्नुभएको वरिष्ठ व्यक्तित्व भएकाले हामीलाई कार्यक्रममा के बोल्ने खासै तनाव थिएन । कुनै पनि कार्यक्रममा जाँदा आफ्नो प्रस्तुति छ भने नसकिउञ्जेलसम्म एक प्रकारको मानसिक दबाब भइ नै रहन्छ । युएनडिपीमा कार्यरत भाष्कर काफ्लेजीसँग उहाँ इन्टरनेसनल एलर्टमा हुँदा महिला र सुरक्षासँग सम्बन्धित एउटा रिसर्चको सिलसिलामा रसुवा गएकी थिएँ । दमन दाइ र विद्याधर मल्लिकसँग पहिलो यात्रा थियो ।’
बैंककमा दमन दाइ, भाष्करजी र म नेपालीको होटेल हिमालयनमा बसेका थियौँ । सुकुम्भितस्थित होटेलबाट २० मिनेटजतिको दूरीमा रहेको नोभोटेलमा कार्यक्रम थियो । हामी बिस्तारै गफ गर्दै सडकमा हिँड्थ्यौँ । दमन दाइले मलाई नानी भनेर सम्बोधन गर्दा म त सानै छु जस्तो लाग्यो । कतिपय व्यावसायिक महिलाहरू बहिनी, नानीजस्ता शब्दहरूको सम्बोधन मन पराउँदैनन्, तर मलाई ती शब्दहरू कुन नियतले प्रयोग गरिएका छन् त्यसमा भर पर्छ जस्तो लाग्छ । बहिनी भन्ने मानिसहरू धेरै भए पनि त्यसरी ‘नानी’ भन्ने मानिसहरू घरपरिवारबाहेक कमै पाइन्छ । बाटोमा हिँड्दा म र भाष्करजी बडो उत्साहित भइ-भइ ०४६ सालको आन्दोलन, त्यसपछिको पहिलो प्रजातान्त्रिक सरकार, गिरिजाप्रसाद कोइरालाको शासनकाल, माओवादी, राजसंस्थालगायतका सन्दर्भमा जिज्ञासाहरू उहाँलाई राख्थ्यौँ ।
अनुभवले खारिनुभएका दमन दाइको सरल व्यवहार त थियो नै, आफ्नो प्रस्तुतिका लागि गर्नुभएको तयारी देखेर म छक्कै परेँ । दुई दिनको कार्यक्रममा दोस्रो दिन हाम्रो प्रस्तुति थियो । बिहान कोठाबाट निस्कँदै ठीक परेर ब्रेकफास्ट खाएपछि हामी हिँड्थ्यौँ । अन्तिम दिन ब्रेकफास्ट खान रेस्टुरेन्टमा जाँदा दमन दाइ केही लेखिरहनुभएको थियो । भन्नुभयो- आज त म बिहानैदेखि यहाँ आएर चिया खाँदै काम गरिरा’छु । मैले दाइ हजुरजस्तो अनुभवी मान्छेलाई आफ्नै अनुभव सेयर गर्न त्यत्रो तयारी चाहिन्छ र ? भन्दा उहाँले ‘अन्तर्राष्ट्रिय फोरममा बोल्दा तयारी अलि राम्रै गर्नुपर्छ’ भन्नुभयो । ब्रेकफास्ट खाँदै हामीले उहाँको प्रस्तुति सुन्यौँ । म आफू पनि कहीँ बोल्नुपर्दा सकेसम्म राम्रो तयारी गरेर जाने कोसिस गर्ने भएकीले दमन दाइको कुरा मलाई सही लाग्यो । तयारी नगरी जाँदा आफूले जानेकै कुरा पनि चुस्त हुँदैन, बहकिएर कहाँ-कहाँ पुग्छ । मेरो अनुभवमा आफ्नो कामलाई ‘भइहाल्छ नि’ भनेर हल्काफुल्का रूपमा लिने मान्छेले सफलतामा निरन्तरता पाएको देखेको छैन ।
कार्यक्रममा विद्याधर मल्लिक, म र दमन दाइ तीनैजनाले प्यानलमा बोल्यौँ । मुख्य प्रस्तोताका रूपमा दमन दाइले हाम्रो परिचय दिँदै बोल्नका लागि समय दिनुभयो । मलाई अनौपचारिक रूपमा नानी भन्ने मान्छेले औपचारिक परिचयमा बबिता बस्नेत हाम्रो देशको चर्चित वरिष्ठ पत्रकार तथा अधिकारकर्मी के-के भन्दै माथि पुऱ्याएर परिचय दिनुभएको सुनेर एकछिन त म छक्कै परेँ । विद्याधर मल्लिकका बारेमा पनि उहाँले त्यसैगरी परिचय दिनुभयो र हामीले आ-आफ्नो प्रस्तुति दियौँ । बाटोमा गफ गर्दै हिँड्दा या फलफूल किनेर उभिएर खाँदै गर्दा वा रेस्टुरेन्टमा बसेर कुरा गर्दा पारिवारिक सदस्यलाई झैँ व्यवहार गर्नुभयो, मलाई व्यावसायिक रूपमा चिन्नुभएको छ भन्ने महसूस नै गराउनुभएन । उता व्यावसायिक परिचय यसरी दिनुभयो कि उहाँलाई मेरोबारेमा कति धेरै थाहा रहेछ जस्तो लाग्यो । उहाँबाट सिक्नुपर्ने कुरामध्ये एक यो पनि थियो । हामीले यात्रा गर्दा होस् या अन्य समयमा औपचारिक र अनौपचारिक छुट्याएर व्यवहार गर्दा आफ्नोपनको महसुस हुनेरहेछ । तर, कतिपय कुराहरू मानिसको प्रवृत्तिमा पनि भर पर्छ ।
कतिपय वरिष्ठ ब्यक्तित्वहरूसँग यात्रा गर्दा मैले अनुभूति गरेको कुरा के हो भने जतिसुकै ठुलो पदमा पुगेपनि जति धेरै नाम या धन कमाएपनि मानिसको खुशी स-साना कुरामा अल्झिएको हुने रहेछ । बैंककको सडकमा भोगटे, आँप किनेर खाँदा दमन दाईले कति मिठो है…नानी अर्को पनि लेउ त…भनेको संझिन्छु । सडकमा कहिले उभिएर त कहिले हिँड्दै खाँदाको मज्जा नै अर्को । काठ्माण्डौको जाडोबाट गएकाले ‘यहाँ त कस्तो न्यायो भएको है…’ भन्ने । हजुर, यो खाउँ है भन्दा ‘हुन्छ’ भन्ने, दाई त्यहाँ जाउँ है भन्दा ल जाउँ न त भन्ने…सहज ब्यक्तित्व । मलाई सबैभन्दा गज्जब लागेको कुरा चाहिँ आफूले जानेको र गरिरहेको कुरामा पनि प्रस्तुतीका लागि उहाँको तयारी नै प्रमुख रह्यो । ‘आज बोल्नु छ’ भनेपछि बिहानै उठेर लाइन लाइन लेखेर तयारी गर्नुभएको कुरालाई मैले प्रेरणाको रुपमा लिएकी छु । त्यस्तो वरिष्ठ ब्यक्तित्वले मैले यो यो कुरा सेयर गर्न लागेको छु, ठिकै हुन्छ होला नि है… भन्दा म त छक्कै परेकी थिएँ । राष्ट्रिय होस या अन्तर्राष्ट्रिय कुनै पनि फोरममा बोल्नुअघि कुनै पनि तहका मानिसले गर्ने तयारी निकै महत्वपूर्ण हुन्छ ।
अन्तिमपल्ट दमन दाइसँग करिव एक वर्षअघि नर्भिक अस्पतालमा भेट भएको थियो । अलिक सञ्चो छैन भन्नुभयो, ‘टेक केयर हजुर’ भनेँ, त्यसपछि भेट नभइ एक्कासी उहाँको मृत्युको खबरले मन भारी भयो । जीवनमा जो जे भएपनि, मुलुकलाई जति योगदान गरेपनि आखिर यो संसार छोड्नु त छँदैछ । हार्दिक श्रद्धाञ्जली दमन दाइ !!
प्रतिक्रिया