लण्डन ः २९ मार्च २०१५को दिन अल्डरशट, बेलायत स्थित भेटघाट रेस्टुरेन्टमा तमुधिं यूके द्वारा वर्षेनी आयोजना गरिने मेगास्पोर्ट, गुर्खाकप फुटबल प्रतियोगिताको तैयारीका लागि साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङको अध्यक्षतामा सम्पन्न यस सभालाई संस्थाका महासचिव हरि गुरुङले सञ्चालन गरेका थिए । लगभग ३५देखि ४०जना पदाधिकारीहरु, सल्लाहकारहरु र सदस्यहरुको उपस्थिति रहेको साधारण सभा केहि ढिलो शुरु भएता पनि सभाको समापन तोकिएको समयमा नै भएको थियो । सभालाई समाजका उपाध्यक्ष नन्दजंग गुरुङले स्वागत मन्तव्यको क्रममा सबैलाई स्वागत गर्दै आभार व्यक्त गरेका थिए तथा यसवर्षको नेपाली मेलाको बारेमा संक्षिप्त जानकारी सभालाई गराएका थिए । यसपछि अब मई महिनामा सम्पन्न हुने गुर्खाकप बारे संयोजक क्याप्टैन पितम्बर गुरुङले पावरप्वाईन्टको माध्यमबाट विस्तृत जानकारी तथा कार्यक्रमको रुपरेखा दिएका थिए । उनले प्रस्तुत गरेको कार्यक्रमको रुपरेखामाथि बृहत छलफल गरिएको थियो । प्रायोजकहरु, भेनु बुकिङ, स्वास्थ्य सुरक्षा, व्यवस्थापन, अतिथि, सञ्चार यावत विषयहरुको बृहत छलफल भएको थियो । यस पटकको प्रत्तियोगिता गोर्खालीहरु बेलायती सेनामा भर्ना भएर सेवा दिएको २०० वर्ष पुगेको अवसर परेको हँुदा विशेष प्रदर्शनी समेत गरेर सहभागीहरुलाई थप मनोरञ्जन दिने जानकारी संयोजकले बताएका थिए । जस्मा प्याराजम्प २००जी लेखेको झण्डा र नेपाली राष्ट्रिय झण्डा सहित, खुकुरीडान्स र ब्याण्ड बाजा अथवा नेपाली नौमति बाजाको प्रस्तुती समेत रहने कुरा बताएका थिए । यसपालीको प्रत्तियोगितामा पुरस्कार राशी समेत बढने तथा समयलाई मध्ये नजर गरि प्रत्तियोगितामा सहभागी हुने फुटबल टिमहरु ४८ बाट घटाएर ४० राखिने जानकारी संयोजकले बताएका थिए । २४ जनाको वर्किङ कमिटि गुर्खा कपको लागि नियुक्त गरेर सबैको नाम पढेर सुनाएका थिए । क्याप्टैन पितम्बर गुरुङको प्रस्तुति र छलफल पछि आठौ कार्यसमितिका लागि मनोनित गरेका सल्लाहकारहरुलाई अध्यक्षको बाहुलीबाट खादा ओढाएर सम्मान गरेका थिए । सभाको अन्ततिर निवर्तमान कोषाध्यक्ष, मेजर बुद्धि गुरुङले आफ्नो प्रत्तिवेदन प्रस्तुत गरेर हालको कोषाध्यक्ष जुमकाजी गुरुङलाई कोष विवरण हस्तान्तरण गरेका थिए । त्यसैगरि जुमकाजी गुरुङले फ्रेंशी मुखपत्रको आयव्यव विवरण सभालाई दिएका थिए । सभाको अन्तमा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डन ईकाईका अध्यक्ष श्रीचन्द्र गुरुङले संस्थाबाट आयोजित गरिने बुद्ध जयन्ती, ०४ मई २०१५को दिनमा सम्पन्न विश्व शान्ती पदयात्रा र बुद्ध जयन्ती समारोहको निमन्त्रणा पत्र तमुधिंका अध्यक्षलाई दिएका थिए तथा विश्व शान्ति पदयात्रा र बुद्ध जयन्तीको संयोजक सुमलकुमार गुरुङले शान्ति पदयात्राको औचित्य र बुद्ध नेपालमा जन्मेका हुन भन्ने नाराको आव्हान गरेर सम्पन्न गरिने कुराबारे जानकारी दिएका थिए । त्यसैक्रममा सुमलकुमार गुरुङले बेल्जियममा मई महिनामा सम्पन्न हुने लुम्बिनी कपिलवस्तु दिवसको बृहत अन्तर्राष्ट्रिय कार्यक्रमबारे समेत प्रकाश पार्दै ईच्छुक प्रायोजकहरुले सहयोग गरिदिनको लागि आग्रह गरेका थिए । दिनको लन्च पश्चात सभा विसर्जन गरिएको थियो ।




प्रतिक्रिया