शहरिया शिक्षितहरू किन बन्दैछन् सङ्कीर्ण र अमानवीय ?

शहरिया शिक्षितहरू किन बन्दैछन् सङ्कीर्ण र अमानवीय ?


काठमाडौंको रत्नपार्क क्षेत्रमा पङ्क्तिकारले चलाएको सवारीसाधन जाममा पऱ्यो । एमालेको ‘जागरण सभा’को कारण सवारी जाम थियो, सवारीहरू ‘घुरघुर गति’मा थिए । मेरो पछि एक युवा कलेज ड्रेसमा मोटरसाइकलमा जबर्जस्ती भ्वाँभ्वाँ गर्दै हुइँकिएर आयो । उसलाई मेरो गति चित्त बुझेनछ । उमेरमा मेरो छोरासमानको उसले चर्काे हर्न मात्र बजाएन मलाई ‘मनपरी’ मुख छाड्यो । तथानाम गाली गऱ्यो । अगाडि आएर किन बाटो नछोडेको भन्दै कठालो समात्यो । उसको नजरमा मैले गम्भीर गल्ती गरेँ । अर्थात्, अगाडिको सवारीसाधनले उसको जस्तो तीव्र गतिमा हुइँकिनु पर्दछ वा उसलाई देख्नेबित्तिकै बाटो छाडिदिनु पर्दछ । यस घटनाले मलाई गम्भीर बनायो ।

शहरबजारमा औपचारिक शिक्षा पूरा गरी विश्वविद्यालयहरूबाट विभिन्न ‘डिग्री’का प्रमाणपत्र बोकेका असंख्य ‘अशिक्षित’ युवा–युवती भेटिन्छन् । सूचित, सचेत र शिक्षित हुनु तथा डिग्री प्राप्त गर्नु अलग या फरक कुरा हुन् । कोही व्यक्तिको हातमा डिग्रीको प्रमाणपत्र हुँदैमा, ठूलो कलेज पढ्दैमा, गलामा टाइ लगाउँदैमा र अङ्ग्रेजी बोल्दैमा सारमा त्यो व्यक्ति शिक्षित हुन्छ भन्ने होइन, हुँदैन ।

शिक्षा औपचारिक, अनौपचारिक तथा व्यवहारिक हुन्छन् । औपचारिक शिक्षाले व्यक्तिको हातमा डिग्रीका विभिन्न खालका प्रमाणपत्र थमाउने कार्य गर्दछ । वास्तविक मानव-जीवनमा हेर्ने हो भने पृथ्वीमा जन्मेका कुनै पनि मानिससँग केही न केही ज्ञान, शिक्षा, सूचना र दक्षता हुन्छ, हुन्छ । तर प्रत्येकसँग सबै ज्ञान र दक्षता हुँदैन । औपचारिक शिक्षाले मात्र मानिसलाई पूर्ण बनाउन सक्दैन । अर्थात् डिग्रीले मानिसलाई दक्ष, ज्ञानी र शिक्षित बनाउन सक्छ भन्ने निश्चित हुँदैन ।

मानिस जन्मेपछि उसको स्कुलिङ, सिकाइ, शिक्षा र संस्कृतिका अनेकौँ विषय सुरु भइहाल्छ । मानिस जस्तोखालको परिवार, समाज र संस्कृतिमा जन्मियो, हुर्कियो, बढ्यो- सामान्यतया उसको स्वभाव, आचरण, व्यवहार, सोच र कार्यशैलीमा त्यसको गहिरो प्रभाव पर्दै आएको हुन्छ । यसर्थ मानिसको पहिलो र आधारभूत स्कुल भनेको उसको आमा, घर र परिवार हुन् । त्यसपछि समाज हो । परिवार र समाजले मानिसलाई ज्ञान, विवेक, नैतिकता, दया, करुणा, धर्म, सामाजिक मूल्य र मर्यादा, सहनशीलता, धैर्यता, वुद्धि, कानुनको पालना र सारमा असल मानव बन्ने क्रममा आवश्यक हुने विषयहरू सिकाउँदै लगेको हुन्छ, सिकाउनु पर्दछ । परिवार र समाज पहिलो र आधारभूत स्कुल भएकोले त्यहीँबाट व्यक्तिले शिक्षा तथा संस्कार सिक्दछ । अनौपचारिकपछि मानिसले औपचारिक ढंगले सिक्ने, पढ्ने, बुझ्ने ठाउँमा अघि बढ्दै गएको हुन्छ । स्कुल, कलेज, क्लब, सामाजिक संस्था, कार्यालय तथा विभिन्न निकायमा मानिस आवद्ध हुन पुग्दछ । यही क्रममा मानिसले औपचारिक तथा अनौपचारिक दुवै प्रकारको शिक्षा, सूचना तथा ज्ञान सँगसँगै सिक्दै र हासिल गर्दैै गएको हुन्छ । अनौपचारिक शिक्षा घरको जग, पिलर र विम जस्ता हुन् । औपचारिक शिक्षाचाहिँ घरमा विभिन्न प्रकारले सजाउने–सिँगार्ने, आवश्यक कोठा निकाल्ने कार्य जस्तो हो ।

मूल प्रश्न या सवाल भनेको आधुनिक तथा विकसित हुँदै गएको नेपाल र त्यसमा पनि मूलतः काठमाडौं जस्ता ठूला शहर-बजारमा औपचारिक शिक्षाले व्यक्तिलाई किन र कसरी अर्थपूर्ण तथा सार्थकरूपले शिक्षित बनाउन सकेन ? विश्वविद्यालयका ‘डिग्रीधारी’ किन अनपढ र अशिक्षित जस्ता भए ? औपचारिक शिक्षा किन जिपिए वा नम्बरमा मात्र केन्द्रित भयो ? ठूला भनिएका स्कुल-कलेजमा अध्ययन गरी ‘डिग्री’ गरेका व्यक्तिमा किन शिक्षित व्यवहार देखिएन ? यी र यस्ता गम्भीर सवाल अहिले नेपाली समाजमा उठ्ने गरेका छन् ।

औपचारिक शिक्षा नभएका, गाउँले भनिएका व्यक्तिमा जति पनि मानवीय स्वभाव, नैतिकता, मर्यादा, सहनशीलता, धैर्यता र बुद्धि डिग्रीधारीहरूमा देख्न र अनुभव गर्न सकिन्न । सामान्य कानुन पनि पालना नगर्ने, मानवीयता र नैतिकता पटक्कै नदेखाउने कार्यशैली औपचारिक शिक्षा बढी पढेका भनिएका युवामा देखिनु चिन्ता र चासोको विषय हो । तुरुन्तै रिसाउने, अर्काे व्यक्तिको अवस्था र मर्का नबुझ्ने, आफूलाई मात्र हेर्ने, कसैलाई सानो पनि सहयोग नगर्ने, मानवीय र सामाजिक व्यवहार पटक्कै नदेखाउने प्रवृत्ति बढ्दै गएका देखिन्छन् । साना उदाहरणहरूट पनि त्यो कुरा झल्कन्छ । गलामा टाइ लगाएका महँगा कलेजमा अध्ययन गर्ने व्यक्तिले जेब्राक्रसिङमा उमेरमा आफूभन्दा ठूला व्यक्तिलाई धकेल्दै किन अघि बढ्दछ ? सार्वजनिक कार्यालयमा सेवा दिने क्रममा शिक्षित भनिएका व्यक्तिले सामान्य नागरिकसँग लाइनको पालना गर्न सक्दैन । सडकमा कोही तत्काल ढल्यो, बिरामी पऱ्यो वा कसैलाई मानवीय सहायता आवश्यक पऱ्यो भने डिग्रीधारी शिक्षित होइन समाजले अनपढ र अशिक्षित भन्ने गरेका गरीब मानिस नै सहयोगमा आउने गरेका देखिन्छन् ।

शिक्षित व्यक्ति शहर-बजारमा अर्काेलाई धकेल्दै, असर पार्दै अघि बढ्छ, तर ‘मलाई माफ गर्नुहोला’ सम्म भन्न सक्दैन । कसैबाट केही लिन्छ, ‘धन्यवाद हजुर’ पनि भन्दैन । यस्तो सोच र शैली बजारमा सर्वत्र देखिन्छ । सार्वजनिक र सामाजिक स्थानहरूमा डिग्रीधारीहरूका बोली तथा व्यवहार हेर्ने हो भने सुन्नेलाई बढी लाज लाग्ने अवस्था हुन्छ । डिग्रीधारी शिक्षित भनिएकामा यस्ता अनैतिक, असामाजिक र गैरकानुनी र उच्छृङ्खल व्यवहार किन र कसरी बढ्दै गरेको छ ? यो विषय अहिलेको सर्वाधिक चासो र चिन्ताको विषय हो ।

शिक्षित युवामा यस्तो संस्कृति बढ्नुमा पुँजीवादी विश्व व्यवस्थामा आएका अनेक विकृति र विसंगतिपूर्ण व्यवहारको प्रभाव पनि हो । विश्वव्यापीकरण, बजारीकरण, निजीकरण, भूमण्डलीकरण, वस्तु र बजार, पुँजी र पैसा आदिले शहरिया समाजलाई पूरै सङ्कीर्ण र अमानवीय बनाउँदै लगेको देखिन्छ । वस्तु र सेवा बिक्रीको बजार यति धेरै हाबी भइदियो कि पैसाले सबैलाई किन्न सकिन्छ भन्ने भावना बढी सोचिन थालेका छन् । स्कुल-कलेजहरू ‘करेन्टको तातो’मा उत्पादन गर्ने ‘ब्वाइलर कुखुरा’का कारखाना जस्ता भएका छन् । बिजुली, दाना र औषधीको मात्रा पऱ्याएर केवल मासु भर्ने र बढी नाफामा बेच्ने बगरेले काट्ने खसीजस्तो भयो समाज । नाफा र स्वार्थबाट ग्रसित भएको छ । स्कुल, कलेज र औपचारिक शिक्षा दिने संस्था र निकायले व्यक्तिलाई मानव बनाउने होइन आफ्नो नाफा निकाल्ने एजेन्ट, उत्पादन, बस्तुभन्दा बढी केही सोचेनन् । तिनले विद्यार्थीलाई नैतिकता, सामाजिक भावना, विवेक, सहनशीलता, मानवीय भावना, दया, करुणा, कानुनको पालना र सारमा अर्को व्यक्तिको अधिकार एवम् हितमा असर नपुऱ्याउनु भन्ने कुरा सिकाएनन् । सिकाउन आवश्यक पनि देखेनन् । यहीकारण शहर–बजारमा ‘डिग्री’का विभिन्न प्रमाणपत्र बिक्रीमा राखिएका बस्तु जस्ता मात्र भएका छन् ।

औपचारिक शिक्षा पढेको, शिक्षित भनिएको र पर्याप्त डिग्रीको प्रमाणपत्रधारी युवालाई त्यो प्रमाणपत्र देखाएर जागिर चाहिएको छ । प्रमाणपत्र बेचेर युरोप-अमेरिका जानु छ । डिग्रीका प्रमाणपत्र बोकेर घरानियाँ भनिएकासँग विवाह गर्नु छ । प्रमाण पत्र हुनु आफैंमा व्यक्ति शिक्षित हुनु होइन । औपचारिक शिक्षा परीक्षा पास गरेको निस्सा मात्र हो । औपचारिक शिक्षाको प्रमाणपत्र एक पटक पाएपछि सोही विषयमा फेरि सामान्यतयाः परीक्षा दिनु पर्दैन । तर अनौपचरिक, सामाजिक र मानवीय परीक्षाचाहिँ मानिस हिँड्ने प्रत्येक पाइलामा दिनुपर्ने हुन्छ । व्यक्तिलाई समाज, सार्वजनिक कार्यालय र अर्काे मानिसले बोलेपिच्छे तथा भेटेपिच्छे परीक्षा नै परीक्षा लिइरहेका हुन्छन् । यही कारण डिग्रीधारी सबैले सार्वजनिक र औपचारिक जीवनमा एउटै हैसियत र लाभ प्राप्त गर्न सक्दैनन् । त्यसको चुरो कारण भनेको एक व्यक्तिले अर्काे मानिसलाई गर्ने व्यवहार हो । मानिसले अर्काे मानिसलाई कसरी मानवीय व्यवहार गर्दछ, नैतिकता देखाउँदछ, दया, करुणा, विवेक र सारमा सम्मान गर्न सक्दछ भन्ने कुरा प्रमुख हो । अर्काेलाई मानवीय व्यवहार र सम्मान गर्न नसक्ने ‘डिग्रीधारीको बथान’ मात्र उत्पादन गर्ने सोचले समाज छाडा, अराजक, अनैतिक र गैरकानुनी दिशातर्फ अघि बढ्दैछ ।

सामाजिक सञ्जालमा पनि त्यस्ता अनेकौँ विकृति देखिएका छन् । यस्तो औपचारिक शिक्षाले समाजलाई मात्र होइन त्यो सम्बन्धित व्यक्तिलाई पनि केही दिन सक्दैन । हातमा भएको डिग्री एक पटक पेश गरेपछि ‘दराज’मा थन्कन्छ । तर मानिसको व्यवहार, कार्यशैली, मानवीयता र सोचचाहिँ व्यक्तिसँगै जताततै हिँडिरहेका हुन्छन् । डिग्रीका प्रमाणपत्र मात्र बोकेको मानवीय व्यवहार र असल चरित्र नभएको व्यक्ति दुनियाँमा औपचारिक दृष्टिले जतिधेरै शिक्षित भए पनि काम लाग्दैन । त्यस्तो व्यक्ति जुनसुकै देश वा समाजमा गए पनि धोकाबाहेक केही खाँदैन । यो सामान्य विषय होइन । यसर्थ, डिग्रीसँगै असल, नैतिकवान र खासमा मानव बन्ने खालको शिक्षा आवश्यक छ ।