✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ मार्गशीर्ष १० गते तद्अनुसार सन् २०२४ नोभेम्बर २५ तारिख सोमबार मार्गशीर्ष कृष्ण पक्षको दशमी तिथि उत्तरा फाल्गुनी नक्षत्र विषकुम्भ योग वणि करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३४ मा भयो र सूर्यास्त साँझ १७ः७ बजे हुनेछ । गुह्येश्वरी यात्रा ।
आजको राशिफल
मेष – समय केही चुनौतीयुक्त रहने देखिन्छ । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ भने समयमा होस नपुग्नाले केही ब्यवधान झेल्नुपर्ला । कुरा काट्नेहरु सक्रिय रहने छन् भने पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । चोटपटकको योग रहेकोले आजको दिन आगो तथा हातहतियारको प्रयोगमा एकदमै सावधान रहनुहोला । आर्थिक संकट पनि पर्नसक्छ । यसका बाबजुद आत्मविश्वास कायम रहनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
वृष – कामको कदर भइ प्रतिष्ठा बढ्ने समय छ । रचनात्मक क्रियाकलाप एवम् व्यवसायिक कर्ममा प्रगति होला । जागिरमा चाहिँ आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने देखिन्छ । आत्मसम्मान जोगाउन विशेष सचेत रही कार्य गर्नुपर्ला । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि एवम् प्रेमभाव बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नाले उत्साह बढ्नेछ ।
मिथुन – अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्ष छाउला । आत्मविश्वास जाग्नेछ भने प्राविधिक काममा सफलता प्राप्त हुनेछ । पढाइलेखाइमा भने खासै प्रगति हुने देखिन्न । आफन्तमिलनले खुशी प्रदान गर्ला । लाभदायी कार्यका लागि व्यस्तता वृद्धि हुने योग छ । स्वास्थ्य सबल रहनेछ भने शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – अधुरा काम बन्ने तथा नयाँ जिम्मेवारी हातलाग्ने समय छ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा सफलताका लागि सहज हुने देखिन्छ । कुराकाट्नेहरुको मुख बन्द हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ भने वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदाको योग छ । पराक्रमका साथै आरोग्यता वृद्धि हुनेछ । मित्रजनको सहयोगले सुख वृद्धि गराउला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – आजको दिन केही चुनौती सामना गर्नुपर्ला । भौतिक साधनको क्षतिले अनावश्यक धननाश हुनसक्छ । मनमा पीडाले डेरा जमाउने योग भएकोले चिन्तारहित हुने स्वप्रयत्न गर्नु हितकर होला । स्वास्थ्यगत समस्या आइपर्ने सम्भावना रहेको छ, विशेष सजग रहनु उचित हुनेछ । चोटपटकको भय पनि छ, सावधानी अपनाउनुहोला । कतिपय प्रतिकुलताका बाबजुद मनमा रसरागको भाव जागृत हुने देखिन्छ । मित्रजनको सहयोग रहनेछ ।
कन्या – व्यावसायिक कार्य बीचमा अवरुद्ध बन्न सक्ने समय भएपनि आजको दिन महत्वपूर्ण काम बन्ने देखिन्छ । तपाईंको लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु भेटिएलान् । पढाइलेखाइमा प्रगति हुनेछ भने परिवारजनसँग आत्मीयता बढ्नेछ । मनमा शान्ति छाउनेछ । प्रेम प्रस्तावको पनि योग छ । कलासम्बन्धी कार्यमा विशेष मन जाला । आरोग्यता रहनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । मान महत्व वृद्धिको समय छ ।
तुला – आर्थिक क्षेत्रमा राम्रै लाभ हुने तथा ब्यापार, कृषि एवम् वैदेशिक क्षेत्रमा एकदमै राम्रो समय छ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल रहला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ । आम्दानी बढ्न सक्छ । साहसिक काममा आकर्षण रहनेछ । मिठो भोजन प्राप्त होला । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्ने देखिन्छ ।
वृश्चिक – समय शुभदायी छ । व्यापार बढ्ने, सुखद यात्रा हुने र रमाइलो भेटघाटले मनलाइ हर्षित तुल्याउनुको साथै पराक्रम बढ्ला । व्यापार–व्यवसायमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्ने योग छ । सन्तानपक्षबाट पनि सुख मिल्ला । मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ । सामर्थ्य वृद्धिका साथै रोकिएको काम बन्ने योग छ ।
धनु – खर्च केही वृद्धि हुने सम्भावना रहेपनि उत्साहवर्द्धक समय छ । स्वास्थ्य स्थितिमा अनुकूलता आउनाले काम गर्न जाँगर चल्ने देखिन्छ । कर्मबल बढ्नेछ भने श्रमको उचित मूल्याङ्कन होला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागको भाव वृद्धि हुनेछ ।
मकर – परिश्रमअनुसार उपलब्धि पनि राम्रै मिल्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ । खर्च भने केही बढ्ने र सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुपर्ने देखिन्छ । कुरा काटनेहरु बढनेछन, सावधान रहनुहोला । अवरोध गर्नेहरूको सक्रियताका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।
कुम्भ – समय शुभदायी छ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना रहेपनि आम्दानीमा कमी आउने छैन । आज खर्चभन्दा कमाइ नै बढी हुने योग छ । छरछिमेकबाट सरसहयोग प्राप्त होला । सकारात्मक परिणामका लागि दौडधुप बढ्ने देखिन्छ । सामर्थ्य वृद्धि हुनेछ । मूलतः आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मीन – चिताएको काम सहजै बन्नसक्ने दिन छ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित रहला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने देखिन्छ । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख बढ्ला । रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
प्रतिक्रिया