वेदको संरचना सृष्टिको संरचना हो, अतः वेद नै सृष्टि हो । भौतिकवादले वर्तमान समयमा प्रमाणित गरेको कुरा संसारको आदिग्रन्थ वेदले हजारौं वर्षअगाडि नै उल्लेख गरिसकेको छ । हाल युरोप तथा पश्चिम विश्वमा वैदिक विज्ञानको गहन अध्ययन तथा अनुसन्धान भैरहेको छ, तर दूर्भाग्य ! प्राचीन सभ्यताको जननी हिम्वत्खण्डको यस पूण्य भूमिमा वैदिक सभ्यता लोप हुन्छ कि भन्ने सन्त्रास छ ।
✍ बी.पी. रिजाल
ब्रह्माण्ड, चराचर जगत वा यो जीवन र जगतको सृष्टि अनि विकास आफैमा अद्भूत छ । यसको उत्पत्ति, विकास र अन्तको बारेमा आधुनिक विश्वमा फरक-फरक अवधारणा पाइन्छन् । खास गरेर आध्यात्मवादी र भौतिकवादीहरूका आ-आफ्ना तर्कहरू छन् ।
आध्यात्मवादी दर्शनमा यो समस्त ब्रह्माण्डको उत्पत्ति ईश्वरले गरेका हुन् र यो ब्रह्माण्ड ईश्वरीय शक्तिबाट सञ्चालित रहेको मानिन्छ । आध्यात्मवादी दर्शनअनुसार वेदलाई यस धराको प्रथम साहित्य र प्रथम बोली मानिन्छ । वेद बह्मको मुक्तकण्ठबाट रचना भएकोे र ऋषि-महर्षी, देवर्षीहरूका तपोबलबाट लिपिबद्ध भएको हो । यसैले वेद ऋषिहरूका मन या विचारका उपज होइनन्, ऋषिले त त्यही लेखे वा भने जुन उनीहरूले पूर्णजाग्रत अवस्थामा देखे, सुने परख गरे ।
वेद ईश्वरीय वाक्य हो । वेद नै सृष्टिको लिखित प्रतिबिम्ब हो । यिनै वैदिक ग्रन्थ तथा पूर्वीय दर्शनलाई वैदिक विज्ञान भनिन्छ । वैदिक विज्ञान जीवनको सृष्टि तीन प्रकारले भएको प्रक्षेपण गर्दछ । प्रथम- भूत सुष्टि (पृथ्वी, जल, तेज, वायु र आकाश ), द्वितीय- सङ्कल्प सृष्टि र तृतीय शारीरिक सृष्टि । प्रथम र द्वितीय सृष्टिको खोज, अध्ययन र अनुसन्धान साधारण मतिष्कबाट असम्भव छ । वैदिक ज्ञानका आर्दश, मूल्य मान्यता, जीवन शैली, त्याग, चिन्तन न वर्तमान विश्व अंगिकार गर्न सक्छ न त अनुसन्धान गर्न सक्ने चैतन्य नै प्राप्त छ । तृतीय- सृष्टिको मतमा आजको विश्व आफ्नो उत्पत्तिको कहानी बयान गरिरहेको छ । सङ्कल्प सृष्टिको मतानुसार सत्व, रज र तम त्रिगुणहरू र त्रिगुणात्मिका प्रकृति स्वभाव भएका देवता, ऋषि, मनुष्य, असुर लगायत चराचर जड, चेतन वस्तु र व्यक्तित्वको उत्पत्ति भएको मानिन्छ । यसै सङ्कल्प सृष्टिअन्तर्गत लोकस्रष्टा परमेष्ठिद्वारा अयोनिज सांकल्पिक रुद्र सृष्टि भएको र श्री रुद्रको सङ्कल्पद्वारा धनञ्जय नामक अग्निरुप ऋषिको उत्पत्ति भएको कुराको व्याख्या शिव महापुराणमा उल्लेख भएको छ ।
परमेष्ठि प्रतिपादित सृष्टि क्रममा सबैभन्दा कनिष्ट सृष्टि प्रक्रिया शारीरिक सृष्टि हो । स्वयम् ब्रह्माजीको स्वरुप दुई भागमा विभक्त भई स्वयम्भु मनु र शतरुपा मानवी व्यक्त भइसकेपछि शारीरिक सृष्टि प्रारम्भ भयो । प्रथम भूत सृष्टि र द्वितीय सङ्कल्प सृष्टिमा समयले प्रभाव पार्न सक्दैन भने तृतीय शारीरिक सृष्टि काल प्रभावित हुन्छ, जुन निरन्तर परिवर्तशील रहन्छ । ब्रह्माण्डमा अविनासी पञ्च तत्वको मिलनबाट यौटा सामथ्र्य मोहिनी शक्तिको निर्माण भएको छ, जो नै ईश्वरीय शक्ति हो, जसलाई भौतिकवादीहरू प्रकृति भन्दछन् । पृथ्वी (स्थल), जल (पानी), तेज (आगो), वायु (हावा) र आकाश (शून्य) यी अविनासी तत्व एक आपसमा चुम्बित छन् अनि समस्त ब्रह्माण्ड अस्त्विमा रहेको छ ।
विश्वका एक सय भन्दा बढी भाषामा अनुदित भई एक करोडभन्दा बढी प्रतिहरू बिक्री भएको पूर्वीय वाङ्मयको अद्वितीय ग्रन्थ वा वैदिक ग्रन्थको सार साथै वर्तमान पाश्चात्य विद्वानहरूले समेत संसारिक दर्शनहरूमा श्रेष्ठ दर्शनको रुपमा स्विकार गरेको श्रीमद्भगवद्गीताको सातौं अध्यायमा जीवलाई पराप्रकृति भनिएको छ । प्रकृति परा हुन् वा अपरा तिनी सँधै परमेश्वरका नियन्त्रणमा रहेकी हुन्छिन् । प्रकृति स्त्री-स्वरुपा हुन् त्यसैले पतिद्वारा पत्नी नियन्त्रित भएजस्तै प्रकृति पनि परमेश्वरद्वारा नियन्त्रित छिन् । प्रकृति सँधै परमेश्वरका अधीनमा रहन्छिन् । जीव र प्रकृति दुवै परमेश्वरद्वारा शासित र नियन्त्रित छन् । सम्पूर्ण जीवहरू परमेश्वरकै अंश हुन् तैपनि गीताले तिनीहरूलाई प्रकृति नै मानेको छ । ‘अपरेयमितस्त्वन्यां प्रकृतिं विद्धि मे पराम् । जीव भूतां महावाहो ययेदंधार्यते जगत् ।’ अर्थात् यो भौतिक प्रकृति मेरै अपरा प्रकृति हो तर यो भन्दा पनि पर अर्को प्रकृति छ, जसअन्तर्गत भौतिक वा अपरा शक्तिका साधनहरूलाई उपभोग गर्ने जीवात्माहरू पर्दछन् । त्यो ‘जीव भूताम’ अर्थात् जीव हो । जीवहरूलाई भगवानले आफ्नै अंशका रुपमा स्वीकार गर्नुभएको छ । हामी पनि परमेश्वरका अधिनमा रहेका सूक्ष्म ईश्वर नै हौं । हामीहरू प्रकृतिमाथि नियन्त्रण कायम गर्ने प्रयत्न गर्दछौं ।
वर्तमानमा हामीहरू आकाशीय ग्रहहरू तथा अन्तरिक्षमाथि पनि आफ्नो आधिपत्य कायम राख्ने कोशिस गरिरहेका छौं । वस्तुलाई आफ्नो नियन्त्रणमा राख्ने प्रवृत्ति श्रीकृष्णमा छ, त्यसैले हामीमा त्यो प्रवृत्ति विद्यमान छ । प्रकृतिमाथि शासन गर्ने प्रवृत्ति हामीमा निहित भए तापनि हामी नै परमनियन्ता भने होइनौं । ‘पतिं विश्वस्यात्मेश्वरम्।’ अर्थात् भगवान विष्णु नै सम्पूर्ण प्राणीहरूका स्वामी हुनुहुन्छ । श्रीमद्भगवद्गीताको तेस्रो अध्यायमा भौतिक सृष्टिको रचनाको सम्बन्धमा श्रीकृष्णले अजुर्नलाई उपदेश दिँदै भन्नुभएको छ- ‘सहयज्ञाः प्रज्ञाः सृष्टवा पुरोवाच प्रजापतिः । अनेन प्रसविष्यध्वमेष वोऽस्त्विष्टकामधुक् ।।’ (३।१०) अर्थात्, सृष्टिको सुरुमा समस्त प्राणीहरूका स्वामी प्रजापति ब्रहमाले विष्णुका लागि यज्ञको सृष्टि गर्नुभयो र साथमा मानिस तथा देवताहरूको पनि सृष्टि गर्नुभयो र आर्शिवाद दिँदै भन्नुभयो- तिमीहरू यो यज्ञबाट सुखी रहने छौ किनभने यज्ञ गर्नाले तिमीहरूले आनन्दपूर्वक बाँच्नका लागि चाहिने हरेक वस्तु पाउने छौ र अन्त्यमा मुक्ति पाउने छौ । यस्तै, दशौं अध्यायको आठौं श्लोकमा ‘“’अहं सर्वस्य प्रभवो मत्तः सर्व प्रवर्तते’”’ अर्थात सम्पूर्ण आध्यात्मिक तथा भौतिक जगत्को उत्पत्तिको श्रोत म नै हुँ, हरेक वस्तु मबाट नै उत्पन्न हुन्छ भनिएको छ ।
आफैमा अत्यन्त विशाल र विचित्र देखिने यो सारा चराचर सृष्टि भगवानकै अधिनमा छ । ‘सर्वभूतानि कौन्तेय प्रकृतिं यान्ति मामिकाम्। कल्पक्षये पुनस्तानि कल्पादौ विसृजाम्यहम् ।।’ (९।७) अर्थात्, हे कुन्तीपुत्र ! कल्पका अन्तमा समस्त भौतिक सृष्टिहरू मेरो प्रकृतिमा प्रवेश गर्दछन् अनि अर्को कल्प सुरु हुँदा तिनलाई म आफ्नो शक्तिद्वारा फेरि सृष्टि गर्दछु । यो भौतिक जगत्को सृष्टि, पालन र संहार पूर्णतः भगवानका परमइच्छामा निर्भर छ । कल्पको अन्त्यमा भन्नुको तात्पर्य हो ब्रह्माको मृत्युसम्म । ब्रह्मा एक सय वर्ष जीवित रहन्छन् र उनको एक दिन हाम्रो ४, ३०,००,००,००० (चार अर्ब तीस करोड) वर्ष बराबरको हुन्छ । उनको रात पनि यत्तिकै लामो हुन्छ । ब्रह्माको एक महिनामा यस्ता तीस दिन र तीस रात हुन्छन् । त्यसै गरी उनको एक वर्षमा यस्तै बाह्र महिना हुन्छन् । यस प्रकारको एक सय वर्षपछि ब्रह्माको मृत्यु हुन्छ अनि प्रलय हुन्छ, अर्थात् कल्पको अन्त्य हुन्छ । यसको अर्थ भगवानले प्रकट गर्नुभएको शक्ति फेरि उहाँमै विलीन हुनु हो । अनि जहिले यो ब्रह्माण्डलाई फेरि उत्पन्न गर्नुपर्ने आवश्यकता हुन्छ त्यस समय उहाँको इच्छाद्वारा यसको पुनः प्रकटीकरण हुन्छ । भगवान भन्नुहुन्छ- एकोऽहं बहुस्याम अर्थात म एक्लै छु, धेरै हुन्छु(छान्दोग्य उपनिषद् ६.२.३) । यो नै वैदिक शक्तिवाद हो । उहाँले यो भौतिक शक्तिमा स्वयं आफ्नो विस्तार गर्नुहुन्छ । फलस्वरुप पुनः सम्पूर्ण जगत्को सृष्टि हुन्छ ।
भौतिकवादी दर्शन ब्रहाण्डको उत्पत्ति ईश्वर वा परमात्माबाट भएको नभई करिब १५ अर्ब वर्ष पहिले स्वनिर्माण भएको मान्दछ । त्यसै क्रममा करिब ४ अर्ब ६० करोड वर्ष पहिले ब्रह्माण्ड तातो अग्निको डल्लोबाट उछिट्टिएर सौर्य परिवार तथा तारा गण बनेको चर्चा गरिन्छ । पृथ्वीको उत्पत्ति हुने क्रममा पृथ्वी तरलिय ग्याँस अवस्थाबाट ठोस रुपमा बदलिएर चट्टानको रुपमा परिवर्तन भए पश्चात पृथ्वीको भौगर्भिक इतिहास शुरु हुन्छ । भौगर्भिक इतिहासलाई निम्न ५ भागमा विभाजन गरिएको छ-
१. आद्य महाकल्प (Pre-cambrain) : ६० करोड वर्ष पूर्वको समय
२. पुराजीव महाकल्प (Palaeozonic or Primary Era) : ६० देखि २२ करोड वर्ष पूर्व
३. मध्यजीव महाकल्प (Mesozoic or secondary Era) : २२ देखि ७ करोड वर्ष पूर्व
४. नवजीव महाकल्प (Tretiary Era ) : ७ करोड देखि १० लाख वर्ष पूर्वसम्म
५. नूतन महाकल्प (Neozoic Era) : १० लाख पूर्वदेखि हालसम्मको समय
३० देखि २० करोड वर्षपहिले मेसोजोइक युगमा अहिलेका ७ महादेशहरू संयुक्त अवस्थामा थिए जसलाई पाञ्जिया भनिन्थ्यो । कालान्तरमा पाञ्जियाको उत्तरी भाग टुक्रिएर उत्तर साइबेरिया बन्यो जुन पछि उत्तरी ध्रुवका रुपमा रहयो भने अर्को ठूलो टुक्रा गण्डवाना मरुभूमि बन्यो जुन दक्षिणी ध्रुवका रुपमा रह्यो । महासागर तथा सागरहरू अहिले जस्तो विभिन्न नभई एक रुपमा थिए जसलाई टेथिस सागर भनिन्थ्यो । प्लेट टेक्टोनिक सिद्धान्त अनुसार दक्षिण क्षेत्रबाट उत्तरतर्फ गएको तीव्र आन्तरिक शक्तिले दक्षिण भाग उत्तरतर्फ धकेलिँदै विभिन्न चरणमा हिमालय, महाभारत र चुरे आदि पहाड बने । यही टेक्टोनिक सिद्धान्तको आधारमा गङ्गाको मैदानको उर्वर भाग बनेको हो । यहाँ बढी जाडो र बढी गर्मी नभएकाले जीवनको प्रथम अस्थित्व भएको हुनसक्ने कुरामा वैज्ञानिकहरू बढी विश्वस्त रहेको पाइन्छ ।
पृथ्वी सुरुमा सूर्यबाट चोइटिएर उछिट्टिएको धेरै तातो र वायुमण्डलरहित सानो टुक्रा पछि सेलाएर तरल अवस्थामा पुगी जम्दै जाँदा गोलाकार बनेको अनि पछि हिमशृङ्खला, हिमपात, वन वनस्पति, हावा र प्राणी जगत्को उत्पत्ति भएको भन्ने वैज्ञानिकहरूको भनाइ रहेको छ । हिमशृङ्खला आजभन्दा १३ करोड वर्ष पहिले बनेका हुन् भन्ने भनाइ छ । पृथ्वीमा जीवोत्पत्तिका निम्ति उपर्युक्त पर्यावरण तयार भएपछि आजभन्दा करिब ३ अर्ब ८० करोड वर्षपहिले पानीभित्र एक कोशीय जीव देखा प¥यो र त्यसपछि बहुकोशीय, उभयचर, स्थलचर, पुच्छरयुक्त र पुच्छरविहिन स्तनधारी हुँदै मानिसको उत्पत्ति भयो भन्ने भनाई रहेको छ । मानव जातिका पूर्वज बाँदरगणको पुच्छरहीन समुदाय वनमान्छे (Orangutang), चिम्पाञ्जी (Chimpanzee), गोरिल्ला (Gorilla) जस्ता २ करोड वर्ष अगाडि देखिएको नरबाँदरगण (Arthropoid Group)सँग नजिकको सम्बन्ध राख्दछ । मानवपूर्वजको रुपमा १ करोड ५० लाख वर्षअघिको मानिएको केन्यामा प्राप्त Propliopithecus को नमूनालाई सबैभन्दा प्राचीन मानिन्छ । यस वर्गमा पर्ने नरवानरका अवशेषहरू इजिप्ट, भारत, पाकिस्तान र नेपालका चुरे शृङ्खलामा पाइएका छन् ।
मानवको रुप लिन प्रयत्नशील सबैभन्दा प्राचीन प्राणी रामापिथेकस हो । वि.सं. २०३७ मा डा. जे.एच. हाचिनसनले नेपालको बुटवल नजिक तिनाउखोलाको छेउमा १ करोड १० लाख वर्ष पुरानो मानिएको रामापिथेकसको बँगाराको खोज गरेका थिए । रामापिथेकसपछि अफ्रिकामा फेला परेको अष्ट्रेलोपिथेकस मानिन्छ । होमो इरेक्टस मान्छे जस्तै सिधा हिड्न सक्ने बाँदर भन्दा धेरै विकसित मानिन्छ जो ५ लाख देखि ९ लाख वर्ष पुरानो मानिन्छ । एक लाख वर्ष देखि ३० हजार वर्ष अघि समयको मानिने जर्मनीको नियन्दरथल उपत्यकामा उत्खनन् गर्दा पाइएको नियन्दरथल मानव मानव गुण सँग मिल्दो जुल्दो मानिन्छ । आजको मानवको निकटतम् पूर्वज मानिने आज भन्दा २५-३० हजार वर्षअगाडि भेटिएका मानव अवशेषका आधारमा होमोसेपियन्स मानिन्छ । यसका अवशेष अफ्रिका, अष्ट्रेलिया, अमेरिका, युरोपमा पाईएको छ । मानव जातिको उत्पत्ति यिनै बाँदर जातिबाट उद्विकास हुँदै गएको विश्वास गरिन्छ । सुरुमा मानव पनि बाँदर जातिको अन्य प्राणीसमान नै थियो । ऊ पनि नाङ्गै हिँडडुल गर्थ्यो, घुमन्ते जीवन बिताउँथ्यो तर त्यसमा अन्तर के थियो भने मानवको बुद्धि वाँदर जातिको अन्य प्राणीभन्दा केही बढी र तीक्ष्ण थियो, त्यही तीक्ष्ण बुद्धिको प्रयोग गरेर मानवले धेरै समयपछि शिकारको लागि र शत्रुलाई पराजित गर्नका लागि विभिन्न प्रकारका औजारहरू निर्माण गर्न र प्रयोग गर्न जान्यो । फलस्वरुप मानव विस्तार-विस्तार एक सभ्य प्राणीको रुपमा आज अनेकौं आविष्कार र विकास गर्दछ । मानवको सामाजिक-सांस्कृतिक जीवनको अध्ययन गर्न Pre-historyले महत्वपूर्ण स्थान ओगटेको छ । यो त्यो युग हो जुनबेला मानवले लेख्ने लिपिको विकास शुरु गरेको थिएन, त्यसैले यस युगलाई मानवको Pre-history भनिएको हो ।
मानव समाज तथा संस्कृतिको इतिहास लाखौं वर्ष पुरानो छ । यस इतिहासको जानकारी प्राप्त गर्नका लागि पृथ्वीको सतहभित्र विभिन्न समयमा पुरिएर बसेका मानव संस्कृतिका अवशेष, उपकरण, कला, औजार र यस्तै अन्य तथ्यको खोजी, अध्ययन तथा अनुसन्धान गरिएको छ । यस मत अनुसार मानिसले सुरुमा पाषण युगमा प्रवेशसँगै ढुङ्गे औजारको प्रयोग, कृर्षि युगमा प्रवेश गरेसँगै सर्वप्रथम गहुँ र जहुँको खेती, पशुपालनमा सर्वप्रथम कुकुर अनि भेडा पालन, माटाका भाँडा निर्माण, वस्त्र निर्माण, स्थायी बसोबास, सामाजिक जीवनको सुरुवात, विभिन्न संस्कार निर्माण तथा पालना गरेको मानिन्छ तर त्यस अत्यन्त प्राचीनकालमा जुन वनस्पति र प्राणीहरू थिए, ती आजकलका भन्दा बिल्कुलै भिन्न थिए । उद्विकासको क्रममा त्यस्ता प्राणीहरूमा विस्तार–विस्तार परिवर्तन हुन थाल्यो र वातावरण अनुसार विभिन्न रुप र प्रकारका देखिन थाले । करोडौं वर्ष सम्म त्यस्ता अचम्म प्रकारका जीव–जन्तुहरू अस्तित्वमा रहे, तर त्यस्ता प्राणीहरू उद्विकासको क्रममा अब सबै लोप भईसकेका छन् । ती प्राणीहरूको अवशेष अझै पनि उत्खननको बेला कतै–कतै प्राप्त भएको कुरा मानवशास्त्रीहरू बताउँछन् ।
माथिका दुवै अभिमतहरूको आधारमा हेर्दा वैदिक विज्ञान वा आध्यात्मवादी पूर्वीय दर्शन यो ब्रह्माण्डको सृष्टि परब्रहमा वा ईश्वरको रचना मान्दछ । उक्त तथ्यको खोज, अनुसन्धान गर्न कयौं कुराहरू बाँकी छन् । जो यो मानव जीवन शैलीबाट असम्भव छ । किनकी सकारात्मक विचार शुद्ध चेतनाबाट मात्र संभव छ । जीवनपद्धति र ज्ञान प्राप्त गर्ने असल माध्यम वैदिक वाङ्मय हो । भौतिकवादी मतले उठाएका कयौं कुराहरू पनि अनुमानित नै छन् । वैज्ञानिक अनुसन्धानबाट प्रमाणित कतिपय कुराहरू पूर्वीय दर्शनले हज्जारौं वर्ष अगाडि नै लिपिबद्ध गरेको छ । ज्योतिषशास्त्र तथा आयुर्वेद यसका बलिया प्रमाण हुन । निकोलस कपर्निकसले १५औं शताब्दीमा सौरमण्डलको वैज्ञानिक अध्ययन गरी आधुनिक नक्षत्रशास्त्रको स्थापना गरे । सूर्य केन्द्रित सिद्धान्त यिनको महत्वपूर्ण उपलब्धि हो । पछि केप्लर, ग्यालिलियो, न्यूटन आदि वैज्ञानिकले यिनको सिद्धान्त अनुसरण गरे । ग्यालिलियो गेलिलीले १६ औं शताब्दीमा टेलिष्कोप आविष्कार गरेर असंख्य ताराहरूको संयोगबाट आकाशगङ्गाको निर्माण भएको खोज गरेका थिए । स्टिफेन हकिङले आफ्नो पुस्तक ‘A Brief History of Time’ (सन् 1988)मा Black hole र Big Bang बारे नयाँ तथ्य प्रस्तुत गरेका छन् । यिनले सापेक्षताको सिद्धान्त र क्वान्टम सिद्धान्तलाई समावेश गरी ब्रह्माण्डको उत्पत्ति महाविष्फोटबाट भएको अनुमान गरेका छन् । जति वैज्ञानिकहरूले जुन अनुमान गरेका छन सो तथ्यको सम्पुर्ण स्रोत वैदिक विज्ञान नै हो । ऋग्वेदको उषा सुक्त अनि नासदियसुक्तमा ब्रह्माण्ड उत्पत्ति, ग्रहहरूको निर्माण आज भन्दा हजारौं वर्ष अगाडि कसरी लेखियो ? वेदमा भएका सबै कुराहरूको वैज्ञानिकता पुष्टि गर्न यसको गहन अध्ययन तथा अनुसन्धान हुनु आवश्यक छ । जति कुरा आधुनिक विज्ञानले अनुसन्धान गरेको छ, ती सबै वैदिक विज्ञानका देन हुन । ऐतेरेय ब्राम्हण र गोपथ ब्राम्हणमा सूर्यको उदय वा अस्त नहुने कुरा उल्लेख छ । सूर्यको न उदय हुन्छ न अस्त, सूर्य आफ्नै स्थानमा रहन्छ र पृथ्वीले त्यसको परिक्रमा गर्दा दिन र रात हुने मानिएको छ ।
स वा एष (आदित्य) न कदाचनास्तमेति, नोदेति । (ऐतरेए ब्राम्हण ३।४४)
स वा एष (आदित्य) कदाचनास्तमयति, नोदयति । (गोपथ ब्राम्हण २।४।१०)
ऋग्वेदमा पृथ्वीले सूर्यको परिक्रमा गर्ने कुरा बताईएको छ । पृथ्वी (क्षाः) सूर्य (शुष्णा) को चारैतिर घुम्छ । यस्तै यजुर्वेदले पनि पृथ्वी (गौः) अन्तरिक्षरुपी माता जस्तै भएर पितारुपी सूर्यको चारैतिर घुम्ने कुरा गरेको छ ।
क्षाः शुष्णं परि प्रदक्षिणित् । (ऋग्वेद १०।२२।१४)
आयं गौः पृश्निरक्रमीद् असदन् मातरै पुरः । पितरं च प्रयन् स्वः । (यजुर्वेद ३।६)
यजुर्वेदमा पृथ्वी, सूर्य लगायत सबै ब्रम्हाण्ड घुम्छ भनिएको छ । समाववर्ति पृथिवी समुषाः समु सूर्यः । समु विश्वमिद जगत् । (यजुर्वेद २०।२३)
ऋग्वेदमा सूर्यको आकर्षण शक्तिका कारण संसारलाई अड्डयाएको भनिएको छ ।
सूर्येण उत्तभित्ता द्यौः । (ऋग्वेद १०।८५।१) अस्कम्भने सविता द्याम् अद्वंहत् । (ऋग्वेद १०। १४९।१)
ऋग्वेद र यजुर्वेदका अनुसार सूर्यकै आकर्षण शक्तिबाट पृथ्वी अडेको छ ।
सविता यन्त्रैः पृथिवीम्-अरम्णात् । (ऋग्वेद १०।१४९।१) दाधर्थ पृथिवीम् अभितो मयूखैः । (यजुर्वेद ५।१६)
अथर्ववेदमा सूर्यका किरणमा ७ वटा रङ्गहरू भएको र त्यसैबाट वर्षा हुने कुराको बयान छ ।
अव दिवस्तारयन्ति सप्त सूर्यस्य रश्मयः । आपः समुद्रिया धाराः । (अथर्ववेद ७।१०७।१)
पदार्थ र उर्जा एक अर्कामा रुपान्तरण हुन्छन् भनि ऋग्वेदमा उल्लेखित छ । त्यसमा भनिएको छ ‘अदिति’ (अनश्वर प्रकृति अथवा पदार्थ जसलाइ matter भनिन्छ) बाट ‘दक्ष’ अर्थात उर्जा energy उत्पन्न हुन्छ जुन २० औं शताब्दीमा आइन्स्टाईनले (E=mc2) भनेर प्रमाणित गरे ।
अदितेर्दक्षो अजायत, दक्षाद् उ-अदितिः परि । (ऋग्वेद १०।७२।४)
यस्तै पृथ्वीको चारैतर्फ वायुमण्डलमा ओजोन तह छ भनि ऋग्वेद र अथर्ववेदमा उल्लेख छ । ऋग्वेदमा ओजोन तहलाई ‘महत् उल्ब’ अर्थात मोटो पत्र भनिएको छ । र यसलाई गर्भस्थ शिशुहरूको रक्षा गर्ने झिल्ली जस्तै पृथ्वीको रक्षाकबच भनिएको छ ।
महत् तदुल्बं स्थविरं तदासिद् । येनाविष्टितः प्रविवेशिथापः ।। (ऋग्वेद १०।५१।१), तस्योत जायमानस्य-उल्ब आसीद् हिरण्ययः । (अथर्ववेद ४।२।८)
अथर्ववेदमा वृक्षहरूमा आत्मा भएको कारण वृक्षहरूले सास लिने गर्छन भनि उल्लेख गरिएको छ । जुन पछि भारतीय वनस्पतिविद् जगदीशचन्द्र बसु(बोस) (सन्१८५८-१९३७)ले वनस्पतिको विकासक्रम नाप्ने यन्त्र क्रेस्कोग्राफको आविष्कार गरी रुख विरुवाहरूमा पनि जीवन, चेतना र स्नायु प्रणाली छ भनी प्रमाणित गरेका छन् ।
महद् ब्रम्ह‘ येन प्राणन्ति वीरुधः । (अथर्ववेद १।३२।१), अस्थुर्वृक्षा ऊध्र्वस्वप्नाः । (अथर्ववेद ६।४४।)
सूर्यका किरण हृदय रोग नाशक र रक्त अल्पता हटाउने औषधीको रुपमा प्रयोग गर्न सकिने कुरा ऋग्वेदमा उल्लेख छ । जस अनुसार सूर्योदयका समयका किरणहरू छातिमा १५ मिनेट सम्म राख्नाले हृदय रोग, शिरदर्द, रक्तअल्पता, कमलपित्त निको हुन्छ ।
उद्यन् अद्य मित्रमह, आरोहन् उत्तरां दिवम् । हृद्रोगं मम सूर्य, हरिमाणं च नाशय ।। (ऋग्वेद १।५०।११)
अथर्ववेदमा हस्तस्पर्श (हालको भाषामा थेरापि) चिकित्साबाट कयौं रोगहरू उपचार गर्न सकिने कुरा उल्लेख छ । अयं मे हस्तो भगवान, अयं मे भगवत्तरः । अयं मे विश्वभेषजोकयं शिवाभिमर्शनः ।। (अथर्ववेद ४।१३।६) हस्तभ्यां दशशाखाभ्यां जिव्हा वाचः पुरोगवी । अनामयित्नुभ्यां हस्ताभ्यां ताभ्यां त्वाभि मृशामसि ।। (अथर्ववेद ४।१३।७)
पहाडमा प्रसस्त मात्रामा खनिज तत्व, ग्याँस तथा समुद्र मुनि अनेक रत्नहरू पाइने कुरा ऋग्वेद र यजुर्वेदमा उल्लेख गरिएको छ ।
वसुमन्तमं वि पर्वतम् । (ऋग्वेद २।२४।२), गुहा निधिं परिवीतम् अश्मनि-अनन्ते । (ऋग्वेद १।१३०।३)
सं सूर्येण दिद्युतद् उदधिर्निधिः । (यजुर्वेद ३८।२२), चतुःसमुद्रं धरुणं रयीणाम् । (ऋग्वेद १०।४७।२)
यी त सामान्य दृष्टान्त मात्र हुन् । हेलिष्कोप, टेलिष्कोप बिना नै धर्ती गोलो छ, वृहस्पति सबै भन्दा ठूलो र निलो ग्रह, शनि ग्रहको वरिपरी माला जस्तो रहेको, पहेंलोरङ्ग भएको ग्रह, मङ्गल ग्रह रातो ग्रह, असंख्य तारा मण्डल भएको कुरा वेदमा उल्लेख छ । महाभारत भिष्मपर्वमा विश्वको अन्य भौगोलिक ठाउँँहरूको सन्दर्भ पनि वर्णन गर्दे सम्पूर्ण पृथ्वीको मानचित्र उललेख गरिएको छ । आज पनि ग्रहण लाग्ने समय ज्योतिषशास्त्रले जुन तथ्य बताउँछ के त्यसका फरक पर्छ र ? किन अमेरिकी वैज्ञानिक Haward को शोधपछि मानियो कि गायत्री मन्त्रमा ११०००० frequency को कंपन छ भन्ने प्रमाणित भयो ? यज्ञ गर्नु अन्धविश्वास हो भने आधुनिक विज्ञानलाई सोध्नुहोस् गोबरमा घ्यू बाल्नाले अक्सिजन उत्पादन हुन्छ र वातावरण स्वच्छ हुन्छ, किन ?? यदि रामायण झुठो हो भने कसरी दुनियाभरमा केवल रामसेतुको पत्थर आज पनि पानीमा तैरिरहन्छ ? यदि महाभारत झुठो हो भने कसरी भीमपुत्र घटोत्कचको विशालकाय कंकाल २००७ मा नेशनल जिओग्राफीको टीमले उत्तर भारतमा भेट्यो ? अफगानिस्तानको कान्दाहारको गुफामा ५००० वर्ष पुरानो महाभारतकालिन विमान कसरी अमेरिकी सैनिकले भेट्यो ? के आयुर्वेद औषधीहरूको विज्ञान होइन र ? आज बन्ने रासायनिक औषधी भन्दा आयुर्वेदिक औषधीको महत्व किन फरक छ ? किन आज सारा दुनिया योग-प्राणायामको पछि लागेको छ ? किन अमेरिकाले आयुर्वेदमा हजारौं वर्ष पहिले उल्लेखित पवित्र गौमुत्रको Patent अधिकार लिएर क्यान्सर जस्ता रोगको औषधि बनाइरहेको छ ? किन अमेरिकाको सेटन विश्वविद्यालयमा गीता पढाई भइरहेको छ ?
विष्णुका अवतार मानिने धन्वन्तरी वेद तथा पुराणहरूमा वर्णन गरिएअनुसार देवी देवताका चिकित्सक मानिन्छन् । आयुर्वेदशास्त्रका प्रणेता धन्वन्तरि सुस्वास्थ्यका वरदाता मानिन्छन् । जडिबुटि प्रयोग गरी रोग निदान र सौन्दर्यबृद्धि आदि कार्यमा आयुर्वेदको सफल प्रयोग गरिएको छ । आयुर्वेदका पिता मानिने सुश्रुतलाई यिनले शारीरिक चिरफार सम्बन्धी विषय पढाएका थिए । इसापूर्व तेस्रो शताब्दीका, हिन्दू चिकित्सा प्रणालीका पिता भनेर चिनिने चरक र यिनले लेखेको चरक संहितामा मानव शरीर रचना, रोग निदान बिधि र भ्रूणरचना (Embio and genatics) बारे उल्लेख छ । इसापूर्व आठौं शताब्दीमा भारतको वाराणसीमा गंगा नदीको तट क्षेत्रमा आश्रम तथा कार्यक्षेत्र भएका सुश्रुतले सुश्रुत संहिता रचना गरेका थिए । जसमा उपचार प्रयोजनका लागि ३०० प्रकारका चिरफारका तरिकाहरू, १२० प्रकारका चिकित्सा सम्बन्धी उपकरणहरू र शरीर चिरफारका ८ वटा विधिहरूबारे चर्चा गरिएको छ । यिनलाई हिन्दू सर्जरी विद्याका पिता पनि भनिन्छ । यिनको सुश्रुत संहिता अरबी भाषामा अनुवाद गरियो र त्यहीबाट युरोपेली भाषामा समेत अनुवाद गरिएको थियो । कणाद महर्षि इस्वीको दोस्रो शताब्दीमा प्रभास भन्ने ठाउँ (सम्भवत नेपालको पाल्पा जिल्ला) मा रहेको अनुमान गरिन्छ जो आचार्य सोम शर्माका शिष्य हुन् लाई हिन्दू जगत्का संभवत् विश्वकै पहिला आणविक विज्ञानका विद्वान मानिन्छन् । यिनले आफूले लेखेको वैशेषिक दर्शन नामको ग्रन्थमा परमाणुको सूक्ष्म अध्ययन गरेका थिए । परमाणुबाट समयको मापन गर्न सकिन्छ भन्ने यिनको निष्कर्ष थियो ।
वैदिक विज्ञान यतिमात्र सत्य हो र ? त्रेतायुगिन अयोनिज नारी सीता विराटनगरमा फेलापरेको तथ्य र पहिलो टेस्टट्युब बेबी आचार्य द्रोणलाई मिथ्या मान्ने हो भने आधुनिक विज्ञानले अयोनिज उत्पादन गरेका जीव कसरी सत्य भए ? आधुनिक विज्ञान टेस्टट्युब बेबी जन्माई रहेको छ तर गुरु द्रोणचार्य विश्वको पहिलो टेस्टट्युब बेबी भएको किन स्विकार्न सकिरहेको छैन ? अमेरिकाको एन. मेम्फिस विश्वविद्यालयका भौतिक विज्ञानको प्रोफेसरले उच्च क्षमताको कम्प्यूटरद्वारा प्लानेटेरियम सफ्टवेयर प्रयोग गरी चार वर्षको प्रयासबाट महाभारत युद्ध मिति पत्ता लगाएका छन् । महाभारतको युद्ध प्रारम्भ २२ नोभेम्बर ३०६७ बि.सी. र अन्त भएको दिन १२ डिसेम्बर ३०६७ हो ।
ज्योतिषशास्त्रअनुसार यसवर्ष कलियुगको ५१२२ वर्ष बितिसकेको छ । हाल नासाका वैज्ञानिकका अनुसार सूर्यबाट ॐ को आवाज कसरी आईरहेको छ ? हाम्रा वेद पुराण लगायतका धार्मिक ग्रन्थमा रहेका बौद्धिक सम्पत्तिहरूको चोरी भएको छ । खगोल विज्ञान वेदको आँखा हो किनभने सृटिको यावत् गतिविधिको निर्धारण काल वा समयले गर्दछ । काल वा समयको ज्ञान ग्रहको गतिबाट थाहा हुन्छ । ऋग्वेद, शतपथ ब्राहमण लगायतका ग्रन्थमा नक्षत्र, चन्द्रमास, सौरमास, मलमास, ऋतु परिवर्तन, उत्तरायण, दक्षिणायन, आकाशचक्र, सूर्यको महिमा, कल्पको मापन आदि सन्दर्भका अनेक कुराहरू उल्लेख छन् । यी उल्लेखित कुराहरूको ऋषिहरू प्रत्यक्ष अध्ययन गर्दथे । ऋषि दीर्घतम सूर्यको अध्ययन गर्दागर्दै अन्धा भएका थिए भने ऋषि गुत्स्मदले चन्द्रमामा हुने परिमाणका बारेमा गहन अध्ययन गरेका थिए । यजुर्वेदको अठारौं अध्यायको चालिसौं मन्त्रमा सूर्यका किरणहरूले चन्द्रमा प्रकाशमान हुने कुरा स्पष्ट बताएको छ । सुषुम्ण्ः सूर्यरश्मि चन्द्रमा गन्धर्व (यजुर्वेद १८ः४०)। पूर्वीय संसारमा पनि यन्त्र उपकरणको प्रयोग गरेर खगोल वा अन्तरिक्षको निरीक्षण गर्ने पद्धति रहेको थियो । आजभन्दा १५०० वर्षभन्दा पूर्व आर्यभट्टको समयमा नै पाटलीपुत्रमा वेधशाला (Obervatory) थियो र जसको उपयोगबाट आर्यभट्टले कयौं निष्कर्ष निकालेका थिए । सिद्धान्त शिरोमणि ग्रन्थका रचयिता भास्कराचार्य सो ग्रन्थको यन्त्राध्याय प्रकरणमा के भन्दछन् भने काल याने समयको सूक्ष्म खण्डहरूको ज्ञान हासिल गर्न बिना यन्त्र सम्भव छैन । उनले मुख्यतः नाडीबल यन्त्र, यष्टि यन्त्र, घटी यन्त्र, चकु यन्त्र, शंकु यन्त्र, चाप, तुर्य, फलक आदि यन्त्रका बारेमा सविस्तार गरेका छन् । प्रत्यक्ष निरीक्षण एवं अचूक ग्रहीय वा काल गणनाको इतिहास ६००० वर्ष भन्दा पुरानो पाइन्छ । न्यूटनले गुरुत्वाकर्षणको खोज गर्नुभन्दा ५५० वर्ष पूर्व भास्कराचार्यले सिद्धान्त शिरोमणि गोलाध्याय भुवनकोशमा नै गुरुत्वाकर्षणका बारेमा प्रकाश पारेका थिए ।
वस्तुहरूको शक्ति बडा बिचित्रको हुन्छ । पृथ्वी आफ्नै बलले टिकेको छ र जसलाई धारणात्मिका शक्ति वा गुरुत्वबल भनिन्छ । आकाशमा ग्रह निरालम्ब हुन्छन् किनभने विविध ग्रहहरूको गुरुत्व शक्ति सन्तुलन भइरहेको हुन्छ । श्री धर्मपालले Indian Science and Technology in the Eighteenth Century नामक पुस्तकलेखेका छन् । उक्त पुस्तकमा प्रख्यात खगोलविद् जोन प्लेफेयरको एक लेख Remarks on thr Astronomy of the brahmins (1790) छ । उक्त लेखले के सिद्ध गरेको छ भने ६००० वर्ष पूर्व नै भारतमा खगोलको ज्ञान थियो र यहाँको गणना पद्धति दुनियाभर प्रयुक्त हुन्थ्यो । प्रकाशको गति सम्बन्धमा ऋग्वेदको प्रथम मंडलमा भनिएको छ । मनोन योऽध्वनः सद्य एत्येकः सत्रा सूरो वस्व ईशे (१ः७१–९) अर्थात मन जस्तै शीघ्रगामी जो सूर्य स्वर्गीय पथ पर एक्लै जान्छन् । तरणिर्विश्वदर्शतो ज्योतिकृदसि सूर्य विश्वमाभासिरोचनम् (१ः५०–९) अर्थात हे ! सूर्य, तिमी तीव्रगामी एवं सर्वसुन्दर तथा प्काशका दाता र जगतलाई प्रकाशित गर्दछौ । योजनानां सहस्रे द्वे द्वशते द्वे च योजने। एकेन निमिषार्धन क्रममाण नमोऽस्तुते । अर्थात आधा निमेषमा २२०२ योजन मार्गक्रमण गर्ने प्रकाश तिमीलाई नमस्कार छ ।
१ योजन= ९ मील १६० गज
१ योजन = ९.११ मील
१ दिन रात = ८१०००० अर्धनिमेष
१ सेकेन्ड = ९.४१ अर्धनिमेष
यस प्रकार २२०२×९.११=२००६०.२२मील प्रति अर्धनिमेष तथा २००६०.२२×९.४१=१८८७६६.६७ मील प्रतिसेकेन्ड । यसै सिद्धान्तमा आधुनिक विज्ञानको प्रकाशको गति निर्धारित छ ।
वैदिक विज्ञान, सत्य, त्रेता अनि द्वापरयुगका शिक्षा, सभ्यता र आविष्कार आज पर्यन्त उत्तिकै सान्दर्भिक छन् । आधुनिक विज्ञानले पनि प्रकृतिको झलकको अनुसन्धान गरेर विगत धेरै वर्षदेखि कार्य गरिरहेको छ । आधुनिक भौतिक विज्ञानको एकीकृत शक्तिपुञ्जको केन्द्रमा, एकीकृत प्राकृतिक शक्तिको रुपमा परिभाषित गरेको छ । यही प्राकृतिक नियममा नै आश्रित रहेर विभिन्न अणु, परमाणु, कोष, कोषिकामा मानव तथा अन्य जीवित प्राणीदेखि सम्पूर्ण ब्रह्माण्डमा व्यक्त भएको छ । हाम्रो ब्रह्माण्ड द्रूत गतिमा अघि बढ्दै परिवर्तित अवस्थालाई पनि झेल्दै परिवर्तन भै रहेको छ । ब्रह्माण्डको स्थिर स्वरुपमा गतिशील क्रियाकलापहरूले सम्पूर्ण गतिलाई चलायमान गराएको भाव प्रष्ट हुन्छ । कहिल्यै परिवर्तन नहुने प्रकृतिको मूल नियमलाई वेद र वैदिक वाङ्मयमा आत्मा शाश्वत हो शरीर भने फेरिरहन्छ भनिएको छ । आत्मा नै ब्रह्माण्डको संरचना र गतिशीलताको स्रोत हो । वेदको संरचना सृष्टिको संरचना हो, अतः वेद नै सृष्टि हो । वैदिक ऋषिहरूले आफ्नो वैदिक विज्ञानमा एकताबाट विविधताको प्रक्रियालाई व्याख्या गरेका छन् । यसर्थ भौतिकवादले वर्तमान समयमा प्रमाणित गरेको कुरा संसारको आदिग्रन्थ वेदले हजारौं वर्षअगाडि नै उल्लेख गरिसकेको छ । हाल युरोप तथा पश्चिम विश्वमा वैदिक विज्ञानको गहन अध्ययन तथा अनुसन्धान भैरहेको छ, तर दूर्भाग्य ! प्राचीन सभ्यताको जननी हिम्वत्खण्डको यस पूण्य भूमिमा वैदिक सभ्यता लोप हुन्छ कि भन्ने सन्त्रास छ । यस धरामा कति थरीका प्राणीहरू उत्पत्ति भई लोप भए होलान् ? समयको प्रवाहमा कतिको अस्तित्व स्थापित रहिरह्यो होला ? ब्रहमाण्ड तथा मानवजातिको उत्पत्ति र विकासको तथ्यपरक खोज युगौंयुगसम्म भइरहने छ । अपितु यो साध्य होईन, यो सानो दृष्टान्त आगामी खोजको लागि मार्ग दर्शक बन्ने छ ।
सन्दर्भ सामाग्रीहरू :
१) ऋग्वेद, यजुर्वेद, अथर्ववेद
२) श्रीमद्भगवद्गीता यथारुप
३) वैदिक साहित्य एवं संस्कृति (भारतीय विद्वान डा.कपिलदेव दुवेदी)
४) समाजशास्त्र र मानवशास्त्रको अध्ययन
५) विभिन्न पत्रपत्रिका तथा लेख रचनाहरू
६) धनञ्जय ऋषि र हुमागाईंको इतिहास, पण्डित तिलकप्रसाद उपाध्याय हुमागाईं दर्पण(२०७२)
(लेखक रूकुम पश्चिम, वाँफीकोटस्थित स्यार्पु बहुमुखी क्याम्पसमा उपप्राध्यापक छन् ।)
प्रतिक्रिया