सन् ८० को दशकदेखि नै विभिन्न मुलुकहरूले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आएका भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले यसको अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्ध विभिन्न अभियानहरू सुरु भए ।
✍ बबिता बस्नेत
नोभेम्बर २५ तारिखलाई महिलामाथि हुने हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाइँदै आएको छ । तर, अन्य विभिन्न अन्तर्राष्ट्रिय दिवसहरू जस्तै यो दिवसलाई एक दिनमा सीमित नगरेर १६ दिनसम्म विभिन्न अभियानका साथ मनाइने गरेको छ । ‘१६ दिने अभियान’का रूपमा परिचित यो दिवसको अवसर पारेर विश्वव्यापी रूपमै विभिन्न कार्यक्रमहरूको अयाोजना गर्ने गरिएको छ । यो दिवसको सुरुवात सर्वप्रथम ल्याटिन अमेरिकाबाट गरिएको थियो । सन् १९८१ को नोभेम्बर २५ तारिखका दिन ल्याटिन अमेरिकामा यो दिवस मनाउँदा निकै अनौठो मानिएको थियो । त्यही दिवसको सुरुआतपछि ल्याटिन अमेरिकी महिलाहरू कस्ता-कस्ता हिंसाबाट पीडित भएका छन् भन्ने कुराको पहिचान पनि भएको थियो । त्यतिबेला महिलामाथि हुने घरेलु हिंसादेखि लिएर राजनीतिक बन्दी र राजनीतिक हिंसासम्मले बहसको स्थान पाएको थियो ।
ऐतिहासिक पक्ष
नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसाविरुद्धको दिवसको रूपमा मनाउनुका पछाडि यसको छुट्टै इतिहास छ । यो दिवसको सन्दर्भ डोमिनिकन गणतन्त्रका एकै परिवारका तीन दिदीबहिनीको हत्यासँग जोडिएको छ । मिरावल परिवारमा जन्मिएका यी तीन दिदीबहिनी राजनीतिक कार्यकर्ता थिए र, तत्कालीन त्रुजिलो तानाशाही सरकारले सन् १९६० मा उनीहरूको निर्मम हत्या गरेको थियो । जसलाई लिङ्गको आधारमा हुने राजनीतिक हिंसाको प्रतिरूप मानिन्छ । पेट्रिया, मिनर्भा र मारिया नाम गरेका यी तीन दिदीबहिनीहरू इनरिक रिमवल र मारिया मार्सिडिज रेजको सन्तानका रूपमा डोमेनिका गणतन्त्रको सिवास भन्ने ठाउँमा जन्मिएका थिए । सन् १९२४ मा पेट्रिया, १९२७ मा मिनर्भा र १९३५ मा मारियाको जन्म भएको थियो । यी तीनै जना दिदीबहिनीहरू आफ्नो मुलुकमा शिक्षित र सचेत महिलाका रूपमा परिचित थिए । विद्रोही स्वभावका यी दिदीबहिनीहरू तत्कालीन त्रुजिलो तानाशाहीको विरुद्धमा थिए । यी तीनैजना विवाहित थिए । राजनीतिक विद्रोहकै क्रममा आफूजस्तै विद्रोही राजनीतिक व्यक्तिहरूसँग यिनीहरूको विवाह भएको थियो । तर, आफ्ना पतिहरूभन्दा यिनीहरू बढी चर्चित थिए । तत्कालीन सरकारले ती तीन दिदीबहिनी र तिनका सबै परिवारलाई राज्यद्रोहको आरोप लगाएको थियो । उनीहरू पटकपटक जेल गएका थिए । मिनर्भा चारपटकसम्म जेल परेकी थिइन् । जेलमा दिइने चरम यातनाका बाबजुद यी दिदीबहिनीहरूले तानाशाही सरकारको विरोध गर्न छोडेका थिएनन् ।
यसै क्रममा सन् १९६० मा निरंकुश सरकारका विरुद्ध सशक्त आन्दोलनमा उत्रिने उद्देश्यले डोमिनिकाको एउटा शहरमा विशाल भेलाको आयोजना गरिएको थियो । जुन भेलामा पेट्रिया, मिनर्भा र मारिया तीनैजनाले सम्बोधन गर्ने कार्यक्रम थियो । तर, राज्यको हस्तक्षेपका कारण उक्त कार्यक्रम सफल हुन सकेन । उनीहरू पक्राउ परे । १९६० को सुरुआतमै त्यहाँको सरकारले उनीहरूलाई मुलुकको ठूलो समस्याको रूपमा घोषणा गऱ्यो । यसरी घोषणा गरेको ११ महिनापछि नोभेम्बर २५ तारिखका दिन उनीहरूको हत्या गरियो । उनीहरूको हत्या गर्नुअघि यिनका पतिहरूलाई जेलमा राखियो र जेलमा आफ्ना पतिहरूलाई खाना पुऱ्याउन गएको समय पारी उनीहरूको हत्या गरिएको थियो । यी मिरावल दिदीबहिनीहरूको हत्याले त्रुजिलो सरकारविरुद्धको आन्दोलन अरु सशक्त बन्यो । परिणामतः सो हत्याकाण्डको एक वर्षभित्रै डोमेनिकनमा निरंकुश त्रुजिलो सरकारको अन्त्य भयो । यी दिदीबहिनीहरूको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिइयो र उनीहरूको सम्झनामा विभिन्न कार्यक्रमहरूको आयोजना गर्न थालियो । डोमेनिकन गणराज्यमा अहिले पनि थुप्रै गीत, कविता र पुस्तकहरू यी दिदीबहिनीको सम्झनामा लेखिएका छन् । मुलुकप्रति उनीहरूको योगदानको चर्चा मुक्तकण्ठले गरिन्छ । उनीहरूको प्रसङ्ग मात्र कोट्याउँदा पनि त्यहाँ मानिसहरू रोमाञ्चित र भावुक एकैपटक हुन्छन् ।
संयुक्त राष्ट्रसङ्घबाट अनुमोदन
पेट्रिया, मिनर्भा र मारियाको प्रसङ्ग विभिन्न मुलुकहरू हुँदै संयुक्त राष्ट्रसङ्घसम्म पुग्यो । सन् १९९९ मा डोमेनिकन गणराज्य तथा अन्य ७४ वटा सदस्य राष्ट्रले नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मूलन दिवसको रूपमा मनाउने प्रस्ताव संयुक्त राष्ट्रसङ्घमा पेश गरे । संयुक्त राष्ट्रसङ्घको महासभाले यसलाई छलफलमा ल्याई १९९९ को डिसेम्बर १७ का दिन सर्वसम्मित रूपमा पारित ग¥यो । त्यसैले विभिन्न सङ्घ-संस्थालगायत संयुक्त राष्ट्रसङ्घीय प्रणाली पनि अहिले विश्वव्यापी रूपमा यो अभियानमा सहभागी हुँदै आएको छ ।
संयुक्त राष्ट्रसङ्घीय प्रणालीले यो दिवस मनाउने क्रममा महिलामाथि हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याहरूको पहिचान गरी तिनको समाधानका लागि राज्यहरूलाई कानुनी आधार तय गर्न दबाब दिने कार्य गर्दै आएको छ । मानवअधिकार नै महिला अधिकार हो भनी वकालत गर्दै संयुक्त राष्ट्रसङ्घीय प्रणालीले त्यसको कार्यान्वयनका लागि जोड दिँदै आएको छ ।
विश्वव्यापी अभियान
सन् ८० को दशकदेखि नै विभिन्न मुलुकहरूले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आएका भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले यसको अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्ध विभिन्न अभियानहरू सुरु भए । संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष यो दिवसका लागि एउटा विशेष नारा तय गर्दै आएको छ । यो वर्षको राष्ट्रिय नारा ‘हामी सबैको प्रतिवद्धता : लैंगिक हिंसा अन्त्यका लागि एकबद्धता’ रहेको छ । अन्तराष्ट्रिय नारा टुवार्डस थटी इयर्स अफ बेइजिङ डिक्लरेसन एण्ड प्लाट्फर्म आफ एक्शन : युनाइट टु इण्ड भाइलेन्स एगेन्सट् वीमेन रहेको छ । विश्वव्यापी रूपमा एउटै नारा भए पनि प्रायः सबै मुलुकहरूले राष्ट्रसङ्घको नारालाई आफ्नो मुलकुमा भइरहेका हिंसा र त्यस विरुद्ध चाल्नुपर्ने अभियानसँग मिल्दोजुल्दो गरी कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छन् ।
महिलाको आत्मसम्मान, यौनिक हिंसादेखि लिएर मानसिक हिंसासम्मका थुप्रै कुराहरू यस बीचमा उठाइएका छन् । नोभेम्बर २५ देखि डिसेम्बर १० का बीचमा पर्ने अन्य दुई वटा महत्वपूर्ण दिवसहरूलाई पनि यही १६ दिने अभियानअन्तर्गत राखेर मनाउने गरिएको छ । जसमा डिसेम्बर १ विश्व एड्स दिवस र डिसेम्बर १० विश्व मानवअधिकार दिवस पर्दछन् । यस १६ दिने अभियान अन्तर्गत विश्वव्यापी रूपमै महिला हिंसासँग सम्बन्धित चरणवद्ध अन्तरक्रियाहरू, नाटक, सडक नाटक, पोष्टर तथा पम्प्लेट प्रतियोगिता, गीत/कविता प्रतियोगिता, सार्वजनिक सुनुवाइ सूचना/शिक्षा सामाग्रीहरूको प्रदर्शन, संचारअभियान, गोलमेच छलफल आदि कार्यक्रमहरू गरी मनाउने गरिएको छ ।
नेपालमा १६ दिने अभियान
संयुक्त राष्ट्रसङ्घले सन् १९९९ मा नोभेम्बर २५ लाई विव्यवव्यापी रूपमै महिला विरुद्धको हिंसाको रूपमा मनाउने निर्णय गर्नुअघि नै विभिन्न मुलुकहरूले नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसाविरुद्ध दिवसको रूपमा मनाउन सुरु गरिसकेका थिए । यसै क्रममा नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाउन थालिएको हो । सन् १९९७ मा साथी संस्थाले महिला हिंसाविरुद्ध राष्ट्रिय सञ्जाल तथा संयुक्त राष्ट्रसङ्घीय महिला विकास कोष (युनिफेम) सँगको सहकार्यमा सडक नाटक, पोष्टर तथा कविता प्रतियोगिता र संचार अभियानको आयोजना गरी यो दिवस मनाउन प्रारम्भ गरेको थियो । नेपालमा अहिले विभिन्न सङ्घ-संस्था, संयुक्त राष्ट्रसङ्घीय प्रणाली र नेपाल सरकारसमेतको आयोजनामा व्यापक रूपमा कार्यक्रमहरू गरी अधिराज्यव्यापी रूपमै यो दिवस मनाइँदै आएको छ ।
प्रतिक्रिया