आजको पञ्चाङ्ग एवम् राशिफल (१९ मङ्सिर २०८१ बुधबार, ४ डिसेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ मङ्सिर २०८१ बुधबार, ४ डिसेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ मार्गशीर्ष १९ गते तद्अनुसार सन् २०२४ दिसेम्बे४ तारिख बुधबार मार्गशीर्ष शुक्ल तृतीया तिथि पूर्वाषाढ़ा नक्षत्र गण्ड योग वणि करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४१ मा भयो र सूर्यास्त साँझ १७ः०१ मा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन मिश्रित फलदायी रहला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्, तर महत्वपूर्ण काममा दोधारको अवस्था सिर्जना हुनसक्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । आत्मीयजनसँग भेटघाट तथा पारिवारिक सहयोग प्राप्त हुने देखिन्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । पुरानो स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । कमी–कमजोरीलाई सुधार गर्ने मौका मिल्ला । मान प्रतिष्ठा फैलिनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । कल्पना र भावनामा केन्दित भइनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, नियन्त्रित अभिव्यक्ति दिनु उचित हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन् । धन आर्जनको योग छ । दौडधुप वृद्धि होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – नयाँ कामको प्रस्ताव आउने तथा विगतको सफलताले थप काम गर्न हौसला मिल्ने समय छ । अभिप्रेरित गर्नेहरू भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउनसक्ने योग छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । साझेदारीको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ । रचनात्मकता बढ्नेछ भने समस्याको समाधान प्राप्त होला ।

कर्कट – रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । साहसका साथै प्रेमभाव वृद्धि हुनेछ । आफन्त र मित्रजनबाट सहयोग प्राप्त हुँदा सुख बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह – दिन केही चुनौतीयुक्त रहला । नसोचिएका समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि असमझदारी बढ्ने योग रहेकोले व्यवहारमा सरलता अपनाउनु हितकर हुनेछ । अथक मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमात आकर्षित हुने काम सम्पादन गर्न सकिनेछ । लापर्वाहीले खर्चको मात्रा केही बढ्ने सम्भावना छ । सन्तान पक्षबाट सुख मिल्नेछ ।

कन्या – सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ, तथापि जटिल काम सम्पादन हुनाले उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ भने अध्ययन–अध्यापन कार्यमा प्रगति हुनेछ । विशेष योजनाको कार्य अघि बढ्न सक्छ । पहिलेका कमजोरीलाई सुधार्ने मौका प्राप्त हुनेछ । आफन्तको साथले कार्यगति बढ्ने देखिन्छ ।

तुला – बोली र व्यवहारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा राम्रै साथ दिनेछन् । विशिष्टजनको आशीर्वादले रोकिएको काम बन्नसक्छ । नयाँ तथा उपलब्धिपूर्ण कामको अवसर प्राप्त हुने योग छ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । साथीभाइको साथले पराक्रम बढ्नेछ । आरोग्यबल वृद्धि होला । धनसम्पदामा बढोत्तरी हुनेछ ।

वृश्चिक – मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिने समय छ । उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनाले नियमित काममा बढोत्तरी होला । मेहनतले सम्मानित स्थान दिलाउने योग छ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित रहला । परिवारमा सामान्य असमझदारी बढ्न सक्छ, सजगता अपनाइ व्यवहार गर्नु उचित हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

धनु – अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने देखिन्छ । कामले धेरैको मन लोभ्याउन सकिएला । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ होला । आरोग्यबल बढ्नेछ । तथापि, चोरी वा ठगीमा परिने योग रहेकोले सावधानी अपनाउनुहोला । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु उचित होला ।

मकर – न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने समय छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउला । आर्थिक पक्ष सुदृढ बन्नेछ । कसैबाट उपहार प्राप्त हुने योग छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिएला । आम्दानीसँगै खर्च पनि केही वृद्धि हुने देखिन्छ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ ।

कुम्भ – सहयोगीहरूले साथ दिने र काममा सोचेजस्तै सफलता मिल्ने समय छ । कृषिकर्म र व्यावसायिक काममा विशेष लाभ मिल्ला । आयबल बढ्नेछ । टाढिएका आफन्तहरू नजिकिनेछन् । घर बसेरै विभिन्न काम सम्पादन गर्न सकिने योग छ । हाँसखेल र मनोरञ्जनका अवसर जुर्ने देखिन्छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति होला ।

मीन – बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । चुनौतीका बाबजुद कर्मबल बढ्नेछ । अनावश्यक दौडधुपमा समय बित्नसक्छ, सजग रहनुहोला । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । यात्राको सम्भावना छ तर आज अनावश्यक यात्राबाट जोगिनु उचित हुनेछ । आफन्तको साथ मिल्नेछ । मिठो भोजन प्राप्तिको योग छ ।