लैंगिक हिंसालाई गहन रूपमा बुझ्न जरुरी छ । यो यौन शोषण मात्र नभएर महिलाविरुद्ध हुने सामाजिक/सांस्कृतिक लगायत विविध विभेद नै समग्रमा लैंगिक हिंसाभित्र पर्ने भएकाले यसको अन्त्य गर्न घर, समाज र राज्यले संयुक्त पहल गर्नुपर्छ । त्यसका साथै महिलाबाट पुरूषतिर सर्दै गएको हिंसाका घटना रोक्न पनि जरूरी छ ।
✍ द्रोण अधिकारी

‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ राष्ट्रिय नाराका साथ नेपालभरी यही मङ्सिर १० गतेदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । उक्त अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विगतमा जस्तै गैरसरकारी संघ-संस्थासँग सहकार्य गरेर नेपालमा यो अभियान चलाइरहेको छ । संसारभरी चल्ने यो अभियान हरेक वर्ष महिला हिंसाविरूद्धको १६ दिने अभियान नेपाल देशभरी भव्य रूपमा मनाउने गरिएको छ । प्रत्येक वर्ष मङ्सिरमा १६ दिनसम्म मनाइने यस अभियानले कति सफलता पायो भन्ने हिसाब किताव नभए पनि बिरालो बाँधेर श्राद्ध गरेकै शैलीमा निरन्तर मनाइदै आइरहेको छ ।
नेपालमा वि.सं. २०५४ देखि लैंगिक हिंसाविरुद्ध विविध चेतनामूलक कार्यक्रमका रूपमा राज्य स्तरबाटै अभियान चलाउन सुरू गरिएको हो । हरेक वर्ष यस अभियानको एउटा नयाँ अन्तर्राष्ट्रिय नारा तय गरेर दिवस मनाइन्छ । नेपालमा मात्र नभएर यो अभियान विश्वभरी नै एउटै समयमा सञ्चालित हुने गरेको छ । अभियान अवधिभरी नारी पुरूष मिलेरै विविध कार्यक्रम पनि गर्ने गरेका छन् । अभियानको उद्देश्य कुनै पनि महिलालाई हिंसा हुनु/गर्नु भनेको कसैकी आमा/दिदीबहिनी/छोरी हिंसामा पर्नु हो भन्ने बोध गराउनु हो । यस अवस्थाको बोध नहुँदासम्म महिलामाथिको हिंसा नाराले मात्र अन्त्य हुने छैन ।
सन् १९६० नोभेम्बर २५ का दिन डोमिनिकन रिपब्लिक देशका तीन दिदीबहिनीले त्रुजिलो सरकारको शासनमा महिलालाई हुने गरेका भेदभाव र अन्यायविरुद्ध सशक्त आवाज उठाउँदै अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्ध दिवस सुरू गरेका थिए । सन् १९९९ डिसेम्बर १७ तारिखका दिन संयुक्त राष्ट्रसंघले नोभेम्बर २५ लाई अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवस घोषणा गरेको थियो । त्यसयता संसारभर यो दिवस नोभेम्बर २५ देखि १६ दिनसम्म मनाउने प्रचलन रहेको छ । हाम्रो समाजमा भने अभियान सकिएको भोलिपल्ट हिंसाविरूद्ध नारा लगाउने नै महिला हिंसाका कारक बनेर आउने अवस्था अहिलेसम्म जीवितै छ । जो बढी क्रान्तिकारी भएर महिला हिंसाविरूद्ध कुर्लन्छ त्यही हिंसासित गासिएर आएका घटना धेरै छन् ।
हरेक घरपरिवारबाटै शिक्षा, स्वास्थ्य, खानपान, जीवनशैली, स्वतन्त्रता र अवसरमा छोराछोरी दुवैलाई समान अधिकार दिने संस्कार विकास हुँदै जाने हो भने कुन समाजमा महिला हिंसा हुँदैन थियो । अभियानले नेपाली समाजमा चेतना बढाए पनि हिंसाअन्त्यको सवालमा खासै सुधार अएको छैन । नेपालमा विभिन्न समयमा भएका क्रुर हत्या, बलात्कार तथा बेचबिखनका अत्यासलाग्दा घटनाहरूले महिलाहिंसा विभिन्न रूपमा जिउँदै रहेको पुष्टि गर्छ । निरन्तर सञ्चालनमा रहेको अभियानको सार्थकता भविष्यमा देखिएला तर अपेक्षित उपलब्धिका लागि सरकार, नागरिक समाज, महिला अधिकारकर्मीलगायत विभिन्न निकायबाट घटनाको गाम्भीर्य र व्यक्तिको मनोविज्ञान बुझेर योजना तथा कार्यक्रम लागू गर्नुपर्ने देखिन्छ । हुन त पछिल्ला वर्षहरूमा नेपालमा पुरूष हिंसाका घटना पनि प्रशस्तै देखिनथालेका छन् । अधिकारका नाममा महिलाले विनाकारण पुरूषलाई आर्थिक शोषण, मानसिक यातना र कानुनी झमेलामा फसाएर अनावश्यक जेल बस्न बाध्य बनाउने घटनाहरू निकै देखिन थालेको अवस्था छ ।
प्रविधि दुरूपयोग गर्नेमा महिला र पुरूष दुवैको उत्तिकै हात देखिने गरेको छ । आश्चर्य त के छ भने महिलाको चरित्र हत्या गर्न महिला नै अगाडि सर्ने घटनाले ‘महिला हिंसा’ शब्दमाथि व्यंग्य कसिरहेको देखिन्छ । यी सबै घटनालाई मनन् गर्ने हो भने महिला हिंसा पुरूष पात्रका कारण मात्र भइरहेको छैन । महिलाकै कारण पनि महिला हिंसा भइरहेकै छन् ।
लैंगिक हिंसा महिलाविशेषको सवालमात्र नभएर घर, समाज, राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्या भएकाले यसको समाधानका लागि पनि सबै पक्षको पहल आवश्यक देखिन्छ । त्यो पहल चेतना जागृत गराउने कार्यक्रमहरूबाट सुरु गर्दा प्रभावकारी हुन सक्छ । लैंगिक हिंसालाई गहन रूपमा बुझ्न जरुरी छ । यो यौन शोषण मात्र नभएर महिलाविरुद्ध हुने सामाजिक/सांस्कृतिक लगायत विविध विभेद नै समग्रमा लैंगिक हिंसाभित्र पर्ने भएकाले यसको अन्त्य गर्न घर, समाज र राज्यले संयुक्त पहल गर्नुपर्छ । त्यसका साथै महिलाबाट पुरूषतिर सर्दै गएको हिंसाका घटना रोक्न पनि जरूरी छ । आधुनिकता, समावेशिता जस्ता विशेष अवसरको दुरूपयोग गरेर कतिपय महिलाहरूले पुरूषमाथि हिंसा बढाइरहेका छन् ।
संघीयता कार्यान्वयनमा आएपछि लोकतान्त्रिक गणतन्त्रात्मक नेपालले महिला सशक्तीकरणका लागि विभिन्न अभ्यास र अभियान सञ्चालन गर्दै आइरहेको छ तर लगानीअनुरूप परिणाम हेर्दा सकारात्मक अवस्था देखिएको छैन । आजको परिवर्तित, शिक्षित, आधुनिक र सभ्य भनिएको समयसम्म आइपुग्दा पनि संसारभर नै भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, शारीरिक, मानसिक विभिन्न तरिकाले महिलालाई हिंसा गर्ने प्रवृत्ति कायम रहनु दुर्भाग्यपूर्ण छ । अमेरिका जस्तो संसारकै उच्च सभ्यता भएको भनिएको देशमा पनि महिला हिंसा देखिएको अवस्थाले नेपालको हालत झन् के होला ? अनुमान गर्न सकिन्छ ।
आगामी दिनमा महिलालाई आत्मनिर्भर बनाउन सकिए उनीहरूविरुद्ध हुने घरेलु हिंसा न्यूनीकरण गर्न सकिने थियो । यस सत्यलाई जानेर पनि नजाने जस्तो व्यवहार देखाउने सरकारी प्रवृत्तिले महिला हिंसा निर्मुल हुन नसकेको हो । नेपाली महिला सिर्जनशील, संघर्षशील, बहुप्रतिभाशाली, सहनशील र साहसी छन् । तर पनि सामाजिक–आर्थिक पक्षबाट हेर्दा अहिले पनि महिला सबै किसिमका अवसरबाट बञ्चित देखिन्छन् ।
मेचीदेखि महाकालीसम्म हेर्ने हो भने नेपालमा अझै पनि जवर्जस्ती करणी, महिला बेचबिखन, देहव्यपार, बोक्सीको आरोप, दाइजोका नाममा हुने घरेलु हिंसा यथावत् छन् । यी सबै विकृति अन्त्य गरेर जबसम्म महिलाको जीवनस्तर माथि उठाइँदैन तबसम्म देशको विकास सम्भव छैन । किनभने, हरेक क्षेत्रमा महिलाको नेतृत्व र सहभागिता अभावले नै देश भष्टाचारको भुमरीमा परिरहेको छ । समाजमा रहेका व्यक्तिहरूका बीचमा महिला र पुरुषका सम्बन्धमा सोच र व्यवहारमा विभेद आउञ्जेल समानताको आभास अनुभव गर्न सकिँदैन ।
मानिस महिला-पुरुष दुवैको संयुक्त रूप हो । मानसिक, शारीरिक र भावनात्मक रूपमा प्रत्येक मानिस एउटै हुन्छ र सबैको लक्ष्य जीवनमा सुख, शान्ति र आनन्द प्राप्त गर्दै एउटा सामाजिक प्राणीको आत्मिक ज्ञान विकास गराउन सक्नु पर्दछ अनि मात्र महिला हिंसा घट्छ । समाजमा महिला भएकै कारण कसैले असुरक्षा तथा हीनता बोध गर्ने वातावरण रहन्छ भने हिंसा त्यही हो । विश्वसमाजले चाहेको के हो भने महिला होस् या पुरूष समान अस्तित्वसहित बाँच्न पाउनुपर्छ । सायद हिंसाविरूद्धको १६ दिनसम्मको अभियानले पनि यही भावना विकास गर्ने लक्ष्य लिएको होला । विज्ञान र प्रविधिले चमत्कारिक फट्को मारिसकेको विश्व मानव समाजमा अहिले पनि महिला हिंसा बन्द गर भन्दै कराइरहनु परेको छ । यो अवस्थाचाहिँ मानव सभ्यताविरूद्धको अक्षम्य प्रहार भन्नुपर्छ ।
विकसित होस् या विकाशील सवैखाले राष्ट्रमा महिला हिंसा कुनै न कुनै रूपमा भइरहेकै छन् । नीति, नियम र कानुनी प्रावधान बलियो भएका देशभित्र त निर्मुल हुन नसकेको महिला हिंसा हाम्रो जस्तो देशमा कहाँ सहजै समाप्त होला ? समय र प्रविधिमा आएको फेरबदलसंगै हिंसाको स्वरूपमा पनि शैली फेरिएको छ । हिजो हात र हातहतियार नै हिंसा गर्ने माध्यम थिए भने आज प्रविधि हिंसा गर्ने साधन भएका छन् । जहाँ चरित्रलाई निशाना बनाएर महिला हिंसाका घटना घटिरहेको अवस्था छ । प्रविधि दुरूपयोग गर्नेमा महिला र पुरूष दुवैको उत्तिकै हात देखिने गरेको छ । आश्चर्य त के छ भने महिलाको चरित्र हत्या गर्न महिला नै अगाडि सर्ने घटनाले ‘महिला हिंसा’ शब्दमाथि व्यंग्य कसिरहेको देखिन्छ । यी सबै घटनालाई मनन् गर्ने हो भने महिला हिंसा पुरूष पात्रका कारण मात्र भइरहेको छैन । महिलाकै कारण पनि महिला हिंसा भइरहेकै छन् । यस्तो हिंस्रक प्रवृत्ति रोक्न सबै सचेत भएर एकताबद्ध हुने हो भने मात्र हिंसाको अन्त्य हुन्छ । अन्यथा हरेक वर्ष १६ दिन अभियान चलाएरमात्र हिंसा रोकिने वातावरण शायदै बन्न सक्छ ।
प्रतिक्रिया