तत्काल सरकार नढल्ने कारणहरू

तत्काल सरकार नढल्ने कारणहरू


केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएयता निरन्तर सतहमा देखापरिरहेको प्रश्न हो- ‘यो सरकार कहिलेसम्म टिक्ला ?’ विभिन्न आकारप्रकारका ज्योतिषीहरूले मङ्सीरदेखि फागुनभित्र सरकार बदलिने भविष्यवाणी गरेकोले पनि विद्यमान गठबन्धनले निरन्तरता पाउनेमा आम मानिसमा आशङ्का बढेको हो । छिमेकी राष्ट्र भारतको साथ र सद्भाव नरहेको अड्कल गर्नेहरूले पनि ओली नेतृत्वको निरन्तरतामा शङ्का गरेका हुन् । प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने भनिएपछि झन् सरकार फेरिने कुराले उम्लिने मौका पायो । विगतमा जुन प्रधानमन्त्रीले चीनसँगको सम्बन्धलाई भारतभन्दा महत्व दिएको ठानिन्थ्यो, तिनको कार्यकाल छोट्टिने गरेका केही दृष्टान्त स्थापित भएकोले पनि मानिसले प्रधानमन्त्रीको चीन भ्रमणलाई सरकारको निरन्तरता अन्त्यको आधार मानेका हुन सक्छन् । तर, चीनसँगको सम्बन्ध त्यसरी पनि कस्सिएन जुन कारणबाट पश्चिमी जगत टाढियोस् ! तथापि, बीआरआईसम्बन्धी सम्झौताको विस्तृत अध्ययनपश्चात पश्चिमा शक्तिले भिन्न र स्पष्ट धारणा बनाउने सम्भावनालाई भने इन्कार गर्न सकिँदैन ।

बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता मित्रराष्ट्र चीनको अपेक्षाअनुरुप हुन सकेको भए त्यसले नेपाल-चीन सम्बन्धमा नयाँ गहिराई प्राप्त गर्न सक्थ्यो, ‘बीआरआइ फ्रेमभित्रकै’ भन्ने ब्यहोरा राखी दुई देशबीच भएको सम्झौता केवल एउटा औपचारिकता मात्र भएकोले यसैलाई आधार-कारण मानेर अहिले नै सरकार विस्थापित हुने स्थिति उत्पन्न होला भन्न सकिँदैन । जुनसुकै कारणले विद्यमान गठबन्धन सरकार नटिक्ने अनुमान गरिएको भएपनि अप्रत्याशित घटनाले परिणाम ल्याउने अवस्थामाबाहेक तत्काल सरकार बदलिने सम्भावना देखिँदैन, किन ?

कुनै पनि सरकार बन्नुको आधार कारण भएजस्तै ढल्नुको पनि कारण हुन्छ, हुनेगर्छ । काम गर्न नसकेको, आफ्नो लक्ष्य हाशील गर्न असफल भएको, भ्रष्टाचारमा लिप्त रहेको या जनस्तरमा असन्तुष्टि र विरोध बढेको जस्ता कारणहरूले नेपालमा सरकार परिवर्तन हुने गर्दैन । सत्तापक्षीय गठबन्धनका मूल नेताहरूको स्वार्थसम्बन्ध र बाह्य शक्तिको इच्छामा नेपालमा बन्ने सरकारको आयु निर्धारण हुने कारुणिक अवस्थाबाट हामी गुज्रँदैछौँ । यद्यपि, संसदको गणितीय सङ्ख्यामा आधारित सत्ता परिवर्तन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिले चाहेपनि अन्ततः गणितीय सन्तुलनमा हस्तक्षेप नभएसम्म सरकार परिवर्तनको सम्भावना रहन्न !

आफ्नै नेतृत्वमा सरकार भएकोले एमाले वर्तमान गठबन्धन भत्काउने निर्णयमा पुग्न कठिन छ । हिजो केपीका समकक्षी ब्यक्तिहरू पार्टीमा थिए र उनीहरू केपीलाई आफ्नो काबुमा राखेर हिँडाउन चाहन्थे, नसकेपछि दुर्घटना निम्तिएको थियो । अहिले केपीलाई चुनौती दिनसक्ने कुनै नेता एमालेमा प्रकट भएका छैनन् । त्यसैले केपी प्रधानमन्त्री रहँदासम्म यो गठबन्धनलाई एमालेभित्रबाट कुनै खतरा उत्पन्न हुने स्थिति छैन । काङ्ग्रेस भड्किएको या अन्यथा निर्णय लिने अवस्था आएमा मात्र सरकार बदलिने हो । काङ्ग्रेस पार्टीमा जो सभापति बन्छ उसैको मात्र सर्वोपरि अधिकार रहने परम्परा कायम हुँदै आएको छ । जो-जसले जे-जस्ता मत जाहेर गरेपनि शेरबहादुर देउवाको इच्छाभन्दा बाहिर काङ्ग्रेस जानसक्ने सम्भावना देखिँदैन । त्यसैले काङ्ग्रेस देउवाको मुट्ठीमा रहेको छ भन्न सकिन्छ । यदि काङ्ग्रेसलाई देउवाको मुट्ठीको मान्ने हो भने डा. आरजु राणाको मुट्ठीभन्दा बाहिर देउवा रहेको ठान्न पनि सकिँदैन । शेरबहादुरको राजनीतिक इतिहास जति लामो भएपनि कार्यक्षमता, सक्रियता र गतिशीलतामा आरजु नै अगाडि देखापरिरहेको महसूस जो-कसैले गरिरहेका छन् । शेरबहादुर देउवाकी पत्नी हुनुका नाताले ‘पावर एक्सरसाइज’ धेरै अघिदेखि नै गर्दै आउनुभएको भएपनि आफै औपचारिक जिम्मेवारीमा रहेर आरजु पहिलोपटक शक्तिभोग गर्दै हुनुहुन्छ र उहाँले औपचारिक जिम्मेवारी लिनुभएको ६ महिना पनि पूरा भइसकेको छैन । उहाँमा काम गरेर देखाउने क्षमता भएपनि परिणामदायी कामका निम्ति कम्तिमा दुई वर्षको समय आवश्यक पर्नसक्छ भन्ने बुझाइ उहाँमा छ भने त्यो गलत नमानिएला !

अर्को स्मरणीय पक्ष के छ भने शेरबहादुर देउवा स्वयम् प्रधानमन्त्री बनेको अवस्थामा आरजुले मन्त्रिमण्डलको औपचारिक जिम्मेवारी प्राप्त गर्न सम्भवतः सक्नुहुनेछैन र यो तथ्यबारे आरजु अनभिज्ञ पनि नहुनुहोला । त्यसैले आरजुलाई नै परिस्थितिले विद्यमान गठबन्धनको त्यस्तो साँचो बनाइदिएको छ जसको इच्छाविपरीत सत्ता गठबन्धन बदलिन कठिन छ । राजनीतिमा चतुर खेलाडी मानिनुहुने केपी ओलीले आरजुसँगको मित्रवत सम्बन्धलाई उच्च प्राथमिकता दिनुको अर्थ बुझियो भनेपनि सरकारको भविष्यबारे अनुमान गर्न सकिन्छ । मन्त्री आरजुको मुट्ठीबाट देउवा बाहिरिनसक्ने अवस्था अहिले नरहेको र देउवा स्वयम् पनि वर्तमान सत्ता गठबन्धन यथावत राख्ने पक्षमा रहनुभएकोले कुनै अप्रत्याशित घटना नभएसम्म केपी नेतृत्वको सरकारले निरन्तरता पाउने निश्चित प्रायः छ ।

हो, कतिपय अन्तर्राष्ट्रिय शक्तिकेन्द्र केपीको नेतृत्व तत्काल विस्थापित गर्न क्रियाशील नरहेको होइन । उनीहरू केपीलाई प्रधानमन्त्री बन्न दिने पक्षमा पनि नरहेको बुझिन्थ्यो र बनिसकेपछि पनि सकारात्मक नरहेको महसूस स्वयम् प्रधानमन्त्री केपीले गरिरहनुभएको छ । तर काङ्ग्रेस सहमत नभएसम्म सरकार परिवर्तन हुन असम्भव रहेको, काङ्ग्रेसको विभाजन पनि तत्काल सम्भव नभएको र संसदभित्र आफ्नो अर्को साँचो नभएकोले अन्तर्राष्ट्रिय शक्तिकेन्द्र नेपाल मामिलामा यतिबेला निकै अप्ठ्यारो स्थितिको सामना गर्दै रहेको बुझ्न सकिन्छ ।

पश्चिमको साथ र चीनसँगको सन्तुलन कायम राख्दै अघि बढ्ने कार्यनीति केपी-देउवा गठबन्धनले लिएको बुझिन्छ । त्यसैले तत्काल संसदभित्रबाट सत्ता बदलिनसक्ने सम्भावना न्यून रहेको छ । संसदबाहिरबाट सत्ता परिवर्तन हुने स्थिति पनि परिपक्व नभएको हुँदा अनिश्चित कालसम्मका निम्ति केपी नेतृत्वकै सरकारले निरन्तरता पाउने देखिएको छ, कदाचित कुनै अप्रत्याशित घटनाले गठबन्धन बदलिने या संविधान नै फेरिने अवस्था आएछ भने त्यो बेग्लै सन्दर्भ हुनसक्ला, होइन भने वर्तमान सरकार निर्वाध अघिबढिरहनेमा शङ्का गर्नुपर्ने देखिएन, जय मातृभूमि !