✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ मार्गशीर्ष ३० गते तद्अनुसार सन् २०२४ दिसेम्बर १५ तारिख आइतबार मार्गशीर्ष शुक्ल पक्षको पूर्णिमा तिथि मृगशिरा नक्षत्र शुभ योग बालव करण आनन्दादिमा सौम्य योग चन्द्रमा वृष राशिमा १५ः५३ बजेसम्म त्यसपछि मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४८ मा भयो र सूर्यास्त साँझ १७:०९ मा हुनेछ । धान्य पूर्णिमा, धान्यपर्वतदान, गैडुपूजा, उधौली पर्व, धनेश्वरमेला, रानीकोट बाघभैरव पर्व, भ.पू. अनन्तलिङ्गेश्वर मेला, गढीमाई मेला समाप्ति ।
आजको राशिफल
मेष – कामका बाधाहरू हट्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनाले समस्याको समाधान मिल्ने समय छ । नसोचेको ठाउँबाट धन प्राप्त होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । आमोदप्रमोदमा रम्ने योग छ ।
वृष – आजको दिन विलासितामा धन खर्च हुने र मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहला । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न मुस्किल पर्ने योग छ । स्वास्थ्य पनि केही कमजोर रहने सम्भावना छ । बौद्धिक र रचनात्मक काममा चाहिँ आंशिक सफलता मिल्नेछ । यात्रापरक काम आजको लागि थाती राख्नु उचित हुनेछ ।
मिथुन – आज तपाईंलाई सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । नजिकका साथीभाइ टाढिनसक्छन् तर टाढाका साथीभाइसँग सम्बन्ध गाँसिने योग छ । सभा-समारोहमा मान पुरस्कार प्राप्त हुने सम्भावना छ । तथापि, अर्थअभावको अनुभूति हुनसक्छ, ध्यान राख्नुहोला । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – दिगो आम्दानी हुने काम सुरु हुने र प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउने दिन छ । लाभ हुने काम प्रारम्भ गर्न सकिएला । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बनाउन सकिने योग छ । नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ । तथापि, काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, सजग रहनुहोला । आरोग्यबल बढ्नेछ । मनोरञ्जनात्मक जमघटका साथै मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावनाका बाबजुद कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्ने देखिन्छ । स्वास्थ्यमा भने केही समस्या देखिनसक्छ, सजगता अपनाउनुहोला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । पारिवारिक सुख शांति बढ्नेछ । मित्रजनको साथ प्राप्त होला ।
कन्या – आज केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, आर्थिक कारोबार आज नगरेकै बेस हुनेछ । चुनौतीका बाबजुद पराक्रम बढ्नेछ । आरोग्यबल पनि वृद्धि हुने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला – दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुटेपनि पहिलेका सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि सोचविचार पुर्याउनु उचित होला । साहसिक काममा आकर्षण बढ्ने समय छ ।
वृश्चिक – प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । नयाँ काम प्रारम्भ हुन सक्छ । आज आयआर्जन पनि राम्रै हुने योग छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सुख वृद्धि होला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । स्वास्थ्यमा भने विशेष ध्यान दिनुपर्ने समय छ ।
धनु – हिम्मतले काम बनाउन सकिने समय छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउला । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन, तथापि वित्तादि लाभ हुने देखिन्छ । कृषि-चौपायामा केही समस्या देखिए पनि राम्रै धन आर्जन गर्ने योग छ । बिनाप्रतिस्पर्धा फाइदा हुने देखिन्छ । दाम्पत्यसुख बढ्नेछ । रसरागात्मक कार्यमा आकर्षण रहला ।
मकर – दिन केही चुनौतीयुक्त छ । कुनै अवसर प्राप्त भए पनि कुरा इर्ष्यालुजनको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान दिनुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न कठिनाइ पर्ला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । आज छरछिमेकमा विवादको सम्भावना छ, बोली र व्यवहारमा लगाम लगाउनु उचित होला । सन्तान पक्षबाट सुख मिल्नेछ ।
कुम्भ – मिश्रित फलदायी समय छ । आफ्नै कमजोरीले महत्वपूर्ण कार्यमा ढिलासुस्ती हुने देखिन्छ । तथापि, आम्दानी वृद्धिको योग छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना पनि छ । काम बिग्रने डरले सताइरहला । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ, बोली र व्यवहारमा सजग रहनुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीन – मेहनतले अध्ययनमा प्रगति हुनेछ । सामान्यतया दिन राम्रै रहेको छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइने योग छ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ भने सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । पराक्रम वृद्धि र सुख विलास पनि बढ्नेछ ।
प्रतिक्रिया