आजको पञ्चाङ्ग एवम् राशिफल (२ पौष २०८१ मंगलबार, १७ डिसेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ पौष २०८१ मंगलबार, १७ डिसेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष २ गते तद्अनुसार सन् २०२४ दिसेम्बर १७ तारिख पौष कृष्ण पक्षको द्वितीया तिथि मंगलबार पुनर्वसु नक्षत्र ब्रम्हा योग वणि करण आनन्दादिमा स्थिर योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५० मा र सूर्यास्त साँझ १७ः१० मा हुनेछ । त्रिपुष्कर योग १२ः२९ बजेसम्म ।

आजको राशिफल

मेष – शुभता बढ्नेछ । व्यापार-व्यवसायमा लाभ होला । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर पनि जुर्नसक्छ । मान र विद्या प्राप्त हुने योग छ । विशेष उपहार प्राप्त हुनुका साथै राम्रै धनलाभ हुनेछ । तथापि, आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । यात्रागत कार्य सार्थक रहनेछ । रोकिएको काम पुनः अघि बढ्न सक्छ । आमोदप्रमोदको अवस्था रहला ।

वृष – न्यून उपलब्धिका लागिपनि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहन सक्छ । नचिताएको ठाउँमा धननाश हुने सम्भावना छ, ध्यान राख्नुहोला । उद्योग तथा व्यापारमा सामान्यमात्र फाइदा मिल्ने देखिन्छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने योग छ । बौद्धिक तथा रचनात्मक काममा भने आंशिक सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – नयाँ काममा हात हाल्ने समय आएको छ । आँट–पराक्रम बढ्नेछ । काममा पूर्ण सफलता प्राप्तिका लागि केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौतीसमेत सामना गर्नपर्ला, तर मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – लगनशीलताले राम्रै उपलब्धि दिलाउने दिन छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिएला । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । तथापि, अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ, ख्याल राख्नुहोला । आरोग्यबल बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

सिंह – आजको दिन पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्ने देखिन्छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । सेवामूलक कामबाट धनलाभ हुने योग छ । पढाइलेखाइमा सामान्य प्रगति होला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । व्यापारमा नसोचेको फाइदा उठ्ने देखिन्छ । रसरागको भाव वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ ।

कन्या – दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्ने समय छ । व्यवसायमा लाभ बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी वृद्धि होला । इर्ष्या गर्नेहरूले भने सताउन सक्छन्, सावधान रहनुहोला । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । अप्रिय समाचारले निराश तुल्याउनसक्ने योग छ । कर्मबल वृद्धि हुनेछ । समस्यामा आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिने समय छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिएला । आयआर्जन राम्रै हुने देखिन्छ, तर विभिन्न अवसर प्राप्तिका बाबजुद अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सजग रहनुहोस् । स्वास्थ्य केही कमजोर रहन सक्छ, ध्यान राख्नुहोला ।

वृश्चिक – भाग्यबल बढ्नेछ । प्रतिष्ठित काम गरेर स्याबासी प्राप्त गर्न सकिने समय छ । धेरैलाई लाभ हुने कार्य गर्ने मौका जुर्ला । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ भने प्रतिभाको कदर हुने योग छ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ला । भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । आरोग्यबल बढ्नेछ ।

धनु – मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु गर्न सकिने समय छ । तर, अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइएला । मान्यजनसँग असमझदारी बढ्नसक्ने योग छ । आकर्षण रहला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । खेलकुद, भ्रमण, गीतसंगीत र रसरागात्मक काममा आकर्षण बरहनेछ ।

मकर – नियमित कार्यमा ब्यस्तता बढ्ने देखिन्छ । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ, ख्याल राख्नुहोला । आजको दिन अरूको सुझावमा भर नपर्नु उचित होला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । पढाइलेखाइमा प्रगति हुनेछ भने आयआर्जन बढ्ने तथा उठ्नुपर्ने रकम हातलागी हुने योग छ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मानसम्मान पनि पाइनेछ । तथापि, अनुकुल परिस्थितिका बाबजुद आफूलाई कमजोर भएको अनुभूति हुनसक्छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिएर काम गर्ने प्रयत्न गर्नु हितकर हुनेछ ।

मीन – प्रयत्न गर्दा घरेलु कामबाट पनि लाभ मिल्ने समय छ । रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नु उचित होला । कामबाट फुर्सदिलो भइनेछ भने कतै अतिथिका रूपमा सत्कारसमेत पाइने सम्भावना छ । मित्रजनप्रति प्रेमभाव वृद्धि हुनेछ तर आजको दिन दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, ध्यान राख्नुहोला । यात्रागत कार्यमा खर्च वृद्धि हुन सक्छ । आरोग्यबल बढ्नेछ । सुख विलास प्राप्तिको योग छ ।