धादिङको गजुरी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार (२ पुस) देखि सुरु भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ गाउँपालिकाले स्थानीय तहस्तरीय अन्तर विद्यालयको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको हो ।
चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा प्रदेश सांसद माननीय शालिकराम जमकटेलले गर्नुभयो । उहाँले खेल क्षेत्रको क्षेत्र वृहत्त्तर रहेको बताउँदै प्रतियोगितालाई स्वस्थ बनाउन आग्रह गर्नुभयो ।
यस्तै, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले प्रतियोगिहरुलाई स्वस्थ प्रतिस्पर्धाबाट भाग लिन आग्रह गर्नुभयो । खेलकुदले अनुशासनमा बस्न सिकाउने र स्वस्थ राख्ने भएकाले मानव जीवनका लागि खेलको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । गजुरी गाऊँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालले प्रतियोगिता मर्यादित हुनुपर्ने उल्लेख गर्दै सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । प्रतियोगिताको माध्यमबाट भोलिको दिनमा गौरव गर्न सक्ने खेलाडी उत्पादन हुनेसमेत बिसुरालले विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा सुरक्षा निकायका प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, गजुरी गाउँपालिकाका वडाध्यक्षहरु, शिक्षक विद्यार्थी लगायतको उल्लेखनीय सहभागितामा प्रतियोगिताको उद्घाटन गरिएको थियो । गलौँदी खेलमैदानमा विभिन्न खेलकुदका प्रतियोगितात्मक खेलहरु सञ्चालित छन् ।
प्रतिक्रिया