फानवरोह, यूके । ग्रेटर रसमुर नेपाली कमिटिको आयोजनामा हिजो यहाँस्थित सामुयलकोडी कलेजमा, मंगलवार आइपुग्ने नयां वर्ष २०७२ को शुभकामना आदानप्रदान कार्यक्रम भव्यता र सभ्यताका साथ मनाइएको छ । विभिन्न नेपाली जातजाति र समुदायमा विभाजित नेपालीहरुलाई एउटै थलोमा ल्याएर आपसी सदभाव बनाई राख्ने यस क्षेत्रको यो मात्र एउटा संस्था ग्रेटर रसमुर नेपाली कमिटि हो । अरु समयमा आआफ्नै जातीय संस्कृति र भेलामा रमाउने नेपालीलाई वर्षको दुई पटक( नेपाली नयाँ वर्ष र दशैंमा) मात्र भए पनि ग्रेटर रसमुर नेपाली कमिटिले एउटै मंचमा जुटाई आपसी सदभाव बढाउने मौका दिन्छ ।
यो कार्यक्रमा सबै जातजातिका आआफ्ना संस्कृति झल्कने नृत्य, भेषभुषा, नौमती वाजा, र केटाकेटीलाई तालिम दिएर मञ्चमा प्रस्तुत गर्दछ र उपस्थित मनहरु हामी नेपाली भनेर सहभागी हुन्छन् । यसपटक भने कार्यक्रमलाई अझै रमाइलो गराउन नेपालवाट लोक गायक खुमन अधिकारी र लोक गायिका देवी घर्तीमगरलाई पनि निम्त्याएको थियो । रसमुरवरोहका उपमेयर मार्टिन टेनान र ग्रेटर रसमुर नेपाली कमिटिका अध्यक्ष में टिकेन्द्रदल देवानबाट संयुक्त पानसमा बत्ती बालेर शुरु गरिएको सो कार्यक्रमको पहिलो चरण महासचिव रोहित गुरुङ्गले सञ्चालान गरेका थिए भने उपाध्यक्ष जिव वेलवासेले अतिथि स्वागत गरेका थिए । यो कार्यक्रमलाई यति सफल बनाउनमा नाम लिनै पर्ने केही व्यक्तिहरुमा उपाध्यक्षयद्वय जिव वेलावासे र ओम थापा, महासचिव रोहित गुरुङ्ग, सांस्कृतिक सचिव छविमाया पुनको पर्दछ ।
दीयो प्रज्वलनपछि केही प्रतिष्ठित व्यक्तिहरु र संस्थाका प्रतिनिधिलाई नयाँ वर्षको उपलक्ष्यमा शुभकामना व्यक्त गर्ने अवसर प्रदान गरिएको थियो । यस क्रममा एनआरएनए यूकेका प्रतिनिधिको रुपमा आएका महासचिव राजकुमार त्रिपाठीले भने त्यसको उपयोग राजनितिक नेताका तवरले आधा अंग्रेजी र आधा नेपालीमा भाषण गरी दिनाले स्थानीय पाहुनाहरु एक आपसमा हेराहेर गरेका थिए भने, नेपाली दर्शकहरुले नाक खुम्च्याएको देखेर कार्यक्रम सञ्चालकलाई मन्तव्य छोट्याउनका लागि चिट दिन वाध्य भएको थियो ।
यसरी पहिलो चरणको कार्यक्रम छोट्याएर दोश्रो चरणका लागि सांस्कृतिक टोलीलाई समयमै हस्तान्तरण गरिएको थियो । दुवै देशका राष्ट्रिय धुन बजाएर शुरु भएको सांस्कृतिक कार्यक्रम अति विशिष्ट थियो । कार्यक्रमका मुख्य आकर्षण भने “नेपालका कलाकारलाई पनि पछाडि राख्दै साना बालबालिकाहरु जेसीका वेलवासे वर्ष ७ र वर्ष ७ कै मेलीशा गुरुङ्गको घैलाभन्दा सानी बोलको गीतको नाच र ७४ वर्षीय गायक क्या वीर बहादुर थापाको सुमधुर स्वरमा अभिनयसहितको गायन रहेको थियो । सांस्कृतिक कार्यक्रमको प्रस्तोतामा पुष्पा गुरुङ्ग र शिला लिम्वू थिए ।
कार्यक्रममा यथेष्ठ मात्रामा दर्शकहरुको सहभागिता भएको थियो । हरेक वर्ष नेपाली नयाँ वर्षको शुरुवातमा यूकेका विभिन्न भागहरुमा गर्ने गरिने न्यु इएर प्रोग्रामहरुमा ग्रेटर रसमुर नेपाली कमिटिले आयोजना गरेको कार्यक्रम निक्कै नै उत्कृष्ठ रहेको थियो ।

Pictures from Milan Tamu
[youtube]https://www.youtube.com/watch?v=tzdQDNadTZ0[/youtube]
प्रतिक्रिया