निरजको ‘नजाउ मलाई एक्लै छाडी’ अडियो सार्वजनिक

निरजको ‘नजाउ मलाई एक्लै छाडी’ अडियो सार्वजनिक


  • द्रोण अधिकारी, झापा

दुई दशकदेखि निरन्तर लोकभाका संकलन तथा गायनमा रहिरहेका झापाली गायक तथा संगीतकार निरज पोखरेलले मगर संस्कृतिको चर्चित लय मारूनी भाकाको गीतको अडियो सार्वजनिक गरेका छन् । पेशाले रेडियो प्राविधिक रहेका पोखरेलले मारवाडी कविको पहिचान बनाएका भद्रपुरका गीतकार सत्यनारायण तायलको शब्द तथा चर्चित गायिका मेलिना राईसित युगल गायनका साथ मारूनी भाकाको गीत आफ्नो अफिसियल च्यानलबाट सार्वजनिक गरेका हुन् ।

सुदूरपूर्वी नेपालको झापामा रहेर निरन्तर साङ्गीतिक भूमिमा रमाउँदै सञ्चारक्षेत्रमा समेत आबद्ध भइ गायन क्षेत्रमा पहिचान बनाइरहेका पोखरेल लोक लयलाई पछ्याइरहेका गायक तथा संगीतकार समेत हुन् । पोखरेलले सार्वजनिक गरेको पछिल्लो मारूनी भाका ‘नजाउ मलाइ एक्लै छोडी…’ गीतले पूर्वी नेपालको मगर संस्कृतिलाई आत्मसात गरेको देखिन्छ ।

पोखरेल झापामा बसेर गीत-संगीतको साथसाथै पछिल्लो समय निरन्तर साहित्य क्षेत्रमा पनि सक्रिय रहेका छन् । दर्जनौं गीतका स्रष्टा भद्रपुर निवासी कवि गीतकार सत्यनारायण तायलको शब्दमा गायक तथा सङ्गीतकार पोखरेल स्वयमले सो गीतमा संगीत पनि दिएका छन् भने सो गीतमा गायिका मेलिना राईले गायनमा साथ दिएकी छिन् । काठमाडौंस्थित ए लेवल स्टुडियोमा रेकर्डिङ भएको गीतको सङ्गीतकार विकास चौधरीले एरेन्ज गरेका छन् ।

२०६० सालमा विकास चौधरीको संगीत, गिरिराज निरौलाको शब्दमा पहिलो पटक ‘माथि है पऱ्यो फुङलिङ बजार’ भन्ने पुर्वेली लोकभाका जुनु रिजालसँग युगल गीत गाउँदै उदाएका निरजले २०७२ सालमा आफ्नै शब्द सङ्गीत, स्वरमा ‘मेरो हजुरले मलाई’ बोलको गीत सार्वजनिक गरेका थिए । २०६० सालबाट रेडियो प्राविधिक भएर झापालाई कर्मथलो बनाएका पोखरेल मेची अञ्चलको पहिलो रेडियो कन्चनजङ्गा एफएमबाट प्राविधिकको रुपमा सञ्चारक्षेत्रमा प्रवेश गरेका थिए । उनले करिव ४० भन्दा बढी गीतमा संगीत भरेका छन् भने विभिन्न विद्यालयमा पियानो र नाटकको प्रशिक्षकको रूपमा समेत सकृय छन् ।

झापामा रहेको क्षितिज नाट्य प्रतिष्ठानमा संगीत विभाग प्रमुख, डाइनामिक मिडिया ग्रुप नेपालका कोषाध्यक्ष, भद्रपुर नगरपालिका अन्तर्गत भद्रपुर साहित्य संगीत कला प्रतिष्ठानका सदस्य, बहुभाषिक साहित्य संगीत कला केंन्द्रको सदस्य समेत रहेका पोखरेल जेनियस मिडियाका प्रबन्धकको जिम्मेवारी सम्हाल्दै झापामा बसेर नेपाली गीत संगीतको निरन्तर सेवा गरिरहेका छन् । पूर्वमा रहेका विभिन्न जातसित सम्बद्ध लोक भाका टिपेर गायनमा संगीत भर्ने पोखरेलले नयाँ पुस्तालाई नेपाली मौलिक गीत संगीतमा आकर्षण गर्न प्रशिक्षण समेत चलाइ रहेका छन् ।

अडियो गीत सुन्ने परम्परा हराउँदै गइरहेका बेला पोखरेलले भने अडियोमै श्रोता खोज्ने प्रयास गरेको देखिन्छ । अडियोलाई श्रोताले प्राथमिकतामा राखेमा भिडियो बनाउने सोच पालेका पोखरेलले नेपाली लोक संस्कृतिको संरक्षणका लागि गायनमा लोक भाका रोजेको बताउँछन् । उनले वर्षौं लगाएर संकलन गरेको मारूनी भाकामा कवि तथा गीतकार तायलका शब्द भरेको बताउँदै मारूनीको मौलिकता नबिगारेको समेत बताएका छन् ।