जाडो देखिएसँगै धेरै जनामा इन्फ्लुएञ्जा (फ्लू)को सङ्क्रमणको जोखिम बढ्छ । यो इन्फ्लुएञ्जा भाइरसले लाग्ने सङ्क्रामक रोग हो । यो भाइरसबाट सबै उमेरका व्यक्ति जोखिममा हुन सक्छ ।
विज्ञका अनुसार फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा यो भाइरस सर्न सक्दछ । ती छिटा श्वासबाट फोक्सोमा पनि जाने र भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लू लाग्न सक्छ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार फ्लू एक प्रकारको भाइरल सङ्क्रमण हो । यो सङ्क्रमण भएको दुईदेखि तीन दिनमा लक्षण देखिन सुरु हुन्छ । यसको लक्षण भनेको उच्च ज्वरो आउनु, जिउ दुख्नु, घाँटी दुख्नु, कसैकसैलाई पखाला लाग्ने पनि हुनसक्छ । यसले जटिलताको अवस्थामा निमोनिया गराउन सक्छ ।
त्यसैगरी टाउको दुख्नु, खोकी लाग्नुु, जीउ र मांसपेशी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, थकान महसुस हुनुआदि थप फ्लूका लक्षण हुन् । यद्यपि फ्लू भएका सबैलाई ज्वरो नआउन पनि सक्छ ।
चिकित्सककाअनुसार प्रशस्त आराम र झोलिलो पदार्थको सेवनले फ्लू हप्तादेखि १० दिनसम्ममा निको भएर जान्छ । फ्लू भएका अधिकांश व्यक्तिहरुलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधिहरु आवश्यक पर्दैन । डा. पुनका अनुसार सङ्क्रमित हुँदा आराम त गर्नुपऱ्यो नै । यसले अरुलाई सार्नसक्ने सम्भावना पनि कम हुन्छ । कतिपयलाई ब्याक्टेरयाले थप सङ्क्रमण गरायो भने एन्टिबायोटिकको आवश्यकता पर्न सक्छ त्यसका लागि चिकित्सकको परामर्श लिनुपर्छ ।
फ्लूबाट बच्नका लागि बिरामी भएका व्यक्तिसँग भौतिक दूरी कायम गर्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, मास्क लगाउने, सरसफाइमा ध्यान दिने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, प्रशस्त तरल पदार्थ र पौष्टिक खानाको सेवन गर्नेलगायत सुझाव दिन्छन् चिकित्सकहरु ।
रोग प्रतिरोधात्मक क्षमता कम भएका, दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिकलाई बढी जटिल बनाउनसक्ने भएकाले सजग र स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्छ । जोखिम समूहका व्यक्तिले चिकित्सकसँग परामर्श लिएर औषधि लिनुपर्ने हुन्छ । फ्लूविरुद्ध खोप पनि उपलब्ध छ । खोप लगाएमा यसले थप जटिल हुन अवस्थाबाट धेरै हदसम्म कम गराउँछ ।
symbolic image
प्रतिक्रिया