उपचारमा पनि भगवान्को कृपा

उपचारमा पनि भगवान्को कृपा


नार्कोनन् संस्थाको छेउमा एक दिन टहलिँदै गर्दा हालै एक पुराना सिनियर प्रहरी अधिकृतसँग भेट भयो । मैले दर्जाअनुसार गर्नुपर्ने अभिवादन गरी यसतर्फ आउनुको कारण सोधेँ । उहाँको निवास यो इलाकामा होइन भन्ने मलाई थाहा थियो । कुरैकुरामा उहाँले कुनै आफन्तजनको मृत्यु भएकोले शोक परेको घरमा संवेदना दिएर फर्किएको बताउनुभयो । मैले पनि औपचारिकता पूरा गर्दै दु:ख मनाउ गरेँ र मर्ने व्यक्तिको उमेर सोधेँ । मैले ठानेको थिएँ कि मर्ने व्यक्तिको उमेर सत्तरी–असीको होला । तर, मेरो अनुमानको ठीक उल्टो ती व्यक्ति त तीस वर्ष पनि नपुगेका पो रहेछन् । अल्पायुका व्यक्तिको मृत्यु भएको कुराले मलाई विशेष संवेदनाशील बनायो र मुखबाट फुत्तै निस्कियो, ‘कतै ती युवकले ड्रग्स सेवन त गर्दैनथे ?’ मेरो यसप्रकारको अनायास प्रश्नले उहाँलाई कतै दु:खी पो बनायो कि भन्नेचाहिँ मैले पछि मात्र महसुस गरेँ । तर, मेरो मुखबाट बोली छुटिसकेको थियो, त्यसलाई म फिर्ता लिन सक्दैनथेँ । यद्यपि सोधिसकेपछि मैले महसुस भने गरेँ कि मैले यसरी नसोधेको भए हुन्थ्यो † तर, मेरो अनुमान ठीक रहेछ । उहाँले ‘त्यस्तै–त्यस्तै हो’ भन्दै ड्रग्सकै कारणले मृत्यु भएको कुरा पुष्टि गर्नुभयो । त्यसपछि मैले नजिकै रहेको नार्कोनन् केन्द्र देखाउँदै भनेँ, ‘ऊ: त्यहीँ कार्नोनन् उपचार केन्द्र थियो, ती युवकलाई उपचारका लागि त्यहीँसम्म पनि लगेर किन नछोडेको ?’ उहाँको आफ्नै घरको समस्या नभएका कारण सबै कुरा मलाई बताउन पनि जरुरी थिएन । त्यसपछि हामी औपचारिकता पूरा गरी दुईतिर लाग्यौँ ।
जुन घरमा युवकको ड्रग्सका कारणले मृत्यु भएको थियो वास्तवमै त्यो घर नार्कोनन् नेपालको उपचार केन्द्रसँगै नै रहेछ । त्यो अग्लो ठूलो घर मैले पनि सधैं देखिरहन्थेँ तर त्यस घरभित्र त्यत्रो ड्रग्सको समस्या छ भन्नेचाहिँ मलाई अनुमान पनि थिएन र हुने कुरा पनि भएन । त्यस दिन म तथा मेरी पत्नी पूजा पैदलै मन्दिर जाँदै थियौँ । हामीले एकपटक पुन: फर्केर मृत्यु भएको युवकको घर र हामीले चलाएको नार्कोनन् उपचार केन्द्रको दूरी हेर्‍यौँ । वास्तवमै दूरी दुई सय मिटरजति मात्र थियो । हामीलाई दु:ख पनि लाग्यो कि यदि आमा–बाबुले त्यो छोरालाई मर्ने दिन आउनुअघि नै घरमा नराखी नार्कोनन्सम्म पुर्‍याइदिएका भए वा त्यहाँ पुर्‍याइदिन नार्कोनन्सँगै सहयोग मागेका भए आज निश्चित रूपमा म भन्न सक्छु कि ती युवक यस संसारमा अहिलेसम्म बाँचेकै अवस्थामा हुन्थे । लगभग दुई सय मिटरमै नार्कोनन् संस्था हुँदा पनि ती युवकले त्यहाँ गएर आफ्नो प्राण रक्षा गर्ने मौका पाएनन् । त्यो समाचार ड्रग्सविरुद्ध काम गर्ने म तथा मेरी श्रीमती पूजा कुँवरजस्ताका लागि दु:खद् नै थियो । कताकता यी युवकको मृत्युमा हामी आफूलाई पनि दोषी महसुस गर्दै थियौँ । यदि हामीले त्यस घरलाई बेलैमा मद्दत गर्न सकेको भए सायद त्यो घरमा यति ठूलो क्षति व्यहोर्नपर्थेन भन्ने हाम्रो सोच थियो ।
प्रहरीभित्रै ०५० सालतिर आसरा नामको उपचार केन्द्र र नार्कोनन् उपचार केन्द्र सञ्चालन गरेदेखि नै ड्रग्सले आँसु बगाएका थुपै्र परिवारसँग हाम्रो भेट भएको छ । त्यस बखत उपचारमा आएका थुपै्रको मृत्यु पनि भइसकेको हामीले देखेका छौँ भने कति मृत्युनजिक पुगिसकेकाहरूले पनि नयाँ जीवन पाई उन्नति–प्रगति गरेको पनि देखेका छौँ । यो लामो अनुभवबाट हामीले एउटा के विश्वास लिन थालेका छौँ भने सायद पूर्वजन्मको नराम्रो कामकै कारण मानिसहरू यो जन्ममा ड्रग्सको समस्यामा पर्छन् । तर, त्यो पूर्वजन्ममा अलिकति राम्रो काम पनि नगरीचाहिँ यो जन्ममा उपचार केन्द्र आउन पाउँदैन । अर्थात्, हाम्रो विश्वास रहेको छ त्यो पीडित व्यक्ति वा परिवारको धर्मकै कारणले मात्र पीडित व्यक्ति उपचार केन्द्रमा आइपुग्छ । उदाहरणका लागि यही युवककै जीवन नै हेरौँ न, उनको घरसँगै नार्कोनन् केन्द्र थियो र पनि त्यहाँ जाने कर्म उनीसँग रहेनछ ।
यो र यस्ता कुरालाई पुष्टि गर्ने हामीसँग अनगिन्ती घटना छन् । मेरो छिमेकमै ड्रग्सको समस्या भएका एक युवक थिए । उनको बुबा सरकारी उच्च अधिकृत थिए तर उनमा प्रसस्त घमण्ड थियो । विदेशमा पढ्न पठाएको छोरो नशालु कुरा खाने आदतका साथ फर्किएपछि त्यो घरमा अनगिन्ती समस्या आयो । रातभर छोराले फुटाएका घरका सिसाहरू बिहान हुनुअघि नै आमाबाबुले सोहोरेर वरिपरिका छिमेकीलाई आफ्नो घरमा कुनै समस्या नभएको सन्देश दिन ती आमाबाबु प्रयासरत रहन्थे । तर, त्यसबखत म स्वयम् नै प्रहरीमा भएको र आसरा नामक सुधार केन्द्रको प्रमुखसमेत रहेको हुँदा त्यस घरको समस्या बुझ्न सक्दथेँ । मकहाँ त्यस समयमा देशभरबाट आफ्ना छोराछोरीको समस्या लिएर परिवारजन भेट्न आउँथे तर छिमेकी भए पनि ती अधिकृतका परिवार भने म कहाँ आउँदैनथे । मलाई समय–समयमा यो पनि लाग्थ्यो कि आफैं गएर सल्लाह किन नदिऊँ ? तर, उनको व्यवहार हामीमाथि घमण्डले भरिएकै नै हुन्थ्यो । चाहेर पनि मैले त्यो परिवारलाई सहयोग गर्न सकिनँ । उहाँहरूले कतै सहयोग पनि मागेको थाहा भएन । अवकाशपश्चात् त्यही छोराले ठगी गरेको कारण ती अधिकृत रोगी मात्र भएनन् बल्की छोराले लिएको ऋण तिर्न घरसमेत बेच्न बाध्य भए । घर बेचेको केही दिनमै उनको मृत्यु भएको सुनेँ मैले र छोरा पनि जेल परेछन् ।
जब–जब हामी ती अधिकृतका परिवारको समस्या सम्झन्छौँ आज पनि दु:ख लाग्छ । एक वचन पर्खालपारिबाटै आफ्नो समस्या हामीलाई भनेको भए सायद त्यो घरमा धेरै आपतविपत आउनबाट रोकिने थियो होला । तर, उपचारमा लैजान पनि पूर्वजन्मको भागभोग नै चाहिने रहेछ । स्वयम् उपचार केन्द्र घरछेउमै हुँदा र मद्दत गर्न खोज्दा पनि उक्त घरलाई त्यसबेला भगवान्ले सहयोग गर्ने वातावरण नै प्रदान गरेनन् ।
एउटा अर्को घटना पनि अविस्मरणीय नै छ । बेलायतका नेपाली बसोबास गर्ने टोल–टोलमा म ड्रग्सविरुद्धको जनचेतना कार्यक्रममा सहभागी भइरहेको थिएँ । एक दिन मैले ड्रग्सबारे प्रशिक्षण दिएको समयमा उपस्थित भएका एक नेपालीले एकछिनका लागि भए पनि आफ्नो घरमा चिया खान गइदिन जिद्दी गर्न थाले । बोल्दा–बोल्दा थाकेको कारण म छिट्टै आफू बस्ने स्थानमा फर्कन चाहन्थेँ । उनको जिद्दीका कारण म त्यहाँ जानैपर्‍यो । केवल दश मिनेट मात्र बस्छु है भनेर पहिल्यै उनलाई वाचा गराएँ । म त्यो घरमा पुगेँ, त्यस दिन त्यहाँ क्रिश्चियन धर्मसम्बन्धी प्रार्थना गर्ने रुटिन परेको रहेछ । त्यहाँ परमेश्वर क्राइस्टको प्रार्थना गर्ने काम सुरु भयो । त्यहाँ उपस्थित झण्डै बीसजनामध्ये धेरैले मेरो नाम पनि लिएर भगवान्सँगै मैले गरेका कामहरू सफल बनाइदिन अनुरोध गर्न थाले । त्यो परिवार क्रिश्चियन धर्म मान्ने रहेछ र त्यस दिन त्यही धर्म मान्ने अरू नेपाली पनि आएका रहेछन् । म दश मिनेटका लागि गए पनि यशुको प्रार्थना सुरु भएपछि त्यहीँ रमाएर घन्टौँ बस्न पुगेछु । प्रार्थना सकिएपछि मैले ड्रग्सबारेमा केही बोलेँ, ‘हामीलाई आपतविपत पर्दा भगवान्लाई गुहार्छौं तर भगवान्ले मद्दत गर्न चाहे पनि उहाँ आफैं आउन सक्नुहुन्न । उहाँले पनि कोही मान्छेलाई नै तपार्इंको सहयोग गर्न पठाइदिनुहुन्छ । म बेलायतमा ड्रग्सको समस्याबाट नेपालीलाई बचाउन समुद्रपारबाट आएको छु । सायद मलाई पनि भगवान्ले नै यहाँ पठाउनुभएको होला । यदि तपाईंहरूको घरमा ड्रग्सको समस्या छ भने मलाई भन्नुहोला ।’
त्यहाँबाट धेरै ढिलो म फर्किएँ । फर्किंदाफर्किंदै मलाई कसैको फोन आयो । त्यही भजनमा भाग लिएका एक परिवारको फोन रहेछ । महिलाले फोन गर्दै भन्नुभयो, ‘मेरो छोराले ड्रग्स लिएको कारण त्यहाँ हामी सधैं रुदै बस्थ्यौँ, भगवान् यशुलाई सहयोगका लागि गुहाथ्र्यौं, हामीलाई मद्दत गर्न नै नेपालबाट तपाईंलाई यशुले नै पठाउनुभएको रहेछ ।’ वास्तवमै त्यो घरमा ड्रग्सको समस्या रहेछ । पर्सिपल्ट मलाई नेपाल फर्किनु थियो । त्यो परिवारले मैसँग ड्रग्सको फन्दामा परेका ती छोरालाई नेपाल पठायो र उनको उपचार हामीले गर्ने मौका पायौँ । आज पनि ती जीवित छन् ।
जब म यी सम्पूर्ण घटना सम्झन्छु यही निष्कर्षमा पुग्छु राजा वीरेन्द्रपुत्र दीपेन्द्रको पनि उपचारमा जाने कर्म रहेनछ । यदि दीपेन्द्रको सही उपचार भएको भए राजवंश नै समाप्त हुँदैन थियो होला ।
ड्रग्सको समस्या भोगेका अधिकांश परिवार कोही मार्ला भन्ने डरले, कोही इज्जत जाला भन्ने डरले, कोही कहाँ उपचार हुन्छ भन्ने नै नबुझेका कारणले, कोही घरमै ठीक गर्छु भन्ने विश्वासले, उपचारमा अनावश्यक खर्च होला भन्ने त्रासले दुव्र्यसनमा परेका आफ्ना मानिसलाई उपचार केन्द्र पुर्‍याउन सक्दैनन् । कतिले एक दुई ठाउँमा राखेर नसुध्रिएपछि अब सुध्रिँदैन भनी उपचारमा लैजाँदैनन् । तर, वास्तविकता यही हो कि उपचार केन्द्रमा नलगे त्यस व्यक्तिको मृत्यु अल्पायुमै हुने निश्चित हुन्छ । दुव्र्यसनमा परेपछि उपचार केन्द्र लैजान ढिला गर्नुहुँदैन, तर यो पनि सत्य हो कि भगवान्ले नपठाई उपचार केन्द्र जानै पाइँदो रहेनछ ।