बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौंलाई

बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौंलाई


बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौंले हात पारेको छ । शनिबार (२० पुस) भएको फाइनल खेलमा दोलखालाई पराजित गर्दै काठमाडौं प्रतियोगिताको च्याम्पियन बनेको हो ।

बागमती प्रदेश फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताअन्तर्गतको फाइनल खेलमा काठमाडौंको चित्लाङ फुटबल क्लबले दोलखाको टाइगर समूहलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा सम्पन्न फाइनल खेलमा काठमाडौंका लागि पहिलो हाफको २५औँ मिनेटमा सुजित बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफको ७४औँ मिनेटमा बुढाथोकीले थप एक गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

अन्तिम समयमा काठमाडौंका तर्फबाट आयुष कुँवरले गोल गर्दै टिमलाई ३–० को स्थितिमा पु¥याएका हुन् । खेलको ‘म्यान अफ दी म्याच’ बुढाथोकी घोषित भएका छन् । लिग विजेता काठमाडौँले रु दुई लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छ । साथै उपविजेता दोलखाले रु एक लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै काठमाडौंका बुढाथोकीले रु १५ हजार नगद पुरस्कार प्राप्त गरे भने प्रतियोगिताअन्तर्गत हाई स्कोरको उपाधि पनि बुढाथोकीले जिते । उत्कृष्ट गोल रक्षक काठमाडौंका चन्द्रशेखर श्रेष्ठ, उत्कृष्ट डिफेन्डर काठमाडौँका जनक कोइराला, उत्कृष्ट मिडफिडर काठमाडौंका विज्ञान खड्का, उत्कृष्ट फरवार्ड दोलखाका सुजन माझी र उत्कृष्ट कोच काठमाडौंका रुपेश क्षेत्रीले प्राप्त गरे ।

सबैले जनही रु पाँच हजारका दरले नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रदेशका १३ जिल्लामध्ये ११ जिल्लाको लिग विजेता फुटबल क्लबको सहभागिता थियो । रामेछाप र रसुवा भने एन्फामा आबद्ध नभएकाले लिगमा सहभागिता जनाएका थिएनन् ।